गुटबन्दी अन्त्यको प्रतिबद्धता : कार्यान्वयनमा चुनौती

0
46

प्रेमलकुमार खनाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीभित्र अनुशासन कायम गर्ने र गुटबन्दी नियन्त्रण नभएको बारे गम्भीर ध्यानाकर्षण गराउँदै उल्लेख गरिएको छ, पार्टी संस्थागत छैन । बरु विभिन्न प्रकारका गुट सक्रिय रहेको, पार्टीभित्र घात÷अन्र्तघात र अराजकताका प्रवृत्ति कायम रहेकाले पार्टी अनुशासनको स्थान गुट अनुशासनले लिने हो कि भन्ने खतरा दिन दिनै बढ्दै गएको छ । आलोचना, आत्मालोचना, राम्रो काम गर्नेलाई प्रोत्साहन र गल्ती गर्नेलाई दुरुत्साहन गर्नेजस्ता सजीव र गतिशील कम्युनिस्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालनाको स्तर निकै कमजोर अवस्थामा छ । यस अवस्थालाई नियाल्दा अनुशासन कायम गर्ने र गुटबन्दी नियन्त्रण गर्ने कार्य चुनौतीको रूपमा रहेको देखिन्छ ।

वास्तवमा कम्युनिस्ट पार्टी सिद्धान्त, विचार, कार्यशैलीका मामलामा अन्य बुर्जुवा पुँजीवादी पार्टीभन्दा फरक पहिचान र चरित्रले युक्त पार्टी हो । कम्युनिस्ट पार्टी निर्माण र सञ्चालनमा माक्र्स र लेनिनले प्रतिपादन गरेको माक्र्सवादी संगठनात्मक सिद्धान्तलाई कम्युनिस्ट पार्टीले अनुशरण गर्दै आएका छन् । पार्टीभित्र विधि, अनुशासन र एकताको लागि पार्टीको नीति र विधानको अक्षरशः पालना गर्ने र पार्टीको कार्यशैली र जीवनशैलीकै रूपमा आत्मसात् गर्ने गरिएका कारण कम्युनिस्ट पार्टीमा अन्य पार्टीमा भन्दा अनुशासन र एकताको मामलामा विशिष्ट पहिचान कायम भएको
मान्यता राखिन्छ ।

कम्युनिस्ट पार्टीमा अनुशासन र एकता कायम गर्ने÷गराउने कार्य नेतृत्वको व्यवहारमा भर पर्दछ । तसर्थ, नेतृत्वले हरहमेशा पार्टीभित्र फलामे अनुशासन, चट्टानी र एकता कायम गर्न गराउन ध्यान दिनुपर्छ । भनिन्छ, पानीको मुहान स्वच्छ भए सफा, निर्मल पानी बगेर तलसम्म जान्छ । त्यसैगरी, पार्टी सञ्चालनका क्रममा नेतृत्वले विधि र विधानको अक्षरशः पालना गरेर नेतृत्व गर्ने बित्तिकै कमिटीभित्र सबैले विधि र विधानको अनिवार्य पालना गर्ने स्थिति हुन्छ र मातहत कमिटी पनि यसरी नै सन्चालन हुने स्थिति हुन्छ । जब पार्टी विधि र विधानबाट सञ्चालन हुँदैन, निर्णय प्रक्रियामा संस्थागत परिपाटीको अनुकरण हुँदैन, जिम्मेवारी र अवसर प्रदान गर्दा विधि र पद्धतिको अनुशरण हुँदैन । पार्टीको कमिटिको बैठकभित्र विगतमा आफ्नो सिंहवालोकन, आलोचना, आत्मआलोचना गर्ने परिपाटी हँुदैन । जब व्यक्तिले गरेको कामको उचित र वस्तुनिष्ठ ढंगले मूल्यांकन गर्ने, प्रशंसा गर्ने, राम्रो काम गरेकालाई उचित जिम्मेवारी दिने र अनुशासनहीन काम गर्नेलाई आलोचना र कारबाही हुँदैन । तब कम्युनिस्ट पार्टीभित्र समस्या उत्पन्न हुन थाल्दछ । नेतृत्वप्रति आलोचना, टिप्पणी सुरु हुन्छ । कमिटीको बैठक नियमित नबस्दा कमिटीभन्दा बाहिरसम्म गएर विचार व्यक्त गर्ने खालको गतिविधि बढ्दै जान्छ र त्यसैले पार्टीभित्र समूहवाद वा गुटवादको जन्म हुन थाल्दछ ।

कम्युनिस्ट पार्टीभित्र जनवादी केन्द्रियता तथा अनुशासन र स्वतन्त्रताको सन्तुलित अभ्यासले अनुशासन र एकता कायम हुन्छ । कमिटीभित्र सबैले विषय केन्द्रित विषयमा आफूलाई लागेको कुरा राख्न पाउने, दोहोरो छलफल हुने अभ्यासले नै कम्युनिस्ट पार्टीभित्र जनवादी अभ्यासको थालनी हुन्छ । बैठकभित्र छलफल गरेर निर्णय गरिएका विषय बिनाशर्त सामूहिक तबरले कार्यान्वयन गर्ने विषय केन्द्रियता हो । जनवादको माग गर्ने तर केन्द्रियता नमान्ने अर्को अराजकतावादी गतिविधि हो र कमिटीभित्र छलफलमा भाग लिएपछि आफूले भनेजस्तो निर्णय भए ठीक, आफूले भने जस्तो निर्णय भएन भने बेठीक भन्ने सोच÷पद्धति गलत हुन्छ ।

यस्तै कम्युनिस्ट पार्टीभित्र अनुशासन र स्वतन्त्रता अर्को महŒवपूर्ण विषय हो । कम्युनिस्ट पार्टीलाई एकतावद्ध बनाउने भनेको अनुशासनका विधि र पद्धतिले नै हो ।
यसैले कम्युनिस्ट पार्टीभित्र अनुशासन र स्वतन्त्रताको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । अनुशासनको डन्डाचाहिँ लगाउने तर अभिव्यक्तिको स्वतन्त्रता नदिने हो भने अनुशासन र स्वतन्त्रताका बीचमा सन्तुलित अभ्यास हुँदैन । यस्तो असन्तुलित अभ्यासले पार्टीभित्र निरंकुशता, स्वेच्छाचारिता बढेर जान्छ र यसको प्रत्युत्पादकको रूपमा अन्यायको महसुस गर्नेले नेतृत्वको आलोचना, टिप्पणी गर्न थाल्दछन् र यस्तै अन्यायमा परेकाको, मन मिल्नेको छुट्टाछुट्टै समूह बन्न थाल्छ र गुट जन्मन थाल्दछन् ।

पार्टीभित्र गुटबन्दी बढ्दै जाँदा एकअर्को बीच बोलचाल नगर्ने, हार्दिकता नदेखाउने, अप्ठेरो, सारो गाह्रोमा साथ नदिने, सामाजिक संस्कारअन्तर्गत विवाह, व्रतबन्ध, मृत्युजस्ता संस्कारमा पनि भेटघाट नगर्ने, सम्मका घटना हुनेगर्छन् । यति मात्रै होइन, निर्वाचनका बखत घात, अन्तरघात गर्ने, पराजित गराइदिने, प्रतिस्पर्धी पार्टीका उम्मेदारलाई जिताउन भित्रभित्रै लाग्ने खालका घटना पनि हुने गरेका छन् । कम्युनिस्ट पार्टीभित्र गुटबन्दी जन्मने अनेक कारण छन् । खास गरी समाजको प्रतिबिम्ब कम्युनिस्ट पार्टीभित्र पर्नु स्वाभाविक हुन्छ । नेपाली समाजको विकास जसरी भएको छ, त्यसको प्रभाव कम्युनिस्ट आन्दोलनमा पर्दै आएको छ ।
समाज अब पुँजीवादी चरणमा प्रवेश गरेको छ । समाजमा विकसित भएको पुँजीवादले अहिले दलाली चरित्र लिएको छ । रातारात धनी बन्ने, धन, सम्पत्तिको हैसियत देखाएर पार्टीभित्र व्यक्ति प्रवेश गर्ने ढंगले दलाल पुँजीवादले टाउको उठाउँदै छ । अर्कोतिर सामन्ती शासन व्यवस्थाको अन्त्य भए पनि व्यक्तिका आनीबानी व्यवहार र संस्कृतिमा सामन्ती संस्कार, संस्कृति हट्न सकेको छैन । कम्युनिस्ट पार्टी खुला छ, पार्टीबीच प्रतिस्पर्धा पनि चलिरहेको छ । ठूलो पार्टी बनाउने नाममा धमाधम मानिस पार्टीमा प्रवेश गरेका छन् ।

यस क्रममा कम्युनिस्ट पार्टीभित्र पनि ठूलो संख्यामा मानिस प्रवेश गरिरहेका छन् । विचार, दृष्टिकोण, बानी बेहोरा माक्र्सवादी, सर्वहारावादी दृष्टिकोण राख्ने मानिसभन्दा पनि समाजमा जस्तो आनीबानी र संस्कारमा हुर्किएका छन्, तिनै मानिस पार्टीमा प्रवेश गर्ने गर्छन् । तर, उनीहरूलाई रूपान्तरण गर्ने, सर्वहारावादी दृष्टिकोण र चेतको विकास गर्ने गराउने पार्टीमा ठोस, योजना, नहुँदा स्वाभाविक रूपमा अस्वस्थ्य गतिविधि हुने र यसबाट नै गुट÷समूह निर्माण
हुनेगर्छन् । कम्युनिस्ट पार्टीको नेतृत्वमा राज्यसत्ता सञ्चालन हुन थालेपछि राजकीय सुविधा पाउने र नपाउने बीचको खाडल बढ्न थालेपछि राजकीय सुविधा पाउने र नपाउने बीचको खाडलले पनि पार्टीभित्र दुई खालको वर्ग उत्पादन गर्दै छ । राज्यबाट सुविधा पाउने नयाँ अभिजात वर्गको र नपाउने चाहिँ निम्न वर्गको जस्तो देखिने स्थितिले पनि पार्टीभित्र नयाँवर्गको निर्माण हुँदै छ ।

कम्युनिस्ट पार्टीभित्र गुटबन्दीलाई अन्त्य गर्न प्रथमतः पार्टीलाई विधि र विधानबाट सञ्चालन गर्न ध्यान दिनुपर्छ । विधानअनुसार नियमित बैठकको आयोजना गर्ने, बैठकमा पूर्व निर्धारित विषयमा छलफल गर्ने, बैठकमा सबैका विचार र भावनालाई मुखरित गर्ने गराउने, पार्टीको हित नेतृत्वका कमी कमजोरीका सुझाव र आलोचनालाई सम्मानका साथ आत्मसात गर्ने परिपाटीको थालनी हुँदा स्वाभाविक रूपमा पार्टीभित्र हार्दिकता, मित्रता, एकता र कमरेडली भावनाको विकास हुन्छ, यसैको जगमा विचार र व्यवहारमा एकता कायम भएर जान्छ र सिंगो पार्टीमा एकमना एकता कायम हुन्छ, यस्तो स्थितिमा छुट्टै खालका समूह, गुट क्रमशः समाप्त भएर जान्छन् ।

दोस्रो, पार्टीभित्र जिम्मेवारी, अवसर प्रदान गर्दा व्यक्तिको योग्यता, क्षमता, वरिष्ठता, अवसर पाए नपाएको आदि जस्ता विधि र नीति बनाएर जिम्मेवारी प्रदान गर्ने नीति अवलम्बन गर्दा व्यक्तिले जिम्मेवारी र अवसरमा न्याय प्राप्त गर्दछन् । तेस्रो, पार्टीभित्र राष्ट्रिय अन्तर्राष्ट्रिय महŒवका सवालमा अनेक धारणा र विचार हुन सक्छन् । सबै विचारलाई प्रकट गर्ने अवसर दिनुपर्छ । माओत्सेतुुुङले सयौं फूललाई फुल्न देऊ भनेझैं पार्टीभित्र व्यवस्थित ढंगले छलफल, वहस र संघर्ष हुने दिने व्यवस्था गर्नुपर्छ, तर बैठकबाट निर्णय भएका विषय वा दृष्टिकोणलाई शिरमा राखेर व्याख्या, विश्लेषण गर्ने प्रचारप्रसार गर्ने कार्यको सुनिश्चित गरिनुपर्छ, चौथो पार्टीको महाधिवेशन । अधिवेशनमा समूहबन्दी भएर निर्वाचन लड्ने र निर्वाचन जित्न जेजस्तो अस्वथ्य कार्य गर्ने खालको हालको निर्वाचन प्रणालीको सट्टा कार्यसम्पादनका आधारमा नेतृत्व छनोट गर्ने परिपाटीको थालनी गरेमा गुटबन्दी अन्त्य गर्न मद्दत पुग्ने विश्वास लिन सकिन्छ ।

The post गुटबन्दी अन्त्यको प्रतिबद्धता : कार्यान्वयनमा चुनौती appeared first on Rajdhani Daily News.

विमानस्थल भन्सार कार्यालयद्वारा विदेशबाट मोबाइल ल्याउँदा नियमानुसार नै शुल्क लिएको स्पष्ट

Previous articleकाठमाडौमा खुल्यो अचम्मको रेस्टुरेन्ट, जहाँ माछासासु मात्रै होइन दुध घ्यू पनि पाइदैन
Next articleचितवनमा बस र ट्रक ठोक्कियो