कस्मिरलाई केन्द्र शासित बनाएपछि मुस्लिम बाहुल समुदायले लगातार सरकारविरुद्ध आन्दोलन चर्काए।
इन्टरनेट, टेलिभिजन, रेडियो तथा टेलिफोनबाट कस्मिरमा भइरहेको विरोध प्रदर्शन र दमनको विषय विश्वभर डढेलो झैं फैलिएपछि सरकारले सबै संचारका माध्यम विच्छेद् ग¥यो।
सरकारले महिनौंसम्म आपतकालिन अवस्था घोषणा गरेर इन्टरनेट बन्द गरिदिएपछि भारत प्रशासित कस्मिरका सर्वसाधारणसँगै पत्रकारहरु पनि मारमा परे।
अहिले केही स्थानमा मात्र सीमित इन्टरनेट सेवा सुरु भएको छ। लेखेको समाचारहरु प्रकाशन तथा प्रासारण गर्ने माध्यम नहुँदा पत्रकारहरु पत्रकारिता बाहेकका क्षेत्रमा श्रम गरेर जीविका धान्न बाध्य बनेका छन्।
समाचार लेखेर घरखर्च चल्न नसक्दा केही पत्रकारहरु इटा भट्टामा काम गर्न बाध्य बनेका छन्।
२९ वर्षका मुनिब उल इस्लाम फोटोपत्रकार हुन्। पाँच वर्षयता उनी पत्रकारिताबाटै जीवनयापन गरिरहेका थिए।
तर गतवर्षको अगष्ट महिनामा जब केन्द्र सरकारले ल्यान्डलाइन फोन, मोबाइल तथा इन्टरनेट सेवा बन्द गरिदियो, अनि मुनिबले आफ्नो मनपर्ने काम गुमाए।
कस्मिरको विशेषाधिकार हटाएको भोलिपल्टैदेखि केन्द्र सरकारले कस्मिरका सबै स्थानमा संचारका सबै माध्यमहरुमाथि प्रतिबन्ध लगाएको थियो।
इन्टरनेट प्रतिबन्ध भएको समाचार विश्वभर नै फैलिएको थियो। तर मुनिबजस्ता स्थानीय पत्रकारले वास्तवमै कस्मिरमा के भइरहेको छ त्यो विश्वलाई सुनाउन पाएनन्। त्यसपछि उनीहरु अरु नै काम गर्न बाध्य बने।
इन्टरनेट प्रतिबन्धको विरोधमा कस्मिरका पत्रकार
यस वर्षको जनवरी महिनासम्म कस्मिरमा इन्टरनेट बन्द भएको १ सय ५० दिन पुगिसकेको थियो।
‘मैले पत्रकारिता रोजँे किनभने म मेरो समुदायको लागि केही गर्न चाहन्छु’ मुनिब भन्छन्, ‘मैले समर्पणका साथ यो द्वन्द्वग्रस्त क्षेत्रको समाचार बनाएँ तर कस्मिरले विशेषाधिकार गुमाएपछि मेरो यात्रा रोकियो।’
जनवरीदेखि सरकारले सीमित मात्रामा ब्रोडब्यान्ड सेवा र २जी सेवा सुरु गर्यो। यद्यपी मोबाइल इन्टरनेट र सामाजिक सन्जालहरु अधिकाँश स्थानमा प्रतिबन्धित नै छन्।
प्रदर्शन र हिंसालाई नियन्त्रण गर्न र कानुनी व्यवस्थालाई कायम गर्न कस्मिरका इन्टरनेट तथा संचारमाध्यममा प्रतिबन्ध लगाउनु आवश्यक रहेको भारत सरकारको दाबी छ।
हाल अनिश्चितकालका लागि कस्मिरमा इन्टरनेटसहितका संचारमाध्यममा प्रतिबन्ध लागेको छ।
अधिकारकर्मी तथा विपक्षी दलले सरकारको यस कार्य नागरिक अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकविपरित भएको बताउँदै आएका छन्।
जे भएपनि कस्मिरका पत्रकारहरुले आफ्नो काम गर्न पाएका छैनन्।
इन्टरनेट बन्द भएपनि महिनौंसम्म मुनिब इल इस्लामले कस्मिरका घटनाहरुको समाचार बनाए, फोटो खिचे। तर बनाएका सामाग्री संचारमाध्यममा पठाउन इन्टरनेट थिएन।
सेप्टेम्बर महिनामा उनी ६ हजार रुपियाँ खर्च गर्दै समाचार बनाउन राजधानी श्रीनगर पुगेका थिए। तर, पैसा सकियो। अनि उनले रिपोर्टिङलाई निरन्तरता दिन सकेनन्।
उनले अर्को उपाय पनि अपनाए। सीमित स्थानमा चालु रहेको ल्यान्डलाइन फोनमार्फत् रिपोर्टिङ गर्ने योजना बनाए। तर, समाचार वापत आउने पैसाले मेहनत पनि नउठेपछि उनले पत्रकारितालाई नै केहीसमय स्थगित गरे।
श्रीमती बिरामी पर्दा मुनिब आफ्ना भाइको सहयोगमा अन्य काममा संलग्न हुन बाध्य भए। उनले इटाभट्टामा काम थाले।
अनन्तनाग शहरमा इटाभट्टामा काम गर्दा उनले दैनिक ५ सय रुपियाँ पाउथे। यो पैसाले उनले संक्रमणको अवस्थामा राम्रोसँग परिवार चलाए। हाल उनी यही कामबाट गुजारा गरिरहेका छन्।
संचारमाध्यममा लागेको प्रतिबन्धका कारण मुनिब मात्र नभएर कस्मिरका प्राय सबै पत्रकार अन्य काम गर्न बाध्य बनेका छन्।
अर्का एक पत्रकार जसले वर्षौ पत्रकारितामा जीवन बिताए उनले नाम नभन्ने सर्तमा यतिबेला आफूले नयाँ व्यवसायमा जाने योजना बनाएको बताए। उनी चाँडै डेरी फार्ममा काम शुरु गर्दैछन्।
‘मसँग पैसा छैन किनभने ६ महिनायता मैले समाचार कसैलाई पठाउन पाएको छैन’ नाम गोप्य राख्ने सर्तमा तेस्रो पत्रकार भन्छन्, ‘परिवारले मलाई अर्को काम खोज्न दबाब दिइरहेका छन्। म के गर्न सक्छु र?’
कस्मिरमा डिसेम्बर र जनवरी महिनाबाट सीमित मात्रामा इन्टरनेटको सुविधा प्रदान गरिए पनि स्थानीय पत्रकारले लाभ लिन सकेका छैनन्।
अनन्तनाग शहरको एक सरकारी कार्यालयमा इन्टरनेट दिइएको छ जहाँ ४ वटामात्र कम्प्युटर छ। त्यो कार्यलयमा अत्यधिक भीड हुन्छ। मानिसहरु सामाजिक संजाल चलाउन जान्छन्, इमेल हेर्न जान्छन्, कामको आवेदन दिन जान्छन् पालो पाउनै मुश्किल पर्छ।
‘केही मिनेटको लागि मात्र कम्प्युटर चलाउन पाइन्छ, नेट पनि निकै ढिला चल्छ’ उनी भन्छन्, ‘काम गर्न साह्रै गाह्रो छ।’
लामो समयदेखि इन्टरनेटको प्रतिबन्ध झेलिरहेका कस्मिरका पत्रकारहरु आफ्ना श्रोतबाट अलग्गिसकेको अवस्था छ।
राजधानी श्रीनगरमा दुई दर्जन जति कम्प्युटर मात्र इन्टरनेटमा जोडिएका छन्। तर सयौं पत्रकारका लागि ती कम्प्युटर पर्याप्त छैनन्।
त्यहाँका पत्रकार आफूहरु विश्वमा भएका गतिविधिबारे महिनौंदेखि अनविज्ञ भएको र अन्धकारमा रहन बाध्य भएको बताउँछन्। –बीबीसी
नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा सीआइवीद्वारा चौबीस घण्टाभित्र नौ जना पक्राउ