बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरी भूकम्प

0
60

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहिबार राति १०:५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर चार दशमलव तीन तथा राति १२:२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गत मङ्गलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो ।

दोस्रोपटक ३:०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर छ दशमलव तीन रेक्टर स्केल, ३:१३ बजे चैनपुर केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केल, ३:४५ बजे सुरमा केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए । यस्तै सयौँ घरमा क्षति पुगेको थियो ।

केन्द्रका भूगर्भविद् डा लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनसुकै बेला पनि भूकम्प जानसक्ने बताउनुहुन्छ । “विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो समय उक्त क्षेत्रमा भूकम्प जान थालेको छ”, उहाँले भन्नुभयो ।

पछिल्लोसमय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

https://www.ujyaalonepalnews.com/archives/32006

Previous articleनेपाल राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा
Next articleराष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना