कमल थापाको दाबी : एमसिसी नेपालको हितमा छ

0
53

बुटवल, ६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) आयोजना नेपालको हितमा रहेको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष थापाले एमसिसीको देशको हितमा रहेको बताएका हुन् ।

यसैगरी उनले देशको हितमा रहेपनि एमसीसीका विषयमा नागरिकमा अनेक आशङ्का पैदा भएकाले सरकारले आधिकारिक धारणा बाहिर ल्याउनुपर्ने बताए ।

उनले भने, ‘सम्झौताप्रति भ्रम उत्पन्न भएको छ, त्यो चिर्ने काम सरकारले गर्नुपर्छ ।’

यस्तै उनले एमसिसी संसद्मा पारित हुने विषय ठूलो नभएपनि आधिकारिक धारणासहित कार्यान्वयनमा लैजानुपर्ने बताए ।

अध्यक्ष थापाले नागरिकको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेपनि पाँच वर्षसम्म कायमै रहने बताए ।

उनले भने, ‘विगतमा अस्थिरताबाट जनता वाक्क भएका छन् । सरकार ढाल्ने कुरामा जनताको रुचि छैन । जनतालाई स्थिर सरकार चाहिएको छ ।’

विगतको निर्वाचनमा भोग्नुपरेको पराजयबाट पाठ सिकेर कमजोरी हटाउँदै पार्टीलाई देशको अग्रणी संस्थाको रुपमा अघि बढाउने अभियानमा लागेको बताउदै अध्यक्ष थापाले पार्टीलाई हिन्दू राज्य र राजसंस्थासँग मात्रै जोडेर नहेर्न आग्रह गरे ।

उनले राष्ट्रिय एकता, शान्ति र स्थायित्वका लागि साझा संस्थाको रुपमा राजसंस्था आवश्यक रहेको निष्कर्ष पार्टीको रहेको जनाउँदै राजसंस्थालाई राजनीतिक विवादमा तान्न नहुने धारणा राखे । रासस

The post कमल थापाको दाबी : एमसिसी नेपालको हितमा छ appeared first on Koshi Online.

महिला टि-२० सिरिजः जापानलाई हराउँदै नेपाल तेस्रो स्थानमा

Previous articleक्यान इन्फोटेकमा कम्पनीबीच प्रतिस्पर्धा
Next articleकोरोना भाइरसबाट उहान अस्पतालका निर्देशकको मृत्यु