पञ्चे बाजा बज्न छोड्यो बिहेमा

0
42

दैलेख । पञ्चेबाजाको एक पटक यस्तो समय थियो गाउँघर र शहरबजारमा । छोराछोरीको विबहेको सिजनभरी दैनिक जसो पञ्चेबाजाको आवाज घन्किथ्यो । पञ्चेबाजा बज्ने बित्तिकै वल्लोपल्लो गाउँका मानिसको ओइरो लाग्थ्यो । बाजा बजाउनेको व्यवस्था पनि उस्तै हुन्थ्यो । पञ्चे बाजासँगै महिला रतेउली, हुड्के, पुरुष देउडा खेल, श्रमनाच र युवायुवती मादलको तालमा रमाइरहेका हुन्थे । सबैतिर उल्लास र उमंग हुने भएकाले दिनभरि काम गरेर आएका मानिसलाई थकान भान हुँदैन थियो । धित मरुन्जेल हेर्थे, रमाउँथे ।

तर केही वर्षयता भने विहेवारीमा पञ्चेबाजा बज्न छाडेको छ । शिक्षादिक्षा र रोजगारीमा शहर छिरेका युवायुवतीले उतै प्रेमका माध्यमबाट मन्दिरमा कर्म गर्नाले गाउँघरमा पञ्चेबाजाको ध्वनी सुनिन छाडेको हो । बिहेको शैलीमा परिवर्तन आउँदा आजभोलि गाउँघरमा बाजाको उमंगमय ध्वनी सुनिदैन् । पछिल्लो समयमा सञ्चार क्षेत्रमा आएको परिवर्तनले मागी बिहे गर्ने विरलै पाइन्छन् । छोरा हुन वा छोरी बिहेवारीमा स्वतन्त्र छन् । बिहेको छिनोफानो आफैँले गर्ने भएकाले अभिभावकले पहिले जसरी दुलाहा र दुलही खोज्नु पर्दैन ।

मन्दिरमा बिहे गर्ने प्रचलनका कारण गाउँ–गाउँमा बिहेको उमंग ह्वातै घटेको छ । यो सिजन विहेको मौसम भएपनि गाउँमा कतै बिहे र बाजाको रौनक छैन । अधिकांशले मन्दिरमा गएर कर्म चलाउने कारण गाउँमा विहेको रौनकता घटदै गएको आठविस नगरपालिकाका भद्रबहादुर थापाले बताए । ‘मन्दिरमा बिहे गर्नाले पञ्चेबाजामा कमी आएको हो । तर आफ्नो चाही विहेवारी पञ्चेबाजा बजाएर भएको थापाले खुलासा गरे गाउँघरमा विहेवारी भड्किलोले धेरै विहे मन्दिरमा हुने गरेको हो’, उनले थपे ।

उनी मात्र होइनन्, ज्योतिषको काम गर्दै आएका ठाटिकाँध गाउँपालिका –२ का नारायण जैसीको बुझाई त्यस्तै छ । ‘मागी बिहे घट्नु र प्रेम विहे बढनुले पञ्चेबाजामा कमी आएको हो । स्कुल पढ्दा पढ्दै आजभोलीका केटाकेटी माया बस्छ, गाउँमा बसेपछि गाली खाइने डरले शहरतिर छिरेर मन्दिरमा विहे गर्छन्’,उनले भने । मागी बिहेमा घरबाट भाग्नु पर्देन्थ्यो । सबै दाजुभाई, दिदीबहिनी रमाइलो गर्थे । मागीमा बिहेमा घरमा पञ्चेबाजाको झ्याँईझ्याँई आवाजसहित भोजभतेर हुन्थ्यो । दुलाहालाई घोडामा र दुलहीलाई डोलीमा बोकेर पञ्चेबाजाका अगाडी लगाएर जन्तीको लावालस्कर दुलही लिन जानु मञ्जा बेग्लै हुने गरेको दैलेख नौमुले गाउँपालिकाका तेजबहादुर चन्दले बताए ।

पञ्चेबाजा अन्र्तगत दमाहा, ट्याम्को, झ्याली नरसिंगा र सनई पर्दछन् । दमाईले शुभकार्यमा पञ्चेबाजा बजाउने हुँदा अचेल बिहेमा विरलै बाजा देख्न पाइन्छ । उसो त पञ्चेबाजा बजाउन कमी आएकाले दमाई समुदायका युवाले फरक रोजगारीको विकल्प रोज्न थालेका छन् । युवाले रोजगारीतिर लागेपछि जिल्ला वा गाउँका विभिन्न सभा, समारोहमा बालक र बुढापाकाले मात्र बाजागाजा बजाएको देख्न पाइन्छ । आजभोलि गाउँमा हुने एकाध सार्वजनिक समारोहमा अतिथीलाई पञ्चेबाजा बजाएर स्वागत र सत्कार गर्ने गरिन्छ । बिहेको शैली फेरिएपनि पञ्चेबाजा पुरानो सस्कृति भएकाले यसलाई बचाई राख्न सबै क्षेत्रबाट सबैले सहयोग गर्नुेपर्ने बुढापाकाको भनाई छ ।

The post पञ्चे बाजा बज्न छोड्यो बिहेमा appeared first on Rajdhani Daily News.

साउदी प्रवेश गर्नेलाई नयाँ नियम, अटेर गरे तुरुन्त देश निकाला

Previous articleसमाजसेवी बद्री पहाडीद्वारा शान्ति समाज भवन निर्माणार्थ रु १ करोड सहयोग
Next articleप्रजातन्त्र दिवसमा मुख्यमन्त्री राईको शुभकामना