कालिका नगरपालिका पूर्ण खोप सुनिश्चितता र दिगोपना नगर घोषणा

0
144

रत्ननगर, साउन ११ । चितवनको कालिका नगरपालिकालाई १६ महिनादेखि २३ महिना सम्मका सबै बालबालिकालाई १५ महिना उमेर भित्र पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको छ ।

खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै शुक्रवार एक समारोहका बिच कालिका नगरपालिका पूर्ण खोप सुनिश्चतता तथा दिगोपना नगर घोषणा भएको हो ।

खोप समन्वय समितका संयोजक तथा कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मीले सबैको प्रयासबाट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा भएको घोषणा गरे ।
नगर प्रमुख रेग्मीले प्रत्येक वडामा रहेका बालबालिकाको खोजी गरी खोपको पहुँचमा ल्याइएको बताए । स्वास्थ्य सेवा कार्यालयले खोप उपलब्ध गराउँदा घोषणा कार्यक्रममा सहयोग पुगेको उनको भनाइ छ । खोपको पहुँच भन्दा कोही पनि बालबालिका बाहिर नरहेको नगर प्रमुखले बताए ।

पालिकाको १ देखि ११ वटै वडामा घरधुरी सर्वेक्षण गरी शून्यदेखि १५ महिना मुनिका, १६ महिनादेखि २३ महिना सम्मका १ हजार ७ सय ७४ जना बालबालिकाले पाउनुपर्ने सबै पूर्ण खोप पाएको सुनिश्चित भएको कालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिए ।

जिल्ला खोप समन्वय समिति चितवनले गत असार महिनामा कालिका नगरपालिकालाई पूर्ण खोप पालिका घोषणा गर्न अनुमति प्रदान गरेको थियो । स्वास्थ्य संस्थाको टोली सबै खोपकेन्द्रमा पुगेर बालबालिकालाई पूर्ण खोप लगाए, नलगाएको सुनिश्चित गरेपछि घोषणा गरिएको छ ।

कार्यक्रममा उपप्रमुख बिमला तामाङ, प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतम, जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेति लगाएतले नगर पूर्ण खोप घोषणा भएकोमा धन्यवाद दिए ।

सो अवसरमा स्वास्थ्य संस्थाका ३ जना स्वास्थ्यकर्मी, २ जना महिला स्वयमसेविका, १ जना कार्यालय सहयोगी, सम्पूर्ण स्वास्थ्य संस्थाहरुलाई कार्यको उच्च मुल्याङकन गर्दै कदर पत्र सहित सम्मान, १ देखि ११ वटै वडाहरुले पूर्ण खोप सुनिश्चित प्रमाणपत्र प्राप्त गरेकाछन् ।

उमेर पुगेका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित हुनुले संक्रमणबाट कोहि पनि प्रभावित नहुने स्वास्थ्यकर्मीहरू बताउँछन् । पूर्ण मात्रको खोप लगाउँदा स्वास्थ्य सेवा सुधार हुन्छ । खोप लगाउनु अनिवार्य हो । स्वस्थ समाज बनाउन खोप अनिवार्य छ ।

स्थानीय सरकार संचालन ऐन, ०७४ को परिच्छेद ३ मा गाउँपालिका/नगरपालिकाको काम, कर्तब्य र अधिकार तथा वडा समितिको काम, कर्तब्य र अधिकार भित्र आधारभूत स्वास्थ्य सेवा अन्तर्गत खोप सेवा संञ्चालनको ब्यवस्था गरेको छ ।

पूर्ण खोप सुनिश्चितता र दिगोपना नगर घोषणा कार्यक्रम सहभागीहरूले खोप लगाऔँ, रोग भगाऔँ भनेर साझा प्रतिवद्धता सहित हस्ताक्षर समेत गरेका छन् ।

Previous articleपूर्वीचितवनका विभिन्न स्थानमा भोली शनिवार विद्युत अवरुद्ध हुने
Next articleकेराबारीको त्रिशूली बीचमा देखियो रातो वस्तु, बस भएको आशंकामा पुग्यो उद्धार टोली