Home चितवन सेरोफेरो रत्ननगरमा एचपिभी खोप अभियान शुभारम्भ

रत्ननगरमा एचपिभी खोप अभियान शुभारम्भ

0

रत्ननगर । विश्व क्यान्सर दिवसका अवसरमा रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एचपिभी खोप अभियान–२०८१ रत्ननगर–१ स्थित बकुलहर माविमा शुभारम्भ गरिएको छ ।

कार्यक्रममा खोप हस्तान्तरण गर्दै नगरप्रमुख प्रलाद सापकोटाले एचपिभी भाइरसका कारण पाठेघरको मुखको क्यान्सर भई दैनिक चार महिलाको मृत्यु भइरहेको सन्दर्भमा नेपाल सरकारले एचपिभी खोप अभियान सञ्चालन गरेको बताए ।

कक्षा ६ देखि १० सम्मका लक्षित किशोरी कोही पनि नछुट्ने गरी एचपिभी खोप लगाउन स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्दै विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई पनि खोजी–खोजी खोप लगाउनुपर्नेमा जोड दिए ।

नगरपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकता दिई विपन्न नागरिकका लागि बकुलहर रत्ननगर अस्पतालमा छुट्टै उपचारकोष खडा गरी स्वास्थ्य सेवा प्रदान गरिरहेको र विभिन्न निजी अस्पतालहरुमा पनि उपचार छूटसम्बन्धी सम्झौता गरिएको जानकारी दिए ।

सामाजिक विकास समितिका संयोजक एवम् रत्ननगर–५ का वडाध्यक्ष बालकृष्ण चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

सो क्रममा उनले रत्ननगरमा सामुदायिक तथा संस्थागत विद्यालय गरी ४१ विद्यालयमा माघ २८ गतेसम्म एपपिभी खोप कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनले रत्ननगरमा विद्यालय जाने चार हजार ६६ र विद्यालय बाहिर रहेका एक सय गरी चार हजार १६६ जनालाई खोप लगाउने कार्यक्रमअनुसार सबै स्वास्थ्यकेन्द्रहरुमा तयारी गरिएको बताए । पहिलो दिन एक हजार ९५ जनालाई खोप लगाइएको उनले जानकारी दिए ।

स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक दीपेन्द्र विकले सञ्चालन गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, नगरशिक्षा अधिकारी नारायणप्रसाद वाग्ले, नगर प्रवक्ता एवम् रत्ननगर–१ का वडाध्यक्ष कुलप्रसाद सापकोटा, आर्थिक विकास समितिका संयोजक एवम् रत्ननगर–१० का वडाध्यक्ष कलाधर पौडेल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका प्रमुख डा. कोपिला अधिकारी, स्वास्थ्य शाखाका सिअहेव अधिकृत वासुदेव सापकोटा, जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य निरीक्षक चन्द्रबहादुर हमाल, बकुलहर माविका निमित्त प्रधानाध्यापक बलराम दाहाललगायत सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको थियो ।

बकुलहर माविको खोपकेन्द्रमा कक्षा ६ देखि १० सम्मका ४८ जना किशोरीलाई एचपिभी खोप लगाइएको स्वास्थ्य शाखाका सिनअमी सन्सिला बस्नेतले जानकारी दिइन् ।

Exit mobile version