काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमका लागि संविधान संशोधन गर्ने विवाद चुलिएका बेला सचिवालय सदस्य, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मध्यराति जुवा खेल सम्झिएका छन् ।
पोखरेलले मध्यराति १२ः२७ बजे ट्विट गर्दै संविधान संशोधन प्रकरणमा धारणा सार्वजनिक गरेका छन् । तर उनको धारणा स्पष्ट अर्थ दिनेभन्दा पनि घुमाउरो खालको छ ।
उनले लेखेका छन्, ‘अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुनसक्ने कुरा गर्दै आएका भित्रैबाट यतिबेला एकाएक संविधान संशोधनको कुरा सुनिँदैछ । मानिसहरू उदेक मान्दैछन् ! केका लागि संशोधन ! खराखरी बहस गर्नेबेला आएजस्तोछ । कुरा लुकाएर–डाँटछल गरेर कती दिन चल्छ – कसरी चल्छ ? राजनीति गरिन्छ जुवा खेलिन्न !’
उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने र राष्ट्रियसभा सदस्यले पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन भएको सार्वजनिक भएपछि नेकपाभित्र विवाद देखिएको छ । कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङले आफू कार्यदलमा नबस्ने घोषणा गरेका छन् ।
अभ्यास,अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुनसक्ने कुरागर्दै आएकाभित्रैबाट यतिवेला एकाएक संविधान संशोधनको कुरा सुनिदैछ।मानिसहरू उदेक मान्दैछन्!केका लागि संशोधन !खराखरी वहस गर्नेवेला आएजस्तोछ।कुरा लुकाएर-डाँटछल गरेर कती दिन चल्छ-कसरी चल्छ ?राजनीति गरिन्छ जुवा खेलिन्न !
— Ishwar Pokhrel (@IshwarPokhrel) February 24, 2020


