कोरोना भाइरसको डरले देशभरका स्कूल छिट्टै बन्द गर्ने तयारीमा सरकार

0
92

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणको डरले सरकारले देशभरका विद्यालयलाई छिट्टै बन्द गर्ने तयारी अगाडि बढाएको छ ।

विद्यालयबाट एक विद्यार्थीबाट अर्काे हुँदै देशभर फैलिन सक्ने खतराबाट सावधानी अपनाउन सरकारले वार्षिक परीक्षा छिट्टै सकेर बिदा दिन देशभरका विद्यालयलाई निर्देशन दिएको छ ।

शिक्षा मन्त्रालयले देशभरका विद्यालयलाई सूचना जारी गर्दै आगामी ५ गतेभित्र १ देखि ९ कक्षासम्मका सबै परीक्षा सक्न निर्देशन दिएको छ । चाँडै परीक्षा सकेर सरकारले केही हप्ता विद्यालयको पठनपाठन पूर्ण रुपमा बन्द राख्न खोजेको छ ।

९ कक्षासम्मको परीक्षा सकिएपछि एसईई परीक्षा सञ्चालन हुनेछ । केही जिल्लामा एसईईपछि ९ कक्षासम्मको परीक्षा सञ्चालन भइरहेका बेला सरकारले छिट्टै विद्यालय बन्द गराउन एसईईअघि नै परीक्षा सक्न निर्देशन दिएको छ ।

शिक्षा मन्त्रालयले कोरोनाको सावधानीका लागि विद्यालयमा सभा, समारोह र वार्षिक उत्सव जस्ता सर्वसाधारण भेला हुने कार्यक्रम नगर्न समेत निर्देशन दिएको छ ।

मन्त्रालयले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), नेसनल प्याब्सन लगायत संस्थाका प्रतिनिधि तथा सरोकारवाला पक्षसँग छलफल गरेपछि सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न निर्देशन दिएको छ ।

कोरोना भाइरस संक्रमणको सन्त्रास बढ्दै गएका बेला सरकारले आयोजना गर्न लागेका कार्यक्रम समेत रोकेको छ । सरकारले सीमा नाका, विमानस्थल लगायतका क्षेत्रमा सामान्य स्वास्य जाँच गर्दै कोरोनाको लक्षण देखिएका व्यक्तिलाई निगरानी राख्दै थप जाँचको व्यवस्था समेत मिलाएको छ ।

नेपालमा कोरोना भाइरसको खतरा कति ? यी हुन् जान्नैपर्ने तथ्यहरू !

विश्वभर त्रासको रुपमा लिँदै गइरहेको कोरोना भाइरसको संक्रमण नेपालमा महामारीको रुपमा भित्रिन नदिन सरकारले सक्रियता देखाएको छ ।

विश्वभर ६४ भन्दा बढी मुलुकमा भेटिएको कोरोनाबाच बच्न सरकारले सक्रियता देखाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेपछि सर्वसाधारणमा त्रास फैलिएको छ ।

नेपालमा कोरोना भाइरसको खतरा कति छ त ? चीनबाट सुरू भएको कोरोना विश्वका विभिन्न कुनामा पुगेर मान्छेको मृत्यु भइसक्दा समेत नेपालमा असर देखिएको छैन । चीनमा रहेका नेपालीलाई उद्धार गरेर ल्याएपछि ती नेपालीमा कोरोना संक्रमण नभएको पुष्टि भइसकेको छ । हालसम्म नेपाल कोरोनाबाट बचेको छ ।

विश्वमा कोरोना फैलिएको तुलना हेर्दा नेपाल हालसम्म सुरक्षित नै देखिएको छ । सरकारले भने कोरोनाबाट बच्न सावधानी अपनाइसकेको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आईतबार पत्रकार सम्मेलन गर्दै कोरोनाको संक्रमण रोक्न सरकारले रणनीति बनाएको जनाएका छन् ।

पहिलो चरणमा संक्रमण देशभित्र भित्रिन नदिने, दोस्रो चरणमा कोरोना भित्रिए त्यसलाई निर्मूल पार्न सम्पूर्ण जनशक्ति लगाइने र यदि संक्रमण फैलिइहालेमा स्वास्थ्य संकटकाल घोषणा गरेर नेपालका सबै अस्पताललाई उपचारका लागि प्रयोग गरिने जनाइएको छ ।

आईतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना रोकथाम उच्चस्तरीय समन्वय समिति समेत गठन गरिएको छ । कोरोना संक्रमण बढ्नसक्ने खतरा देखेर सरकारले नेपाल भ्रमण वर्ष २०२० का लागि विदेशमा गरिने प्रचारप्रसार स्थगित गर्ने निर्णय गरेको छ भने बहुप्रचारित अन्तर्राष्ट्रिय फोरम ‘सगरमाथा संवाद’ स्थगित गर्ने निर्णय गरिएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रकार सम्मेलन गर्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमको देशमा राखेपछि सतर्क भएको जनाएका छन् । ‘हामीले सबै नेपालीलाई ट्राभल एड्भाईजरी जारी गरेका छौं । १० मार्चदेखि नेपाल आउने पर्यटकले आफूलाई कोरोना नलागेको सर्टिफिकेट पेश गर्नुपर्नेछ,’ उनले भने ।

कोरोना संक्रमित ठाउँबाट आउनेहरूले अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको सरकारले जनाएको छ । सरकारले मास्क, सेनेटरीको बजार अनुगमन गर्ने र उत्पादन गर्ने उद्योगलाई उत्पादन बढाउन आग्रह गर्ने निर्णय समेत गरेको छ ।

सोमबार नै सर्वोच्च अदालतले कोरोनाको संक्रमण रोक्न संक्रमित क्षेत्रबाट नेपाल आउने जहाज अवतरणमा रोक लगाउन आदेश समेत दिएको छ । अदालतले चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरान लगायत देशबाट नेपाल आउने जहाज अवतरणमा रोक लगाउन समेत आदेश दिएको छ ।

सरकार र अदालतले सक्रियतापूर्वक काम गरिरहेको र निर्देशन दिएको बेला व्यवस्थापिका संसदमा समेत कोरोनाको कुरा उठेको छ । एक हिसाबले सबै निकाय कोरोनाबाट बच्न सक्रिय भएका छन् । नेपालमा कोरोना नभित्रिँदै जुन किसिमको सक्रियता देखिएको छ, त्यसले नेपाललाई कोरोनाबाट बच्न सहयोग पुग्ने देखिएको छ ।

संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले कोरोना प्रभावित क्षेत्रबाट नेपाली र विदेशी बेरोकतोक नेपाल भित्रिरहेपनि उनीहरूलाई क्वारेन्टाइन र आइसोलेसनमा नराखिनु गलत भएको बताएका छन् ।

‘नेपाल पनि जोखिमपूर्ण छ भन्ने विश्व स्वास्थ्य संगठनको चेतावनी र यथार्थप्रति सरकार कति सचेत छ ? आश्वस्त हुने गरी संसद्मा जानकारी गराउन आवश्यक छ,’ बडूले भनेका छन् ।

नआत्तिन डाक्टरको सुझाव !

कोरोनाको संक्रमण र खतरा त्रास फैलिएजति नरहेको डाक्टरहरूले सुझाव दिने गरेका छन् । पूर्व सावधानी अपनाए कोरोनाबाट बच्न सकिने डाक्टरको सुझाव छ । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले कोरोना प्रचार गरिएजस्तो खतरनाक नरहेको बताए ।

सामाजिक सञ्जाल फेसबुकमा डा. पाण्डेले केही सुझाव राखेका छन् –

अहिले कोरोना भाइरसको संक्रमणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ । कोरोना संक्रमण संसारभर फैलिँदो छ भने नेपाल त्यसको अपवाद रहन सक्दैन । कोरोना भाइरस नेपालमा फैलियो भने मनोसामाजिक तथा मनोवैज्ञानिक कारणले बढी क्षति हुन्छ । तसर्थ हामीहरू मानसिक रुपमा तयार हुनुपर्दछ, मनोबल उच्च राख्नुपर्छ ।

– कोरोना कमजोर भाइरस हो । यसको संक्रमण सबैलाई हुँदैन । दीर्घरोगी, वृद्धवृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केही व्यक्तिलाई मात्र यो संक्रमण सर्न सक्छ ।

– कोरोना सर्‍यो भनेपनि आत्तिनु पर्दैन । यसको मृत्युदर निकै कम छ । १०० जनालाई संक्रमण भयो भने २ देखि ३ जनाको मात्र मृत्यु हुनसक्छ । सामान्य रुघाखोकीले विश्वमा प्रत्येक वर्ष ४,५०,००० व्यक्तिको मृत्यु हुन्छ भन्ने तथ्य बिर्सनु हुँदैन ।

– कोरोना संक्रमणको औषधि छैन । तसर्थ उपचारमा धेरै खर्च हुँदैन । ज्वरो आए पारासिटामोल खाने, खोकी र सास फेर्न सजिलो हुने औषधि खाने,मनतातो झोलिलो खाना खाइरहने, आराम गर्ने, गाह्रो भएमात्र अस्पताल जाने ।

– कोरोना संक्रमण भएको १ व्यक्तिले औसत ३ देखि ६ जनालाई मात्र रोग सार्न सक्छ । तसर्थ कसैलाई संक्रमण भयो भन्दैमा सबै आत्तिनु पर्दैन ।

– कोरोनाविरुद्ध मानसिक रुपमा तयार हुनको लागि, भोलि शहर लक डाउन भयो भने सुरक्षित हुनको लागि २–३ महिनाको जोहो गर्दा राम्रो हुन्छ । जस्तैः नियमित खाने औषधि, अत्यावश्यक खाद्य पदार्थ, प्राथमिक उपचारका औषधि जस्तै– सिटामोल, रुघाखोकीको औषधि ।

– शहरमा संक्रमण तीब्र देखिन थालेमा गाउँ जानु उत्तम विकल्प हो । गाउँमा कोरोना संक्रमण फैलिने सम्भावना एकदम न्यून हुन्छ ।

– विश्वासिलो मिडियाको मात्र समाचार पढ्ने, सुन्ने, विश्वास गर्ने बानी बसाल्दा अनावश्यक मानसिक दबाब झेल्नु पर्दैन ।

– बजारमा मास्कको अभाव छ । कोरोना संक्रमण रोक्नको लागि मास्कको भूमिका निकै कम छ । बराबर हात धुने, सफा रहने गर्‍यो भने कोरोना संक्रमण सर्दैन । तसर्थ मास्क नपाएपनि डर मान्नु पर्दैन । मास्कभन्दा पञ्जा महत्त्वपूर्ण छ ।

– बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव भएमा स्प्रिट–कपास,साबुनपानी आदिको प्रयोग गर्न सकिन्छ ।

– कोरोना संक्रमण फैलियो भने चिकित्सक, स्वास्थ्यकर्मी, सेना, प्रहरी लगायतले अस्पताल, चौर (टेन्ट) आदिमा राखेर उपचार गर्छन् । विश्व स्वास्थ्य संघ, विदेशी स्वयंसेवी संस्था, विदेशी राष्ट्र लगायत धेरैको हामीले सहयोग गर्नेछन् ।

– कोरोना भाइरसको लागि गर्मी प्रतिकूल मौसम हो । हामीकहाँ गर्मी सुरु भएको छ । तसर्थ जाडोमा जस्तो छिटो फैलिने सम्भावना एकदम कम छ ।

– कोरोना भाइरसविरुद्ध खोप, औषधि आदिको अनुसन्धान भइरहेको छ ।

– क्यान्सरलाई त आत्मबलले जित्न सकिन्छ भने यो केवल रुघा हो । तसर्थ डराउनु पर्दैन ।

– यसको रोकथाम हाम्रो हातमा छ । भीडभाडमा नजाने, हात धोइरहने, बिना काम घर बाहिर नजाने गर्दा ९०% रोकथाम हुन्छ ।

lulu

Previous articleगाँजासम्बन्धी विधेयक प्रदेशसभा सचिवालयमा पनि दर्ता
Next articleप्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन