रत्ननगर । पूर्वी चितवनको कालिका नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
बुधबार आयोजित सो नगरपालिकाको दोस्रो कार्यकालको सातौँ नगरसभाबाट ९५ करोड सात लाख २० हजारबराबरको बजेटसहित शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणलाई जोड दिएर बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । नगरसभामा मेयर विनोद रेग्मीले नीति तथा कार्यक्रम र उपमेयर विमला तामाङले बजेट प्रस्तुत गरेकी हुन् ।
मेयर रेग्मीले विपन्नलाई आवास, एक घर दुई बिरूवा, कृषि व्यवसायमा कर छूट, नगर खानेपानी बोर्ड स्थापना, सडक मर्मत कोष निर्माण, रैथाने बाली जोगाउन अधिकतम अनुदानलगायतका योजना नीति तथा कार्यक्रममा समेटिएको बताए । आर्थिक अभावका कारण झुप्रोमा बस्दै आएको विपन्न वर्गका लागि एक वर्षमा ५० वटा घर निर्माण गर्ने गरी आवास निर्माण कार्यक्रम ल्याइएको मेयर रेग्मीले बताए ।
नगरपालिकाले अवलम्बन गरेको नीति र कार्यक्रमहरुलाई आत्मसात् गर्दै आगामी आव ०८२/०८३ का लागि राजस्च तथा अनुदान प्राप्तिको अनुमानका आधारहरुमा कुल बजेट रकम ९५ करोड सात लाख २० हजार विनियोजन गरेको राजस्व परामर्श समितिकी संयोजकसमेत रहेकी उपमेयर तामाङले जानकारी दिइन् ।
बजेटमा संघीय सरकारतर्फ समानीकरण अनुदान १३ करोड ८५ लाख, सशर्त अनुदान २५ करोड ५८ लाख, विशेष अनुदान दुई करोड ८५ लाख, समपूरक अनुदान ७३ लाख र राजस्व बाँडफाँट १२ करोड ४६ लाख ९४ हजार र बागमती प्रदेश सरकारतर्फ समानीकरण अनुदान एक करोड ४० लाख १६ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
त्यसैगरी, सशर्त अनुदानतर्फ दुई करोड ५५ लाख २५ हजार, विशेष अनुदान ६५ लाख, समपूरक अनुदान दुई करोड ३२ लाख, राजस्व बाँडफाँटमा पाँच करोड ७६ लाख ८५ हजार, आन्तरिक आयतर्फ सात करोड, जनसहभागिताबाट एक करोड ५० लाख सडक बोर्डबाट ४० लाख, मालपोत रजिष्ट्रेसनबापत पाँच करोड र नदीजन्यबाट दुई करोड तथा चालू वर्षको जिम्मेवारी सर्ने ११ करोडसमेत समावेश गरी जम्मा ९५ करोड सात लाख २० हजारको बजेट प्रस्तुत गरिएको छ ।
नगरसभामा चालू वर्षको आर्थिक गतिविधि तथा बजेट कार्यान्वयनको समीक्षा गरिएको छ । चालू आर्थिक वर्षमा छ करोड राजस्व सङ्कलन हुने अनुमान गरिएकोमा ज्येष्ठ मसान्तसम्म चार करोड ६७ लाख २३ हजार प्राप्त भएको हुँदा चालू आर्थिक वर्षको अन्त्यसम्ममा लक्ष्यअनुसारकै राजस्व सङ्कलन हुने अनुमान गरिएको छ ।
कुल खर्च ९२ करोड ९७ लाख ७४ हजार रूपैयाँ हुने अनुमान गरिएकोमा सघीय सरकार तथा बागमती प्रदेश सरकारबाट हालसम्म ७१ करोड २८ लाख ६३ हजार छ सय ६० प्राप्त भएको छ । चालू आर्थिक वर्षको जेष्ठ मसान्तसम्म चालू खर्चतर्फ ४९ करोड ७१ लाख ६४ हजारमध्ये ३५ करोड ९६ लाख ४२ हजार अर्थात् ७२.३४ प्रतिशत खर्च र पुँजीगततर्फ ४३ करोड २६ लाख नौ हजारमध्ये १८ करोड ५० लाख ४० हजार अर्थात् ४२.७७ प्रतिशत खर्च भएको तथा कुल खर्च रकम ५४ करोड ४६ लाख ८२ हजार अर्थात् ५८.५८ प्रतिशत भएको छ ।
सो नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा घुम्ती शिविरमार्फत नगरवासीको घरदैलोमा सेवा प्रदान, भ्रष्टाचारविरूद्ध शून्य सहनशीलता, उत्कृष्ट काम गर्नेलाई सम्मान, मेयर केयर कार्यक्रमलाई निरन्तरता, एक वडा एक खेल मैदान, नगरस्तरीय आधुनिक पुस्तकाल निर्माण, कालिका अस्पतालमा इन्डोर सेवा सञ्चालन, २०८३ असोजसम्म बालमैत्री नगर घोषणा, बालबालिकासँग उपमेयर कार्यक्रम, सामूहिक खेती गर्नेलाई अनुदान दिने मेयर रेग्मीले बताए । मीठोमसिनो, पोसिलो खाऊँ तर खाना नफालौँ भन्ने नारालाई आत्मसात् गरेको नगरपालिकाले रैथाने बाली जोगाउन फापर, कोदो, अदुवा, हलेदो, पिँडालुको बीउमा अनुदान दिने घोषणा गरेको उनले बताए ।
नगरसभाले संस्थागत तथा सुशासन समितिका संयोजक दीपकबहादुर भट्टराईले प्रस्तुत गरेको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण, करार कर्मचारीको म्याद थपसम्बन्धी प्रस्ताव पारित भएको नगर प्रवक्ता लक्ष्मण पौडेलले जानकारी दिए ।
नगरसभामा सामाजिक विकास समिति संयोजक मकरमान श्रेष्ठ, पूर्वाधार विकास समितिका संयोजक लक्ष्मण पौडेल, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक वीरेन्द्र तामाङ, आर्थिक विकास समितिकी सदस्य सम्झना परियार, लेखा समिति संयोजक टीकाराम रेग्मीले विषयगत समितिको प्रतिवेदन प्रस्तुत गरेको प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले जानकारी दिए ।

