स्पेनी फुटबलको महारथी रियल मड्रिड क्लबका नेपाली प्रशंसक समूहका संयोजक हुन्– रविन न्यौपाने। पर्यटन व्यवसायमा आबद्ध उनी बेलाबेला रियलको खेल हेर्न पुगिरहन्छन्।
क्लबले विभिन्न देशमा भएका आफ्ना प्रशंसकहरुको संगठनसँग नियमित सम्पर्क राखिरहेको हुन्छ। रियलका ‘डाइ हार्ड’ फ्यान रविनको पनि क्लबका पदाधिकारीसँग बेलाबेला सम्पर्क भइरहन्छ। मड्रिड पुगेका बेला पदाधिकारीहरूकै सहयोगमा उनले कप्तान सर्जियो रामोस, मार्सेलो, लुका मोड्रिच, इस्कोलगायत खेलाडीसँग भेट गर्ने तथा उनीहरुसँग तस्बिर खिच्ने अवसर पाएका छन्।
हरेकपटक मड्रिड जाँदा रविन केही न केही मायाको चिनो लिएर जान्छन् र क्लबलाई हस्तान्तरण गर्छन्। पछिल्लोपटक सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेपछि ट्रेकिङ कम्पनी चलाइरहेका उनी प्रचारप्रसारका लागि पर्यटन बोर्डको कार्यक्रममा नेदरल्यान्ड्स जाँदै थिए। त्यहीँबाट उनले मड्रिड जाने योजना बनाए।
मड्रिड जाने भएपछि आफूले लैजाने उपहारबारे उनी सोचिरहेका थिए। त्यही बेला सामाजिक सञ्जालमा रंगीन मण्डलबीचमा अन्य फुटबल क्लबको लोगो उनले देखे। उनले रियलको यस्तै लोगो बनाएर लैजाने सोच बनाए।
त्यस्तो लोगो बनाउँथिन् भक्तपुरकी लकिता कायस्थले। रविनले लकितालाई रियलको लोगो बनाइदिन आग्रह गरे। उनले सहर्ष स्वीकारिन्। रविन लकिताले बनाएको कला बोकेर मड्रिड उडे।
रविनले जनवरी १८ मा क्लबका संस्थागत सम्बन्ध विभागका निर्देशक एमिलियोलाई लकिताले बनाएको त्यो कला हस्तान्तरण गरे। ‘स्पेनबाट दुई विश्वकप खेलेका र रियल मड्रिडमा १२ सिजन बिताएका प्रसिद्ध खेलाडी एमिलियोले नेपाली कलाकारको सिर्जना ग्रहण गर्नु नै ठूलो कुरो हो,’ रविनले सुनाए, ‘लकिताले बनाएको उक्त कला रियलको प्रसिद्ध सान्टियागो बर्नाबाउ रंगशालामा सजिनेछ।’
सन् १९८४ देखि १९९२ सम्म स्पेनको राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका र रियल मड्रिडबाट ३४१ खेल खेलेका एमिलियो चर्चित खेलाडी हुन्। अझ १९४७ मा निर्माण पूरा भएको ८१ हजार दर्शक अट्ने सान्टियागो बर्नाबाउमा नेपालको चिनो रहनु गौरवको कुरो भएको उनले बताए।
यही रंगशालामा चार पटक युरोपियन च्याम्पियन्स लिगको फाइनल खेल आयोजना भइसकेको छ। सन् १९८२ को फिफा विश्वकप फाइनल खेलसमेत यही स्टेडियममा भएको थियो। विश्वकप र च्याम्पियन्स लिग दुवैको फाइनल आयोजना गर्ने यो युरोपको पहिलो रंगशाला पनि हो। ऐतिहासिक रंगशालामा नेपाली कलाकारको सिर्जनाले ठाउँ पाउनेछ।
‘मड्रिडको त्यो प्रसिद्ध स्टेडियममा मेरो कलाले पनि स्थान पाउने भएपछि म धैरै खुसी छु,’ लकिताले नेपालखबरसँग भनिन्, ‘त्यहाँ पुर्याउन सहयोग गर्ने रविन दाइलाई धन्यवाद दिन चाहन्छु। यो मेरो जीवनकै ठूलो उपलब्धि हो। मड्रिडमा नेपालको प्रतिनिधित्व मेरो कलाले गर्ने भएपछि म गौरवान्वित छु।’
मण्डलले दिएको खुसी
काठमाडौंको पुतलीसडकमा लकिताका बुबाले रङको पसल राखेका थिए। ६ सदस्यीय परिवारको गुजारा त्यसैबाट चल्थ्यो। लकिता भक्तपुरमै १२ कक्षामा पढ्दै थिइन्। तर, चार वर्षअघि फोक्सोको क्यान्सरले बुबाको निधन भएपछि कायस्थ परिवारको व्यवसाय ठप्प भयो। लकिताको पढाइमा मन बसेन।
जेठी छोरी लकिताले भाइबहिनीको पढाइमा सघाउन आफूले पनि काम गर्नुपर्छ भन्ने ठानिन्। त्यही सोचले उनलाई अटोमोबाइल कम्पनीको जागिरमा पुर्यायो। तर, त्यो काम उनले खासै रुचाइनन्।
एकदिन युट्युब चलाइरहँदा मण्डल कोर्दै गरेको भिडियो उनले देखिन्। त्यो उनलाई आकर्षक लाग्यो। त्यस्ता अरु भिडियो पनि उनी हेर्न थालिन् र भिडियो हेर्दै मण्डल कोर्न पनि सिकिन्।
‘खाली समयमा मण्डल कोर्दा एक किसिमको आनन्द महसुस गर्न थालें। विस्तारै त्यसैमा रुची बढ्दै गयो। त्यसले बुबाको निधनपछि मेरो मनको पिर पनि कम गर्दै लग्यो,’ तीन वर्षअघि मण्डल कोर्न थालेकी उनले भनिन्।
बिस्तारै मण्डलको ढाँचा, त्यसको ‘डिटेल्स एन्ड डट्स’ मा उनी भिज्न थालिन्, सीप तिखार्दै लगिन्। आफूले बनाएका मण्डलको तस्बिर उनी फेसबुक र इन्टाग्राममा पनि अपलोड गर्थिन्। सयौं लाइक र कमेन्ट आउँथे। एकदिन त उनलाई ‘अर्डर’ पनि आयो।
‘सुरुमा एकजनाले मलाई ब्ल्याक एन्ड ह्वाइट मण्डलको अर्डर गर्नुभएको थियो। एकहप्ता लगाएर मैले त्यो बनाएँ। त्यसबापत २ हजार रुपैयाँ पाएकी थिएँ। त्यसले म निकै खुसी अनि उत्साहित भएँ। थप काम गर्ने जाँगर आयो,’ उनले स्मरण गरिन्।
त्यसपछि लकिताले जागिर छाडिन्, पूर्णकालीन मण्डल डिजाइनर बनिन्। अर्डर पनि बढ्दै गए। अनुभवसँगै मण्डलको मूल्य पनि बढ्दै गयो। अहिले मानिसहरू उनले बनाएका मण्डलको ३० हजार रुपैयाँसम्म तिर्छन्।
‘पछिल्लो २ वर्ष मण्डलबाटै मेरो खर्च चलिरहेको छ। भाइबहिनीको पढाइमा पनि सहयोग गर्न पाएकी छु, खुसी छु,’ घरमै सानो ग्यालरी सञ्चालन गरेकी लकिता सुनाउँछिन्।
फुटबल र मण्डल
लकिता इङ्लिस फुटबल क्लब लिभरपुलकी फ्यान हुन्। सन् २०१८ जुनमा उनलाई आफ्नो क्लबको लोगो राखेर मण्डल कोर्न मन लाग्यो र डिजाइन गरिन्।
त्यो देखेपछि उनका साथीभाइले पनि आ–आफ्ना क्लबको लोगोसहितका मण्डल बनाउन अर्डर गर्न थाले। त्यसैअनुसार लकिताले विभिन्न क्लबको लोगो बनाइदिइन्।
सामाजिक सञ्जालमा छरिएका तिनै लोगोसहितका मण्डल रविनले देखेपछि मड्रिडको लोगो बनाइदिन अनुरोध गरेका थिए।
‘अरू क्लबको चाहिँ मैले सीधै मण्डलभित्र लोगो राखेर सिम्पल डिजाइन गर्थें। यो क्लबलाई नै दिने भनेपछि मड्रिडको लोगो नै सर्कलमा बनाएँ। यो अरूभन्दा ठूलो बनाएर डिजाइन गर्दा ६ दिन लागेको थियो,’ लकिता सुनाउँछिन्।
मानव जीवनचक्रको प्रतिनिधित्व गर्ने मण्डलमै आफ्नो जीवन व्यतित गर्ने उनको सोच छ। बुबाको निधनपछि चार वर्ष पढाइ छुटेको थियो। अब स्नातक मा फाइन आर्ट्स पढ्ने उनको सोच छ।