मोहम्मद रमजान अली मियाँ- इतिहासका पानाहरु पल्टाएर हेर्ने हो भने कतारको प्रमुख आयस्रोत माछा मार्नु र समुद्रमा मोती खोज्नु थियो । सन् १९२० मा जापानी मोतीको बजार फस्टाए पछि कतारमा मोतीको व्यापार ध्वस्त नै भएको थियो । मोतिको व्यापार ध्वस्त भएसँगै कतारमा गरिबी, कुपोषण र विभिन्न प्रकारका रोगहरु फैलिएका थिए । गरिबीको चपेटामा परेको मुलुकले सन् १९३९ मा दुख्खान भन्ने स्थानमा पेट्रोलको कुवा पत्ता लगायो । तर दोस्रो विश्वयुद्धका कारण कतारले त्यो क्षेत्रबाट सन् १९४९ सम्म त्यति लाभ उठाउन सकेन । प्राकृतिक ग्यास पत्ता नलागुन्जेल कतारको महत्वपूर्ण आर्थिक आम्दानीको स्रोत नै कच्चा तेलको व्यापार बन्यो । पुर्वमहाराज शेख खलीफा बिन हमदको शासनकालमा कतार नवयुगमा कदम राख्न सफल भए । शेख खलीफाले देशलाई गतिदिन खुब मिहिनेत गरे । कतारमा आप्रवासीहरुको आगमन पनि सोही समयमा भएको पाइन्छ । आप्रवासीका पिता मानिने शेख खलीफा निक्कै नरम स्वभावका दीर्घगामी सोच राख्ने शासक थिए ।
कतार विगत लामो समयदेखि नेपालीहरुको लागी मात्र नभई विश्वका अति विकसित मानिएका देशका नागरिकहरुको निम्ति पनि रोजगारीको अति आकर्षक गन्तव्यको रुपमा रहिआएको छ । कतारको सुरक्षा व्यवस्था, प्रशासनिक नीति, नियम कानून तथा सरकारले विकासको निम्ति अवलम्बन गरेको दीर्घकालीन रणनीतिलगायत अन्य परिवर्तनकारी विषयहरुले पनि कतारलाई अन्य खाडी मुलुकको तुलनामा विशिस्टता प्रदान गरेको छ । हुन त कतारमा नेपालीहरुको प्रवेश सन् १९८६ को दशक तिर भएपनि विधिवत रुपमा सन् २००५ मा नेपाल र कतारबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर भए पछि मात्रै नेपालीहरुको उपस्थिति बाक्लिदै गएको पाइन्छ । नेपालीहरु साधारण श्रमिकदेखि उच्च पदसम्ममा कार्यरत रहेका छन् । बिगतमा झैं हाल फेरि कतारको सुरक्षा निकायमा पनि नेपालीहरुको प्रवेश शुरु भएको छ । जसले गर्दा नेपालीहरुले आफ्नो दक्षता सीप र क्षमता देखाउने अवसर पाएका छन । कतार खाडी मुलुकहरुमा बिश्वकप फुटबल आयोजना गर्ने पहिलो मुलुकको रुपमा स्थापित हुँदैछ । जसका निम्ति कतारले तीव्रताका साथ भौतिक पुर्वाधार निर्माण सम्पन्न गरिरहेको छ ।
विश्व खेल जगतलाई नै अचम्मित गर्ने अन्तर्राष्ट्रिय स्तरका ‘इको फ्रेन्डली’ रंगशालाहरुको निर्माण, आगन्तुक दर्शक तथा संचारकर्मी र पाहुनाहरुको निम्ति गरिएका चमत्कारी व्यवस्था खेल इतिहास कै अर्को महत्वपूर्ण कदम हुनेछ । कतारी वर्तमान अमीर शेख तमीम बिन हमद अल थानीको गजबको इच्छाशक्ति र उनको दृढताले कतारलाई छोटो समयमै सफलताको शिखरमा पु¥याएको कुरालाई विश्व जगतले बडो चासोको रुपमा हेरिरहेको छ । यति मात्र होइन कतारले अवलम्बन गरेको भिजन २०३० ले कतार ५ क्षेत्रहरूको चमत्कारी विकाससँगै युगान्तकारी परिवर्तनसहित अर्को नवयुगमा प्रवेश गर्नेछ । कतारले जहाँ आफ्नो दिगो विकास र देश निर्माणलाई प्राथमिकता दिएको छ । सोही समयमा विश्वका प्राय सबै देशहरूसँगको पारस्परिक कुटनैतिक सम्बन्ध र आपसी हितका विषयहरुलाई छलफलमा ल्याई मजबुत नाता स्थापित गर्न सक्षम भएको छ ।
संयुक्त राज्य अमेरिका, बेलायत, टर्की, रुस, फ्रान्स, जर्मनी, मलेसियालगायतसँगको निकटता तथा सहकार्यले कतारलाई विश्व जगतकै हितैषी मित्र बनाइदिएको छ । समय समयमा विश्व जगतलाई आइपर्ने विभिन्न खाले जटिलता, समस्या, महामारी तथा प्रकोपलगायत आपसी द्वन्द्व र मतमतान्तरमा पनि कतारको मध्यस्थता बडो अहम रहिआएको छ । चाहे त्यो अफगानिस्तानमा शान्ति स्थापनाको लागि अफगान तालिबान र संयुक्त राज्य अमेरिकाबिचको मध्यस्थता होस् वा लेवनान र सुडानका विवादहरु नै किन नहुन् । कतारको भूमिकालाई इतिहासले सधैँ स्मरण गरिरहने छ । केही समय आफ्नै छिमेकी देशहरुले लगाएको कडा नाकाबन्दी र कुटनैतिक सम्बन्ध विच्छेदलाई कतारले बडो साहसका साथ डटेर मुकाबिला ग¥यो । फलस्वरूप कतार आफुलाई धेरै विषयमा आत्मनिर्भर बनाउन सक्षम भयो ।
कतारका अनगिन्ती सबल पक्षहरु छन्, जसले कतारलाई उचाइमा पुर्याउन मद्दत गरिरहेको छ । आज कतार र दोहाको नाम नसुन्ने कमै होलान । यद्यपि कतारबारे केही तथ्यहरु निकै रोचक छन् । सानो जनसंख्या त्यसमा पनि युवाहरुको ठूलो संख्या कतारका सबल पक्ष हुन भने कतारलाई पेट्रोल र प्राकृतिक ग्यास एलएनजिको भण्डारको सहयोगले विश्वको सबैभन्दा धनी देशको सुचीमा पार्न सफल भएको छ । सिङ्गापुर पछि विश्वका सबैभन्दा अधिक अरबपत्तिहरु बस्ने देश हो कतार । कतार एयरवेज, कतार फाउन्डेसन, कतारका विभिन्न प्रकारका संग्राहलय तथा कतार च्यारिटी आकर्षण हुन । २४ लाखभन्दा बढी आप्रवासीहरु बसोबास गर्ने हुनाले कतार आप्रवासीहरुको निम्ति दोस्रो घर बन्न पुगेको छ । कतारमा १८० देशका नागरिकहरु बसोबास गर्दछन् । आधुनिक कतारको निर्माणका सहकर्मी नेपालीहरु कतारको चाखलाग्दो विकासलाई हेरेर आफ्नो देशमा पनि यस्तै विकास भएको हेर्न चाहन्छन् ।
कतारी जनतामा गज्जबको र लोभलाग्दो बलियो राष्ट्रियता छ । जुन कुरा साढे ३ वर्ष लामो कठोर नाकाबन्दीले प्रष्टयाएको छ । नाकाबन्दीमा कतारले अपनाएको नीति तथा अन्तर्राष्ट्रिय समुदायबीच उसले राखेको धारणा र पारस्परिक सम्बन्धलाई कायम राख्न खेलेको भूमिका कुटनैतिक इतिहासमा बिरलै देख्न पाइन्छ । समस्या हुन्छन् र आउँछन् तर, समाधान भनेको वार्ताको मेच नै हुने हो । कसैले कसैलाई निषेध गर्नु हुँदैन् भन्ने कुरा कतारले प्रष्ट पारेको छ ।
आफ्नो देशको विकासका योजनाबारे सबैको धारणामा एकरुपता देखिन्छ । कतारले बिगत १२ वर्षमा अनौठो चमत्कारिक विकास गरेको छ । शिक्षा स्वास्थ्य, खेलकुद र सुरक्षाबारे गुरुयोजनाले सबै तहका नागरिकलाई समेटेको छ । फलस्वरूप कतारले पश्चिमा देशहरुका प्रतिष्ठित विश्वविद्यालयका कलेज तथा ब्राञ्चहरु स्थापना भएका छन् । जहाँ कतारी नागरिकसहित विदेशी नागरिकले पनि पुर्ण छात्रवृत्ति स्कलरसीपमा अध्ययन गर्न पाउँछन् । अध्ययनपछि आकर्षक जागीर पनि सहजै पाउँछन् । स्वास्थ्यको कुरा गर्ने हो भने संयुक्त राज्य अमेरिका पछि कतारमा मात्र जेसिआई मापदण्डअनुसारको उपचार सुविधा पाइन्छ । खेल र खेलकुद कुटनीतिले विश्वको ध्यानाकर्षण कतार तर्फ गराएको छर्लङ्गै छ । सुरक्षा मामिलामा कतारले अपनाएको आधुनिक प्रणालीका कारण कतार मध्यपुर्वको अग्रस्थानमा पर्दछ ।
कतारका संस्थापक मानिने एवं कतार एकीकरणका नेता शेख जासीम बिन मोहम्मद अल थानी (१८२५–१९१३) बाट नै राज्य संचालनमा कतारका शासकहरुमा साझा धारणा कायम रहिआएको कुरा इतिहासले बताउँछ । त्यो भनेको आधुनिकतालाई अंगाल्नु पर्छ । आफ्ना पुर्खाको इतिहासलाई आत्मसात गर्दै आधुनिक सोचको बन्नुपर्छ । विकास र प्रगति गर्नुपर्छ, कतारीले विश्वमा चिनिनु पर्छ भन्ने हो । कतारको सरकारले आफ्नो देशका प्राकृतिक स्रोत, साधनको सही सदुपयोग गरेको पाइन्छ । जसको ज्वलन्त उदाहरण हो कतारको लोभलाग्दो विकास र आश्चर्यजनक प्रगतिपश्चात देखिएको आधुनिक कतार । सरकार र राज्यका विभिन्न निकायहरुमा महिलाहरुको उल्लेख्य उपस्थितिले पनि कतारलाई अन्य अरब मुलुकको तुलनामा विशिष्टता प्रदान गरेको छ । सरकारमा बस्नेहरुले भ्रष्टाचार गरेको कमै सुन्न पाइन्छ । कतारमा भ्रष्टाचारमाथि शुन्य सहनशीलता अपनाइन्छ । भ्रष्टाचार उन्मुलन अभियानमा कतारका वर्तमान अमीर शेख तमीम बिन हमद अल थानीको विश्वव्यापी अभियान गर्व गर्न लायक छ ।
कतारले आफ्नो देशको जग बसेको १८ डिसेम्बर १८७८ लाई मान्ने गरेको छ । त्यतिखेरका अमिर शेख जासिम बिन मोहमद बिन अलथानीले विभाजित समुदायलाई एकतामा बाँधेर अगाडि बढाउन सफल भएका थिए । कतारका संस्थापक शेख जासिम बिन मोहम्मद बिन अल थानी हुन् । शेख जासिमले शासनभार सम्हालेको दिन डिसेम्बर १८ सन् १८७८ लाई कतारको इतिहासमा स्वर्ण अक्षरले लेखिएको ऐतिहासिक दिन मानिन्छ । यसैको सम्झनामा कतारमा हरेक वर्ष राष्ट्रिय दिवस मनाउने गरिएको छ । त्यही समयको सम्झनामा हरेक डिसेम्बर १८ मा राष्ट्रिय दिवस मनाईदै आएको छ ।
https://www.ujyaalonepalnews.com/archives/16829