बागलुङ बजार र बौर जोड्ने नयाँ पदमार्ग पहिचान

Click Image

गलकोट। बागलुङको भकुन्डे र बौरअन्र्तगत ओझेलमा परेका पर्यटकीयस्थलहरुलाई समेटेर बागलुङ बजार– भकुन्डे– बौर पर्यटक पदमार्ग पहिचान भएको छ ।

विश्व भेगन अर्गनाइजेशनले ग्रामीण रहनसहन र संस्कृति अध्ययन गर्न र यस क्षेत्रको पर्यटन विकासमा सहयोग पु¥याउने उद्देश्ले सो पदमार्ग पहिचान गरेको हो । सो पदमार्ग छ दिनको हुनेछ ।

पदमार्गमार्फत पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकन गर्न रुचाउने विदेशी पर्यटकलाई ल्याउनका लागि नयाँ पदमार्गको पहिचान गरी पर्यटन क्षेत्रको विकास गर्न थालिएको छ । पशु तथा पशुजन्य पदार्थ सेवन र प्रयोग दुवै नगर्ने विश्व भेगन समूहले नयाँ पदमार्गको अध्ययनसँगै विदेशी पर्यटकलाई यहाँको ग्रामीण जीवनशैली र रहनसहन, संस्कृति र विशुद्ध शाहाकारी जीवनशैलीमा रमाउनका लागि बागलुङलाई रोजेको पाइएको छ ।

दुई वर्ष अघिदेखि बागलुङ आउन थालेका भेगन समूहका विदेशी पर्यटक कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण रोकिएका छन् । बागलुङ बजार बसेर कालिका मन्दिर दर्शनसँगै अर्कौ दिन बागलुङको पर्यटकीय गाउँ भकुन्डेमा पुगेर घरबासमा बसेका पर्यटकले यहाँको सम्भावनासँगै यहाँको बसाइँ लम्याउनका लागि काठेखोला गाउँपालिकाको रेशसम्म आफ्नो पदमार्ग र बसाइँ लम्याउने गरी अध्ययन गरेको अर्गनाइजेशन नेपालका अध्यक्ष सुरेश शर्माले जानकारी दिनुभयो ।

दुई दिनको बसाइँ छ दिन पु¥याउनका लागि पदमार्ग र बौरलाई भकुन्डेसँग जोडेको उहाँले बताउनुभयो । “पशु तथा पशुजन्य पदार्थको प्रयोग नगर्ने विश्वव्यापी सञ्जालमा जोडिएका पर्यटकलाई बागलुङमा ल्याउने गरी पदमार्गको अध्ययन तीन वर्ष अधि नै भइसकेको थियो, भुकन्डे बागलुङबाट यातायात र पदमार्गमार्फत दुवै तरिकाले जानसक्ने छौँ” शर्माले भन्नुभयो “भकुन्डेसम्मको यात्रा भेगनका दुई समूहले गरिसकेको र अत्यन्तै रमाइलो र आकर्षक क्षेत्रका रुपमा यसलाई ल्याएकाले हामीले पदमार्गलाई लामो बनाएर रेशको बौरसम्म पु¥याएका छौँ, अब बागलुङ बजारदेखि बौर पुगेर बागलुङ आउँदा विदेशी पर्यटकले छ दिन बिताउनसक्ने हाम्रो निष्कर्ष हो ।”

बागलुङ घर भई लामो समयदेखि पर्यटन व्यवसायमा आबद्ध महादेव शर्माको पहलमा भेगन समूहमा आबद्ध विदेशी पर्यटकलाई पहिलो पटक सन् २०१९ मा बागलुङ बजारहुँदै भुकुन्डे पु¥याइएको थियो । यसको सम्भावनाका विषयमा विश्वभर चर्चा भइसकेको र पुनः भेगनका विदेशी पर्यटक यहाँ आउन रुचाइएका कारण पदमार्गसँगै विदेशी पर्यटकको बसाइँ लम्व्याउन, बागलुङ बजार, भुकन्डेदेखि बौरसम्मको पदमार्ग कायम गरिएको पर्यटन व्यवसायी महादेव शर्माले जानकारी दिनुभयो ।

“बागलुङ बजार एकरात बसेर कालिका मन्दिर दर्शन गर्ने पर्यटक दुईरात पदमार्गमार्फत पुगेर भकुन्डेमा बस्ने, हिमाल अवलोकन गर्ने, त्यहाँको हावापानी, रहनसहन, कला संस्कृतिको अध्ययन गर्ने र पुनः पदमार्गमार्फत काठेखोलाको रेशस्थित बौरमा पुगेर दुई दिने बस्ने गरी कार्य योजना बनाएका छौँ”, उहाँले भन्नुभयो “यो पर्यटकीय पदमार्ग र बस्ने घरबास छनोट र अध्ययनमा विश्व भेगन अर्गनाइजेशनका अध्यक्ष ज्याक आफै बागलुङ आउनुभएको छ, उहाँले चार÷पाँच पटक पर्यटकको समूह ल्याइसकेपछि आफै यो पदमार्गमा विदेशी पर्यटक ल्याउने योजना बनाउनुभएको छ ।”

पदमार्गमार्फत गाउँले परिवेश बुझ्दै यात्रा गर्ने विदेशी पर्यटकका लागि बागलुङ बजारदेखि भकुन्डे हुँदै बौरसम्मको यात्रा निकै स्मरणीय हुने विश्व भेगन अर्गनाइजेशनका अध्यक्ष ज्याकले बताउनुभयो । ज्याकका अनुसार पटक–पटकको अध्ययनपछि यहाँ पर्यटकीय सम्भावना बुझेर मात्रै विदेशी पर्यटक ल्याउन थालिएको हो । आगामी नोभेम्बरबाट पुन यो पदमार्गमा विदेशी पर्यटक ल्याइने छ ।

विश्वमा चर्चा पाएपछि पर्यटक आफै आउने ज्याकको अपेक्षा रहेको छ । खास गरी विशुद्ध शाहाकारी पर्यटकले यसलाई ‘भेगन पदमार्ग’का रुपमा विकास गर्ने योजनाका साथ बागलुङलाई रोजेको पर्यटन व्यवसायी बताउँछन् । उनीहरूले घरबासमा भेगन समूह आउँदा पशु तथा पशुजन्य उत्पादन प्रयोग नगरी खानालाई विशुद्ध शाहाकारीसँगै स्वादिष्ट र अर्ग्यानिक बनाउने विषयमासमेत घरबासका सञ्चालकलाई तालिम दिइसकेको बताएका छन् ।

सुरुमा दुई रात बिताउने गरी विदेशी पर्यटक आएकोमा आगामी दिनमा छ रात बिताउने गरी बागलुङ बजार, भुकुन्डे हुँदै बौरसम्मको पदमार्ग पहिचान गरी विकास गरिएको छ । यस क्षेत्रमा चिसो हावापानी र अर्ग्यानिक सागपात, फलफूल तथा गेडागुडी उत्पादन हुने भएकाले भेगनले यस क्षेत्रलाई रोजेका हुन् । विषादीरहित उत्पादन र छोटो यात्रामै विभिन्न हावापानी, हिम शृङ्खला अवलोकन, ग्रामीण जीवनशैली र संस्कृति अध्ययन गर्न पाइने भएकाले यहाँको पदमार्ग मुख्य आकर्षण बनेको हो ।

पहिलो सामुदायिक घरबासको रुपमा सञ्चालनमा आएको भकुन्डे र निकै रमणीय रहेको र बौरलाई जोडेर पदमार्गमार्फत पर्यटक ल्याउँदा यहाँका आर्थिक विकासमासमेत टेवा पुग्ने स्थानीयवासीको अपेक्षा रहेको छ ।

https://ujyaalonepalnews.com/archives/19444

Previous articleघट्दै सुनचाँदी मूल्य
Next articleसमाजवादी बाट रत्ननगर १६ मा क-कसको पर्यो उम्मेदवारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।