जेनिसको यात्रा : बार टेन्डरदेखि बेस्ट राइडरसम्म

0
35

‘पल्सर डेयर भेन्चर सिजन ४’ मा ललितपुर हात्तीवनदेखि भारतको उत्तराखण्ड राज्यस्थित हृषिकेश हुँदै लद्दाखको लेहसम्म ३ हजार किलोमिटरभन्दा लामो साहसिक यात्रा २८ दिनमा पूरा गरेर काठमाडौँ फर्किंदा जेनिस गुरुङको एउटा ठूलो सपना पूरा भएको थियो। तर, दुई महिनासम्म नतिजा घोषणा नहुँदा उनले त्यो समय छटपटीमा बिताए।

अन्ततः जनवरी १६ मा अडिसन राउन्डदेखिकै सहभागी सबैलाई ललितपुरको हात्तीवन बोलाइयो र नतिजा घोषणा गरियो।

२ हजार ६ सय २५ अंकसहित रियालिटी शो जितेर जेनिस ‘बेस्ट राइडर’ घोषित भए।

‘त्यो मेरो सपना पूरा भएको दिन थियो। तर, खुसी व्यक्त गर्न सकिरहेको थिइनँ,’ जेनिसले विजेता बन्दाको क्षण सम्झे, ‘सबैले बधाई दिइरहेका थिए। मैले घरमा फोन गरेर श्रीमती (प्रभा योञ्जन लामा)लाई सुनाएँ। उनी पनि खुसी भइन्।’

जेनिस मख्ख नपरुन् पनि किन, यही रियालिटी शो जित्न उनले वर्षौँ मेहनत गरेका थिए।

एकपछि अर्को असफलता
जेनिसले सानैदेखि बुबाको माया पाएनन्। बुबाले अर्को बिहे गरेपछि आमा बत्तुमायाले जेठो छोरालाई गोरखामै छाडेर माइला र कान्छा छोरा जेनिसलाई लिई काठमाडौँ आइन्। नारायणथानको एक कच्ची घरमा ५ सय भाडा तिरेर उनीहरु बस्न थाले।

आमा होस्टेलमा काम गर्थिन्। होस्टलकै चिनजानका आधारमा दुवै छोरालाई कमलपोखरीस्थित एक अंग्रेजी स्कुलमा छात्रवृत्तिमा पढ्ने व्यवस्था मिलाएकी थिइन्। नारायणथानदेखि कमलपोखरीमा जेनिस र उनका दाजु साइकलमै आवतजावत गर्थे।

एलएलसीपछि राम्रो कलेजमा पढ्न सक्ने अवस्था थिएन। उनका सबै साथी नाम चलेका निजी कलेजमा भर्ना भए। तर, आमाले सरकारी कलेजमा भर्ना गरिदिन्छु भन्दा उनले मानेनन्। बरु भने, ‘आमा अब म पनि काम गरेर तपाईंलाई सघाउँछु।’

‘नपढ्ने भए जेसुकै गर्,’ आमाको जवाफ थियो।

उनी काम खोज्न थाले र ठमेलस्थित लर्ड अफ द ड्रिंक्समा बार टेन्डरको काम पनि पाए। तलब ३० हजार थियो। त्यसमा टिप्स थपिन्थ्यो। आफूले जम्मा पारेको र केही घरको पैसा हालेर उनले बाइक किने, पल्सर २२०। फुर्सदमा साथीभाइसँग अफ रोडमा निस्किन थाले। कहिलेकाहीँ बाइक स्टन्ट पनि देखाउँथे।

‘तँ खत्रा बाइक चलाउँछस् यार!’ साथीहरुको प्रशंसा सुनेर उनी हौसिन्थे।

jenish_gurung1.jpg

साथीहरुले उनलाई पल्सर डेयर भेन्चरमा आवेदन दिन सुझाए। सन् २०१४ बाट हुलास चन्द एन्ड कम्पनी प्रालिले बाइक रियालिटी शो सुरु गरेको थियो। उनले सन् २०१६ मा यो शोको दोस्रो संस्करणमा आवेदन दिए। ५० जनाबाट १६ छान्ने भनिएको थियो। जेनिस छनोट भए। तर, पछि फर्म्याट परिवर्तन गर्दै १० जना मात्र छनोट गर्दा उनको नाम काटियो।

‘म हिँड्न तयार भइसकेको थिएँ। तर, शीर्ष दशबाट फालिएपछि मेरो सपना टुट्यो,’ उनले सुनाए, ‘म खुब रोएँ। त्यसदिन खानै रुचेन।’

अर्कोवर्ष डेयर भेन्चरको तेस्रो संस्करण हुने भयो। यसपटक जसरी पनि छनोट हुने उनको अठोट थियो। तयारी पनि त्यस्तै गरे। पहिलो चरणमा उनी अब्बल पनि ठहरिए। बाधा पन्छाउँदै अफरोडमा बाइक दौडाउने टास्क अरुलाई ५ मिनेट लाग्थ्यो, उनले डेढ मिनेटमै पार गरे।

नियमित जिम जाने उनले दोस्रो चरणको फिटनेस टेस्ट पनि सजिलै पार गरे र शीर्ष ५० मा छनोट भए। त्यसबाट शीर्ष १० छानिन्थ्यो, जो साहसिक यात्रामा जान्थे। तर ‘एटिच्युड टेस्ट’ मा फालिएपछि उनको सपना फेरि टुट्यो।

‘यात्रामा जाने दश जनाको नाम सुनाउँदा आफ्नो नाम कतिबेला आउँछ भनेर पर्खिरहेको थिएँ,’ उनी सम्झन्छन्, ‘तर, नाम नआएपछि एकदम निराश भएँ। आफैसँग रिस उठ्यो। हेल्मेट भुइँमा बजारेर फुटाएँ।’

तर, लगातार दुई असफलताले पनि उनलाई गलाउन सकेन।

सन् २०१७ मा यो रियालिटी शो भएन। उनी भने शो पर्खिरहेका थिए।

‘खुरुक्क विदेश नगएर के हल्लिरहेको होला,’ परिवार र साथीभाइले उनलाई भनिरहन्थे। ‘तर, मैले जसरी पनि शीर्ष १० मा छानिएर एकचोटी एडभेन्चर यात्रा गर्छु भन्ने ठानिसकेको थिएँ। त्यसैमा कटिबद्ध भएर लागेँ,’ उनले भने।

सन् २०१९ को नोभेम्बरमा शोको चौथो संस्करण हुने भयो। यसअघि मुस्ताङ, सोलुखुम्बु र मनाङमा कार्यक्रम गरेको आयोजकले यसपटक प्रतियोगीलाई भारतको लद्दाख लैजाने भएको थियो।

बुझ्दै जाँदा लद्दाख विश्वभरका एड्भेन्चर बाइक राइडर्सको प्रमुख गन्तव्य भन्ने थाहा पाएपछि त जेसनको मन झनै लोभियो। उनी लद्दाख जानैपर्छ भनेर कस्सिए।

राजीनामा दिएर रियालिटी शोमा
शोमा आयोजकले भिडियो पठाउन भनेको थियो। नारायणथानको डाँडामा गएर भिडियो बनाउन उनलाई साथी विज्ञान लामाले सघाए। सिमसिमे पानी परेको दिन २ मिनेट भिडियो सुट गर्न दुई घण्टा लाग्यो। तर भिडियो राम्रो बनेको थियो।

देशभरबाट ८ हजारको आवेदन परेको थियो, जसबाट आयोजकले सुरुमा ५ सय जना छान्यो। त्यसबाट १६ जना छनोट हुँदासम्म जेनिसको नाम छुटेन। तर, आयोजकले १२ जना मात्रै लद्दाख यात्रामा लैजाँदै थियो। १६ जनालाई चार समूहमा विभाजन गरेर महेन्द्रनगरसम्म चारवटा टास्क दिने र सो क्रममा चार जना बाहिरिने तय थियो।

रियालिटी शोमा जाने भएपछि उनले एलओडीमा छुट्टी मागे। तर, २८ दिनको छुट्टी नपाउने भएपछि उनले राजीनामा दिए।

अडिसन राउन्डको पहिलो समूहले हात्तीवन र दोस्रो तथा तेस्रो समूहले मुग्लिङमा टास्क गरे। जेनिसको पालो महेन्द्रनगरमा मात्रै आयो। कस्तो टास्क पर्ला भन्ने खुल्दुली उनको मनमा थियो। महेन्द्रनगर पुग्नेबित्तिकै उनले देखे, बाइकका सबै पार्टपुर्जा खोलेर राखिएको।

‘मलाई चिठ्ठै परेजस्तो भयो। बिग्रेको बाइक आफैँ बनाउँथे म,’ उनले त्यो क्षण सम्झेँ, ‘तर पल्सर २२० चलाइरहेको मलाई एनएस २०० जोडजाड गर्न अप्ठेरै थियो।’

तर, १५ मिनेटमा सक्नुपर्ने काम उनले ९ मिनेट २० सेकेन्डमै पूरा गरेर सग्लो बाइक तयार गरे। यससँगै १२ जनामा छनोट भएर उनी २८ दिने यात्रामा निस्किन तयार भए।

यात्रामा जेनिससँगै सौरभ केसी, प्रियंका सिटौला, उर्मिला श्रेष्ठ, जयन्ती श्रीस मगर, प्रदीप तामाङ, निशान्तकुमार शाह, आकृति घले, सशांक बोहोरा, नीरज महर्जन, जितबहादुर बडैला र सिजनराज महत थिए।

jenish_gurung2.jpg

साहसिक यात्राका उतारचढाव
महेन्द्रनगरबाट उनीहरुको टोली ९ घण्टाको दूरीमा रहेको उत्तराखण्डको ऋषिकेशतर्फ लाग्यो। बीचमा रात परेपछि बास बस्यो।

अर्कोदिन बिहान ४ बजे सबैलाई उठाइयो र गंगा नदीको किनारमा जम्मा पारेर टास्क दिइयो। पहेँलो र रातो गरी दुई समूहमा बाँडिएका उनीहरुले ऋषिकेश सरसफाइ गर्नुपर्ने थियो। कुहिने र नकुहिने फोहोर छुट्टाएर जसले बढी संकलन गर्थ्यो, त्यसैले जित्थ्यो।

जेनिस पहेँलो टोलीमा थिए। तर, उनको टोली हार्न पुग्यो। रातो टोलीका सबैले एक–एक सय अंक पाए। पहिलो टास्कमै रित्तो हात हुनुपरेपछि जेनिस आत्तिए। ‘च्याम्पियन बन्ने लक्ष्य राखेको मलाई पहिलो टास्क हार्दा रातभर निद्रै लागेन,’ उनले सुनाए।

दोस्रो टास्कका लागि होस्ट रोबिन तामाङले नियम सुनाए। पहेँलो टोलीले ६ मध्ये एक जना फाल्नुपर्थ्यो। आकृति बाहिरिइन्। बाँकी रहेका ५ मध्ये रातो टोलीले छानेका ३ जनाले मात्रै दोस्रो टास्क गर्न मौका पाउँथे। जेनिसले त्यो मौका पाए।

प्रसिद्ध गायक जोन लेननको आवाज गुञ्जिसकेको द बिटल्स आश्रममा दोस्रो टास्क हुँदै थियो। जहाँ वरफमा ३ मिनेट बसेर योगका पाँच पोज देखाउनुपर्ने थियो।

‘आइसमा उभिन निकै गाह्रो भएको थियो। खुट्टा चिसो, टाउको तातो भइरहेको थियो। तर मैले जसरी पनि यसपटक ‘रिकभर’ गर्नुपर्छ खुट्टा उचालिनँ। जितेर अंक बराबरी गरेँ अनि मात्र आनन्द भयो,’ उनले सुनाए।

त्यसपछि राइडर्सहरु करिब ८ घण्टा बाइक यात्रा गरेर पञ्जाबको राजधानी चण्डीगढ पुगे। असहाय बच्चाहरुलाई सहयोग गर्ने स्थानीय स्वयंसेवकहरुको संस्था रविनहुड आर्मीसँगको सहकार्यमा सय जना बालबालिकालाई खाना खुवाउने टास्क उनीहरु पाए। त्यसका साथै बाधा छलेर गोलो घेराभित्र बाइक घुमाउनुपर्थ्यो।

‘मैले आफ्नो बयान गरेको होइन। तर, सर्कलभित्र गइसकेपछि मैले खत्रै गरिदिएँ। सबैले मेरो तारिफ गरे,’ उनले भने। उनले सबैलाई पछि पारेर अंक जोडे।

त्यसपछि उनीहरु मनाली हिँडे। पहिलोपटक राइडरहरुले राति सबैभन्दा लामो यात्रा गरेका थिए। चण्डिगढबाट दिउँसो ३ बजे हिँडेका उनीहरु अर्को बिहान ६ बजे मात्रै पनाली पुगे। ६ घण्टा सुतेपछि लगत्तै अर्को टास्कका लागि उनीहरुलाई उठाइयो।

त्यहाँ पनि उनीहरुलाई दुई समूहमा बाँडेर उनीहरुले भिजिट नेपाल २०२० को ब्याज दिइयो। त्यो ब्याजलाई कुनै वस्तुसँग साटेर, साटिएको वस्तु बेच्नुपर्ने थियो। त्यसरी जसले बढी पैसा संकलन गर्यो, त्यो समूह विजेता हुन्थ्यो। उनीहरु आफ्नो कला देखाएर पनि पैसा संकलन गर्न सक्थे।

‘हामीले त्यो ४५ मिनेट के गरेनौं होला,’ जेनिस सम्झन्छन्, ‘सुरुमा एउटा पसलमा गएर ब्याज दिएर चकलेट माग्यौँ। फेरि चकलेट बेचेर पैस उठायौँ। पैसा जम्मा गर्न ‘गोर्खालीको छोरो म’ ‘यो मन त मेरो नेपाली हो’ भनेर गीत पनि गायौँ।’

नतिजा घोषणा हुँदा पहेँलोको भन्दा जेनिसको रातो टोलीले ६ सय रुपैयाँ बढी संकलन गरेको थियो। १३ सय अंक जोडेर जेनिस शीर्षमा थिए।

अर्को टास्क २ सय अंकको थियो। त्यसमा सौरभले सबैलाई उछिनेर अग्रता लिए। त्यो अग्रताले शोको अन्त्यसम्म सौरभलाई शीर्षमा राखिरह्यो। पुछारमा रहेका प्रियंका सिटौला, आकृति घले र निशान्तकुमार शाह बाहिरिए।

अर्को टास्क मनालीकै सोलाङ उपत्यकामा थियो। १५ मिनेटको समयमा बेलुनको ठूलो बललाई विपक्षीको पोस्टमा गोल गर्नुपर्ने थियो। यसमा सौरभले जेनिससँगको अग्रता २ सय अंक पुर्‍याए।

पेट्रोल कम खर्च गर्ने टास्कमा भने जेनिसको टोलीले जित हात पार्‍यो। यससँगै जेनिसले सौरभसँगको दूरी एक सय अंकमा घटाए। यो मौकामा जितबहादुर बडैला १५ सय २५ अंकसहित शीर्षमा आए। नुब्रा भ्यालीमा भएका दुई टास्क सकिँदासम्म २५ अंकले पछि थिए।

जेनिसको अग्रता
विश्वप्रसिद्ध पांगो‌ंग तालमा प्रिफाइनल हुँदैथियो। बाँकी रहेका ९ जना नै उत्साहपूर्वक जाँदै थिए। तर, ताल पुग्न चार किमी बाँकी छँदै होस्ट देखा परे र पुछारका उर्मिला श्रेष्ठ र सशांक बोहोरा बाहिरिए।

‘थ्री इडियट्सको क्लाइमेक्स सुटिङ भएको तालतर्फ जाँदै गर्दा ठूलो उत्साह थियो। तर, लामो समय सँगै यात्रा गरेका साथीहरु बाहिरिँदा खल्लो लाग्यो,’ जेसनले सुनाए, ‘हामीले मुटुमाथि ढुंगा राखेर उनीहरुलाई विदा गर्‍यौँ।’

१ सय ३४ किलोमिटर लामो ताल पुग्दा सातै जनाले अघिल्लो दिनको दुःख र यात्राको थकान बिर्सिए। ताल किनारमा अर्को टास्क भयो। बाइकले बालुवामाथि राखिएका बक्स फुटाएर अंक जोड्नुपर्ने थियो। यो जितेर जेनिसको शीर्षमा रहेका सौरभको जतिनै १८ सय ५० अंक जोडे। निरज र सिजन भने बाहिरिए।

त्यसपछि उनीहरु लद्दाखको लेह सहर फर्किए। त्यहाँ हिमालबाट बगेर आएको नदीमा तीनवटा र्‍याफ्टमा तीनतीन गरी ९ वटा झण्डा थियो। चिसो नदीमा हाम फालेर बढी झण्डा ल्याउने र प्रश्नको सही उत्तर दिएर अंक जित्नुपर्ने थियो।

jenish_gurung3.jpg

सौरभले र जेनिसले ९ वटै झण्डा ल्याए। तर, प्रश्नोत्तरमा जेनिसले सौरभलाई ५० अंकले पछि पारे।

लेहमा विभिन्न टास्क सम्पन्न गरेपछि ५ सयको अन्तिम टास्कका लागि उनीहरुलाई एक गुम्बामा राखियो। त्यहाँ प्रतियोगीलाई तीन तस्बिर दिइएको थियो। जसलाई खोजेर सेल्फी खिची एक भिक्षुलाई देखाउनुपर्ने थियो। भिक्षुले दिएको कनेक्टर, डाइनामो र लाइट लगेर साइकलमा जोडी बत्ती बाल्नुपर्थ्यो। समय २० मिनेट।

पहिलो नम्बरमा जेनिस, अनि सौरभ र प्रदीपले टास्क सके। तर, नतिजा त्यहाँ सुनाइएन।

त्यसका लागि उनीहरुले दुई महिना पर्खिनुपर्‍यो।

काममा फर्कने चाहना
रियालिटी शो जितेपनि विदेशमा बसेका दाइहरुबाट बधाई नपाउँदा जेनिसको मन खुम्चेको छ। ‘नेपालमै बसेको छ, लफंगा भएको छ भनेर हो कि किन हो, दाइहरुले खासै वास्ता गर्नुभएन,’ उनी भन्छन्, ‘एकचोटी फोन गरेर भाइ के छ हाल खबर भनेर सोधिदिनु भएको भए म कति खुसी हुन्थेँ होला।’

यतिबेला उनी पुनः काममा फर्किन चाहन्छन्। तर, फर्केर आएपछि पनि एलओडीले उनलाई काममा राखेन।

‘ग्राहकले अझै मेरो नाम सोधिरहन्छन् रे, म सबैको प्रिय थिएँ। क्लबले फेरि काममा बोलाओस् भन्ने मेरो चाहना छ,’ उनले भने।

पशुपतिनाथ मन्दिर क्षेत्रमा जम्मा भएका फोहोर सफाइ अभियान शुरु

Previous articleव्यवसायीहरूको लगानीको सुरक्षा सरकारले दिन सकेन : मनिष कुमार मारु
Next articleझलनाथ खनालको संयोजकत्वमा एमसिसीबारे सुझाव समिति गठन