Home Uncategorized एउटा यस्तो नाच, जसले मान्छेको आङमा ‘देउता’ चढाउँछ (भिडियो)

एउटा यस्तो नाच, जसले मान्छेको आङमा ‘देउता’ चढाउँछ (भिडियो)

‘अकाल मरेको, विकाल मरेको- अकालमा मरेको … धुपधुपेनी, सुरेनी मुरेनी रक्षा गरिदेऊ…।’

गुरुबा लोकबहादुर फगामी मगरले जब गीत अलापे, टाउकोमा कालोटोपी, गलामा माला, भोटो र कछाड, त्यसमाथि भाङ्ग्रा अनि मादल लिएका पुरुषहरु नाच्न थाले। तीमध्ये कोहीकोही महिलाले लगाउने चोली, गुन्यू, पटुका, घल्याङ, पछ्यौरा, माला, हातमा रैयाले सिंगारिएका थिए।

गीत अलाप्दै गुरुबा फगामी भाङ्ग्राबाट अक्षता निकाल्थे र आकाशतिर फाल्थे। उनले निकाल्ने हरेक गीतका टुक्कामा देउताको नाम जपिन्थ्यो। देउताको नाम आउनासाथ गुरुजस्तै अरुले पनि अक्षता आकासतिर फाल्थे। महिलाहरुले उनको गीतमा हा… हा…भन्दै छोप्थे। बेलाबेला मादलको ताल बदलिन्थ्यो। नाच अगाडि बढ्दै जाँदा त्यहाँ रहेका महिला र पुरुषहरु एकाएक काँम्न थाले। काम्नेको संख्या बढ्दै गयो।

पहिलोपटक देख्नेलाई नाटकजस्तो लागे पनि काँम्नेहरुले नाटक गरेकै हुन् भन्ने ठाउँ नै थिएन। मध्यमाघमा म्याग्दीको नारच्याङमा देखिएको दृष्य हो, यो। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मञ्चमै बसेर रुचिपूर्वक नाच हेर्दै मात्र थिएनन्, मोवाइलमा भिडियो कैद पनि गर्दैथिए।

म्याग्दीतिरका मगरहरुको पुख्र्यौली नाचको दृष्य हो यो। मगरहरुले परापूर्वकालदेखि नाच्दै आएको यो नाचमा देवताहरुको नाम जपिन्छ। सोरठीकै अर्को स्वरुप हो यो नाच।

पुख्र्यौली नाचका गुरु लोकबहादुर फगामीको भनाई अनुसार जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कार, संस्कृति, चाडपर्व, मेला आदिमा यो नाच प्रस्तुत गरिन्छ। तीन चरणमा नाचिने नाचमा गुरुवा/मुख्य मादलेको प्रमुख भूमिका हुन्छ। हाई हाल्ने गीदाङ्गे समूह हुन्छ। पुरुषहरू महिलाको पहिरनमा नाच्नेहरुलाई मारुनी भनिन्छ।

फगामीका अनुसार यो नाचको सुरुमा चन्द्रसूर्य, धर्तीमाता, नागहरु, जेठा रामचन र कान्छा कुल्म पूजिन्छ। अनि बल्ल सरस्वती भाकिन्छ।

‘नाचमा सरस्वती वर्णनाउने (वर्णन गर्ने) भन्छन्, जति पनि हाम्रो क्षेत्रमा भएका देवी–देवता, भूमे–भाराहरुको वर्णाइन्छ। अक्षेता पनि छरिन्छ। चोखो मासु भन्छन् क्यारे, सबै काँम्दैनन्’, फगामीले भने, ‘हामीलाई पनि काँम्न मन लाग्छ,रहर लाग्छ क्यारे तर हुँदैन, कसैकसैलाई मात्रै हुन्छ। देउता नै चढ्ने भनौँ न।’ 

उनका अनुसार नाच सुरु हुँदा पहिला बाचा बाँधिन्छ अनि नाच सकिँदा त्यही बाचा फुकाइन्छ। मादलको ताल पनि परिवर्तन हुन्छ। काँमेकाहरु पनि त्यसपछि शान्त हुन्छन्।

‘यता यो चिन्हेभूमे, कृष्णेभूमे, भित्री बनका काजीभूमे, मादिभूमे, खयरवराह, रुप्सेखोलाको भूमे, मुुिक्तनाथ,भोटको लामा, ज्ञानी लामा, बागलुङको देवी, फेवातालको देवी सबै वर्णनाइन्छ’, उनले भने, ‘गीतमा कालीगण्डकी तिरमा रहेको नारच्याङबाट डाँडाकाँडा देखाउँदै भने,‘सरस्वतीको वर्णन गरेपछि देउता मान्छेको आँङमा पस्न सुरु गर्छन्।’

उनका अनुसार यसमा २२ ताल हुन्छ, सरस्वती वर्णनमा एउटा ताल हुन्छ, सरस्वती चढेपछि मादलमा अर्को ताल हुन्छ। घिन्ताङ तकधङ पनि हुन्छ, घिनपन्तुङ पनि हुन्छ। जुन तालबाट सुरु गरिएको हो, त्यही तालमा गएर नाच टुंग्याइन्छ। काम्नेहरु पनि त्यसपछि शान्त हुन्छन्। उनले नारच्याङकै एकजना पाइजा बूढाबाट यो नाचको ताल र देउता वर्णनाउन सिकेका रे।

फगामी अहिले पुख्र्यौली नाचमा मुख्य गीताङ्गेको भूमिका मात्रै निभाउँदैनन्, अरु विद्यार्थीहरुलाई पनि नाच सिकाउँछन्। उनका अनुसार पुख्र्यौलीमा जति धेरै नाच्यो त्यति राम्रो हुन्छ।

‘पाँचपाँच जना नाच्दा राम्रो हुन्छ’, उनले थपे।

नारच्याङकी सरस्वती पुन नाच चलिरहँदा मज्जाले काँमिन्। काँमेको थाहा हुन्छ त?

उनले भनिन्, ‘थाहा त हुन्छ क्यारे, नाच सकिएपछि छ्याङ्गै हुन्छ, के भयो भन्ने थाहा नै नहुने हुन्छ।’

उनका अनुसार चोखो शरीर भएकाहरुको आँङमा देउता चढ्छन् रे! १२–१३ वर्षदेखि नै आफ्नो जिउमा देवता चढ्ने गरेको उनले बताइन्।

 

इलाममा एक वर्षमा ४९ नवजात शिशुको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here