उज्यालो नेपाल- नयाँ योजना निर्माणको लागी रत्ननगरको वडा नं. १६ मा रहेको पिठुवा सामुदायिक सिकाई केन्द्रले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । आर्थिक वर्ष २०८१/८२ को लागी वार्षिक कार्ययोजना तय गर्न केन्द्रले कार्यक्षेत्र भित्रका जनप्रतिनिधी, संस्थाका सल्लाहकार तथा पुर्व पदाधिकारीहरु संग अन्तरक्रिया गरेको हो ।

ईच्छाकामनाको वडा नं. ७ स्याँङदीमा आयोजना गरिएको कार्यक्रममा वडा नं. १६ का वडाध्यक्ष हेमराज थापा, वडा नं. १५ का वडाध्यक्ष आशिक तामाङ, वडा नं. १४,१५,१६ का वडा सदस्यहरु, नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्ले, सल्लाहकार समिति सदस्यहरु, पुर्व पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।
आगामी वर्षको कार्ययोजना तय गर्नको लागी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको केन्द्रका अध्यक्ष नेत्र घिमिरेले बताए । केन्द्रले आफ्नो प्रस्तावित कार्ययोजनामा अनौपचारिक शिक्षा, भवन निर्माण, तथा विभिन्न सिपमुलक तथा रोजगारमूलक तालिमहरु संचालन गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रममा केन्द्रका अध्यक्ष घिमिरेले प्रस्तुत गरेको प्रस्तावित कार्ययोजनामा सहभागीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । केन्द्रका सल्लाहकार समिति सदस्य हरिकुमार श्रेष्ठले सिपमुलक तालिमहरु संचालन गर्दा त्यसको प्रतिफलको ग्यारेन्टी हुनेगरी मात्र सहभागी छनोट गर्नुपर्ने सुझाव दिए ।

तालिम लिने तर आयआर्जनमा नलाग्ने प्रवृतिको अन्त्य गर्न सिप प्रदान गरिसके पश्चात विभिन्न तहका सरकारहरु संगको समन्वयमा लगानीको लागी पनि सहजीकरणको आवश्यकता रहेको उनले औंलाए ।
केन्द्रका पुर्व अध्यक्ष हरिश्चन्द्र अधिकारीले पनि प्रतिफल मुल्यांकन गरेर मात्र कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका वडा नं. १५ का वडाध्यक्ष आशिक तामाङले पछिल्ला दिनमा पिठुवा सिकाईको सक्रियताको खुलेर प्रशंसा गरे । कुनै समय वर्षको एकपटक भ्रमण मात्र जाने संस्थाको रुपमा चिनिएको केन्द्रले पछिल्ला दिनमा बढाएको सक्रियताले सिकाई केन्द्रको मर्म र भावनाको प्रतिनिधत्व गरेको उनले बताए । वडाले केन्द्र संग गरिरहेको सहकार्यलाई निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका अर्का विशिष्ट अतिथि नगरशिक्षा अधिकारी नारायण प्रसाद वाग्लेले रत्ननगर क्षेत्रमा रहेका पाँचवटा सिकाई केन्द्र मध्ये सबैभन्दा सक्रिय पिठुवा सिकाई केन्द्र रहेको भन्दै मुक्तकण्ठले प्रशंसा गरे ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि वडा नं. १६ का वडाध्यक्ष हेमराज थापाले केन्द्र संगको हातेमालो कायमै रहने भन्दै पूर्ण सरसफाई वडा घोषणाको लागी केन्द्र मार्फत कार्यक्रम संचालन गर्न एकलाख बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
केन्द्रले यस अघि तिनवटै वा संगको सहकार्यमा सवारीचालक तालिम, सेक्युरिटी तालिम, विरुवा कलमी तालिम लगायतका कार्यक्रम संचालन गरेको थियो । प्रस्तावित कार्ययोजनामा पनि मागमा आधारित विभिन्न तालिमहरु संचालन गर्ने लक्ष्य राखिएको छ । जसमा सिलाईबुनाई, कृषि तालिम, पोल्ट्री तालिम, आईसीटि तालिम, मन्टेश्वरी तालिम लगायत छन् ।
केन्द्रका अध्यक्ष घिमिरेले सहभागीहरुबाट आएको सुझावलाई ग्रहण गर्दै प्रस्तावित कार्ययोजनालाई परिमार्जन गरेर लागु गरिने जानकारी दिए । कार्यक्रम केन्द्र कि कार्यालय सचिव सर्मिला लामिछानेले संचालन गरेकी थिईन् भने सहभागीहरुलाई उपाध्यक्ष कल्पना घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् ।
