चितवनमा केरा काटेर नष्ट गरेको आरोपमा ४ जना बालक पक्राउ

चितवन, जेठ १३- चितवनको खैरहनीमा किसानले लगाएको केरा काटेर नष्ट गरेको आरोपमा चार जना बालक पक्राउ परेका छन् । गएको जेठ १ गते राति करिब ११ बजेको समयमा पाँच कठ्ठामा लगाएको ३१५ बोट केरा काटिएको थियो ।

पक्राउ परेका बालकहरुको नाम भने प्रहरीले खुलाएको छैन । उनीहरु एक जना १२ वर्ष, एक जना १३ वर्ष र दुई जना १४ वर्षका रहेका छन् । प्रहरीले उनीहरुको परिवर्तित नाम ठाउँको नामबाट मगनीचोक (क), होलिल्याण्ड (क), चौबिसकोठी (क), धुसरी (क) राखेको छ ।

रत्ननगर १२ का किसान कृष्ण रेग्मीको खैरहनी ३ मा रहेको केरा बगानमा पसेर उनीहरुले केरा नष्ट गरेका थिए । घटनामा संलग्न उनीहरुलाई प्रहरीले जेठ १० गते पक्राउ गरेको हो ।

उनीहरु ‘घर बाहिर एक रात ‘नाइट स्टे’ बस्ने भनेर चार जनाबीच सल्लाह भएपछि घरनजिकै र सुरक्षित हुन्छ भनेर केराखेती भएको ठाउँमा बसेको र त्यहाँ बस्ने क्रममा कसले कति केरा काट्ने भन्ने उट्पट्याङ चलेको देखिएको प्रहरीले बताएको छ ।

उनीहरुलाई जिल्ला अदालतबाट अपराधिक उपद्रव मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

Previous articleरत्ननगरमा अत्याधिक गर्मीका कारण विद्यालय बन्द
Next articleचितवनमा चारवटा सवारीसाधन एकआपसमा ठोक्कियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।