रत्ननगरको शान्तिचोकमा भएको दुर्घटनामा कालिकाका कँडेलको ज्यान गयो।

चितवन, साउन ९ – चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ।

साउन ९ गते राति करिब १२:३० बजेको समयमा पूर्व–पश्चिम राजमार्गमा टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको प्रदेश नं. २–०२–००१ च ०५१० नम्बरको तरकारी बोक्ने बोलेरोले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३३६५ नम्बरको नाइट बसलाई ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आइरहेको बा.प्र.०६–००१ प ३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

ठक्करबाट मोटरसाइकल चालक कालिका नगरपालिका–२ का ३५ वर्षीय मुकुन्द कंडेल गम्भीर घाइते भएका थिए। उनलाई घाइते अवस्थामा एम्बुलेन्समार्फत भरतपुर अस्पताल लगिएकोमा राती १:१९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा बसमा सामान्य क्षति पुगेको छ भने बसलाई पुनः गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ। दुर्घटना गराउने बोलेरो गाडी चालक कास्की जिल्ला लेखनाथ नगरपालिका–२७ का ३० वर्षीय हुमेश लामगाले र गाडीका साहु माछापुछ्रे गाउँपालिका–३ का ३४ वर्षीय ध्रुवराज पोखरेलको बाँया हातमा सामान्य चोट लागेको छ।

हाल बोलेरो गाडी, चालक र गाडीका साहु इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेका छन्। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Previous articleदश दिनदेखि हराईरहेका कृष्णबहादुरको शव शक्तिखोर जंगलमा भेटियो
Next articleपिठुवा नहरमा डुबेर एकजनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।