Home Blog Page 105

सत्ता गठबन्धन बैठककाे निष्कर्ष : ‘एनसेल शेयर खरिद–बिक्री शङ्कास्पद छ, छानबिन गर्नुपर्छ’

काठमाण्डाै – सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले एनसेल खरिद–बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । आज मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एनसेलको शेयर खरिद–बिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले नेपालको कानुन बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था अुनकूल एनसेलकाे शेयर खरिद–बिक्री नभएको बताउनुभयो । उहाँले शेयर खरिद–बिक्रीको कुरा शङ्कास्पद रहेकाले सरकारले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निस्किएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एनसेलको शेयर खरिद–बिक्रीमा विषयमा गहन अध्ययन र छानबिन हुनुपर्छ । नेपालको कानुन बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर एनसेल शेयर खरिद–बिक्री भएकाे छैन । जति पनि गतिविधि भएका छन्, ती शङ्कास्पद छन् । एनसेलको शेयर खरिद–बिक्रीबारेमा सरकारले तत्काल छानबिन गर्नुपर्छ र सुक्ष्म ढङ्गले गहिरो अध्ययन गर्नुपर्छ ।’

प्रमुख सचेतक लेखकले एनसेल शेयर खरिद–बिक्रीका बारेमा मन्त्रिपरिषद् बैठकले पनि निर्णय गर्ने र सरकारका निकायहरूले यसलाई गम्भीरतापूर्वक लिएर यसको तहसम्म नै पुगेर छानबिन र अध्ययन गर्ने कुरामा सरकार र गठबन्धन तयार रहेको बताउनुभयो ।

फेरि विवादमा तानिए प्रकाश सपुत

काठमाडौंँ । निरन्तर विवादमा छाइरहने गायक प्रकाश सपुत अहिले फेरि अर्को विवादमा तानिएका छन् । एक म्युजिक भिडियो छायाङ्कनको क्रममा इनारमाथि नाचेको दृश्यले उनी अहिले फेरि विवादमा परेका हुन् ।

उनले मोडल सुनिता बुढासँग इनारमाथि नाचेको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल छ । भिडियो क्लिपलाई लिएर सामाजिक प्रयोगकर्ताले उनको आलोचना गरिरहेका छन् । भिडिओ क्लिपमा उनले बुढासँग काठमाडौँको वसन्तपुरस्थित कुमारी घरनजिकै रहेको इनारमाथि नाचेको देखिन्छ । जीवित देवी कुमारीले प्रयोग गर्ने इनारमा नाचेपछि आलोचना भएको हो ।

कुमारीले प्रयोग गर्ने पानी ल्याउने इनारमा ‘सुटिङ गरेर’ नेवाः सभ्यता र संस्कृतिमाथि अपमान गरेको समेत उनलाई आरोप लगाइएको छ । भिडियो क्लिप करिब चार महिनाअघि ‘कमाउने नि हो, रमाउने नि हो’ भन्ने बोलको गीतको सुटिङ हो ।

यो गीतको पूरा भिडियो छायाङ्कन हनुमान ढोका दरबार परिसरमा भएको थियो । अहिले सुटिङको भिडियो क्लिप बाहिरिएपछि उनको आलोचना भएको हो । गीतमा भने इनारमाथि नाचेको प्रस्ट देखिएको छैन ।

कोरियाले माग्यो उत्पादनमूलक क्षेत्रका लागि १५ हजार भन्दा बढी नेपाली कामदार

काठमाडौँ । दक्षिण कोरियाले १५ हजार भन्दा बढी नेपाली कामदार माग गरेको छ। ईपीएस भाषाा परीक्षामार्फत उत्पादनमूलक क्षेत्रका लागि १५ हजार ८४८ जनाका लागि आवेदन आह्वान गरेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरियाबिच भएको समझदारी पत्र (MoU) अनुरुप रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि कामदार माग गरिएको हो।

कोरियन भाषा परीक्षा संचालन गर्न एचआडी कोरियाले वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखालाई पत्र पठाएको हो । सोही आधारमा कोरिया शाखाले आवेदन आह्वान गरेको हो।

आगामी पुस २ गतेदेखि ६ गतेसम्म आवेदन दिन सकिने ईपीएस शाखाले जनाएको छ। परीक्षासम्बन्धि जानकारी माघ २२ गते सार्वजनिक गरिने जनाईएको छ। १८ वर्ष पूरा भई ३९ वर्षभित्रका नेपाली नागरिकहरूले आवेदन दिन सकिनेछ।

भाषा परीक्षा एक दिनमा ४ सिफ्टमा सञ्चालन हुनेछ । आवेदक संख्याका आधारमा परीक्षा तालिका फेरबदल हुन सक्ने ईपीएस शाखाले जनाएको छ। आवेदक संख्या बढी भएमा पहिलो र दोश्रो गरी दुई चरणमा परीक्षा सञ्चालन हुनेछ ।

भाषा परीक्षाको नतिजा सार्वजनिक गरेपछि सीप परीक्षणको तालिका सार्वजनिक गरिनेछ। भाषा परीक्षामा सम्बन्धित क्षेत्रमा उत्तिर्णाङ्क प्राप्त गर्नेहरु मध्ये उच्चतम अंक प्राप्त गरेका आवेदकहरुलाई मात्र सीप परीक्षणमा समावेश गरिने सुचनामा उल्लेख गरिएको छ।

पहिलो चरणमा भाषा परीक्षा र दोश्रो चरणको स्किल टेष्टमा उत्तिर्ण भई स्वास्थ्य परीक्षणबाट समेत सफल भएपछि मात्र रोजगार आवेदन फाराम (Job Application Form) भर्न सकिनेछ ।परीक्षा आवेदन फाराम यँहा क्लिक गरेर अनलाईनबाट मात्र भर्नु पर्नेछ ।

समाचार प्रतिगमनतिर फर्कने कुरा गर्नेहरू देशद्रोही हुन् : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनतिर फर्कने कुरा गर्नेहरूलाई देशद्रोहीको संज्ञा दिएका छन्।

एमालेको समृद्धिका लागि संकल्प यात्राका क्रममा आइतबार दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गणतन्त्रलाई उल्टाउने कुरा गर्नेको इच्छा पूरा नहुने बताए। “आज कोही प्रतिगमनतिर फर्कने कुरा गर्दै छ भने त्यो देशद्रोही हो। त्यो लोकतन्त्र विरोधी हो,” ओलीले भने, “त्यो जनतालाई गरीब राख्न खोज्ने कुरा हो।”

लोकतन्त्रको विरोधमा बोल्ने र त्यसबारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको उनको भनाइ थियो। त्यसलाई उनले नेपाल र नेपालीको हित विपरीतको काम भनेका छन्। अहिलेको व्यवस्था विरुद्ध वितृष्णा फैलाउनेहरूबाट सचेत हुन पनि उनले आग्रह गरे।

एमालेले बैतडीको झुलाघाटबाट शुरू गरेको मध्यपहाडी लोकमार्गको यात्रा आइतबार दैलेख पुगेको हो। जनताका समस्या बुझ्न यात्रा थालिएको उनको भनाइ थियो। “नागरिकसँग भेटौं र पार्टीका सन्देश जनताबीचमा पुर्‍याऔं, नागरिकका कुरा सुन्न सकौं भनेर एमालेले पूर्व-पश्चिम मध्यपहाडी लोकमार्ग अभियान चलाएको छ,” ओलीले भने।

९ वर्षीय बालकको केपी ओलीलाई चिठ्ठी- युवा अवस्थामा विदेशिने अवस्थाको अन्त्य गर्न आग्रह

काठमाडौं। एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका ९ वर्षीय बालकले चिठ्ठी थमाउँदै युवा अवस्थामा विदेशिनुपर्ने अवस्थाको अन्तय गर्न आग्रह गरेका छन् ।

नेकपा(एमाले)ले सुरु गरेको मध्य पहाडी पदयात्राको क्रममा सुर्खेत पुगेका ओलीलाई स्थानीय गुर्भाकोट नगरपालिका १० भेडाबारीका ९ वर्षीय किशोर पौडेलले युवा विदेशिने अवस्थाको अन्त्य गर्न आग्रह गरेको चिठ्ठी थमाएका हुन्।

उनले लेखेको चिठ्ठी सार्वजनिक गर्दै ओलीले मध्य पहाडी लोकमार्ग निर्माण , ग्रामीण विद्युतीकरण र इन्टरनेटको विस्तार रोजगारी सिर्जनाका लागि थालीएको आयोजना भएको उल्लेख गरेका छन्।

उनले सन्दर्भ स्थानीय सन्देश राष्ट्रिय भन्दै लेखेका छन्, ‘हाम्रो यात्रा सुर्खेतबाट सल्यान हुँदै जाजरकोटतिर लाग्दै थियो। हिँडने बेलामा ९ वर्षीय बाबु किशोर पौडेलले एउटा सानो चिट्ठी हातमा थमाए। स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह दिए।’

उनले अगाडि लेखेका छन्, ‘मैले सोचें – हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नु पर्छ। ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेका हौं। सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन्। यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ।’

संघीयतालाई संस्थागत गर्न सके मात्रै देशको विकास सम्भव : देउवा

ओखलढुंगा – नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयतालाई संस्थागत गर्न सके मात्रै देशमा विकास सम्भव भएको बताउनुभएको छ ।

ओखलढुंगामा वीपी स्मृति भवन र कांग्रेसको जिल्ला सम्मेलन उद्घाटन गर्दै देउवाले यस्तो बताउनुभएको हो ।

अहिलेको संविधानमा एकल पार्टीले बहुमत ल्याउन गाह्रो भए पनि सबै नेता कार्यकर्ता एक भएमा कांग्रेसले बहुमत ल्याउने र चाहेजस्तो विकास गर्ने उहाँको भनाइ थियो ।

देउवाले संविधानले आदिवासी, जनजाति, महिला, मधेसी, अल्पसंख्यक सबैको प्रतिनिधित्व गरेको समेत बताउनुभयो । जिल्ला सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापाले अहिले चर्चामा रहेको एनसेल घोटल छानविनका लागि माग गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे, प्रचार विभाग प्रमुख, केन्द्रीय सदस्यहरु मीनबहादुर विश्वकर्मा, राजिब कोइराला, प्रदीपकुमार सुनुवार, रामहरि खतिवडा, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, कोशी प्रदेश सभापति उद्धबबहादुर थापालगायतको सहभागिता रहेको थियो । जिल्ला सम्मेलन भोलिसम्म चल्ने कांग्रेसले जनाएको छ ।

एकीकृत समाजवादीको महाधिवेशन जेठमा हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसअघि, माघको १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको थियो तर राष्ट्रियसभा निर्वाचन र जाजरकोट भूकम्पका कारण महाधिवेशन सार्ने निर्णय गरिएको समाजवादीले जनाएको छ । त्यस्तै बैठकले माघको १४ र १५ गते राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज मस्यौदाका तयार गर्न अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ जनाको समिति निर्माण गरिएको खतिवडाले जानकारी दिए । बैठकले विधानमा छलफल गर्न कार्यदल गठन, राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि समिति गठन गरिएको उनले बताए ।

त्यस्तै मंसिर २८ र २९ गते सचिवालयको बैठक, पौषको ९ गते स्थायी कमिटी, १० गते पोलिट्व्युरो र पौष ११ र १२ गते केन्द्रीय कमिटिको बैठक बस्ने खतिवडाले जानकारी दिए । प्रचार विभाग प्रमुख खतिवडाले आफ्नो गल्तीलाई ढाकछोप गर्नका लागि नेकपा समाजवादीलाई गाली गरेपनि त्यसले कुनै असर नपर्ने जिकिर गरे ।

नवराज विकसहित ६ जनाको ज्यान गएको सोती घटनामा २३ जनालाई जन्मकैद

जाजरकोटका नवराज विकसहित ६ जनाको ज्यान जाने गरी रुकुम पश्चिमको सोतीमा भएको घटनामा २३ जनालाई जन्मकैदको सजाय सुनाइएको छ ।

रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश डा. खड्कबहादुर केसीको इजलासले उक्त घटनामा २३ जनालाई जन्मकैदको सजाय सुनाइएको हो ।आइतबारदेखि सुरू भएको अन्तिम सुनुवाइअन्तर्गतको बहस मंगलबार सकिएको हो। सुनुवाइमा २३ जना वकिलहरूले बहस गरेका थिए ।

घटनामा नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद तोकिएको छ। साधारण तारेखमा छुटेका ११ जनामध्ये ८ जनालाई भने सफाइ दिइएको छ ।

२०७७ जेठ १० गते सोतीकी मल्ल थरकी एक किशोरीको प्रेमी भनिएका नवराज विकसहित जाजरकोटबाट आएका ६ जना युवाको स्थानीयको आक्रमणमा ज्यान गएको थियो । जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक र सञ्जु विक, भेरी नगरपालिका–११ लोकेन्द्र सुनार र गोविन्द शाही, कुशे गाउँपालिका गणेश बुढा मगर र रुकुमपश्चिमको चौरजहारी नगरपालिका –१ का टीकाराम नेपालीको ज्यान गएको थियो । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो । साे अभियोगमा जिल्ला अदालतमा २०७७ जेठ ३२ गते मुद्दा दायर गरिएको थियो ।

अभियोग लागेका मध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत कसुरको अभियोग लगाइएको थियाे बाँकी एक जनालाई मतियारको अभियोग लागेको छ । अभियुक्तमध्ये १ जना धरौटीमा तथा अन्य १० जना सामान्य तारिखमा यसअघि नै छुटिसकेका छन् भने बाँकी २३ जना पुर्पक्षका लागि कारागारमा छन् ।

आज टिकटकविरुद्धको मुद्दाको सुनुवाइ, खोल्ने प्रधानमन्त्रीको संकेत

काठमाडौं : टिकटक बन्दविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई हुँदैछ। १४ वटा मुद्दाको आज एकै पटक आज पूर्ण सुनुवाई हुन लागेको हो।

यसअघि गत मंसिर पाँच गते न्यायाधीश विनोद शर्माको एकल इजालासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको थियो।

कार्तिक २७ मा बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सद्भाव बिथोलिन थालेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। टिकटक माथिको प्रतिबन्धलाई लिएर टिकटक प्रेमीहरुले चौतर्फि विरोध जनाएपछि सरकार पनि दबावमा परेको छ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्द भएको टिकटक बिस्तारै खोल्न सकिने संकेत गरेका छन्।

हिजो विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी कानुन बनाएर टिकटक खोल्नेबारेमा सरकार सकारात्मक भएको बताएका थिए।

१८वटा युट्युव च्यानललाई कारबाही गर्न साइबर ब्यूरोलाई प्रेस काउन्सिलकाे पत्राचार

काठमाडौं। प्रेस काउन्सिल नेपालले दर्तारसूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानललाई आवश्यक कारबाहीको लागि सिफारिस गरेको छ ।

निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानस भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्ने माथि कारबाही प्रक्रिया अघि बढाइएको हो ।

मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल) बाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्यूरो)मा पत्राचार गरिएको काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मिडियाअन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सञ्चार माध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतंकित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै यही मङ्सिर ८ गते युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो।

कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गरी काउन्सिलले मङ्सिर पहिलो साता केही सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा कारबाही अघि बढाइएकोमा अधिकांशबाट आगामी दिनमा सच्चिने प्रतिबद्धतासहित स्पष्टीकरण पेस भएको जनाइएको छ।

काउन्सिलले हिंसा, त्रास एवं द्वन्द्वलाई प्रश्रय पु¥याउने, प्रायोजित एवं पक्षपोषणयुक्त, घृणास्पद अभिव्यति एवं वैयक्तिक गोपनीयताप्रतिकूल सामग्री सम्प्रेषण नगर्नरनगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा आग्रह गरेको छ।