Home Blog Page 33

कालिका-भोजाड सडक: चुनावी एजेन्डा पुरा हुँदा उत्साहित मेयर रेग्मी

default

चितवन । चितवनको कालिका नगरपालिका-५ घर भएका पत्रकार सन्तकुमार चौधरी दैनिक जसो खगेरीबाट भोजाड हुँदै भरतपुर आउनेजाने गर्दछन् । विगत ४ वर्षदेखि बर्खामा हिलो र हिउँदमा धुलो खाएर हिडेका चौधरी जस्ता सयौं मानिसहरुलाई यो सडक कालोपत्रे भएसँगै सुविस्ता निकै भएको छ ।

कालिका नगरपालिका र भरतपुर महानगरपालिकालाई जोड्ने भोजाड–खगेरी सडकको जंगलको भाग कालोपत्रे भएको छ । जिल्लाको सदरमुकाम भरतपुर, मुख्य बजार नारायणगढ, ठूला कलेज तथा अस्पतालहरुसमेत भरतपुरमै भएको कारणले सयौं मानिसहरू दैनिक जसो जंगलको यही सडक भएर भरतपुर आउने र भरतपुरबाट कालिका जाने गर्दछन् ।

करिब डेढ किलोमिटर बिग्रिएको सडकमा बर्खामा हिलो र हिउँदमा धूलो खाँदै कालिका र भरतपुर आउजाउ गर्नेहरुले निकै दुस्ख पाए । कालिका नगरपालिकाको ११ वटा वडा, रत्ननगर नगरपालिकाको माथिल्लो भेगका केही वडा र इच्छाकामना गाउँपालिकाका बासिन्दासमेत यही सडक भएर दैनिक ओहोरदोहर गर्दछन् ।

एकातिर जंगली जनावरको समेत डर, अर्कोतिर बिग्रिएको सडकले गर्दा यहाँका हिँड्ने सबैले निकै सास्ती पाएका थिए । यो सडक कालोपत्रे गर्ने मुद्दा चुनावताका खुबै उठेको थियो । सबै जसो दलले भरतपुर कालिका जोड्ने यो सडकलाई कालोपत्रे गर्ने एजेन्डामा राखेका थिए ।

दुई पालिकालाई जोड्ने यो सडक कालिका नगरपालिका प्रवेशको मुख्य सडक पनि हो । तर, यसको सडकको अधिकांश भूभाग भरतपुर महानगरपालिकामा पर्दछ । महानगरवासीभन्दा पनि कालिका नगरवासीले यो सडक बढी प्रयोग गर्छन् ।

सडकको मुख्य भाग एक पालिकामा पर्ने तर उपयोग अर्को पालिकाले गर्ने भएकै कारण समयमा नै सडक कालोपत्रे नहुँदा जनताले लामो समयसम्म हैरानी पाए । तर, अहिले भने सडक कालोपत्रे गरेर सकिएको छ ।

चालु आर्थिक बर्षको भ्याटसहित एक करोड ११ लाखको लागतमा गुणा निर्माण सेवाले सडक कालोपत्रे गरेको हो । सडकको बीचको केही भाग ढलानसमेत गरिएको छ । ढलान बाहेकका भागमा कालोपत्रे गर्ने काम गरिएको छ । करिब १२०० मिटरभन्दा बढी भाग कालोपत्रे गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।

सडक कालोपत्रे भएसँगै कालिका नगरवासीलाई भरतपुर आउन जान निकै सहज भएको पत्रकार चौधरीले बताए । ‘म दैनिक जसो भरतपुर आउजाउ गर्दथे, मैंले यति धूलो खाएँ, दुस्ख पाएँ यसको कुनै हिसाब छैन, यो बाटो हिड्नुपर्छ धुलो खानुपर्छ भनेर टाँडीबाट घुमेर भरतपुर जानेसमेत थिए’ पत्रकार चौधरी भन्छन्, ‘ धूलोले नजिकै के छ भन्ने पनि देखिन्थेन, सास फेर्न गाह्रो हुन्थ्यो, अहिले सडक कालोपत्रे भएपछि विभिन्न कामले भरतपुर जान सबैलाई सहज भएको छ ।’

कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले नगरपालिका आउने मूल सडकको हालत विगत ४ बर्षदेखि नाजुक बन्दा जनताबाट धेरै गाली पाएको बताए । ‘हामीलाई समस्या के भयो भने, बाटो भरतपुर महानगरमा पर्ने तर बढि कालिकावासीले प्रयोग गर्ने हुँदा कम प्राथमिकतामा पर्‍यो की भन्ने लाग्यो’, नगर प्रमुख रेग्मीले भने, ‘तर मैंले पटक पटक सडक डिभिजन कार्यालयमा जाने, लविङ गर्ने, तताउने काम गरे, भागिसकेको ठेकेदारलाई ल्याएर काम लगाइयो, बल्ल सडक कालोपत्रे भयो, अब जनताको गाली खानुपदैन जस्तो लागेको छ ।’

नगरप्रमुख रेग्मीले कालिका नगरपालिकाको क्षेत्रमा पर्ने खगेरी खोलाभन्दा पूर्वको सडक सबै कालोपत्रे गरिसके पनि भरतपुर तर्फको क्षेत्रमा मात्रै ढिलाइ भएको बताए । ‘आफ्नो पालिकाको क्षेत्रभित्र काम गर्न सहज हुन्छ तर अरु पालिकाको क्षेत्रमा गएर काम गर्न गराउन समस्या हुने रहेछ’, नगर प्रमुख रेग्मीले भने, ‘त्यही पनि बर्खाको बेला कालिका नगरपालिकाका डोजर एक्साभेटर लगेर काम पनि गराएँ, म नगर प्रमुख भएदेखि नै सडक कालोपत्रे गर्ने कामलाई प्राथमिकतामा राखेको थिएँ ।’

नगर प्रमुख रेग्मीले यो सडक भएर दैनिक ४र५ हजार मान्छे हिँड्ने बताए। भरतपुर र पूर्वी चितवन जोड्ने वैकल्पिक सडकका रुपमा पनि यसलाई लिने गरिन्छ ।

सडक कालोपत्रे भएसँगै कालिका नगरपालिका कृषि, मौरीपालन, व्यवसायिक पशुपालनमा अग्रणी रहेकोले यहाँका कृषि उपजहरुको बजार नारायणगढ लैजान पनि अब सहज भएको छ । साभार:onlinekhabar (शिर्षक सम्पादन गरिएको)

जनजागृति माविमा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा शैक्षिक परामर्श कार्यक्रम

रत्ननगर, चितवन — रत्ननगर १४ पिठुवास्थित जनजागृति माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरूलाई बधाई, शुभकामना तथा शैक्षिक परामर्श कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा ३.६ जिपिएभन्दा माथिको नतिजा ल्याउने २५ जना मेधावी विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।

सो अवसरमा एसईई परीक्षामा ९० प्रतिशतभन्दा बढी विद्यार्थीलाई आफूले पढाएको विषयमा सफल गराउन योगदान दिने शिक्षकहरूलाई पनि विद्यालयले सम्मान प्रदान गरेको छ। परिक्षामा अङ्ग्रेजी, नेपाली र कम्प्युटर शिक्षामा शत प्रतिशत उत्तीर्ण भएका छन् भने अन्य सबै विषयमा ९०% बढी विद्यार्थी उतिर्ण भएका छन् । शत प्रतिशत विद्यार्थी उतिर्ण गराई सम्मानित हुनेहरुमा अंग्रेजी विषय तर्फ रोहिणी न्यौपाने, द्रोण नारायण पौडेल, धर्मराज बस्ताकोटी र राजीव पौडेल, नेपाली विषय तर्फ आत्माराम लम्साल, शारदा आचार्य, पुष्प खनाल र कम्प्युटर साईन्स तर्फ सन्दीप श्रेष्ठ छन्।

विद्यालयले एसईई २०८१ मा ९२.६८ प्रतिशत विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भएको उल्लेख गर्दै पूर्वी चितवनकै एक उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नरेन्द्र कुमार श्रेष्ठले विद्यालयको उपलब्धि र आगामी शैक्षिक योजनाबारे जानकारी गराउँदै प्राप्त नतिजा विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीहरूको संयुक्त प्रयासको प्रतिफल भएको बताए।

त्यसैगरी कक्षा ११/१२ का इञ्चार्ज रामचन्द्र खनालले विद्यालयमा कक्षा ११ को भर्ना खुलिसकेको जानकारी गराउँदै कम्प्युटर साइन्स सहित व्यवस्थापन तथा शिक्षा समूह अन्तर्गत नेपाली र अङ्ग्रेजी दुबै माध्यममा पठनपाठन सुरु गरिने जानकारी दिए।

कार्यक्रम नगर प्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सापकोटाले विद्यालयले देखाएको उत्कृष्ट शैक्षिक प्रदर्शनको मुक्तकण्ठले प्रशंसा गर्दै नगर र पूर्वी चितवनमै गौरवको विषय भएको उल्लेख गरे। विद्यार्थीहरुलाई आगामी शैक्षिक यात्राको शुभकामना दिंदै नगरप्रमुख सापकोटाले विद्यालय र विषय छनौट गर्दा ध्यान दिनुपर्ने बताए । नगरभित्र कोही विद्यार्थी आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित नहोस् भन्ने सोचका साथ नगरपालिकाले आवश्यक व्यवस्था गरेको भन्दै उनले जनजागृतिको शैक्षिक उन्नयनमा आफु सधै सहयोग गर्न तयार रहेको आश्वासन पनि दिए।

कार्यक्रममा पुर्व प्रअ विनोद अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष लेखनाथ खनाल, कार्यपालिका सदस्य सानु भण्डारी, पुर्व विद्यार्थी नवराज रिजाल लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा निर्माण व्यवसायी समेत रहेका रिजालले रत्ननगर १४ बसोबास गरेर जनजागृति माविबाट एसईई परिक्षा दिई उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद १० हजार सहित सम्मान गरेका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्दराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक आत्माराम लम्सालले स्वागत् मन्तव्य राखेका थिए। कार्यक्रम विद्यालयका अर्का सहायक प्रधानाध्यापक तथा सुचना अधिकारी रोहिणी न्यौपानेले संचालन गरेका थिए ।

आफ्नै शरीरमा आगो लगाउँदा रत्ननगरमा एक पुरुषको जलेर मृत्यु

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–९, कपरफोरीमा सोमबार बिहान ६ः०० बजे एक पुरुषले आफ्नो शरीरमा आफैँले आगो लगाउँदा जलेर मृत्यु भएको छ ।

कपरफोरीका ५६ वर्षीय वीरबहादुर राउतले आफू सुत्ने कोठामा आफैँले शरीरमा मट्टितेल खन्याई आगो लगाउँदा शरीरको कम्मरदेखिको माथिल्लो भाग सुकुलसहित जली घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापश्चात् इलाका प्रहरी कार्यालय रत्ननगरको प्रहरी टोलीले सोमबार बिहान ६ः५० बजे घटनास्थल जाँच गरी मुचुल्कापश्चात् शव पोस्ट मार्टमका लागि भरतपुर अस्पताल पठाएको जनाएको छ ।

पिठुवा डेरीमा अन्तर्क्रिया : पाँच किसान सम्मानित

रत्ननगर । पिठुवा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले शनिबार गैरशेयर सदस्य किसानहरुको गुणस्तरीय दूध उत्पादन तथा गोठ सरसफाइसम्बन्धी एकदिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगाले र पशु प्राविधिक हरिलाल डाँगीले कृषिकहरुलाई पशुहरुको आहार र आनीबानीका बारेमा प्रशिक्षण दिएका थिए । यस्तै, हाल नेपालमा चलनचल्तीका आधुनिक प्रविधिको प्रय‍ोग कसरी गर्ने, लागत घटाउने र उत्पादन बढाउने विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा विभिन्न विधामा पाँच जना कृषकलाई नगदसहित सम्मान गरिएको डेरीका अध्यक्ष गंगाराम गुरूङले बताए । उनका अनुसार सम्मानित हुनेहरुमा ज्येष्ठ सदस्य किसान टीकाराम दुवाडी, महिला उद्यमी ईश्वरी सिंखडा, सबैभन्दा बढी दूध ल्याउने रीता श्रेष्ठ, एकनासको दूध ल्याउने अमृता परियार र सरसफाइमा ध्यान दिने किसान लेखबहादुर थापा रहेका छन् ।

रत्ननगर-१६ कृषिमैत्री वडा भएको बताउँदै वडाभित्रका किसानको हरेक समस्या समाधान गर्न वडा तयार रहेको वडाध्यक्ष हेमराज थापाले बताए । वडा र नगरबाट प्रत्यक्ष किसानलाई अनुदान र सहुलियतमा मलबीउमा अनुदान दिने गरेको उनले बताए । नश्ल सुधार गरेर उत्पादन क्षमता बढाउने, जैविक मल उत्पादन र प्रयोगलाई प्राथमिकतामा राख्ने वडाध्यक्ष थापाले बताए ।

यस्तै, चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले किसानको दूधको रकम भुक्तानीमा समस्या भएको बताए । विभिन्न निकायको समन्वयमा बाँकी रकम भुक्तानीको तयारीमा रहेको उनले बताए । सहकारीमा संकलित दूध आफैँ विविधिकरण गर्नुपर्नेमा उनले जोड दिए ।

उनले संघमार्फत जिल्लाका सबै पालिकाका किसानको गोठगोठमा पुग्ने लक्ष्यका साथ सहकारीले काम गरिरहेको बताए । हाल जिल्ला संघले पशु प्राविधिकसहितको निःशुल्क सेवा उपलब्ध गराएको उनले बताए ।

यसैगरी, पिठुवा डेरीका अध्यक्ष गंगाराम गुरूङले डेरीले शेयर र गैरशेयर सबै कृषकलाई एउटै नजरले हेरेको बताए । संस्थाप्रति सकारात्मक धारणा राख्नुपर्ने उनले बताए । पिठुवा डेरीले कृषकहरुको मागको आधारमा विभिन्न काम गरिरहेको उनले बताए । उनले पशु र कृषक दुवैको डेरी र बिमा संस्थाबीच सहकार्य गरेर बिमा गर्ने तयारी रहेको बताए ।

डेरीका अध्यक्ष गुरूङको अध्यक्षतामा भएको सो कार्यक्रमको शिक्षा समितिका संयोजक रामचन्द्र दुवाडीले सञ्चालन गरेका थिए । सो डेरीले हालसालै पिठुवा डेरी नामक मोहीको बिक्रीवितरण गर्दै आएको छ । यसअघि दही, पनिर, नौनी, खुवा, घ्युलगायतका दूधजन्य पदार्थ उत्पादन गरेर बजारीकरण गर्दै आएको छ ।

रत्ननगरका सामुदायिक विद्यालयको एसईई :जनजागृति शीर्षमा, द्वारीकादास कमजोर

रत्ननगर, असार १४ ।

रत्ननगर नगरपालिकाका १६ सामुदायिक विद्यालयबाट यस वर्षको एसईई परीक्षामा सहभागी ६०५ जना विद्यार्थीमध्ये ४१२ जना (६८.०९%) उत्तीर्ण भएका छन्। नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्लेका अनुसार जन जागृती माध्यमिक विद्यालयले ९२.६८% उत्तीर्ण दरसहित शीर्ष स्थान हासिल गरेको छ भने द्वारीकादास माध्यमिक विद्यालयको नतिजा सबैभन्दा कमजोर रहेको छ।

जन जागृती मावीबाट परीक्षामा सहभागी १२३ जना विद्यार्थीमध्ये ११४ जना उत्तीर्ण भएका छन्, जुन रत्ननगरको सामुदायिक विद्यालयमध्ये सर्वाधिक हो। यस विद्यालयका स्वागत दाहालले ३.९६ जीपीए ल्याएर रत्ननगरको सामुदायिक विद्यालयमध्ये सर्वाधिक अंक प्राप्त गरेका छन्। यस्तै, छात्रातर्फ नेपाल नमूना माध्यमिक विद्यालयकी भावना लामिछानेले ३.९१ जीपीए हासिल गरेकी छन्।

यता, द्वारीकादास मावीको नतिजा निराशाजनक रहेको छ। यस विद्यालयबाट सहभागी १८ जना विद्यार्थीमध्ये केवल ५ जना (२७.७८%) मात्र उत्तीर्ण भएका छन्।

अन्य सामुदायिक विद्यालयको उत्तीर्ण दर यसप्रकार छ:

– बकुलहर मावी: ८६.६७%
– नेपाल नमूना मावी: ४७.५२%
– झुवानी मावी: ७६.४%
– बछौली मावी: ५२.१७%
– मालपूर मावी: ५९.३७%
– चित्रसारी मावी: ५०%
– मोहना मावी: ५२.६३%
– कपरफोरी मावी: ५०%
– बैरिया मावी: ८५.७१%
– पंचकन्या मावी (जिरौना): ७८.५७%
– पंचकन्या मावी (जयमंगला): ६७.५%
– जनोदय मावी: ४५.४५%
– भद्रकाली मावी: ७५%
– माधवपुर मावी: ५०%

सहभागी विद्यार्थी संख्याको आधारमा जन जागृती मावीबाट सबैभन्दा धेरै (१२३ जना) र जनोदय मावीबाट सबैभन्दा कम (११ जना) विद्यार्थी परीक्षामा सहभागी भएका थिए।

नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, सात विद्यार्थीले ल्याए ४ जीपीए

चितवन : २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा चितवनको भरतपुरस्थित नारायणी नमुना माविबाट ७ जनाले ४ जीपीए ल्याएका छन्। नारायणीबाट ३ सय ६८ जनाले एसईई दिएकामा ७ जनाले ४ जिपिए ल्याएका हुन् ।

यस्तै २ सय ६५ जनाले ३.६ देखि ४, ८४ ले ३.२ देखि ३.६ जिपिए, १० जनाले २.८ देखि ३.२ जिपिए ल्याएको विद्यालयले जनाएको छ ।

यस्तै एक जना विद्यार्थी मात्रै ‘नन ग्रेडेड’ छन् । नारायणी माविले वर्षेनी उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । विद्यालयमा ३६०० विद्यार्थी अध्ययनरत छन ।

चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा २ जना घाइते

१३ असार, चितवन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगलमा ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा ट्रकका सहचालक राप्ती नगरपालिका–२ का २४ वर्षीय प्रविन प्रजा र ग्यास बुलेट चालक भारत बिहारका ४५ वर्षीय जगदेव यादव छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार भरतपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको एनएल–०१ एन ०१३३ नम्बरको ग्यास बुलेट र विपरीत दिशामा रहेको बागमती प्रदेश ०३–००१ ख ३४१९ नम्बरको ट्रक एकापसमा ठोक्एिका हुन् ।

दुर्घटनामा घाइते ट्रकका सहचालक प्रजाको चितवन मेडिकल कलेजमा र ग्यास बुलेट चालक यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

रत्ननगर १२ मा नसर्ने रोग तथा क्यान्सर रोगबारे सचेतना कार्यक्रम

रत्ननगर- रत्ननगरको वडा न. १२ मा नसर्ने रोग तथा क्यान्सर रोगबारे सचेतना कार्यक्रम संचालन गरिएको छ । महिला सशक्तिकरण तथा परिवर्तनसिल संस्था चितवन र वडा कार्यालयको समन्वय तथा जनस्वास्थ्य चितवनकाे आयाेजनामा कार्यक्रम संचालन गरिएको हो ।

विहिबार जमुनापुर हेल्थ साेसाइटिकाे सभाहलमा सम्पन्न कार्यक्रममा विभिन्न टोलविकास संस्थाका प्रतिनिधि, आमा समुहका प्रतिनिधि, महिला स्वयंसेविका गरि झन्डै १०० जनाको सहभागिता रहेको महिला सशक्तिकरण तथा परिवर्तनसिल संस्था चितवन कि अध्यक्ष संगीता भट्टाराईले जानकारी दिईन्।

सहभागीहरुलाई डा.कृष्ण सुवेदी क्यान्सर अस्पताल, स्वास्थ्य अधिकृत केशव भट्ट र जनस्वास्थ्य अधिकृत गुरुप्रसाद कंडेलले प्रशिक्षण दिएका थिए।

वडा अध्यक्ष सुन्दरमणी सुवेदिकाे अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन सत्रमा,जनप्रतिनिधि चन्दा काफ्ले पनेरु, महिला सशक्तिकरण तथा परिवर्तनसिल संस्था चितवन कि अध्यक्ष संगीता भट्टाराई लगायतको मन्तव्य राखेका थिए। सो क्रममा वक्ताहरुले, “आफ्नो स्वास्थ्यकाे चिन्ता र जिम्मेवारी आफैले लिनुपर्ने, भान्छा सुधार गर्नुपर्ने तथा स्वास्थ्यवर्धक खानपानमा जाेड दिनुपर्ने कुरा बताएका थिए।

कार्यक्रम वडा सचिव शंकर गिरीले संचालन गरेका थिए ।

कालिका नगरपालिकाको दोश्रो कार्यकालको सातौँ नगरसभा ( फोटो फिचर)

रत्ननगर कालिका नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । असार ४ गते बुधबार आयोजित सो नगरपालिकाको दोस्रो कार्यकालको सातौँ नगरसभाबाट ९५ करोड सात लाख २० हजारबराबरको बजेटसहित शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणलाई जोड दिएर बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । नगरसभामा मेयर विनोद रेग्मीले नीति तथा कार्यक्रम र उपमेयर विमला तामाङले बजेट प्रस्तुत गरेकी हुन् ।

तस्बिरमा हेर्नुहोस नगरसभाको झलक

कालिकाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक : बजेट ९५ करोड ७ लाख

रत्ननगर । पूर्वी चितवनको कालिका नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधबार आयोजित सो नगरपालिकाको दोस्रो कार्यकालको सातौँ नगरसभाबाट ९५ करोड सात लाख २० हजारबराबरको बजेटसहित शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणलाई जोड दिएर बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । नगरसभामा मेयर विनोद रेग्मीले नीति तथा कार्यक्रम र उपमेयर विमला तामाङले बजेट प्रस्तुत गरेकी हुन् ।

मेयर रेग्मीले विपन्नलाई आवास, एक घर दुई बिरूवा, कृषि व्यवसायमा कर छूट, नगर खानेपानी बोर्ड स्थापना, सडक मर्मत कोष निर्माण, रैथाने बाली जोगाउन अधिकतम अनुदानलगायतका योजना नीति तथा कार्यक्रममा समेटिएको बताए । आर्थिक अभावका कारण झुप्रोमा बस्दै आएको विपन्न वर्गका लागि एक वर्षमा ५० वटा घर निर्माण गर्ने गरी आवास निर्माण कार्यक्रम ल्याइएको मेयर रेग्मीले बताए ।

नगरपालिकाले अवलम्बन गरेको नीति र कार्यक्रमहरुलाई आत्मसात् गर्दै आगामी आव ०८२/०८३ का लागि राजस्च तथा अनुदान प्राप्तिको अनुमानका आधारहरुमा कुल बजेट रकम ९५ करोड सात लाख २० हजार विनियोजन गरेको राजस्व परामर्श समितिकी संयोजकसमेत रहेकी उपमेयर तामाङले जानकारी दिइन् ।

बजेटमा संघीय सरकारतर्फ समानीकरण अनुदान १३ करोड ८५ लाख, सशर्त अनुदान २५ करोड ५८ लाख, विशेष अनुदान दुई करोड ८५ लाख, समपूरक अनुदान ७३ लाख र राजस्व बाँडफाँट १२ करोड ४६ लाख ९४ हजार र बागमती प्रदेश सरकारतर्फ समानीकरण अनुदान एक करोड ४० लाख १६ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

त्यसैगरी, सशर्त अनुदानतर्फ दुई करोड ५५ लाख २५ हजार, विशेष अनुदान ६५ लाख, समपूरक अनुदान दुई करोड ३२ लाख, राजस्व बाँडफाँटमा पाँच करोड ७६ लाख ८५ हजार, आन्तरिक आयतर्फ सात करोड, जनसहभागिताबाट एक करोड ५० लाख सडक बोर्डबाट ४० लाख, मालपोत रजिष्ट्रेसनबापत पाँच करोड र नदीजन्यबाट दुई करोड तथा चालू वर्षको जिम्मेवारी सर्ने ११ करोडसमेत समावेश गरी जम्मा ९५ करोड सात लाख २० हजारको बजेट प्रस्तुत गरिएको छ ।

नगरसभामा चालू वर्षको आर्थिक गतिविधि तथा बजेट कार्यान्वयनको समीक्षा गरिएको छ । चालू आर्थिक वर्षमा छ करोड राजस्व सङ्कलन हुने अनुमान गरिएकोमा ज्येष्ठ मसान्तसम्म चार करोड ६७ लाख २३ हजार प्राप्त भएको हुँदा चालू आर्थिक वर्षको अन्त्यसम्ममा लक्ष्यअनुसारकै राजस्व सङ्कलन हुने अनुमान गरिएको छ ।

कुल खर्च ९२ करोड ९७ लाख ७४ हजार रूपैयाँ हुने अनुमान गरिएकोमा सघीय सरकार तथा बागमती प्रदेश सरकारबाट हालसम्म ७१ करोड २८ लाख ६३ हजार छ सय ६० प्राप्त भएको छ । चालू आर्थिक वर्षको जेष्ठ मसान्तसम्म चालू खर्चतर्फ ४९ करोड ७१ लाख ६४ हजारमध्ये ३५ करोड ९६ लाख ४२ हजार अर्थात् ७२.३४ प्रतिशत खर्च र पुँजीगततर्फ ४३ करोड २६ लाख नौ हजारमध्ये १८ करोड ५० लाख ४० हजार अर्थात् ४२.७७ प्रतिशत खर्च भएको तथा कुल खर्च रकम ५४ करोड ४६ लाख ८२ हजार अर्थात् ५८.५८ प्रतिशत भएको छ ।

सो नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा घुम्ती शिविरमार्फत नगरवासीको घरदैलोमा सेवा प्रदान, भ्रष्टाचारविरूद्ध शून्य सहनशीलता, उत्कृष्ट काम गर्नेलाई सम्मान, मेयर केयर कार्यक्रमलाई निरन्तरता, एक वडा एक खेल मैदान, नगरस्तरीय आधुनिक पुस्तकाल निर्माण, कालिका अस्पतालमा इन्डोर सेवा सञ्चालन, २०८३ असोजसम्म बालमैत्री नगर घोषणा, बालबालिकासँग उपमेयर कार्यक्रम, सामूहिक खेती गर्नेलाई अनुदान दिने मेयर रेग्मीले बताए । मीठोमसिनो, पोसिलो खाऊँ तर खाना नफालौँ भन्ने नारालाई आत्मसात् गरेको नगरपालिकाले रैथाने बाली जोगाउन फापर, कोदो, अदुवा, हलेदो, पिँडालुको बीउमा अनुदान दिने घोषणा गरेको उनले बताए ।

नगरसभाले संस्थागत तथा सुशासन समितिका संयोजक दीपकबहादुर भट्टराईले प्रस्तुत गरेको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण, करार कर्मचारीको म्याद थपसम्बन्धी प्रस्ताव पारित भएको नगर प्रवक्ता लक्ष्मण पौडेलले जानकारी दिए ।

नगरसभामा सामाजिक विकास समिति संयोजक मकरमान श्रेष्ठ, पूर्वाधार विकास समितिका संयोजक लक्ष्मण पौडेल, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक वीरेन्द्र तामाङ, आर्थिक विकास समितिकी सदस्य सम्झना परियार, लेखा समिति संयोजक टीकाराम रेग्मीले विषयगत समितिको प्रतिवेदन प्रस्तुत गरेको प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले जानकारी दिए ।