काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ पूर्वनिर्धाति परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ ।
मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ पूर्वनिर्धाति परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ ।
मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई टोले गुण्डाको संज्ञा दिएका छन्।
आज सामाजिक सञ्जालमा लेख्दै ढकालले रवि जेल आउने-जाने गरिरहने ‘पटके’ भइसकेको बताए। उनले रविको मुद्दाको फैसला, आदेशलगायत १८-२० वटा अदालतबाट हुने र कुनै अदालतबाट रवि छुटे पनि कुनैबाट पक्राउ पनि पर्न सक्ने भन्दै रवि जेलबाट आउ-जाउ भइराखे भने अचम्म नमान्दा हुने पनि जिकिर गरे।
उनले भने, ‘रवि दाइको मुद्दाको फैसला, आदेश लगायत १८-२० वटा अदालतबाट हुन्छ। कुनै अदालतबाट यिनी छुट्न सक्छन्, कुनैबाट प्रक्राउ पनि पर्न सक्छन्। यिनी जेलबाट आउ-जाउ भइराखे भने अचम्म नमान्दा हुन्छ। तपाईंहरूको घर नजिकै, तपाईंलेहरूले देखेका गुण्डा, ठगहरू पनि हेर्नु, ती पनि जेल जाने-आउने गरिरहेका हुन्छन्। यसरी पटक पटक जेल जाने-आउने गरिरहनेलाई चलनचल्तीको भाषामा “पटके” भनिन्छ। रवि दाइ पनि “पटके” भइसके।’
रविको जेल आउजाउ गर्ने पटके अवस्थाले रास्वपालाई धेरै हानि हुने जिकिर ढकालको छ। उनले रविलाई नबिर्सी न रास्वपा अघि बढ्न सक्छ न त वैकल्पिक राजनीतिको अभियान नै गर्न सक्छ भन्दै रवि आउजाउ गरेर कसैलाई बिर्सन पनि दिँदैनन् र वैकल्पिक राजनीतिको समग्र अभियानलाई नै निरन्तर डिस्टर्ब गरिरहने भनाइ राखे।
रविको यो पटके अवस्थाका कारण अन्तिममा न रास्वपा अघि बढ्न सक्छ, न कुनै अर्को दल आउन सक्छ र उही अन्तिम रिजल्ट भनेको काङ्ग्रेस-एमाले-माओवादीले नै जित्ने ढकालले उल्लेख गरे। उनले तीतो सत्य नै यही भएको बताए।
डा ढकालले लेखेका छन्, ‘रवि दाइको यो “पटके” अवस्थाले न त पार्टीभित्रबाट कसैले पार्टीलाई ड्राइभ गर्ने गरि अन्तिम निर्णय गर्न सक्छन् न त पार्टी बाहिरबाट कसैले वैकल्पिक राजनीतिलाई अघि बढाउन सक्छन्। रवि दाइलाई नबिर्सी न रास्वपा अघि बढ्न सक्छ न त वैकल्पिक राजनीतिको अभियान नै। यिनी आऊ-जाऊ गरेर कसैलाई बिर्सन पनि दिँदैनन् र वैकल्पिक राजनीतिको समग्र अभियानलाई नै निरन्तर डिस्टर्ब गरिरहन्छन्। अनि लास्टमा न रास्वपा अघि बढ्न सक्छ, न कुनै अर्को दल आउन सक्छ र उही अन्तिम रिजल्ट भनेको काङ्ग्रेस-एमाले-माओवादीले नै जित्ने हुन्। तीतो लाग्यो कुरा? सत्य यही हो।’

ताप्लेजुङ — ताप्लेजुङमा सडकमा लत्रिएको बिजुलीको तारमा छोएर जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा परी थप दुई जना गम्भीर घाइते भएका छन्।
यात्रु लिएर पाथीभरातर्फ जाँदै गरेको मे१ज ३०११ नम्वरको जीप पाथीभरा क्षेत्रको सेवारो चोकमा आज बिहान दुर्घटनामा परेको थियो। बिजुलीको पोलबाट लत्रिएको तारमा जीपले छोएपछि आगलागी भएको र दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका १० बस्ने सबिना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ बस्ने ७० वर्षीय विनोद पौडेल, विनोद पौडेलकी श्रीमति ६९ वर्षीया सरिता पौडेल र चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० बस्ने अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराई छन् ।
सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा आज बिहान फुङलिङ नगरपालिका–१० को सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो ।
सो घटनामा परी ४ जनाको मृत्यु भएको र २ जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।
उनका अनुसार घाइते हुनेमा ललितपुरको ललितपुर महानगरपालिका १० बस्ने ४५ वर्षीया सबिना आचार्य र उनको १० वर्षीय छोरा भबिमय आचार्य घाइते छन् । उनीहरुलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै छ ।

रत्ननगर, बैशाख ७ । रत्ननगर नगरपालिकाको ४० लाख अनुदानमा जनजागृति सहकारी संस्था लिमिटेड रत्ननगरले टाँडीमा सञ्चालन गरेको कृषि मार्ट विवादमा तानिएको छ। स्थानीय उत्पादन र दैनिक उपभोग्य वस्तु बिक्री गर्ने उद्देश्यले सञ्चालित मार्ट एकाएक फेन्सी पसलमा परिणत भएपछि नगरपालिकाले सटरमा ताला लगाएको छ ।
रत्ननगर-२, टाँडीमा रहेको उक्त मार्ट सहकारीले फेन्सी व्यवसायीलाई भाडामा दिएको गुनासो आएपछि शनिबार उपमेयर यादव प्रसाद पाठकको नेतृत्वमा नगरप्रहरीको टोलीले सटर बन्द गरेको हो। “नगरपालिकाले स्थानीय उत्पादन प्रवर्द्धनका लागि दिएको अनुदानको दुरुपयोग भएको पाइयो। यो गम्भीर विषय हो,” उपमेयर पाठकले भने। उनले अनुदानको उद्देश्यविपरीत कार्य भएको भन्दै सटरमा ताला लगाइएको बताउँदै अनुदान रकमको दुरुपयोग गर्ने छुट कसैलाई नभएको बताए।
सहकारीले पाँच महिनाअघि नगरपालिकाबाट अनुदान लिएर मार्ट सञ्चालनमा ल्याएको थियो। तर, मार्ट बन्द गरी फेन्सी पसल सञ्चालनमा ल्याइएपछि अनुदानको रकम दुरुपयोग भएको भन्दै स्थानीयले गुनासो गरेका थिए। सहकारीका कोषाध्यक्ष बिष्णु पौडेलले गल्ती भएको स्वीकार गरेका छन्। “मार्ट सञ्चालनको खर्च धान्न नसकेपछि सहकारीकै शेयर सदस्य फडिन्द्र अर्याललाई भाडामा दिएर फेन्सी पसल सञ्चालन गरिएको हो,” उनले भने। गल्ती भएको भन्दै नगरपालिकाले अभिभावकको भूमिका निर्वाह गरी सच्याउने मौका दिनुपर्ने उनको भनाई छ।
यता, सहकारीका अध्यक्ष माधव पौडेलले भने रातारात फेन्सी पसल सञ्चालनमा आएकोबारे आफूलाई जानकारी नभएको र यो विषयले आफू चकित भएको बताए। नगरपालिकाले अनुदान दुरुपयोगको विषयलाई गम्भीर रूपमा लिएको छ। यो घटनाले स्थानीय स्तरमा अनुदानको रकम दुरुपयोग र सहकारीको पारदर्शितामाथि प्रश्न उठाएको छ।

चितवन,बैशाख ४-
प्रधानमन्त्री केपी शर्मा ओली भोलि (शुक्रबार) चितवन आउने भएका छन । भरतपुरको छ लेन सडक उद्घाटन लगायतका कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री ओली चितवन आउन लागेका हुन । संघीय सरकारको बजेटमा विस्तारको काम सकिएको ६.०८ किमी लामो पुलचोक–गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए । ओलीले २०७७ माघ १७ गते सडक विस्तारको शिलान्यास गरेका थिए ।
यसअघि गएको चैत २५ गते उद्घाटन गर्ने कार्यक्रम तय भएपनि प्रधानमन्त्री ओली आउन नभ्याएपछि रोकिएको थियो। सडकको उद्घाटन लगायत चितवन–नवलपुरका विभिन्न कार्यक्रममा सहभागी हुन ओली चितवन आउन लागेको संविधानसभा सदस्य कृष्णभक्त पोखरेलले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीले इच्छाकामना गाउँपालिकाकाको प्रशासकीय भवन उद्घाटन र नेकपा (एमाले) भरतपुर महानगर कमिटीको अधिवेशन उद्घाटन गर्नेछन । यस्तै प्रधानमन्त्री ओलीले भोलिनै नारायणगढ-बुटवल सडकखण्डको निरीक्षण समेत गर्ने कार्यक्रम रहेको छ । पछिल्लो समय यो सडक निर्माणले पनि गति लिन थालेको छ ।
चितवनको मुख्य बजार नारायणगढदेखि पूर्वतर्फ गोन्द्राङसम्मको ६ किलोमिटर लामो ‘सिक्स लेन’ सडक विस्तारको काम सकिएसँगै भरतपुर-नारायणगढ सडक क्षेत्र चिटिक्क देखिएको छ । सडक विस्तारको जिम्मा पाएको सगुन कन्स्ट्रक्सन प्रालिले सडक विस्तारको काम गत २८ पुसमा सकिएको जनाएको छ । सगुन कन्स्ट्रक्सनका प्रमुख सहदेव खड्काले सडक विस्तारको काम विभिन्न अवरोधका बाबजुद पनि सम्पन्न भएको बताए । उनले कोभिड महामारी, निर्माण सामग्रीको अभाव, सरकारले बजेट निकासमा गरेको ढिलाइ, खानेपानीको पाइप लाइन तथा नारायणगढ बजार क्षेत्र तथा भरतपुर विमानस्थल अगाडिका घर टहरा भत्काउन भएको समस्याले गर्दा समयमा नै काम सम्पन्न गर्न समय लागेको बताए ।
निर्माण कम्पनी सगुनले २८ महिनाभित्र काम सक्ने गरी २६ असोज २०७७ मा ठेक्का सम्झौता गरेको थियो । सडक विस्तारसँगै दुवैतर्फ ६ सय सडक बत्ती जडानको काम पनि सकिएको छ । रातको समयमा बत्ती बल्दा सडक झिलिमिली देखिन्छ । ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउन्ड गरिएको छ ।

चितवनको कालिका नगरपालिकामा सापकोटा कल्याण समाज गठन गरिएको छ।
कालिकाका स्थानीय अगुवा तथा समाजसेवी उमाकान्त सापकोटाको अध्यक्षतामा सापकोटा कल्याण समाज कालिका नगर कमिटी गठन गरिएको हो।।
समितिको उपाध्यक्षमा दशरथ सापकोटा सचिव उमेश सापकोटा कोषाध्यक्षमा गंगाप्रसाद सापकोटा तथा सदस्यहरूमा खुमानन्द सापकोटा माया सापकोटा लगायत छन्।
सापकोटा समाजले बन्धुबान्धवबीच एकता कायम गर्ने, आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्ने लगायतको उद्देश्य राखेको छ। गत वैशाख २ गते एक भेला सम्पन्न गरी शुभकामना आदानप्रदान तथा समिति गठन कार्यक्रम सम्पन्न गरिएको हो।

झापा- मेडकिल व्यवसायी दुर्गा प्रसाईंलाई बुद्ध एयरको विमानबाट भद्रपुरबाट काठमाडौँ लगिएको छ।
केहीबेर अघिको उडानबाट काठमाडौँ लगिएको प्रहरीले जनाएको छ। उनलाई हतकडी लगाएर विमानमा प्रवेश गराइएको थियो।
उनलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर शुक्रबार बिहान नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो। काँकरभिट्टा हुँदै उनलाई भद्रपुर लगेर बुद्ध एयरको विमानबाट काठमाडौँ लगिएको हो।
गत चैत १५ गते काठमाडौँ तीनकुने घटनापछि उनी फरार थिए। उनी पक्राउ परेको शुक्रबार बिहान मात्र प्रहरीले औपचारिक जानकारी दिएको हो।
चैत १५ गते तीनकुने घटनापछि फरार रहेका उनको खोजी कार्य नेपाल प्रहरीले गरिरहँदा उनले भने बिहीबार भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।
खबर अनुसार उनी गुवाहाटीमा ५ जनासँगै एक होटलमा बसेका थिए। त्यति नै बेलामा यो कुरा आसामका डिजी (प्रहरी महानिर्देशक)लाई थाहा भयो। त्यसलगत्तै उनले उनको आत्मसमर्पण सम्बन्धी निर्देशन दिएका थिए।

चैत २५ । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा शुक्रबार पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई रूपन्देही प्रहरीले आज (सोमबार) जिल्ला अदालतमा उपस्थित गराउँदै छ ।
उक्त मुद्दामा उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेशसँगै पक्राउ परेका लामिछानेलाई शनिबार बिहान रूपन्देही लगिएको थियो । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा परेकाले उनलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखेर आज अदालतमा उपस्थित गराउन लागिएको हो ।
लामिछानेलाई अदालतमा उपस्थित गराएपछि कानूनी प्रक्रिया पूरा गरी आजै थुनामा पठाइने छ ।
सुप्रिम ठगी मुद्दामा यसअघि माघ १३ गते लामिछाने १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । त्यसपछि लामिछानेले उक्त आदेश बदर गरी साधारण तारेखमा छुट्न आदेशको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।
तर, उच्च अदालतले जिल्ला अदालतको धरौटीमा छाड्ने आदेश उल्टाइदिएपछि उनी फेरि पक्राउ परेका हुन् ।

चितवन –चितवन जिल्ला अदालतमा जर्मनीका लागि नेपाली राजदूत डा। शैल रुपाखेतीविरुद्ध जालसाजीको कसूरमा फौजदारी मुद्दा दायर भएको छ।भरतपुर महानगरपालिका–१० मा रहेको सासु विष्णु माया पौडेलको नाममा मुद्दा दायर भएको खुल्न आएको हो।
चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले रुपाखेतीविरुद्ध जालसाजी मुद्दा दर्ता भएको पुष्टि गरे। “दुनियाँबादी फौजदारी मुद्दा दर्ता भएको देखिन्छ,” सूचना अधिकारी विश्वकर्माले बताए।
रुपाखेती हालको केपी ओली नेतृत्वको सरकारका पालामा जर्मनीका लागि नेपाली राजदूत पदमा नियुक्त भएका थिए। संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी राष्ट्रपतिबाट अनुमोदन भएसँगै पदभार ग्रहण गरेका रुपाखेतीविरुद्ध दायर भएको दुनियाँबादी फौजदारी मुद्दाले कूटनीतिक वृत्तमा तरंग उत्पन्न गराएको छ।यस विषयमा प्रतिक्रिया लिन खोज्दा राजदूत रुपाखेतीसँग सम्पर्क हुन सकेन।
प्रशासनडटकमबाट

१८ चैत, हेटौंडा। मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोबर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ ।
काभ्रे घर भई सिस्नेरी मामाघर आएका दुई बालक र सिस्नेरी डोडारेका एक बालकको सिस्नेरी बजार पछाडि खोलामा पौडी खेल्ने क्रममा आज अपराह्न करिब साढे ४ बजे डुबेर मृत्यु भएको घटनास्थलबाट इलाका प्रहरी कार्यालय भीमफेदी प्रमुख प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिइन् ।
इन्द्रसरोबर–३ सिस्नेरी डोडारेका श्यामबहादुर आचार्यका छोरा १४ वर्षीय सुशान्त आचार्य, काभ्रेको फूलबारी दाप्चा घर भएका १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रमाध घोरासैनीको डुबेर मृत्यु भएको ढकालले जानकारी दिएकी छन् । घोरासैनी दाजुभाइ हुन भने आचार्य मामाका छोरा हुन् ।
उनीहरु सिस्नेरी खोलाको ढुंगाको ओढारमा जमेको पानीमा घरबाट पौडी खेल्न भनेर गएको प्रहरी निरीक्षक ढकालले बताइन् । गत असोजमा कुलेखानी जलाशयको ड्यामका ढोका खोलेर पानी छोड्दा सिस्नेरी खोलामा आएको बाढीले ढुंगाको ओढारमा दह बनेको थियो ।
मृतक बालकको शव पोस्टमार्टम गर्न काठमाडौंस्थित अस्पताल पठाइएको ढकालले जानकारी दिइन् ।
