Home Uncategorized लामो समय देखिको विवाद टुंगियो अन्ततः एनसेलले तिर्यो १४ अर्ब ३३ करोड

लामो समय देखिको विवाद टुंगियो अन्ततः एनसेलले तिर्यो १४ अर्ब ३३ करोड

0

३० चैत, काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्रालिले आफ्नो सेयर स्वामित्व खरिद बिक्री भएवापत तिर्नुपर्ने थप १४ अर्ब ३३ करोड बढी पुँजीगत लाभकर बुझाएको छ । यससँगै उसले तिनुपर्ने कर चुक्ता भएको छ । ठूला करदाता कार्यालयकाअनुसार एनसेलले आइतबार १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पुँजीगत लाभकर तिरेको छ ।

यससँगै उसले कुल २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ बुझाएको छ । यससँगै पुँजीगत लाभकर बापत २०७२ चैत २९ देखिको यस प्रकरणको अन्त्य भएको छ’ ठूला करदाता कार्यालयले भनेको छ ।

युरोपको टेलिया कम्पनीले चार वर्ष अघि चैत २९ गते एनसेलमा भएको आफ्नो ८० प्रतिशत स्वामित्व मलेसियाको टेलिकम कम्पनी एक्जियटालाई विक्री गरेको थियो। स्वीडेनमा मुख्य कार्यालय भएको टेलिया कम्पनीले नर्वेमा रहेको आफ्नो होल्डिङ कम्पनी टेलिया सोनेरा नर्वे नेपालसँग सेन्ट किट्स एण्ड नेभिस नामक टापुमा दर्ता रहेको रेनल्ड होल्डिङ्सको सेयर एक खर्ब ४४ अर्व ७८ करोड रुपैयाँमा विक्री गरेको थियो।

यो सेयर मलेसियामा मुख्य कार्यालय रहेको एक्जियटा कम्पनीले आफ्नो बेलायतमा रहेको सहायक कम्पनी एक्जियटा इन्भेष्टमेन्ट युकेमार्फत किनेको थियो। नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो यो कारोवार भएपछि यसमा पुँजीगत लाभकर कसले तिर्ने भन्ने विषयमा विवाद सिर्जना भएको थियो। सुरुमा यो कारोवार अफसोर(नेपाल बाहिर) भएको भन्ने आधारमा यसमा लाभकर नलाग्ने दावी गरिएको थियो।

एनसेलले नेपाली बैंकहरुसँग ऋण लिएर लाभकर तिरेको छ। एनसेलले नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा अन्य वाणिज्य बैंकसँग ऋण लिएको छ। इन्भेस्टमेन्ट, नबिल र ग्लोबल आइएमइ बैंकले ४/४ अर्ब रुपैयाँका दरले ऋण दिएका छन्। यसपछि हिमालयन बैंकले साढे २ अर्ब दिएको छ भने सानिमा बैंकले ५० करोड रुपैयाँ ऋण दिएको छ। यो डिलमा एभरेष्ट बैंकले पनि ऋण दिएको छ। एभरेष्ट बैंकले दुई अर्ब रुपैयाँ ऋण दिएको छ।

यसैगरी नेपाल बैंकले तीन अर्ब रुपैयाँ ऋण दिएको छ। एनसेलले कुल २० अर्ब ऋण उठाएको हो। सबै बैंकको ब्याज दर समान १०.५ प्रतिशत छ। बैंकहरुले शुक्रबार नै ऋण स्वीकृत गरिसकेका थिए। आइतबार बिहानै एनसेलले बैंकहरुले दिएको पैसा एभरेष्ट बैंकमा जम्मा गरेको थियो। एभरेष्ट बैंकको चेक काटेर एनसेलले पैसा तिरेको हो।

‘एनसेल सुरुमा नेपाल आउँदा नबिल बैंकले नै ऋण दिएको थियो। त्यसबेला हामीले ग्यारेन्टी ऋण दिएका थियौंं,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, ‘नेपालमा राम्रो क्यास फ्लो भएको कम्पनीसँग अहिलेसम्म पनि काम गर्न पाउनु हाम्रा लागि खुसीको कुरा हो। एनसेललाई पैसा आवश्यक परेका बेला सहयोग गर्न पाएकोमा खुसी छौं।’

एनसेलले पुँजीगत लाभकर भुक्तानी गरेपछि लकडाउनका कारण राजस्व असुली ठप्पजस्तै रहेको अवस्थामा सरकारलाई पनि राहत भएको छ। सुरुमा राजस्वको लक्ष्यमा चुकेको सरकार पछिल्ला दिनमा कोरोनाका कारण आर्थिक कारोबार ठप्प हुँदा अझ बढी दबाबमा थियो।

मुस्ताङको लोघेकर दामोदरकुण्डमा एमाले विजयी

Exit mobile version