Home ताजाखबर जुलाईदेखि आप्रवासी श्रमिक नलिने मलेसियाको निर्णय

जुलाईदेखि आप्रवासी श्रमिक नलिने मलेसियाको निर्णय

काठमाडौं । मलेसिया सरकारले आगामी जुलाईदेखि आप्रवासी श्रमिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । श्रम बजारमा आप्रवासी श्रमिकको संख्या बढी भएको भन्दै मलेसियन सरकारले मे मसान्तसम्म आप्रवासी श्रमिकलाई प्रवेश दिने र त्यसपछि रोक लगाउने घोषणा गरेको हो । मलेसियाको गृह मन्त्रालयले मे मसान्तपछि आप्रवासी कामदारलाई प्रवेश नदिने भन्दै त्योभन्दा अगावै आवश्यक श्रमिक भित्राउन भनेको छ ।

गृहमन्त्री सेरी सैफुद्दीन नासुसन इस्माइलले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारले आप्रवासी श्रमिकको संख्यालाई नियन्त्रण गर्न चाहेको बताए । ‘कुल श्रम शक्तिको १५ प्रतिशत मात्रै विदेशी श्रमिक राख्ने नीति तय भएको छ, त्यसअनुसार स्वीकृत कोटामा कम्पनीहरुलाई आप्रवासी कामदार भित्राउनका लागि मे ३१ सम्मको समय दिइएको छ,’ उनले भने ।

मलेसियाको श्रम शक्ति करिब एक करोड ७० लाख छ । सरकारी नीतिअनुसार त्यसको १५ प्रतिशत अर्थात् २५ लाख ५० हजार आप्रवासी श्रमिकलाई अवसर दिइनेछ । तर अहिले नै २१ लाख ३० हजार ९३१ आप्रवासी मलेसियामा कार्यरत छन् । त्यसमध्ये नेपालीहरु मात्रै ५ लाख हाराहारीमा छन् ।

मलेसियामा अहिले कम्पनीहरुले ओभरटाइम नदिएका कारण आप्रवासी कामदारको आकर्षण समेत घटिरहेको छ । कतिपय काम नपाएर अलपत्र समेत परिरहेका छन् ।
०७५ सालयता नेपालबाट शुन्य लागतसहितको श्रम सम्झौता गरेपछि मलेसियाले नेपालीहरुलाई प्राथमिकतामा राखेर लैजाने गरेको छ ।

Previous articleत्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपाल आज हङकङसँग भिड्दै, खेल ११ः१५ मा सुरु हुने
Next articleरत्ननगर अस्पतालमा टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।