क्यानडाको ब्राम्पटनमा मेयर विनोद रेग्मीको उच्चस्तरीय भेटवार्ता, भगिनी सम्बन्ध स्थापना गर्न छलफल

चितवन। साउन ६- क्यानडाको भ्रमणमा रहेका कालिका नगरपालिका, चितवनका मेयर विनोद रेग्मीले क्यानडाको ब्राम्पटन नगरका मेयर प्याट्रिक ब्राउन र डेपुटी मेयर हरकिरत सिंहसँग मैत्रीपूर्ण भेटघाट गरेका छन्।

ब्राम्पटन नगरको कार्यालयमा आयोजित उक्त भेटघाटमा दुबै नगर बीच भगिनी सम्बन्ध स्थापना गर्ने विषयमा छलफल भएको बताइएको छ।

मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यका साथ दुबै नगरका प्रतिनिधिहरूले विकासको मोडल आदान–प्रदान गर्ने, अनुभव बाँड्ने र पालिकाबीच अध्ययन तथा भ्रमण आदान–प्रदान गर्ने सहमति पनि बनेको मेयर रेग्मीले क्यानाडाबाट जानकारी दिएका छन्।

सो अवसरमा कालिका नगरपालिकाको तर्फबाट ब्राम्टन नगरपालिकालाई नेपाल भ्रमणको निमन्त्रणा पनि प्रदान गरिएको छ।

कार्यक्रममा क्यानडा कन्जरभेटिभ पार्टीका नेता विजय पौडेल, प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष रमेश धिताल, एनआरएन क्यानडाका पूर्व अध्यक्ष तथा नेपाल हाउसका सभापति गोपिकृष्ण काफ्ले, प्रवासी मञ्च क्यानडाका सदस्यहरू शुदर्शन अधिकारी, विकास डल्लाकोटी, जगन सापकोटा लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

भेटघाट र छलफलको यो अवसरले नेपाल र क्यानडाबीचको स्थानीय तहको सहकार्यलाई थप बलियो बनाउने विश्वास गरिएको छ।

Previous articleविदेश पढ्न चाहनेका लागि अवसर: चितवनमा ‘ग्लोबल एजुकेशन एक्सपो’ भोलि हुँदै
Next articleचितवनको खैरहनीमा सवारी दुर्घटनामा एकजनाको ज्यान गयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।