श्रम मन्त्री श्रेष्ठसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबिच दुई देशबिच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भयो ।

मन्त्री श्रेष्ठले सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको रोजगार अनुमति प्रणाली सम्बन्धी द्विपक्षीय समझदारीलाई छिट्टै टुङ्गोमा पुर्‍याउन राजदूत पार्कसँग आग्रह गर्नुभएको थियो ।

राजदूत पार्कले ईपीएस सम्बन्धी सम्झौता पत्र चाँडो नवीकरण गर्न आवश्यक तयारी गर्ने बताउनुभयो । सन् २००७ मा नेपाल र दक्षिण कोरिया सरकारबिच भएको रोजगार अनुमति प्रणाली सम्बन्धी द्विपक्षीय समझदारी पछिल्लो पटक सन् २०१८ मा नवीकरण भएको र तत्पश्चात् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको छ ।

मन्त्री श्रेष्ठले कोरियाली भाषा परीक्षा पास गरेका १० हजार नेपाली कोरिया जाने प्रक्रियामा रहेकोले उनीहरूलाई छिटो लैजाने व्यवस्था गर्न आग्रह गर्नुभएको थियो । रोजगार अनुमति प्रणाली अन्तर्गत नेपालले पाउने कोटा बढाउन पनि उहाँले आग्रह गर्नुभयो ।

दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ । इपिएस प्रणालीअन्तर्गत १६ देशका विदेशीहरू रोजगारीका लागि कोरियाली भाषा परीक्षा दिई कोरियामा श्रम गर्दछन् । ईपीएस अन्तर्गत नेपाली कामदारको सङ्ख्या बढाउन दक्षिण कोरिया सरकार सकारात्मक रहेको राजदूत पार्कले बताउनुभएको थियो ।

सन् २०१८ मा ईपीएस अन्तर्गत भाषा परीक्षा पास गरेका दुई हजार जना नेपाली रोष्टरमा रहने म्याद सकिएकोले प्रक्रियामा सहभागी हुन नपाएको भन्दै मन्त्री श्रेष्ठले म्याद थप गरी प्रक्रियामा सहभागी गराउन आग्रह गर्नुभयो ।

मन्त्री श्रेष्ठले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया रोजगारीमा जानेहरूका लागि भाषा परीक्षा आगामी मे ३० बाट सुरु गर्ने मन्त्रालयको तयारी रहेको बताउनुभयो ।

रोजगार अनुमति प्रणाली अन्तर्गत नेपाली नागरिक ठुलो सङ्ख्यामा दक्षिण कोरिया जाने गरेकोले नेपाली ध्वजावाहक नेपाल वायु सेवा निगमलाई पनि कोरियामा सूचीकृत गर्न, कोभिड महामारीका कारण सिधा उडान मात्र हुने गरेकोले ट्रान्जिट हुँदै समेत जाने व्यवस्था गर्न पनि उहाँले आग्रह गर्नुभयो । जसबाट हवाई भाडा सस्तो पर्ने मन्त्री श्रेष्ठको भनाइ छ । नेपाल वायु सेवा निगमले पनि काठमाडौँ-कोरिया उडानको प्रयत्न गरिरहेको मन्त्री श्रेष्ठले जानकारी दिनुभएको थियो ।

मन्त्री श्रेष्ठले दक्षिण कोरियामा प्राप्त हुन सक्ने मौसमी कामदारको अवसरबारे पनि राजदूतसँग चासो राख्नुभएको थियो । मन्त्री श्रेष्ठले अहिले वैदेशिक रोजगार व्यवस्थापनको कार्यक्षेत्र सङ्घीय सरकारमा मात्र निहित रहेकोले मौसमी कामदारको रुपमा रोजगारी दिन स्थानीय सरकारलाई जिम्मेवार बनाउन खोजिएको विषयमा नीतिगत स्पष्टता कायम गर्दै अघि बढ्न नेपाल सरकार तयार रहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले नेपाल सरकारको नीति अनुसार मौसमी कामदारको रुपमा जाने व्यक्तिहरू ‘एम्प्लोई पे पोलिसी’ अवलम्बन हुने गरी दक्षिण कोरिया जाउन् भन्ने अपेक्षा गरिएको बताउनुभयो ।

दक्षिण कोरिया सरकारको सहयोगमा बुटवलमा सञ्चालित सीप तालिम केन्द्रबाट धेरै नेपाली युवाहरू लाभान्वित भएको बताउनुहुँदै मन्त्री श्रेष्ठले अन्य प्रदेशमा पनि सीप विकास तालिम सञ्चालन गर्ने मन्त्रालयको योजनामा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

रोजगार अनुमति प्रणाली अन्तर्गत कोरिया गई फर्केर आउने नेपाली नागरिकलाई पुनः एकीकरणका लागि सहयोग गर्ने दक्षिण कोरिया सरकारको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिनुभयो । पुनस एकीकरणका लागि दक्षिण कोरिया सरकारले ८० लाख डलर सहयोगको प्रस्ताव गरेको छ ।

कोरियामा ६५ हजारभन्दा बढी नेपाली इपिएस अन्तर्गत प्रत्यक्ष रोजगारी गरिरहेका छन् । नेपालीहरू मेहनती र इमानदार भएकोले कोरियाका रोजगारदाताको रोजाइमा पर्दै आएको राजदूत पार्कले बताउनुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/18782

Previous articleनेप्से परिसूचक आज पनि ओरालो
Next article१७ औँ फेवा नववर्ष महोत्सव भोलिदेखि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।