Home Uncategorized पर्वमा पनि रोकिएन वाग्मती सफाइ महाअभियान

पर्वमा पनि रोकिएन वाग्मती सफाइ महाअभियान

काठमाडौं- विगत नौ वर्षदेखि प्रत्येक हप्ताको शनिबार बिहान ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सञ्चालन हुँदै आएको वाग्मती सफाइ महाअभियान आज आमाको मुख हेर्ने दिन पनि रोकिएन ।

वाग्मती सफाइ महाअभियानको ४६८औँ हप्तामा आज बिहान सिनामङ्गल भत्किएको पुलस्थित नदी क्षेत्रमा सफाइ गरी चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना तथा कर्मचारी, स्थानीयवासी, वाग्मती फोहर उन्मूलन उपभोक्ता समिति, सिभिल क्यापिटल मर्चेन्ट प्राइभेट लिमिटेड, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकू, वाग्मती सफाइ अभियानकर्मीलगायतको सक्रियता रहेको थियो ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरु गरिएको छ । हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य शहर, नदी र साँस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । राजधानी बाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

यसैगरी आज गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको छ ।

अभियानकर्मीको सक्रियतामा देशव्यापीरुपमा सफाइ अभियान जारी रहे पनि स्थानीय सरकारको आवश्यक सहयोग भएको छैन । फोहर व्यवस्थापन स्थानीय सरकारकै दायित्व भए पनि काम गर्ने रुचि देखाएका छैनन् । देशको राजधानी काठमाडौँ उपत्यकामा एक महिनाभन्दा लामो समयदेखि फोहर उठेको छैन । सांस्कृतिक शहरका रुपमासमेत विश्वमा परिचित काठमाडौँमा फोहर नउठ्दा पर्यटकमा पनि नकारात्मक सन्देश गएको छ ।

यसैगरी पर्यटकीय शहर पोखरामासमेत लामो समयदेखि फोहर नउठ्दा स्थानीय सरकार मौन बसेका छन् । फोहर व्यवस्थापनमा स्थानीय सरकार चुकेको भन्दै जनता आक्रोशित देखिन्छन् । काठमाडौँ उपत्यकामा नदी किनार र पोखरामा तालको किनारमा फोहर फाल्न थाल्दासमेत स्थानीय सरकार मुकदर्शक बनेका हुन् ।

स्थानीय सरकार फोहर व्यवस्थापन आफ्नो काम होइन जस्तो गरी पन्छने गरेका छन् । केही अभियानकर्मीले भने स्थानीय तह निर्वाचनका बेला मत माग्न आउने राजनीतिक दलका नेतालाई यस विषयमा प्रश्न गर्न आम समुदायमा आह्वान गरेका छन् ।

विसं २०७४ को स्थानीय तह निर्वाचनबाट निर्वाचित अधिकांश स्थानीय तहका नेतृत्वले फोहर व्यवस्थापनलाई प्राथमिकतामा राखेका छैनन् । स्थानीय तहको दोस्रो निर्वाचन आउन दुई हप्तामात्र बाँकी रहँदा राजधानी काठमाडौँमा फोहर व्यवस्थापनको विषयमा बहस चलेको छ ।

दलले फोहर व्यवस्थापनलाई मुख्य बुँदामा रुपमा उठाएका छन् । निर्वाचन जितेपछि भने यसलाई बिर्सने गरेकाले समस्या आउने गरेको अभियानकर्मी कञ्चन राउत बताउनुहुन्छ ।

https://ujyaalonepalnews.com/archives/19539

Previous articleकैलालीको एक होटलमा युवती मृत फेला
Next articleटेलिकमले सूचना तथा सञ्चार प्रविधि दिवस अफर उपलब्ध गराउने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।