Home Uncategorized गाउँमै रोजगारी र आम्दानी सिर्जना हुने योजना बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

गाउँमै रोजगारी र आम्दानी सिर्जना हुने योजना बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै रोजगारी र आम्दानी सिर्जना हुने योजना बनाउनुपर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट, नीति तथा कार्यक्रम तर्जुमासम्बन्धी अन्तर्क्रियामा उहाँले गाउँमा रोजगारी र गाउँमै आम्दानी हुने योजना बनाएर जनतालाई गाउँमै बसुँबसुँ लाग्ने वातावरण बनाउनेतर्फ स्थानीय तहको ध्यान जानुपर्ने बताउनुभयो ।

गाउँमै बाटो, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् पुगेपनि रोजगारी र आम्दानी नपुगेकाले मानिस गाउँबाट भागिरहेको उल्लेख गर्दै पौडेलले भन्नुभयो, “पहिला–पहिला गाउँमा केही सुविधा थिएन, तर अहिले गाउँमा सबै सुविधा पुगिसक्यो, तर रोजगारी पुग्न सकिरहेको छैन । त्यही कारण मानिस गाउँ छाडेर सहर झरेका छन् ।” वरिष्ठ नेता पौडेलले गाउँमा रोजगारीको अवसर सिर्जना हुने खालका योजना स्थानीय तहले ल्याउनुपर्ने भन्दै त्यसो भएको खण्डमा मानिस पुनः गाउँमै फर्किने बताउनुभयो । उहाँले गाउँमा जडीबुटी, फलफूल उद्योग खोल्न सकिने भन्दै त्यसका लागि नगरपालिकाले सहयोग गर्नुपर्ने बताउनुभयो ।

सहर बजारभन्दा ग्रामीण भेगलाई लक्षित गरी स्थानीय तहले आफ्ना नीति तथा कार्यक्रम बनाउनुपर्ने उहाँको जोड थियो । गाउँमा जग्गा बाँझो राख्ने क्रम बढेकाले बाँझो जग्गालाई उत्पादनमा लगाउनुपर्ने बताउनुभयो । “जग्गा बाँझो राखे सरकारले जरिवाना गर्ने भनेको छ, केही आम्दानी नभएको व्यक्तिले जग्गामा खेती गर्न सक्दैन, त्यस्तो जग्गालाई एकीकृत गरी त्यहाँ बेरोजगारलाई रोजगारी दिन सकिन्छ”, उहाँले भन्नुभयो । परम्परागत कृषिलाई व्यवसायीकरण गरी खाद्यान्नमा भइरहेको परनिर्भरता रोक्नुपर्ने पौडेलले बताउनुभयो । 

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले कृषि, पर्यटन र शिक्षालाई बढी प्राथमिकतामा राखी योजना बनाइने बताउनुभयो । सबै वडा र हरेक वर्गका फरक फरक आवश्यकता रहे पनि बजेटको सीमाभित्र रहेर योजना बनाउनुपर्ने बाध्यता रहेको भन्दै उहाँले आवधिक योजना, त्रिवर्षीय योजनामा रहेर नगरपालिकाले नीति तथा कार्यक्रम बनाइने उल्लेख गर्नुभयो । रासस

https://ujyaalonepalnews.com/archives/21774

Previous articleदीर्घकालीन योजना एवं भू उपयोग नीति बनाउन जोड
Next articleभद्रकाली युवा क्लबको बृहत रक्तदान कार्यक्रम सम्पन्न
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।