धादिङकाे धार्के सडक खण्डमा एकतर्फी गाडी चल्दै, दुईतर्फी नै खुलाउन समय लाग्ने

काठमाण्डाै – धादिङको धार्केमा आज पनि एकतर्फी गाडी चलिरहेका छन् । एकतर्फी मात्रै गाडी चलिरहेकाले यो खण्डमा गाडीको चाप छ । अहिले पनि एक/डेढ सयको सङ्ख्यामा गाडीको लाइन रहेको प्रहरीले जनाएको छ ।

काठमाण्डौ भित्रिने मुख्य नाका नागढुङ्गासँग जोडिएको मुख्य राजमार्ग भएकाले यो सडक हुँदै दैनिक हजारौँ गाडी ओहोरदोहोर गर्छन् । यही कारण सडक एकतर्फी हुँदा चाप धेरै हुन्छ । गएको सोमवार दिउँसो ४ बजे धुनिबेशी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश पुलमा सडक भासिएपछि सडक अस्तव्यस्त भएको छ ।

सडक भासिएपछि गाडीको आवागमन ठप्प भएको थियो । अस्ति मङ्गलवार बिहान १० बजेपछि सडक मर्मत गरेर एकतर्फी खुलाइए पनि हिजो दिउँसो १२ बजेतिर फेरि अर्को भ्वाङ परेपछि दुईतर्फी नै गाडी राेकिएका थिए । हिजो दिउँसो २ बजेदेखि भने एकतर्फी सडक खुलेको छ ।

दुईतर्फी सडक खुलाउन गएको सोमवारदेखि नै नेपाली सेना र सडक विभागका कर्मचारी तथा इञ्जिनियरहरु खटिएका छन् । सडक दुईतर्फी नै खुल्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलालप्रसाद जैसवारले बताउनुभयो । एकतर्फी सडक खुले पनि जोखिम भने टरेको छैन । पानी परिरहेकाले जुनसुकै बेला फेरि सडक बन्द हुने सम्भावना रहेको छ । प्रहरीले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ भने सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न भनिएको छ ।

पूर्व–पश्चिमबाट काठमाण्डौ भित्रिने र काठमाण्डौबाट बाहिरिने गाडीले हेटौँडा–काठमाण्डौ र काठमाण्डौ–नुवाकोट–गल्छीको बाटोलाई वैकल्पिक बाटोको रूपमा प्रयोग गर्न सक्नेछन् । धादिङ, नुवाकोट र रसुवाबाट काठमाण्डौ भित्रिने र बाहिरिने गाडीले नुवाकोटको त्रिशूलीबाट छहरे–ढिकुरेको सडक प्रयोग गर्न सक्छन् ।

यस्तै, पूर्व–पश्चिमबाट काठमाण्डौ आउजाउ गर्नेले हेटौँडा हुँदै दामन–पालुङबाट नौबिसे निस्कने बाटो प्रयोग गर्न सक्नेछन् ।

https://ujyaalonepalnews.com/archives/27197

Previous articleपूर्वगृहमन्त्री बादलका छोरा प्रतिक थापाविरुद्ध पक्राउ पूर्जी जारी
Next articleरविका चालकले घटनाका दिन अत्यधिक मदिरा पिएको पुष्टि, केस नै ‘अनसल्भ्ड मिस्ट्री’ हुने जोखिम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।