Home Blog Page 113

रौतहटबाट आधुनिक हतियार बरामद

काठमाडौँ- सशस्त्र प्रहरी बलले रौतहटबाट चार थान अत्याधुनिक हतियार बरामद गरेको छ । इन्टेलिजेन्स ब्यूरोले रौतहट यमुनामाइ नगरपालिका–३ स्थित एक घरबाट आज ९ एमएम पेस्तोल तीन नाल, त्यसमा प्रयोग हुने १३ थान गोली, छ थान म्याग्जिन र एक थान एयर गन बरामद गरेको हो ।

हतियार लुकाएर राखिएको भन्ने बिशेष सूचनाका आधारमा ब्यूरोले सो घरमा खानतलासी गरेको थियो । बरामद हतियारमध्ये २ नाल पेस्तोल ‘मेड इन यूएसए’ र एक थान ‘मेड इन इन्डिया’ लेखिएको प्रहरीको भनाइ छ ।

हतियारसहित मोबाइलको सीमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी नागरिकता समेत बरामद भएको छ । सो क्षेत्रमा थप अपरेशन जारी रहेको प्रहरीको भनाइ छ ।

हतियार बरामदपछि स्थानीयले ढुङ्गामुढा गर्दा प्रस्तावित सीमा सुरक्षा गुल्म गौर र सुरक्षा बेस देबाहिको गाडिको सीसा फुटेको छ ।

https://ujyaalonepalnews.com/archives/33240

सामाजिक सदभावको पर्व बन्दैं छठ

कपिलवस्तु – कपिलवस्तु जिल्लामा छट पर्व विभिन्न जातजाति र समुदायमा सदभावको पर्वको रुपमा विकास हुँदै गएको छ । गतवर्षहरुको तुलनामा यस जिल्लामा छठ पर्व मनाउनेहरुको संख्या बढेको छ । फरक फरक जाजजाति समुदायहरुले यस पर्वलाई साझा पर्वको उत्साहका साथ मनाएका छन् ।

विशेष गरी नेपालका पुर्वी तराई जिल्लाबाट वसाईसराई गरी आएका तथा महिलाहरु बाट शुरु भएको यो पर्व विस्तारै यस क्षेत्रका मैथली,अवधी तथा पहाडी समुदायका महिलाहरुले पनि यो पर्व धुमधामका साथ मनाउन थालेका छन् ।

हिन्दु मुस्लिम, महिला पुरुष, पहाडी मधेसी सबै बर्ग समुदाय धार्मिक आस्था राख्नेहरुको छठघाटमा बाक्लो उपस्थिति देखिन्थ्यो । जिल्लामा छठ पर्वलाई साझा पर्वको रुपमा विकास हुँदै जादा यस पर्वले सामाजिक समानता, आपसी सदभाव र भाइचार विकास  कायम गर्न समेत मद्त पुग्ने स्थानीय शिक्षक गोपाल भण्डारी बताउनुहुन्छ ।

आज अस्ताउँदो सुर्यलाई अर्घ दिई छठ पर्ब हर्ष उल्लासका साथ मनाइएको छ । चारदिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको तेस्रो दिन आज साँझ कपिलबस्तु भरिका जलाशय किनारमा धार्मिक विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ अर्पन गर्दै धुमधामका साथ छठ पर्व मनाइएको हो ।

जिल्लाको बाणगंगाको रामघाट नदी सदरमुकाम तौलिहवा स्थित नगरपालिकाको वडा नम्बर ३ जमुवारनदी लगायत कृष्णनगर सुरैया नदी र तालहरुमा अस्ताउदो सुर्यलाई अर्घ दिई छठ पुजा मनाइएको हो।

अर्घदिनु अघि नदि किनारामा पुजा स्थल निमार्ण गरि प्रशोधित सामाग्रीप्रयोग नभएका प्राकृतिक फलफुल र पकवानहरु पिठो र गुड बाट बन्ने ठकुवा, चामलको पिठो र गुडबाट बन्ने भुसुवा, मैदा र गुडबाट बन्ने खजुरी लगायतका पकवानका सथै उखु, नरिवल, मुला, मेवा, भान्टा, सलिफा, केरा, बेसार तथा रुखै सँगको अदुवालगायतका सामाग्री र फलफुलको प्रसाद राखी पुजागरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले यस प्रदेशका चार जिल्लाहरु कपिलवस्तु, रुपन्देही, नवलपरासी र बाके जिल्लामा छठ पर्वको समापनको दिन भोलि सोमबार  सार्वजनिक विदा  दिएको छ ।

https://ujyaalonepalnews.com/archives/33238

विश्वकप क्रिकेटः भारतले दियो अष्ट्रेलियालाई २४१ रनको मध्यम लक्ष्य

काठमाडौं- विश्वकप क्रिकेटको फाइनलमा भारतले अष्ट्रेलियालाई २ सय ४१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले पुरै ५०ओभर खेलेर सबै विकेट गुमाउँदै २४० रन बनाएको हो ।

अहमदावादमा जारी विश्वकपमा भारतको यो सबैभन्दा कमजोर प्रदर्शन हो । ११ खेलमध्ये भारत पहिलो पटक अलआउट भएको हो । भारतका लागि केएल राहुल र विराट कोहलीले अर्धशतक बनाए । राहुल ६६ र कोहली ५४ रनमा आउट भए ।

भारतले सुरुवातमा ठूलो स्कोर बनाउने संकेत देखाएको थियो तर, कप्तान रोहित शर्मा ४७ रनमा आउट भएपछि दबाबमा आएको भारतले त्यसपछि गतिलो साझेदारी बनाउन सकेन ।

सूर्यकुमार यादव १८ र कुलदिप यादवले १० रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । अष्ट्रेलियाका लागि मिचेल स्टार्सले ३ तथा जोस हेजलउड र प्याट कमिन्सले २-२ विकेट लिए ।

https://ujyaalonepalnews.com/archives/33237

तराई-मधेशमा छठ पूजाको रौनक:अस्ताउँदो सूर्यलाई अर्घ दिइयो

सिराहा- तराई मधेशसँगै देशैभरि छठ पूजाको मुख्यदिन आज व्रतालु बडो निष्ठा एवम् श्रद्धापूर्वक अस्ताउँदै सूर्यलाई अर्घ दिई छठ पर्व मनाएका छन् । भोलि उदाउदो सूर्यलाई अर्घदिएपछि यो पर्व विधिवत रुपमा समापन हुने गर्दछ ।

धनुषा, बारा, पर्सा, सिरहा लगायत तराई मधेका विभिन्न जिल्लाका नदी, तलाउ, पोखरी तथा जलाशयहरुलाई दुलही झैं सिंगारिएको छ । मित्रता र सद्भावका कारण यो पर्व सबैको लोकप्रिय तथा साझा पर्व बन्दैछ ।

अस्ताउँदै गरेको सूर्य आराधनाका लागि लहानस्थित रघुनाथपुर पोखरी, खुट्टी खोला, ब्रम्हान पोखरी, रामानन्द पोखरी लगायतका सिरहा जिल्लाका पोखरी, तलाउ, नदीहरु रंगबीरंगी बत्तिले झिलिमिली पारेपछि ब्रत अझ उल्हासमय देखिएको छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने, आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वासका कारण सबै जातजातिले यो पर्व धुमधामसँगै मनाइँदैछ ।

 

https://ujyaalonepalnews.com/archives/33233

इमान्दार ‘गुरुजी’: जसले बुझाए ट्याक्सीमा छुटेका सुन चाँदीका गहना

काठमाडौँ- काठमाडौँको जडीबुटीबाट जोरपाटीस्थित जम्मुडाँडासम्म जाने क्रममा हिजो दिउँसो ट्याक्सीमा छुटेका सुनचाँदीका गहना खोजी गरेर आज ट्राफिक प्रहरीले धनीलाई बुझाएको छ ।

ट्याक्सीमा छुटेका सुनचाँदीका गरगहनासहितको झोला खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखाका प्रहरी निरीक्षक विशाल सिंहले धनीलाई हस्तान्तरण गर्नुभएको हो ।

जडीबुटीबाट जोरपाटी जम्मुडाँडासम्म जाने क्रममा बा २ ज ३४ ५३ नम्बरको ट्याक्सीमा करिब सात तोला बराबरको सुन र चार तोलाका चाँदीका गहना भएको झोला छुटेको भनी रामेछापकी सङ्गीता तामाङले ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गरेकी थिइन् ।

प्राप्त खबर तथा लिखित निवेदनका आधारमा ट्राफिक प्रहरीले सिसीटिभी क्यामेराको सहायतामा खोजी गरिरहेको समयमा ट्याक्सी चालक रोशन वयलकोटी स्वयं सुनका गहना सुरक्षित लिएर आज बिहान ट्राफिक प्रहरी वृत्त गौशालामा सम्पर्क गर्न आएका प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो ।

कार्यालयमा रहेको खोजतलास शाखाले सवारीसाधनमा छुटेका धनमाल प्राप्त निवेदनका आधारमा खोजी गरेर धनीलाई बुझाउँदै आएको छ । गत साउनदेखि हालसम्म एक सय ३३ जनाले दिएको निवेदनका आधारमा ९९ को धनमाल खोजी गरी रू ४० लाख छ हजार छ सय २५ मूल्य बराबरको सामान सम्बन्धित धनीलाई बुझाइएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

आफ्नो धनमालको सुरक्षा गर्न र सवारीसाधनमा सामान छुटेमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न तथा नजिकैको प्रहरी कार्यालयमा लिखित निवेदन बुझाउन उहाँले आग्रहसमेत गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/33232

छठी माताको पूजा आराधनामा राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल  काठमाडौं कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा आराधना गर्नुभएको छ।

पूजा स्थलमा राष्ट्रपति पौडेल र उहाँकी पत्नी सविता पौडेलले अस्ताउँदो सूर्यलाई अर्घदान गर्नुभयो। त्यसअघि राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घदान गर्नु भयो ।

यस्तै राष्ट्रपति पौडेल गुहेश्वरी छठ घाट समेत पुग्नु भयो । गुहेश्वरी  पुग्नुहुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती,  प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति विकास कोषका पदाधिकारी ,आशामान संगत, छठ पूजा आयोजक समितिका  पदाधिकारीले स्वागत गर्नुभएको थियो।

 

https://ujyaalonepalnews.com/archives/33231

भूकम्पप्रभावित जिल्लामा टेलिकमको नमुना सेवा

जाजरकोट– नेपाल टेलिकमले भूकम्प प्रभावित जाजरकोट र रुकुम–पश्चिमसहित १९ जिल्लालाई नमुना दूरसञ्चारयुक्त जिल्ला कायम गर्ने घोषणा गरेसँगै टेलिकमको उच्च नेतृत्व आज जाजरकोट पुगेको छ ।

प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालको नेतृत्वमा आएको टेलिकमको टोलीले जिल्लाका सरोकारवाला निकायसँग भेटवार्ता गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले चालु आर्थिक वर्षको कार्यक्रममा नमुना जिल्ला कार्यक्रम तय गरेको थियो ।

टेलिकमले नमुना सेवा दिने जिल्लाको सूची सार्वजनिक गरेको छोटो समयमै निर्देशक पहाडी जाजरकोट पुग्नुभएको हो । भूकम्प प्रभावित जाजरकोट र रुकुम–पश्चिमसहित खोटाङ, मोरङ, उदयपुर, धनुषा, रौतहट, मकवानपुर, सिन्धुली, कास्की, गोरखा, दाङ, गुल्मी, सुर्खेत, जुम्ला, कैलाली, बाजुरा, बर्दिया र रोल्पा रहेका निर्देशक पहाडीले जानकारी दिनुभयो । अत्याधुनिक प्रविधिको प्रयोगसँगै गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले नमुना जिल्ला कायम गर्न थालिएको उहाँको भनाइ थियो ।

जिल्लाका सबै बस्ती, राजमार्ग, पर्यटकीय तथा धार्मिकस्थलमा गुणस्तरीय दूरसञ्चार सेवा प्राविधिक रुपमा सम्भव भएसम्म उपलब्ध गराइने पहाडीले बताउनुभयो । नमुना जिल्लामा निरन्तर गुणस्तरीय सेवा उपलब्धताका लागि प्राविधिक तथा भौगोलिक दृष्टिकोणले सम्भव भएसम्म नवीन प्रविधि र नेटवर्क पूर्वाधार तय गरिने उहाँले बताउनुभयो । जिल्लामा औसत ९० प्रतिशतभन्दा बढी मानव बस्तीमा गुणस्तरीय मोबाइलका साथै एनटी फाइवर सेवा उपलब्ध गराइने उहाँको भनाइ थियो ।

सबैतिर तोकिएकै गुणस्तर र गतिमा सेवा उपलब्ध गराउने गरी अतिरिक्त योजना बनाएर आवश्यक दक्ष जनशक्तिको व्यवस्था गरिने निर्देशक पहाडीलेजानकारी दिनुभयो । भूकम्पबाट धेरै क्षति भएको जाजरकोटबाट नमुना सेवा प्रवाह गर्नेयोजना रहेको उहाँले बताउनुभयो ।

आज भेरी, नलगाड र आठबीसकोट नगरपालिकाका साथै बारेकोट गाउँपालिकामा रहेका टावरको अवलोकनका गर्नुका साथै साथै पालिका प्रमुखसँग भेटघाटको कार्यक्रम रहेको पहाडीले जानकारी दिनुभयो । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत पनि सहभागी हुनुभएको छ

https://ujyaalonepalnews.com/archives/33230

भ्रस्टाचार अन्त्यका लागि सरकार योजनाबद्ध अभियानमा छ : प्रधानमन्त्री

रुकुम – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितमा निरन्तर अभियान सुरु गरिएको बताउनुभएको छ । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ विशेष रुपान्तरण अभियानअन्तर्गत रुकुम पूर्वको पुथा उत्तरगङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भ्रस्टाचारको अन्त्यका लागि सरकारले सार्थक र योजनाबद्ध अभियान चलाएको बताउनुभयो ।

प्रधानमन्त्रीले भूमाफियाकोविरुद्ध अभियान सुरु गरेर हजारौँ जनतालाई राहत प्रदान गरिएको उल्लेख गर्दै त्यसका लागि आम जनताको सार्थक सहयोग जरुरी रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले नियमित रुपमा भइरहेको सुन तस्करी नियन्त्रणका लागि सरकारले अभियान चलाएको र सो मुद्दा हाल अदालतमा विचाराधीन रहेको उल्लेख पार्नुभयो ।

भ्रष्टाचार र तस्करी नियन्त्रणजस्ता देश विरोधी गतिविधिलाई माओवादी नेतृत्वको सरकारले मात्र नियन्त्रण गर्न सक्छ भन्ने तथ्य स्थापित भएकोसमेत प्रधानमन्त्रीको भनाइ छ । तराई–मधेसमा लामो समयसम्म सामन्तवादको अवशेषका रुपमा रहेको मिटरब्याजी विरुद्धमा कानुन बनाएर कारबाही गरी पीडित नागरिकलाई न्याय दिलाएकोसमेत उहाँले उल्लेख गर्नुभयो । वर्तमान सरकारले विकास निर्माणको कामलाई पनि सार्थक रुपमा अगाडि बढाएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले लामो समयदेखि चर्चामा सीमित भएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कामसमेत अगाडि बढेको बताउनुभयो ।

नेपाल र भारतबीचमा रहेको सीमा समस्या समाधान गर्न भारतका प्रधानमन्त्रीसँग कुराकानी भएको समेत प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो । विद्युत् व्यापारमा नयाँ पहल भएको तथा नेपाल र चीनबीच विभिन्न नाका खोल्ने सहमति भएको उहाँको भनाइ छ ।

चीनले हिमाली नाकासँगसम्बन्धी रहेर थुप्रै परियोजना सञ्चालनका लागि सहमति भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले सोही परियोजना अन्तर्गतको एउटा आयोजना रुकुम पूर्वमा पनि ल्याइने स्पष्ट पार्नुभयो । सो परियोजनाले यस जिल्लाका नागरिकको जीवनस्तरमा सुधार आउने उहाँको भनाइ छ ।

पटकपटक पार्टी विभाजन हुँदा कार्यकर्ता र सहिद तथा घाइते परिवारमा निराश छाएको तथ्य पेस गर्दै नेकपा(माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका उहाँले माओवादी फुटेपछि जनयुद्धमार्फत प्राप्त भएको उपलब्धि हराउँदो रहेछ भन्ने परेकले एकताको विकल्प नभएको बताउनुभयो ।

विगतको जस्तो विभाजित भएर नभइ एकताका साथ अगाडि बढ्ने विषयमा छलफल भएको अध्यक्ष दाहालले जानकारी दिनुभयो । नेकपा महासचिव नेत्रविक्रम चन्दसँग आज बिहान मात्रै छलफल भएको जानकारी दिनुहुँदै उहाँले डा बाबुराम भट्ट्राईसँग पनि निरन्तर संवाद भइरहेको उल्लेख गर्नुभयो ।

माओवादीकै पहलमा सुरु भएको सहिदमार्ग निर्माणका लागि आफूले थप पहल गर्ने प्रधानमन्त्रीको भनाइ छ । यस जिल्लामा रहेको प्राकृतिक स्रोतको अधिकतम उपयोग गरेर समृद्ध बनाउनका लागि आफ्नो ध्यान गएको उहाँले उल्लेख गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/33229

छठपर्वको तयारी पूरा, आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइदै

काठमाडौं – छठपर्वको महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने छ । वीरगञ्जसहित तराई–मधेशमा अधिकांश पोखरी, ताल तलाउ, खोला र नदी सरसफाइ गरी पूजास्थानलाई दुलही झैंँ सिगारिएको छ । वीरगञ्ज महानगरपालिकाका पोखरीका घाटलाई दुलही झैँ सिगारिएर पूजाको तयारी पूरा गरिएको हो । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको वीरगञ्जस्थित घडिअडर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, रानीघाटसहितको पोखरीलाई छठपूजाका लागि यहाँका स्थानीय युवा क्लबहरुले त्रिपाल र पण्डाल लगाएका छन् ।

यस्तै ग्रामीण क्षेत्रका जलाशयमासमेत पूजाघाट बनाउने र सजाउने काम तीव्र बनेको छ । पूजास्थलको रुपमा प्रयोग गरिने जलाशय र आसपासको क्षेत्र सरसफाइमा स्थानीय युवाका साथै सेना र प्रहरीले पनि साथ दिएका छन् ।

बजारमा छठी मैयाको महिमा भएका भोजपुरी र हिन्दी भाषाका गीत र घरघरमा छठी मैयाका गीत भएका सिडी एल्बम गुञ्जिरहेका छन् । छठपर्वको पहिलो दिन ‘नहाय खाय’ विधि मनाइँन्छ । मिथिलाञ्चलवासीका लागि प्रमुख पर्वमध्ये छठपर्व पनि एक मानिन्छ । जसरी दिपावलीको तयारी १५ दिनअघिदेखि सुरु हुने गर्दछ त्यसरी नै छठपर्वको तयारी पनि एक हप्ता पहिलेदेखि नै सुरु हुने गर्दछ । कार्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु हुने यो पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुने पण्डित रामकुमार शास्त्रीले बताउनुभयो ।

यो पर्वमा खास गरी सूर्यदेवको उपासना गरिन्छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिक कालदेखि नै रहँदै आएको मानिन्छ । त्यसले गर्दासमेत यस पर्वको परम्परालाई उक्त रुपले नै देखिन्छ । गरिब, धनी, दलित एवं उचनिचको ख्याल नगरी यो पर्व समाजमा रहेका सबै वर्ग एकसाथ मिलेर मनाउने गरेका छन् । सूर्य देवतालाई पहिलो दिनको अघ्र्र्य अर्पण गरिन्छ जसलाई मैथिली भाषामा ‘सझुँका अर्घ’ भनिन्छ । सूर्य देवतालाई खास गरी उक्त दिन अघ्र्र्य दिइने गरिन्छ जुन दिन उदयकालमा केही बेरका लागि भए पनि षष्ठी तिथि परेको होस् ठिक त्यसै अनुरुप उदयकालमा दिइने अघ्र्र्यका लागिसमेत त्यही विधि अपनाइन्छ र उक्त दिन पनि सप्तमी तिथि नै रहेको बेला ‘भोरका अघ्र्र्य’ दिइन्छ ।

छठपूजामा जुन सामग्री साँझको समयमा सूर्य देवतालाई प्रसादको रुपमा अघ्र्र्र्य अर्पण गरिन्छ उक्त प्रसाद नै पुनः बिहानको समयमा अर्थात् ‘भोरका अघ्र्र्र्य’ मा दिइने परम्परा रहेको छ । हुनत सूर्य देवतालाई अर्पण गरिएको प्रसाद साँझदेखि बिहानसम्म जलाशयमा बनाइएको घाटमा नै राखिन्छ तर केही स्थानमा नदीमा अचानक आउने बाढी, जनावर वा असुरक्षाका कारण घाटबाट प्रसाद घर लगिन्छ र बिहानपख सूर्य उदाउनुभन्दा अगावै पुनः त्यो प्रसाद घाटमा ल्याई छठपर्व मनाइन्छ । छठ व्रत गर्ने सबैजना चौठी तिथिका दिन नुहाइधुवाइ गरी चोखो भई ‘अर्वाअर्वाइन’ खाने गर्दछन् ।

यही तिथिका दिनदेखि छठपर्व औपचारिक रुपमा प्रारम्भ हुने गर्दछ । यसदिन व्रत गर्ने महिला र पुरुष नुहाइधुवाइ गरी शुद्ध वस्त्र लगाई शाकाहारी भोजन खाने गर्दछन् । कार्तिक शुक्ल पञ्चमी तिथिका दिनभरी पर्व गर्ने व्रतालु उपवास गर्ने गर्दछन् । उक्त दिन साँझमा माटोले बनाइएको नयाँ चुलोमा नयाँ माटोको भाडाँमा अरबा चामलको खिर बनाउने गरिन्छ ।

सख्खर हालेर बनाइएको खिरदेवी देवतालाई प्रसादको रुपमा चढाइन्छ र उक्त प्रसादस्वरुप खिर व्रतीका साथै घरका अन्य सदस्यले ग्रहण गर्ने गरेको पण्डित शास्त्रीको भनाइ छ । कार्तिक शुक्ल षष्ठी तिथिका दिन व्रत गर्ने महिला अस्ताउँदो सूर्यलाई अघ्र्र्य दिन्छन् भने पुरुषले सूर्य देवतालाई अघ्र्र्र्य अर्पण गर्ने समयसम्म पोखरी, तालतलैयामा हातमा नरिवल वा अन्य फलफूल लिई उभिरहेका हुन्छन् । साँझको समयमा घण्टाँैसम्म जलमा रही नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायतमा राखिएका ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, सिङ्गारा, फलफूल, पान, सुपारी, धूप, दीप लगायतले अस्ताउँदो सूर्यलाई अघ्र्र्य दिने चलन रहेको छ ।

उक्त दिन छठ व्रत गर्नेको घरका सबै सदस्य प्रायः रातिभर पोखरीको घाटमा जाग्राम बस्ने गर्दछन् । पुराणका अनुसार प्रकृति देवीको एक प्रधान अंशलाई देवसेना भनिन्छ जुन की सबैभन्दा श्रेष्ठ मातृका मानिन्छ । माता श्रृष्टी सम्पूर्ण जीवको रक्षिकादेवी हुनुहुन्छ । प्रकृतिको छैठौँ अंश भएका कारण उहाँको नामसमेत षष्ठी रहेको छ । षष्ठीदेवीको पूजनको प्रचारप्रसार ब्रह्मवैवर्त पुराणका अनुसार राजा प्रियव्रतक कालदेखि आरम्भ भएको मानिन्छ । यस कारण छठि माता भन्ने मिथिलाञ्चलमा परम्परा रहेको छ ।

हुनत केहीले सूर्यको माता भनेर समेत षष्ठी देवीको पूजा गर्छन् । छठको पौराणिक महत्व लङ्का विजयपछि रामराज्यको स्थापनाका दिन कार्तिक शुक्ल षष्ठी तिथिका दिन भगवान राम र माता सीता उपवास गरेर सूर्यदेवको आराधना गरेको मान्यता छ । सप्तमी तिथिका दिन सूर्योदयको समय अनुष्ठान गरी सूर्यदेवबाट आशिर्वाद प्राप्त गरेकोले छठ पर्वको आरम्भ यसैदिनदेखि भएको मानिन्छ ।

ऊर्जाको सबैभन्दा ठूलो स्रोत सूर्यलाई मानिन्छ । यसै कारणले गर्दा हिन्दू शास्त्रमा सूर्यलाई प्रत्यक्ष देवताको रुपमा मानिएको छ । अर्को मान्यताका अनुसार छठपर्व महाभारत कालदेखि सुरु भएको मानिन्छ । छठ पूजाको सुरुवात सूर्य पुत्र कर्णले गरेको मानिन्छ । कर्ण भगवान् सूर्यको परम भक्त थिए ।

उनी हरेक दिन जलमा उभी सूर्यलाई अघ्र्र्य दिने गर्दथे । सूर्यको कृपाले उहाँ महान्योद्धा बन्न सफल भएको विश्वासमा पनि आधारित छ । महाभारतमा सूर्य पूजाको अर्को वर्णनसमेत पाइन्छ । पाण्डव पत्नी द्रौपदीले आफ्नो परिजनको उत्तम स्वास्थ्यको कामना र दिर्घायुका लागि नियमित सूर्य पूजा गर्ने गरेको महाभारत पुराणमा उल्लेख छ ।

यसैबीच तराईमा धुमधामका साथ मनाइने महान पर्व छठमा उपयोग गरिने वस्तुको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् । छठपर्वमा प्रसादको रुपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँसको बत्तीबाट बनेको नाङ्लो, कोनियाँ र माटाको भाँडा कुडा लगायतको समानको मूल्य दोब्बर भन्दा बढी बढेको वीरगञ्जका स्थानीयवासी मनोज साह कानुले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/33226

समाजमा विद्यमान  विकृति र विसङ्गतिलाई अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका विकृति र विसङ्गतिलाई अन्त्य गर्दै समतामूलक एवं सुसंस्कृत समाजको निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
छठ पर्वका अवसरमा  आज यहाँ शुभकामना व्यक्त  गर्दै  उहाँले विभिन्न जनजातिका समुदायले परम्परागतरुपमा मनाउँदै आएको पर्व संस्कृतिको जगेर्नाबाट समाजलाई एकापसमा एकताबद्ध गर्नका साथै सुसंस्कृत तथा सभ्य समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै पूर्व प्रधानमन्त्री नेपालले सम्पूर्ण पृथ्वीलाई समानरुपमा ताप र प्रकाश दिने सूर्यको आराधना तथा पूजा गरी मनाइने छठ काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लामासमेत मनाइने गरेको उल्लेख गर्नुभयो ।
हिमाल, पहाड तराईका जनताको एउटा साझा पर्वका रुपमा विकास भएको छठलगायत पर्वले सामाजिक एकता अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप बलिया बनाउने विश्वास व्यक्त गर्दै उहाँले  बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व सस्ंकृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।  यस्ता चाडपर्वले परम्परागत मौलिक संस्कृतिको जगेर्नाले एकआपसमा पारस्पारिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई अझ बलियो हुनेगरी स्थापित गर्ने अध्यक्ष नेपालले उल्लेख गर्नुभएको छ ।

https://ujyaalonepalnews.com/archives/33225