Home Blog Page 112

वाफबाट खाना पकाउने प्रविधि प्रभावकारी

म्याग्दी- मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा वौद्ध विद्यालयले वाफबाट खाना पकाउने (स्टिम) प्रविधिको प्रयोग गरेको छ । विद्यालयको छात्रावासमा प्रयोग गरिएको स्टिम प्रविधि ग्यासको तुलनामा सस्तो, छिटो र दाउराको खपत घटाउन प्रभावकारी बनेको हो ।

विद्यालयका प्रधानाध्यापक अवन तुलाचनले खाना पकाउने यस्तो प्रविधि नेपालमा यहाँ र काठमाडौँको थानकोटमा मात्र प्रयोगमा रहेको जानकारी दिनुभयो । “दक्षिण भारतबाट भित्र्याइएको यो प्रविधिबाट एकै पटकमा पाँच वटा भाडामा तीन सय विद्यार्थी, शिक्षक र कर्मचारीलाई खाना पकाउने गरेका छौँ,” उहाँले भन्नुभयो, “पन्ध्र–बीस मिनेटमै सबैलाई पुग्ने खाना तयार हुन्छ । यसमा खाजा तथा चिया पकाउन पनि सजिलो छ ।”

फलामको पाइप लाइनबाट आगोको भट्टिमाथि राखिएको ६० लिटर क्षमताको फलामकै घ्याम्पोमा आउने पानी तताएपछि उत्पन्न हुने वाफलाई अर्को कोठामा रहेका भाडामा पु¥याउने संरचना जडान भएको तुलाचनले बताउनुभयो । उहाँले ३०/३० लिटर क्षमताका भाडा माझ्न र सफा गर्न मिल्ने गरी स्थायी किसिमले राखिएको बताउनुभयो ।

भट्टिबाट फलामको पाइपलाइनमा आपूर्ति गरिने तातो वाफले भाडा तात्ने र भित्र राखिएको दाल, चामल, तरकारी पाक्ने गरेको प्रअ तुलाचनले जानकारी दिनुभयो । उहाँका अनुसार आवश्यक परेको भाडामा अनुकूल समयमा वाफ आपूर्ति गराउने र पकाउन सकिन्छ ।

“आगोको चुलोेमा पकाउँदा एक घण्टा भन्दा धेरै समय लाग्ने गर्दछ । ग्यासमा पकाउँदा खर्च धेरै लाग्ने गर्छ”, तुलाचनले भन्नुभयो, “रू १२ देखि १३ लाखको लागतमा वाफबाट खाना पकाउने प्रविधि जडान गर्न सकिन्छ । यसबाट दाउराको खपत घट्नुका साथै समयको बचत भएको छ ।”

पद्मसम्भव च्यारिटी फाउण्डेशनले सञ्चालन गरेको विद्यालयको छात्रावासमा तीन सय विद्यार्थी, शिक्षक, कर्मचारीलाई खाने बस्नेसहित आवास सुविधाको व्यवस्था मिलाइएको छ ।

कक्षा १ देखि १० सम्म निःशुल्क आवासीय सुविधासहित अध्यापन गराइने विद्यालयमा हाल नेपाल र भारतका गरी दुई सय १५ विद्यार्थी रहेका विद्यालयका प्रधानाध्यापक तुलाचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालय जाने उमेरका कमजोर आर्थिक पृष्ठभूमि भएका विद्यार्थीलाई लक्षित गरेर विसं २०६७ मा स्थापना भएको उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीले दुई वर्षअघिदेखि मात्रै माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागिता जनाउन थालेका हुन् ।

“नेपाल सरकारद्वारा लागू भएको औपचारिक पाठ्यक्रमका साथै नेपाली, अंग्रेजी र तिब्बती पाठ्यपुस्तकको माध्यमबाट औपचारिक वौद्ध शिक्षा पनि प्रदान गरेका छौँ”, प्रअ तुलाचनले भन्नुभयो, “यहाँका विद्यार्थीलाई निःशुल्क शिक्षा, आवास, भोजन, पोसाक लगायतको सुविधा प्रदान गरेका छौँ । पछिल्लो दुई वर्षमा एसइई परीक्षाको औसतमा नतिजा सन्तोषजनक नै छ ।”

हाल छात्र मात्र रहेको विद्यालयमा समुदायको मागअनुसार आगामी शैक्षिक सत्रदेखि छात्रालाई पनि पठनपाठनको व्यवस्था मिलाउन लागिएको प्रअ तुलाचनले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो वर्ष ३० जना छात्रालाई भर्ना गर्ने योजना रहेको छ ।

https://ujyaalonepalnews.com/archives/33250

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

स्याङ्जा- स्याङजाको पुतलीबजार नगरपालिका १४ स्थित लामागे-भिरबारी साखा सडकमा तोप्सेवाट लामागे आउदै गरेको ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा ट्याक्टर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

मृत्यु हुनेमा दाङ जिल्ला दंगिशरण गाउँपालिका ४ बस्ने ट्याक्टर चालक रामहरी चौधरी रहेको प्रहरीले जनाएको छ ।

ग १ त ४९८७ नम्बरको ट्याक्टर अनियन्त्रित भैइ खसेको प्रहरी कार्यालय स्याङजाका सुचना अधिकारी ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/33249

अर्थतन्त्रको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्रीद्वारा बैठक आह्वान

काठमाडौँ- मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक आह्वान गर्नुभएको छ ।

अर्थतन्त्रको वर्तमान अवस्था सुधारका प्रयास र अब चाल्नुपर्ने कदमबारे जानकारी लिन विभिन्न विषयगत मन्त्रालयका मन्त्री, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरी तिमिल्सिनाले जानकारी दिनुभयो ।

पछिल्लो समय बाह्य क्षेत्रमा सुधार हुँदै गएपछि आन्तरिक अर्थतन्त्रका सूचकमा सुधार हुन सकेको छैन । न्यून पुँजीगत खर्च, कर्जा प्रवाहमा कमी, उपभोक्ता मागमा कमी, निजी क्षेत्रको घट्दो मनोबल, आन्तरिक उत्पादकत्व बढ्न नसक्नुलगायतका समस्या देखिइरहेका छन् ।

अर्थतन्त्र सुधारका लागि सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत विभिन्न सुधारका कार्यक्रम ल्याएको भए पनि ती कार्यक्रमको कार्यान्वयनको अवस्था सन्तोषजनक हुन नसक्दा अर्थतन्त्रमा अपेक्षित सुधार हुन सकेको देखिँदैन ।

https://ujyaalonepalnews.com/archives/33248

जीप दुर्घटना अपडेटः गम्भीर घाइते भएका दुई जनाको मृत्यु

रुकुमपश्चिम- रुकुमपश्चिममा जीप दुर्घनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतिक बुढा छन् ।

बालक बुढाको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहरी अस्पतालमै मृत्यु भएको चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प वादीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्य पाँच जनाको पनि अवस्था गम्भीर रहेकाले गृहमन्त्रालयमा समन्वय गरेर काठमाडौँबाट हेलिकप्टर आउन लागेको र सोही हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडाँै पठाउने तयारी भइरहेको नगर प्रमुख वादीले जानकारी दिनुभयो ।

आज बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदुरमुकाम खलङ्गा आउने क्रममा चौरजहारी–८ गैरीजिउलामा लु१ज २२९७ नम्बरको जीप दुर्घनामा परेको थियो । जीपमा सवार चालकसहित २२ जना घाइते भएका थिए ।

जीप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गैरीजिउला सडकखण्डबाट भेरी नदीमा खसेको थियो । घाइतेको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ । जीपमा क्षमताभन्दा बढी सवारी चढाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले आँकलन गरेको छ ।

यसबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/33247

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ घाइते, केहीको अवस्था गम्भीर

रुकुम पश्चिम- रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८, गोइरीमा आज बिहान जिप दुर्घटना हुँदा कम्तिमा २२ जना घाइते भएका छन् ।

खोलागाउँबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् ।

घाइते २२ मध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । दुर्घटनाका घाइतेलाई उद्दारपछि चौरजहारी अस्पताल लगिएको छ ।

दुर्घटनाग्रस्त जिप भेरी नदीको छेउमा खसेको बताइएको छ । दुर्घटना थप विवरण आउन बाँकी छ ।

https://ujyaalonepalnews.com/archives/33246

विपिन जोशी हमासको नियन्त्रणमा रहेको इजरायली सुरक्षा फौजद्वारा पुष्टी

काठमाडौं- प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर लगेकाहरु मध्यमा कञ्चनपुरका विपिन जोशी पनि रहेको इजरायली सुरक्षा फौजले पुष्टि गरेको छ ।

अक्टोबर ७ मा इजरायली भूमिमा आक्रमणपछि हमासले जोशीलाई पनि बन्धक बनाएर लगेको हो । इजरायलस्थित नेपाली राजदूतावासले इजरायली डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्तालाई उद्धृत गर्दै जोशीलाई हमासले बन्धक बनाएको जानकारी दिएको हो ।

इजरायलको किबुज-अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाई लगेकामध्ये विपिन जोशी पनि रहेको दूतावासले बताएको हो ।

दूतावासले विपिनको पछिल्लो अवस्थाबारे भने यकिन गर्न नसकिएको जनाएको छ । उनी अहिलेसम्म सम्पर्कविहीन रहेको बताउँदै इजरायलस्थित नेपाली दूतावासले खोजी कार्य जारी रहेको जानकारी दिएको छ ।

यसैबीच, हमासले बन्धक बनाएकाहरुलाई गाजाको अल-शिफा अस्पताल लगिएको दाबी इजरायली सेनाले गरेको छ । सेनाले सीसीटीभी फुटेज सार्वजनिक गर्दै सो दाबी गरेको बीबीसीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/33245

राणा प्रधानमन्त्री जुद्ध शमसेरको दरबार संरक्षणको पखाईमा

पाल्पा- करिब ८२ वर्षअघि तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमसेरले पाल्पास्थित धार्मिक क्षेत्र अर्गलीमा निर्माण गरेको अर्गली दरबार यतिखेर संरक्षणको पखाईमा छ । ऐतिहासिक धरोहरको संरक्षणतर्फ कुनैपनि निकाय तथा समुदायको ध्यान नपुग्दा दरबार खण्डहरमा परिणत हुन पुगेको हो ।

तानसेनको अर्गलीमा रहेको सो ऐतिहासिक दरबार हाल जीर्ण अवस्थामा रहनुका साथै सर्वसाधारणको दिसा-पिसाब गर्ने स्थल बन्न पुगेको छ । तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमसेरले कालीगण्डकी किनार धार्मिक क्षेत्र अर्गलीमा विक्रम सम्बत १९९७ सालमा दरबार निर्माण गरेका थिए ।

सांस्कृतिक सम्पदाको रुपमा रहेको दरबारको संरक्षण हुन नसक्दा भग्नावशेषमा परिणत हुँदै गएको छ । संरक्षणविहिन हुन पुग्दा दरबारका बहुमुल्य झ्याल ढोकाका खापा इट्टाहरु एक पछि अर्को गरी चोरी भइरहेको स्थानिय बासिन्दाको भनाई छ ।

जुद्ध शमशेर २००४ सालमा काठमाण्डौमा जयतु संस्कृत आन्दोलनको शुरुवात भएपछि आफू माथि पनि खतरा उत्पन्न हुनसक्ने संकेत देखा परेपछि भारततर्फ निर्वासित हुने क्रममा आफ्नो नातिनीलाई दरबार बकसपत्र गरिदिएका थिए ।

दरबार संरक्षणमा ध्यान नपुग्दा छानाबाट पानी चुहेर प्रत्येक बर्ष भत्कने क्रममा रहेको छ । झण्डै ८२ बर्षसम्म संरक्षणविहिन बन्न पुगेको दरबार संरक्षणका लागि कानुनी मापडण्ड पुरा गरी समुदायलाइ हस्तान्तरण गरिनुपर्ने स्थानिय समाजसेवी श्रीधर भट्टराई बताउनु हुन्छ ।

सुविधा सम्पन्न तरिकाले झण्डै एक सय रोपनी क्षेत्रफल जमिन कब्जा गरी बसेका जुद्ध शमशेरले आफ्नी नातिनीलाइ हस्तान्तरण गरेकाले जग्गाधनिले जमिन विक्री गर्दै गएपछि हाल ११ रोपनी क्षेत्रफलमा मात्र सिमित हुन पुगेको छ । यसअघि २१ रोपनी जमिनसहित दरबारको केही भाग स्थानिय विद्यालयलाई विक्री गरिसकेका थिए ।

https://ujyaalonepalnews.com/archives/33244

दसैँ-तिहारमा दर्शकको रोजाइमा नेपाली चलचित्र

काठमाडौँ- नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ तथा तिहारमा चलचित्र भवनसँगै ओभर द टप (ओटिटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकको उपस्थिति राम्रो देखिएको छ । विदेशीको तुलनामा नेपाली चलचित्रको व्यापार दसैँ–तिहारमा धेरै माथि रहेको चलचित्र वितरक करण श्रेष्ठले बताउनुभयो ।

“चलचित्र भवनमा नेपाली चलचित्र हेर्न दर्शकको सङ्ख्या बढी पाइएको छ । गत दसैँमा जस्तै दर्शक नेपाली चलचित्र हेर्न आउनुभयो, तिहारमा पनि त्यही देखिएको छ”, वितरक श्रेष्ठले भन्नुभयो ।

दसैँ लक्षित गर्दै चलचित्र भवनमा प्रदर्शन गरिएको ‘पशुपति प्रसाद २: भष्मे डन’ र ‘परदेशी २’ ले बक्सअफिसमा पनि राम्रो व्यापार गरेको छ । तिहारलाई लक्षित गर्दै प्रदर्शन गरिएको चलचित्र ‘दिमाग खराब’ ले पनि राम्रो व्यापार गरिरहेको छ ।

चलचित्र भवनसँगै ओटिटीमा समेत नयाँ चलचित्र प्रदर्शन गरियो । नेपालमा युट्युब, डिसहोम, सिनेमा घर, भिडियो पसललगायत एप्लिकेसनमार्फत केही प्रतिक्षित चलचित्र दर्शकमाझ ल्याइयो ।

सिनेमा घर एपमार्फत चलचित्र ‘जारी’ प्रदर्शन गरियो । डिस होममार्फत ‘शत्रु गते’, ‘छक्का पञ्जा ४’, ‘माइकल अधिकारी’, ‘पासो’, ‘कृष्ण लिला’, ‘प्रेम गीत ३’, ‘चिसो मान्छे’ र ‘झिँगेदाउ’ प्रदर्शन गरियो ।

यस्तै, ‘कान्तिपुर सिनेमाज’ मार्फत चलचित्रतर्फ ‘ज्याकीः आइएम ट्वान्टी वान’, ‘जुलेबी’ र ‘म’, ‘ची मुसी ची’, शृङ्खलातर्फ ‘मिस स्कार्लेट’, ‘लभ सूत्र’ र ‘ब्रह्माण्ड’, छोटो चलचित्रतर्फ ‘मदर’, ‘खरानी, ‘ऋतु’ र ‘नेपाली फिक्सन’ प्रदर्शन गरिएको छ । यसका सञ्चालक प्रकाश पुरीले दर्शकको सङख्या राम्रो देखिएको जानकारी दिनुभयो । “हामी दर्शकको अपेक्षाअनुसार कन्टेन ल्याउने छौँ । त्यही तयारीअनुसार सुरु गरेका छौँ”, सञ्चालक पुरीले भन्नुभयो ।

दसैँ तिहारमा चलचित्र भवनमा अन्य समयको तुलनामा राम्रो व्यापार हुनाका साथै घरमै चलचित्र हेर्ने दर्शकको सङ्ख्या बढ्ने गरेको छ । त्यसैले यो समयमा चलचित्रलाई दर्शकसम्म पुर्‍याउन निर्माता उत्साहित देखिने गरेका छन् ।

https://ujyaalonepalnews.com/archives/33243

शैक्षिक भ्रमणको बस दुर्घटना हुँदा एकको मृत्यु, ३७ घाइते

इलाम- इलाममा शैक्षिक भ्रमणमा आएका विद्यार्थी र शिक्षक सवार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा धनुषा जिल्ला धानुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षीय अर्पण लामा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

आइतबार साँझ मेची राजमार्गस्थित रोङ गाउँपालिकाको अर्याल चोकमा बस दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख वासुदेव खतिवडाका अनुसार घाइतेको उद्धार गरी झापाका विभिन्न अस्पतालमा पठाइएको छ ।

https://ujyaalonepalnews.com/archives/33242

भारतलाई स्तब्ध पार्दै अष्ट्रेलिया छैटौंपटक विश्वकप क्रिकेटको उपाधि जित्न सफल

काठमाडौं- आईसिसि एकदिवसीय क्रिकेट विश्वकप, २०२३ को उपाधि अष्ट्रेलियाले हात पारेको छ । अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै विश्‍वकप क्रिकेटको उपाधी जितेको हो । अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको फाइनलमा भारतलाई हराएसँगै अस्ट्रेलियाले छैटौंपटक विश्‍वकप उपाधी हासिल गर्न सफल भएको हो ।

अस्ट्रेलियाले ४३ ओभरमा भारतले दिएको २४१ रनको लक्ष्य हासिल गर्न सफल भएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४० रन बनाएको थियो ।

४७ रनमा नै पहिलो तीन विकेट गुमाएपनि ट्राभिस हेड र मार्नुस लबुस्चग्नेले अस्ट्रेलियाको पारीलाई सम्हाल्दै लगेका थिए । ट्राभिसले विश्‍वकपको फाइनल खेलमा शतकीय पारी खेले । उनले १२० बलमा १३७ रन बनाए ।

यस्तै, मार्नुसले पनि आफ्नो अर्धसतक पुरा गर्न सफल भएका थिए । उनले ११० बलमा ५८ रन बनाएर अविजित रहे ।

त्यसअघि भारतका लागि विकेटकिपर केएल राहुलले एक सय सात बलमा ६६ रन बनाए । साथै विराट कोहलीले ५४ र कप्तान रोहित शर्माले ४७ रन बनाए ।

साथै सूर्यकुमार यादवले १८, कुलदीप यादवले १०, रविन्द्र जडेजा र मोहम्मद सिराजले नौ/नौ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान गर्न सकेनन् ।

अष्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन विकेट लिए भने जोस हेजलउड र प्याट कुमिन्सले दुई-दुई विकेट लिए । साथै ग्लेन म्याक्सवेल र अदाम जाम्पाले एक/एक विकेट लिए ।

https://ujyaalonepalnews.com/archives/33241