Home Blog Page 46

रत्ननगरमा स्याल आतंक; स्यालको आक्रमणमा तीनजना घाईते (भिडियो)

भिडियो हेर्न तल अन्तिममा जानुहोस्। 

उज्यालो दर्पण- रत्ननगरमा स्यालको आतंक फैलिएको छ । स्यालको आक्रमणबाट रत्ननगरको वडा नं. १३ मा गतसाता तीनजना घाईते भएका छन् । साँझमा बाटोमा हिंडिरहेका र बिहान मर्निंगवाक गरिरहेका व्यक्तिहरु स्यालको आक्रमणमा परेका हुन् ।

सो वडामा स्यालले आधा दर्जन पशुचौपायालाई समेत टोकेको छ। स्यालको टोकाईबाट रेबिज संक्रमणहुँदा वडामा एउटा गाई समेत मरेको वडा नं. १३ का वडाध्यक्ष पोटबहादुर घिमिरेले बताए । स्यालले कुकुरलाई आक्रमण गर्दा कुकुरहरुमा पनि रेबिजको जोखिम बढेको छ ।

रत्ननगरकै वडा नं. १० मा रेबिजरोगको कारण गतसाता एउटा भैंसी मरेको रत्ननगर नगरपालिकाका पशु प्राविधिक सुन्दर बस्नेतले बताए । उनका अनुसार वडा नं. १३ र १४ मा घरमा पालिएको कुकुरमा समेत रेबिजको संक्रमण देखिएको छ ।

रेबिजको संक्रमण फैलिन नदिन रत्ननगरमा रेबिज विरुद्धको खोप अभियान नै संचालन गरिएको छ । सो अभियानमा हाल सम्म १८८५ कुकुरमा खोप लगाईएको हो । रत्ननगरका कृषि तथा पशुपंक्षी शाखा प्रमुख प्रविन लामाका अनुसार वडा नं. ८ देखि १६ सम्मका सामुदायिक तथा घरपालुवा कुकुरहरुलाई खोप लगाईएको छ। अन्य वडाहरुमा समेत खोप अभियान संचालन भईरहेको छ ।

रत्ननगर र कालिकाको सिमाना हुँदै रत्ननगर प्रवेश गर्ने बुढीकुलोको दायाँबायाँ बढ्दै गएको झाडीका कारण त्यसको आसपासको बस्तीमा स्याल आतंक बढेको हो । कयरखोलालाई नियन्त्रण गरेर बुढीकुलोमा आउने पानी बन्द गरिएपछी सो क्षेत्रमा झाडी बढेको छ ।

सो झाडीका कारण देउँसो पनि मानिस हिँडडुल गर्न डर पैदा भएको स्थानीयहरुले बताएका छन् । एकान्त र झाडीका कारण सो क्षेत्र दुर्व्यसनीहरुको अड्डा समेत बन्दै गएको छ ।

 

 

चितवन समाज युकेद्वारा नेता पौडेललाई स्वागत

लण्डन । चितवनका लोकप्रिय नेता जगन्नाथ पौडेललाई साउथ इष्ट लण्डनमा स्वागत तथा नेपालको राजनीतिक अबस्था र विकासक्रमबारे अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।

चितवन समाज युकेले आयोजना गरेको कार्यक्रममा नेता पौडेल र ग्रीन वीच काउन्सिलका मेयर जीत नाराभाटलाई समाजका अध्यक्ष खेम शर्मा, पूर्व अध्यक्ष शालिकराम सापकोटा र लण्डन समाज युकेका संयोजक झलक सुवेदीले खादा र माला लगाएर स्वागत गरेका थिए ।

चितवन समाज युकेले नेता पौडेललाई कार्यक्रमको प्रमुख अतिथि बनाएर नेपालको राजनीतिक अबस्था र सुधारको सम्भावना, विकासको चरण तथा गैरआवासीय नेपालीहरुले नेपालको विकासमा गर्न सक्ने योगदनाको विषयमा छलफल गरिएको चितवन समाज युकेका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा नेता पौडेलले चितवन समाज युकेले आफुलाई स्वागत सम्मान गरेकोमा धन्यवाद दिँदै विदेशी भूमिका संघर्ष गरिरहेका नेपालीहरुमा मातृभूमि प्रतिको चिन्तन सकरात्मक विषय भएको बताउनुभयो ।

उहाँले विदेशीभूमिमा रहेका नेपालीहरुले नेपालको चिन्ता गरिरहदा बढ्दो भष्टाचारका कारण नेपालको अबस्था अझ झन विग्रदो रहेको बताउनुभयो । एनसेन, पिन्टिङ प्रेस, यति, भूटानी शरणार्थी, वाइडबडी, ओम्नी जस्ता घोटलामा नेपालका प्रमुख दलका नेता कार्यकर्ता मुछिदा पनि कारबाही हुन नसकेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

नेपालको विग्रदो राजनीतिक घटनाक्रमले आर्थिकमन्दीको संकट पैदा भएको भन्दै नेता पौडेलले सुसासन स्थापना र भष्टचार नियन्त्रण नभए सम्म नेपालको अबस्थामा सुधार नआउने बताउनुभयो । राजनीतिक परिर्वतनपछि पनि नेपालमा आर्थिक विकास हुन नसकेका कारण नेपालीको जीवन स्तर उकासिन नसकेको उहाँको भनाई छ ।

कार्यक्रममा ग्रीन वीच काउन्सिलका मेयर रानाभाटले नेपालीहरु आफ्नै पौरख, बहादुरी, अदम्य सहासका लागि विश्वमै परिचित रहेको भन्दै उनीहरुमा राष्टप्रतिको चिन्ता लोभलाग्दो रहेको बताउनुभयो । ब्रिटिस सेनामा गोरखाहरुले गरेको योगदान अदितीय रहेको भन्दै उहाँले अझै पनि समान पेन्सनको लागि संघर्षरत नेपालीहरुप्रति आफ्नो समर्थन रहेको बताउनुभयो ।

चितवन समाज युकेका सल्लहाकार आनन्द धरेलले नेपालको राजनीतिक गन्तव्य विहीन अबस्था रहेको भन्दै अहिलेको अबस्था लम्बिन नहुने तर्क गर्नुभयो । चितवन समाज युकेका अध्यक्ष खेम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा समाजका संरक्षक शान्ता विनोद लामिछानेले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाली राजनीतिमा इमान्दारीका खडेरी परेका कारण देशले विकासमा फड्को मार्न नसकेको बताउनुभयो । कार्यक्रम समाजका उपाध्यक्ष डिल्ली लामिछानेले सञ्चालन गर्नुभएको थियो ।

आज सार्वजनिक विदा।

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

आज विहान बसेकाे मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै सार्वजनिक बिदा दिने निर्णय पनि गरेको हो ।

यस्तै आज सरकारी कार्यालयहरु र नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको छ ।

तनहुँमा बस आपसमा ठोक्किदा चालकको मृत्यु, ३० जना घाइते

२ मंसिर, काठमाडौं। तनहुँमा दुई यात्रुबहाक बस आपसमा ठोक्किर दुर्घटना भएको छ । दुर्घटनामा एक चालकको मृत्य भएको छ भने ३० यात्रु घाइते भएका छन् ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिकामा–५ नयाँ पुल गोरेचौतारामा दुई यात्रुबाहक बस ठोक्किएका हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी अशोक थापाका अनुसार गण्डकी जिएए ००७० नम्बरको बस र भे १ ख ३४८७ नम्बरको बस आपसमा ठोक्किएका हुन् ।

जस क्रममा जिएए ००७० नम्बरको बसका चालक तनहुँकै ऋषिङ पाटन घरभएका ३९ वर्षीय रामबहादुर परियारको मृत्यु भएको थापाले बताए । दुर्घटना दुई बसका ३० जना घाइते भएका छन् । घाइतेहरुको मोती र लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ ।

नाम थर नखुलेका एक जना गम्भीर घाइतेलाई भने उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको उनले बताए ।

माधवपुरमा भोलीदेखि हाट बजार सञ्चालन हुने

रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं १५ माधवपुरमा भोलि सोमबारदेखि हाट बजार सञ्चालन हुने भएको छ ।

छहारी टोल निवासी विष्णु लम्सालले आफ्नो व्यक्तिगत जग्गामा माधवपुर हाट हजार सञ्चालन गर्न लागेका हुन् । लम्सालले प्रत्येक हप्ताको सोमबार र विहीबार सञ्चालन हुने गरी हाटबजार सञ्चालन गर्न लागेका हुन् । हाट बजारका आयोजक लम्सालले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी हाट बजार सञ्चालन गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी गराएका हुन् । रत्ननगर नगरपालिकासँगको सहकार्यमा स्थानीयबासीको सहयोगमा लम्सालले आफ्नो व्यक्तिगत सात कठ्ठा क्षेत्रफलमा हाट बजार सञ्चालन गर्न लागेको लम्सालले जानकारी दिए ।

किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीको बजारीकरण तथा स्थानीय स्तरको आर्थिक विकासमा योगदान दिने हिसाबले हाट बजार सञ्चालन गर्न लागेको उनले बताए । ३५ वटा स्टल रहने हाट बजारमा फलफुल, तरकारी, मासु, लत्ताकपडा, फेन्सी, भाडा पसल, मोवाइल, चटपट पसलहरु रहने लम्सालले जानकारी दिए । हाट बजारको सोमबार रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले उद्घाटन गर्ने छन् ।

हाट बजार सञ्चालन गरेर पैसा कमाउन खोजेको होइन लम्सालले भने स्थानीय स्तरमा उत्पादित कृषिजन्य सामग्रीको प्रर्वधन र गाउँमा चहलपहल बढाउन खोजेको हुँ गाउँमै क्रेता र विक्रेताको भेट गराउने र सस्तो मुल्यमा सामग्री उपलब्ध गराउने अर्को उद्देश्य रहेको उनको भनाई छ ।

दैनिक उपभोग्य वस्तु खरिद गर्न बजार जान नपरोस भन्ने मान्यताका साथ गाउँमा हाट बजार सञ्चालन गर्न लागिएको भन्दै लम्सालले गाउँमा उपभोक्ताको आवश्यकतालाई मध्यनजर गरी स्टल प्रदान गरिएको बताए । एउटा व्यापारीबाट एक दिनको प्रति स्टल १०० रुपैया मात्र लिने उनले बताए । हाट बजारमा मदिरा विक्री गर्न पाइने छैन् ।

जनजागृतिमा वेषभूषा प्रदर्शन कार्यक्रम

उज्यालो दर्पण- रत्ननगरको वडा नं. १४ पिठुवामा रहेको जनजागृति माध्यमिक विधालयमा वेषभूषा प्रदर्शन कार्यक्रम गरिएको छ । शुक्रवार मेयर प्रलाद सापकोटाको प्रमुख आतिथ्यमा विद्यालयमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

विद्यार्थीहरुलाई विभिन्न जातजातीका वेषभूषा, पहिरन तथा संस्कृतिको जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक नरेन्द्रकुमार श्रेष्ठले बताए ।

कार्यक्रममा तामाङ, गुरुङ, भोजपुरी, मुश्लिम, थारु, खसआर्य समुदायका शिक्षक तथा छात्रछात्रा आफ्नाआफ्ना मौलिक वेषभूषामा उपस्थित थिए । कार्यक्रममा सांस्कृतिक नृत्य तथा चेतनामुलक लघुनाटक समेत प्रस्तुत गरिएको थियो ।

शिक्षक अभिभावक संघका अध्यक्ष लेखनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रममा वैरिया माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा नं. १० का वडाध्यक्ष कलाधर पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयका सहायक प्रधानाध्यक रोहिणी न्यौपानेले स्वागत् मन्तव्य राखेको कार्यक्रम अतिरिक्त क्रियाकलाप संचालन विभाग संयोजक शारदा आचार्यले संचालन गरेकी थिईन् ।

पिठुवा सिंचाई अन्तर्गतको शाखा कुलोहरुको अनुगमन

उज्यालो दर्पण- रत्ननगरको पिठुवा क्षेत्रमा रहेको पिठुवा नहर अन्तर्गतका शाखा कुलोहरुको अनुगमन गरिएको छ । शाखा कुलोहरु अतिक्रमणको चपेटामा पर्ने, कुलोमा नाला मिसाउने जस्ता गतिविधि बढ्दै गएपछि समस्याको समाधान गर्न अनुगमन सुरु गरिएको पिठुवा सिंचाई जल उपभोक्ता संस्थाका अध्यक्ष देवबहादुर रानाले बताए ।

साबिकको पिठुवा गाविसको झन्डै १३५० हेक्टर जमिनमा व्यवस्थित सिंचाई सुबिधा उपलब्ध गराउन वि.स. २०३० सालमा निर्माण गरिएको नहर र शाखाकुलोको दायाँबायाँ क्षेत्रमा अनाधिकृत रुपमा निर्माण, वृक्षारोपण जस्ता कार्यले पानी संचालनमा समस्या पर्दै आईरहेको छ ।

त्यस्तै शाखाकुलोहरुमा ढल मिसाउने प्रवृति पनि बढ्दै गएको संस्थाका सचिव मदन भुजेलले बताए । अनुगमनको क्रममा समस्या भएको ठाउँमा सम्झाईबुझाई गरिएको र अटेर गरे कारबाही गरिने उनले बताए । संस्थाले यस्ता कार्य नगर्ननगराउन पटकपटक सुचना प्रकाशन गर्दै आईरहेको छ ।

भुत्याहाको अस्थाई बाँधबाट सुरु भएर झन्डै पाँच किलोमिटर लम्बाईमा फैलिएको नहरबाट २३ वटा शाखा संचालन गरि हाल १२०० हेक्टर बढी जमिनमा सिंचाई गरिंदै आईएको छ ।

यो पनि पढ्नुहोस्: अतिक्रमणको मारमा पिठुवा सिंचाईको नहर

 

 

पुर्वीचितवनको विभिन्न क्षेत्रमा भोलि विद्युत अवरुद्ध हुने

उज्यालो दर्पण- पुर्वीचितवनको विभिन्न क्षेत्रमा भोलि मङ्सिर १ गते शनिबार विद्युत अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरण रत्ननगर वितरण शाखाका अनुसार सो वितरण केन्द्र अन्तर्गत रत्ननगर नगरपालिका-१३ जयमंगला घोल देखि जयमंगला चोक सम्म नयाँ ११ के.भी. फिडर निर्माण कार्य हुने भएकोले शनिबार विहान ०९:०० बजे देखि वेलुका ५:०० बजे सम्म टाँडी फिडर अन्तर्गतका विभिन्न क्षेत्रहरुमा विधुत सेवा अबरुद्ध रहने छ ।

सो समयमा टाँडी फिडर अन्तर्गत जयमंगला घोल, जयमंगला चोक देखि जिरौना हुँदै पदमपुर तथा आसपासका
क्षेत्रहरुमा विधुत अवरुद्ध हुने रत्ननगर वितरण शाखाले प्रकाशित गरेको सुचनामा जनाईएको छ ।

गण्डकी प्रदेश महोत्सवमा रचना रिमालको दमदार प्रस्तुती

गैँडाकोट- नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सवमा दर्शकहरुको उल्लेख्य उपस्थिति देखिएको छ । बिहीबार साँझ दर्शकको उपस्थिति बक्लिएको थियो । आयोजक संस्था नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बिहीबार साँझसम्म पनि टिकट काटेर महोत्सवस्थलमा दर्शक आउने क्रम जारी रहेको बताउनुभयो । महोत्सवमा आज कलाकार रचना रिमालको सांगीतिक प्रस्तुती रहेका कारण साँझसम्म पनि दर्शकहरुको उपस्थिति रहेको उहाँले बताउनुभयो ।

कलाकार रचना रिमाल साँझ ६ बजेतिर स्टेजमा उक्लिएर गीत सांगीतिक प्रस्तुती राखेकी थिइन् । उनले फोटो फिरिममा, सम्झिने पानी छम्किने, मिनिरल वाटर, उनको प्रिति पहिले हो कि मेरो प्रिति पहिलेलगायतका चर्चित गीतहरु गाएर दर्शकलाई मनोरञ्जन दिएकी थिइन् । आज महोत्सवमा दीपक खड्का, यम आले मगर, सञ्जिव सिंह रानासहित स्थानीय कलाकारले प्रस्तुती राखेका थिए ।

आजको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य बिनु रायमाझी पौडेल प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै उहाँले स्थानीय स्तरमा हुने महोत्सवको प्रचारप्रसार र प्रवद्र्धन गर्नुपर्ने उहाँले बताउनुभयो । स्थानीय महोत्सवले अर्थतन्त्र चलाएमान बनाउन मद्दत गर्ने हुँदा स्थानीय उत्पादनलाई प्राथमिकता दिनसमेत उहाँले सुझाव दिनुभयो ।

भोलि शुक्रबारको सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम सहसंयोजक किशोर लम्सालले जानकारी दिनुभयो । शर्माको साथमा अन्य स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती रहने उहाँको भनाइ छ ।
दोस्रो संस्करणको यस महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका मूल संयोजक भट्टचनले जानकारी दिनुभयो ।

सिङ्गो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको उहाँको दाबी छ । कात्तिक २६ गते सुरु भएको महोत्सव मङ्सिर १० गतेसम्म सञ्चालन हुनेछ । एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ५० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । रु ८० को टिकट काटेर महोत्सव अवलोकन गर्ने दर्शकहरुलाई मौलाकाली केबलकारको टिकटमा ५० प्रतिशत छुट दिइनेसमेत उहाँको भनाइ छ ।

गण्डकी प्रदेश महोत्सवको तयारी पूरा, आज मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्दै

गैँडाकोट- नारायणी नदीकिनारमा सञ्चालन हुने ‘दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१’ को तयारी सकिएको छ । आज कात्तिक २६ देखि नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आयोजनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा महोत्सव हुँदैछ ।

महोत्सव मूल समिति संयोजक एवम् आयोजक संस्थाका अध्यक्ष अमृत भट्टचनले महोत्सवको तयारी आइतबार साँझसम्म ९९ प्रतिशत पूरा भएको बताए । महोत्सवको आन्तरिक सुरक्षाका लागि निजी कम्पनीका सुरक्षाकर्मी परिचालन गरिनुका साथै सिसी क्यामेराबाट निगरानी भइरहेको छ ।

यसपटकको महोत्सवमा नेपालमै पहिलोपटक ‘अन्डरवाटर फिस टनेल’ राखिने भएको छ यसले दर्शकहरुलाई नौलो स्वाद पस्किने छ । आज उद्घाटन हुने महोत्सवको शोभायात्रामा तीन सय भन्दा बढी संघसंस्थाहरुबाट पाँच हजार भन्दा बढी मानिसको सहभागिता रहने छ ।

गैँडाकोट नगरपालिकाबाट सुरु हुने शोभायात्रा नगरको विभिन्न भाग हुँदै महोत्सव स्थल नारायणी नदी किनारमा पुगेर सकिने छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार दिउँसो महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।

महोत्सवमा थारु, तामाङ, गुरुङ, चेपाङ र मगरको संस्कृतिबारे जानकारी दिन उनीहरुको छुट्टाछुट्टै सांस्कृतिक घर निर्माण गरी उनीहरुले प्रयोग गर्ने परम्परागत सामग्री राखिएको छ । तीन सय स्टल रहने महोत्सवमा कृषि उत्पादनका लागि ५० वटा स्टल निःशुल्क प्रवद्र्धन गरिएको छ ।

महोत्सवको व्यवस्थापन राजधानी एम्युजमेन्ट राइट्स नेपालले गरेको छ । व्यवस्थापन संस्थाले महोत्सव परिसरभित्र दुई सय फिट लम्बाइ तथा ६० फिट चौडाइ भएको टनेल निर्माण गरी विभिन्न प्रकारका माछा राखेर हेर्ने व्यवस्था गर्न लागिएको व्यवस्थापक अभय चौधरीले बताए ।

“यो टनेल हेर्नका लागि नेपालबाट बर्सेनि धेरै मान्छेहरु दुबई जाने गरेका छन्” चौधरीले भने, “दुबईमा देख्न पाइने टनेलको माछा अब गैँडकोटमा सञ्चालन हुने महोत्सवमा देख्न पाइन्छ, यो नेपालमै पहिलो र एकमात्रै प्रविधि हो ।” टनेलभित्र पानीमा राखिने माछाको लम्बाइ ६ फिटसम्मको हुने भन्दै चौधरीले ती माछाहरु चीनबाट ल्याइएका तथा विभिन्न रङ्ग र आकारका भएका बताए ।

टनेलभित्र एकैपटक पाँच सय जना मान्छे प्रवेश गरेर माछा हेर्ने व्यवस्था गर्न डोम निर्माण भइरहेको छ । “अहिले धमाधम टनेल निर्माणको गर्ने काम भइरहेको छ ।” दोस्रो संस्करणको महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहने छ ।

महोत्सवमार्फत नवलपुरका पर्यटकीय क्षेत्रको प्रवद्र्धनसँगै सम्भावनाको खोजी गरिने, नवलपुरको त्रिवेणीधामदेखि पोखरा हुँदै मुक्तिनाथ मन्दिरसम्मको धार्मिक पर्यटकीय करिडोरको प्रचारप्रसार गर्ने, त्रिवेणी–कोरला राजमार्गको दिगो सञ्चालन, दुवै ठाउँमा अन्तर्राष्ट्रियस्तरको भन्सार कार्यालय स्थापनाका लागि सरोकारवालाई ध्यानाकर्षण गराउनु मेलाको प्रमुख उद्देश्य रहेको छ। मङ्सिर १० गतेसम्म सञ्चालन हुने महोत्सवमा रु एक करोड ७० लाखको कारोबार हुने तथा रु ३० लाख बचत हुने अनुमान गरिएको छ ।

एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ५० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । रु ८० को टिकट काटेर महोत्सव अवलोकन गर्ने दर्शकहरुलाई मौलाकाली केबलकारको टिकटमा ५० प्रतिशत छुट दिइने छ ।