Home Blog Page 6

हुरीबतासले ढालेको रुखले लागेर २ जनाको मृत्यु, ६ घाइते

उदयपुर : उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट ढलेको रुखले लागेर दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन थापाका अनुसार सोमबार साँझ आएको हुरीबाट कटारी–८ थलियाटारका ४९ वर्षीया मीनामाया तामाङको कुटमेरो रुखको हाँगाले लागेर मृत्यु भएको छ।

यस्तै कटारी–५ तीनकुने चोक स्थत राधाकृष्ण मन्दिर नजिकै हुरीबतासका कारण सखुवाको रुख ढलेर लाग्दा ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको छ।

हुरीबतासकै कारण घाइते हुनेहरुमा कटारी–८ की स्थानीय २० वर्षीय कमलाकुमारी पुलामीमगर, कटारी–५ का मृतक चौधरीका नातिनी पाँच वर्षीय बिनिशा, सोही वडाका २७ वर्षीय युवराज कार्की, प्रेमचन्द्र दनुवार, लीलबहादुर दनुवार र १६ वर्षीय अस्मिता परियार रहेका छन्।

घाइतेमध्ये दुई जनालाई विराटनगरस्थित नोबेल अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ। कटारी–५ का ४६ वर्षीय लीलबहादुर दनुवार र अर्का २० वर्षीय कमलाकुमारी पुलामी मगरलाई विटाटनगर रिफर गरिएको प्रहरीले बताएको छ। अन्य चार जनाको सोमबार साँझ नै कटारी अस्पतालमा सामान्य उपचारपछि ‘डिस्चार्ज’ गरिएको प्रहरीले जनाएको छ।

शव परीक्षणका लागि कटारी अस्पतालमा ल्याइएको र अहिले परीक्षणको तयारी गरिएको सूचना अधिकारी थापाले बताए। हुरीबतास र वर्षाको कारण कटारीको पहाडी क्षेत्रमा घरका छाना उडाएको र सामान्य क्षति भएको विवरणहरू प्राप्त भइरहेको प्रहरीले जनाएको छ।

दुई छोराछोरीसहित बेपत्ता भएकी महिलाको शव भेरीमा भेटियो

सुर्खेत । आइतबार दुई छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीय माया कठायतको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापका अनुसार, मायाको शव लेकबेशी नगरपालिका–३ को पटारो स्थित भेरी नदीमा भेटिएको हो ।

‘निकै खोजतलास गर्दा आमाको शव चाहिँ भेटियो, केटाकेटीको अवस्था अझै अज्ञात छ,’ बुढ्थापाले भने, ‘आमाको शव भेरी नदीमा भेटिएकाले छोराछोरी पनि भेरीमा बेपत्ता भएको अनुमान छ । खोजी कार्य भइरहेको छ ।’

माया आइतबार बिहान ११ वर्षीया छोरी आशा कठायत र ५ वर्षका छोरा दीपक कठायतसहति सम्पर्कविहीन भएकी थिइन् । मायाका श्रीमान् भूपेन्द्र कठायतले बेलुका प्रहरी चौकी गुमीमा खबर गरेका थिए ।

त्यसपछि प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङको कमान्डमा ४ जनाको प्रहरी टोली र स्थानीयहरू खोजतलासमा खटिएका थिए । ‘घरदेखि करिब ३ किलोमिटर पर्ने भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र मोबाइल फेला पर्‍यो,’ प्रहरी नायव उपरीक्षक बुढ्थापाले भने ।

त्यसपछि मायाले भेरीमै हाम फालेको हो कि भन्ने आशङ्का प्रहरीले गर्‍यो । सोही अनुसार सोमबार बिहानैदेखि ३५ जना प्रहरी तथा स्थानीय व्यक्ति मिलेर खोजतलासमा सक्रिय भए ।

हनी ट्रयापमा संलग्न दुई पक्राउ

चितवन — सामाजिक सञ्जालमार्फत ‘हनी ट्रयाप’मा पारेर एक पुरुषलाई कुटपिट गरी स्कुटर लुटेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कालिका नगरपालिका–७ नमुना टोलका १८ वर्षीय एनी तामाङ र २५ वर्षीय विजय सुनार छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–३ बस्ने ४९ वर्षीय पुरुषलाई फेसबुकमार्फत चिनजान गरी भेट्न बोलाएर कुटपिट तथा लुटपाट गरिएको हो।

‘ANEEY TMG’ नामको फेसबुक एकाउन्ट मार्फत पीडित संग चिनजान भई फोनमा समेत कुराकानी भइरहेको अवस्थामा गत फाल्गुन २९ गते ति पुरुषलाई जुटपानीको मिठुचोकबाट गुम्बाजाने भित्रि बाटोमा भेट्न बोलाइएको थियो। उक्त स्थानमा पुगेपछि योजनाबद्ध रूपमा अन्य व्यक्तिलाई समेत बोलाई पीडितलाई कुटपिट गरी उनीसँग रहेको बा.प्र–००४ प ५८८९ नम्बरको स्कुटर लुटेर फरार भएको प्रहरीले जनाएको छ। पछि पीडितले स्कुटर फिर्ता माग्दा रकम माग्ने तथा रकम नदिए जबर्जस्ती करणी मुद्दा लगाइदिने भन्दै धम्की दिएको उजुरी प्रहरीमा परेको थियो।

उनीहरु दुवै जनालाई प्रहरीले भरतपुर महानगरपालिका- १० वीरेन्द्र क्याम्पस रोडबाट आइतबार पक्राउ गरेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

मनकामना दर्शन गरेर फर्किँदै गरेको माइक्रोबस दुर्घटना हुँदा ७ जनाको मृत्यु

गोरखा : मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेको यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

सहिद लखन गाउँपालिका–३ कान्टारमा बा प्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस आज साँझ दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा सबै भारतीय नागरिक छन् । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् ।

युएईमा बनावटी र भ्रामक भिडियो पोस्ट गर्ने १० जना पक्रन आदेश, नेपाली पनि परे

काठमाडौँ । युएईका महान्यायाधिवक्ताले डिजिटल प्लेटफर्महरूमा भ्रामक र बनावटी भिडियो क्लिप प्रकाशित गरेको आरोपमा १० जना प्रतिवादीलाई पक्राउ गर्न आदेश दिएका छन् ।

उनीहरुमा २ भारतीयसँगै पाकिस्तान, फिलिपिन्स, इजिप्ट, बंगलादेश, क्यामरुन, नेपाल, भियतनाम र इरानका छन् ।

सुरक्षा अधिकारीहरूले भिडियोमा वास्तविक र एआई–उत्पन्न फुटेज समावेश भएको बताएका छन् । जसमा युएईभरि विस्फोट, आक्रमण र सुरक्षा खतरा झूटा रूपमा देखाइएको पाइएपछि उनीहरुलाई पक्राउ आदेश दिइएको हो ।
अनुसन्धानले जनतालाई भ्रमित पार्ने र डर फैलाउने उद्देश्यले सामग्री राखिएको पत्ता लगाएपछि संदिग्धहरूलाई द्रुत मुद्दामा पठाइएको गल्फन्युजले जनाएको छ ।

अधिकारीहरूले यस्तो गलत सूचना फैलाउँदा राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने र कम्तिमा एक वर्षको जेल सजाय र १ लाख दिरामदेखि अरु बण्ी जरिवाना हुने चेतावनी दिएका छन् । पक्राउ परेकाहरुको परिचय गोप् राखिएको छ । तस्बिर स्रोतः गल्फन्युज

रास्वपाका माननीय फेरि विवादमा, शिक्षकहरु आक्रोशित

बाबुआमापछिको मार्गदर्शक गुरुलाई मानिन्छ । हरेक मानिसलाई शिक्षा दिएर गन्तव्यसम्म पुर्याउन शिक्षकहरुले महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । त्यसैले पनि होला,आफूलाई पढाउने गुरुलाई हरेक मानिसले श्रद्धा र सम्मान गरेकै हुन्छ । तर राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारले शिक्षकको अपमान गर्ने अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि यतिबेला सामाजिक सञ्जाल तात्तिएको छ । शिक्षकहरुले ‘तिमीचाहिँ आमाको पेटबाट फुत्त निस्किएर माननीय भएका हौ ?’ भन्दै आक्रोश पोखेका छन् ।

बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सुनारले केही युट्युबरसँग मास्टरलाई उत्तानो पारेर पैतालामा भाटा हान्नुपर्ने अस्वभाविक अभिव्यक्ति दिएका थिए । ‘जसरी हिजो हामीलाई पढाउँदा कन्चटको रौँ समातेर, डस्टरले टाउकोमा ट्वाक्क हान्थे, त्यो मास्टरलाई उत्तानो पारेर त्यसको पैतालामा भाटा हान्नुपर्छ’, उनले भनेका थिए, ‘त्यो मास्टरलाई अलि पढाइ नपुग्या हो, म पनि शिक्षा संकाय नै पढेर आएको हो, त्यसैले मलाई पनि थाहा छ कसरी पढाउने भनेर ।’

यता, नेपाल शिक्षक महासंघले एक विज्ञप्ति जारी गर्दै सुनारको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोरी सुवेदीले सुनारलाई माफी माग्न र आगामी दिनमा बोल्दा ढंग पुर्याउन सजग गराएका छन् । ‘पदीय गरिमालाई समेत बिर्सिएर गरिएको यस अभिव्यक्तिप्रति हामी खेद प्रकट गर्न चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘साथै आफ्नो अभिव्यक्तिप्रति माफी माग्न र आइन्दा यस्ता विचार व्यक्त नगर्न समेत सम्बन्धित व्यक्तिलाई सचेत गराउन चाहन्छौँ ।’

निर्वाचनअघि पनि सुनारले ‘गाई काटेर खान पाउनुपर्छ’ भन्ने अभिव्यक्ति दिएपछि विवादमा तानिएका थिए । उनको अभिव्यक्तिले रास्वपाका समर्थक नै चिढिएपछि पार्टीले विज्ञप्ति निकालेर सुनारलाई सचेत गराइएको बताएको थियो । अहिले फेरि सुनार शिक्षकमाथि तुच्छ टिप्पणी गरेर विवादमा तानिएका हुन् ।

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो ।

अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ ।

आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।

शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती गण्डकी लुम्बिनी सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षा भइरहेको छ।

शुक्रबार कोशी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

नेपालको उपल्लो वायुमण्डलमा उच्च चापीय मौसम प्रणाली स्थिर रही पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन नसकेको तथा वायुमण्डलको तल्लो तहमा न्यून चापीय गतिविधि बढ्न नसकेको कारणले पर्याप्त वर्षा हुन नसकी प्रदुषण वायुमण्डलको तल्लो तहमै संचित भएर रहँदा केही दिन देखि देशका धेरै भू-भागहरू तुवाँलो प्रभावित भएको अवस्था छ । बिहीबारदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ्दै जाने देखिएको तथा देशका केही ठाउँहरुमा क्षणिक वर्षाको सम्भावना पनि देखिएकोले मौसमको हालको अवस्थामा क्रमिक रुपमा केही सुधार हुने सम्भावना रहेको छ ।

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ १२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १७ पैसा र बिक्रीदर १७० रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ २१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ०१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

सामाजिक सञ्जालमार्फत घृणास्पद अभिव्यक्ति दिएको आरोपमा रवि चुँडाल पक्राउ

काठमाडाैँ । सामाजिक सञ्जालमार्फत झापावासीलाई लक्षित गरी घृणास्पद र आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा रवि चुँडाल पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बिहीबार काठमाडौँको सुकेधाराबाट नियन्त्रणमा लिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले चुँडाललाई पक्राउ गरिएको पुष्टि गरे । झापाको चुनावी नतिजा सार्वजनिक भएपछि एउटा भिडिओ सार्वजनिक गर्दै चुँडालले झापाका बासिन्दालाई ‘चोर’, ‘अपराधी’, ‘दुष्ट’, ‘देश बेच्ने’ जस्ता अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेका थिए ।

उनको उक्त घृणास्पद अभिव्यक्तिविरुद्ध सामाजिक सञ्जालमा व्यापक विरोध हुनुका साथै सर्वसाधारणले कानुनी कारबाहीका लागि प्रहरीलाई अनुरोध गरेका थिए ।

चुँडालविरुद्ध यसअघि पनि सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको अर्को एक विषयलाई लिएर सुनसरी जिल्लाबाट पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । यसैक्रममा झापावासीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको अर्को घटना बाहिरिएपछि उनलाई समातिएको एसएसपी खड्काले जानकारी दिए ।

यसअघि पनि रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा-५ मा चुनाव जिते आफूले ‘दिसा खाने’ जस्ता आपत्तिजनक टिप्पणी उनले गरेका थिए । पक्राउ परेका चुँडालमाथि विद्युतीय कारोबार ऐन (साइबर अपराध) को कसुरअन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।