Home Blog Page 5

माधवपुरमा ५८औँ चैते दशैं महोत्सव सुरु हुँदै, भलिबल सहित विविध खेलकुद र सांस्कृतिक कार्यक्रम हुने

उज्यालो नेपाल- माधवपुरमा ५८औँ चैते दशैं तथा खेलकुद–सांस्कृतिक महोत्सव आजबाट सुरु हुने भएको छ। माधवपुर खेलकुद विकास समितिको आयोजनामा चैत्र १३ र १४ गते दुई दिनसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

समितिका अध्यक्ष गणेश तामाङका अनुसार पछिल्ला केही वर्ष कार्यक्रम हुन नसकेपछि यसपटक माधवपुरको पहिचान जोगाउन पुनः महोत्सव आयोजना गरिएको हो। महोत्सवअन्तर्गत भलिबल, छेलो फाल्ने, डोरी तान्ने लगायतका प्रतियोगिताहरू सञ्चालन हुनेछन्।

भलिबल प्रतियोगितामा १४ टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद १ लाख रुपैयाँसहित खसी, द्वितीयलाई ५० हजार रुपैयाँसहित खसी र तृतीय हुने टोलीलाई २५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

चैत्र १४ गते राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति समेत रहने कार्यक्रम संयोजक राजु गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए। महोत्सव सञ्चालनका लागि करिब ११ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसमा ३ लाख रुपैयाँ वडा स्तरीय बजेटबाट व्यवस्थापन गरिएको छ।

वडाध्यक्ष आसिक तामाङले माधवपुरको इतिहास, कला र संस्कृतिको संरक्षण तथा जगेर्नाका लागि महोत्सव महत्वपूर्ण हुने बताए। महोत्सव माधवपुर खेल मैदानमा सञ्चालन हुने तय गरिएको छ।

राप्तीमा चैत १४ गते देखि भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

राप्ती,चैत १२- पुर्वी चितवनको राप्तीस्थित शिखर सामुदायिक वन उपभोक्ता समूह र रियल गोर्खा युवा क्लबको संयुक्त आयोजनामा जिल्ला स्तरीय खुल्ला नकआउट भलिबल प्रतियोगिता तथा प्रथम चैते दशैं मेला एवं वृहत् सांस्कृतिक कार्यक्रम संचालन हुने भएको छ। चैत दशैंको अवसर पारेर यहि चैत १४ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रमबारे आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। सो कार्यक्रम राप्ती–५, शिखरबस्तीस्थित नागदह खेल मैदानमा सञ्चालन हुनेछ।

उक्त कार्यक्रममार्फत राप्ती क्षेत्रको खेलकुद, कला र संस्कृतिको समुचित समायोजन गर्दै युवालाई सकारात्मक गतिविधितर्फ उन्मुख गराउने लक्ष्य राखिएको छ। आयोजकका अनुसार युवाशक्तिलाई खेलकुदमार्फत अनुशासित र सक्रिय बनाउनुका साथै स्थानीय कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। साथै सामुदायिक वन संरक्षण, दिगो व्यवस्थापन तथा वातावरणीय सचेतनासम्बन्धी सन्देश प्रवाह गर्ने लक्ष्य समेत लिइएको छ।

भलिबल प्रतियोगिता जिल्ला स्तरीय नकआउट प्रणालीमा सञ्चालन गरिनेछ। प्रतियोगितामा जिल्लाभित्रका विभिन्न टिमहरूको सहभागिता रहने खेल संयोजक तथा रियल गोर्खे युथ क्लबका सल्लाहकार अविनाश पुन मगरले जानकारी दिनुभयो। प्रतियोगितामा राप्ती–५ र राप्ती–९ का भेट्रान टोलीहरूको समेत सहभागिता रहनेछ भने प्रत्येक टिमले बाहिरी जिल्लाबाट बढीमा तीन जना खेलाडी समावेश गर्न पाउने व्यवस्था गरिएको छ।

प्रतियोगितामा प्रथम पुरस्कार ८० हजार रुपैयाँ, द्वितीय पुरस्कार ४० हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ निर्धारण गरिएको छ। सहभागी हुन चाहने टिमका लागि दर्ता शुल्क ४ हजार रुपैयाँ तोकिएको छ। साथै कार्यक्रममा पन्जा लडाई खेल पनि समावेश गरिने संयोजक सूर्य मोक्तानले जानकारी दिनुभयो।
यसैबीच, प्रथम चैते दशैं मेलाको अवसर पारेर स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सहभागितामा वृहत् सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गरिनेछ। कार्यक्रममा नृत्य, गीत, झाँकी लगायतका विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिने कार्यक्रम संयोजक तथा क्लबका अध्यक्ष समीप तामाङले जानकारी दिनुभयो।
उहाँले कार्यक्रममार्फत स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने, सामुदायिक एकता सुदृढ बनाउने तथा स्वच्छ र हरित वातावरण निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमलाई व्यवस्थित, सुरक्षित र सफल बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको शिखर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सन्देश घलानले जानकारी दिनुभयो। उहाँका अनुसार सञ्चारकर्मी, सुरक्षाकर्मी, स्थानीय तह तथा सरोकारवाला निकायसँग आवश्यक समन्वय भइरहेको छ।
पाँच दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने करिब ४० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
पत्रकार सम्मेलनमा रियल गोर्खे युथ क्लबका सचिव विशाल लो, सूर्य मोक्तान तथा शिखर सामुदायिक वन उपभोक्ता समूहकी कोषाध्यक्ष शान्ति कुँवर लगायतको उपस्थिति रहेको थियो।

एक्सपर्टको सेवा अब न्युजिल्याण्डबाट पनि

अकल्याण्ड, ११ चैत- एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले न्युजिल्याण्डमा आफ्नो अफिस विस्तार गरेको छ । २३ वर्षदेखि अन्तर्राष्ट्रिय विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको एक्सपर्ट एजुकेसनले आफ्नो सेवा २५ औँ देशमा विस्तार गरेको हो ।

एक्सपर्ट एजुकेसनका ग्लोबल डाइरेक्टर बद्री अर्यालले न्युजिल्याण्डको अकल्याण्डमा एक्सपर्ट अफिस उद्घाटन गरे । अष्ट्रेलियाको सिड्नीबाट सन् २००३ मा सुरु भएको शैक्षिक परामर्श सेवा अहिले विश्वका ९० भन्दा बढी अफिसबाट उपलब्ध छन् । एक्सपर्टले विश्वभरका विद्यार्थीका लागि अष्ट्रेलिया, न्युजिल्याण्ड, युके, क्यानडा र युएसएका विश्वविख्यात युनिभर्सिटी तथा कलेजहरूमा भर्नाका लागि परामर्श सेवा प्रदान गर्ने गर्छ ।

न्युजिल्याण्ड अफिस उद्घाटन कार्यक्रममा अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको लागि नेपाली वाणिज्य दूत सञ्जीव शर्मा तथा न्युजिल्याण्डको लागि नेपालका वाणिज्य दूत दिनेश खड्काको पनि विशेष उपस्थिति थियो । साथै बीसभन्दा बढी विश्वविख्यात युनभर्सिटीका प्रतिनिधि, एक्सपर्टका विभिन्न डाइरेक्टरहरू, नेपाली, भारतीय, फिलिपिनो समुदायका प्रतिष्ठित व्यक्तित्वहरू, स्थानीय क्रिकेट क्लबका प्रतिनिधिहरूको पनि उपस्थिति थियो ।

न्युजिल्याण्डमा अफिस विस्तारपछि नेपाली विद्यार्थीहरूलाई न्युजिल्याण्डमा अध्ययनका लागि जान र त्यहाँ पुगेपछि आवश्यक सहयोग अझै सहज हुने विश्वास ग्लोबल डाइरेक्टर बद्री अर्यालले व्यक्त गर्नुभयो । उहाँले न्युजिल्याण्ड नेपाली विद्यार्थीका लागि अष्ट्रेलियाजत्तिकै सुरक्षित र प्रतिष्ठित रहेको भन्दै विद्यार्थीहरूलाई एक्सपर्टसँग ढुक्क भएर परामर्श लिन अनुरोध गर्नुभयो ।

जाँचबुझ आयोगको प्रतिवेदन- जसले गरेका थिए भ्रामक प्रचार

भदौ २३ र २४ गतेको घटनासम्बन्धी पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्षतामा गठित जाँचबुझ आयोगको प्रतिवेदनमा भ्रामक प्रचार गर्नेहरूको नाम पनि किटान गरिएको छ।

कार्की आयोगले प्रतिवेदन सरकारलाई बुझाए पनि सरकारले सार्वजनिक गरेको छैन। तर प्रतिवेदन बाहिरिएको छ।

आयोगको प्रतिवेदनअनुसार जेनजी आन्दोलनमा भ्रामक प्रचार गर्नेहरू कलाकारदेखि सोसल मिडिया इन्फ्लुन्सरसम्म छन्।

‘भ्रामक प्रचारहरू जस्तै २३ गतेको घटनामा चुच्चेपाटीस्थित भाटभटेनी मा ३५ शवको कंकाल भेटिएको भनी प्रचार गरियो। त्यस्तै ३२ जना हराइरहेका प्रदर्शनकारी बानेश्वर संसद भवनभित्र मृत अवस्थामा भेटिए भनी २४ गते प्रचार गरियो,’ जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ, ‘यस्तो प्रचार गर्नमा सोसल मिडिया इन्फ्लुन्सर टंक ढकाल, सुजन ढकाल, शिव परियार, हिमेश पन्त र भाग्य न्यौपाने जस्ता व्यक्तिहरु संलग्न रहेको पाइन्छ।’

साथै एक विमान परिचारिकाले हिमालयन एयरलाइन्सबाट तत्कालीन प्रधानमन्त्री केपी ओली भागेर दुबई पुगेको र उनले आफै देखेको भ्रामक प्रचार गरेको प्रतिवेदनमा उल्लेख छ।

‘हिमालय एयरलाइन्सले यसको खण्डन गरी प्रेस वक्तव्य नै जारी गर्नुपर्यो। त्यस्तै एउटा अर्को मिडियामा नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई भिडले घिसारेर पिटिरहेको प्रचार गर्यो, त्यो गलत प्रचार थियो। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भिडबाट बच्न नदीमा भागिरहेका र केही व्यक्तिहरूले उनलाई पिटिरहेको दृष्य भिडियोमा देखाइएको थियो,’ प्रतिवेदनमा भनिएको छ।

त्यस्तै पूर्व राजालाई स्वागत गर्न र फेरि राजा बनाउन नारायणहिटी दरबार सफा गरिँदैछ भन्ने समाचार पनि सामाजिक सञ्जालमा प्रेषित गरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ।

यस्तै पत्रकार दिलभूषण पाठकले हिल्टन होटलसम्बन्धी बनाएको समाचारको विषय पनि प्रतिवेदनमा समावेश छ।

‘पत्रकार दिलभूषण पाठकले केही समयअघि हिल्टन होटलमा शेरबहादुर र आरजु देउवाका छोरा जयवीर सिं देउवाको लगानी छ भनी तथ्यहीन प्रचार गर्दा हिल्टन होटल जल्न गएको छ। यसले नेपालमा वैदेशिक लगानी निरुत्साहित हुन गै ठूलो क्षति हुन पुगेको छ,’ प्रतिवेदनमा उल्लेख छ।

अवैध क्रिप्टो करेन्सीको धन्दा चलाउने दुईजना चितवनबाट पक्राउ

उज्यालो नेपाल- जिल्ला प्रहरी कार्यालय चितवनले अवैध क्रिप्टो करेन्सीको कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार भरतपुर महानगरपालिका–२ मेलमिलाप टोलमा अवैध मुद्रा कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सर्लाही राजबिराज नगरपालिका–१२ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–२ बस्दै आएका २५ वर्षीय आशिष कुमार दास र भरतपुर २६ बस्ने २२ वर्षीया विनिता परियार रहेका छन्।

उनीहरूको साथबाट रु. १ लाख ९ हजार ९ सय ९५ नगदसहित विभिन्न बैंकका ३ थान चेकबुक, ४ थान एटीएम कार्ड, ५ थान मोबाइल, १ सेट कम्प्युटर, १ थान ल्यापटप, २ थान ट्याब, २ थान वाइफाइ राउटर, ६ थान नेपाली र २ थान भारतीय सिमकार्ड, ३ थान एसडी कार्ड/पेनड्राइभ तथा २ थान नेपाली नागरिकता बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति सहकारी ठगी आरोपमा पक्राउ

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका ‘पीडित’ कृष्णप्रसाद जैसी पोखराकै धनुष बचत तथा ऋण सहकारी ठगी आरोपमा पक्राउ परेका छन्।

सहकारी रजिस्ट्रारको कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पेस गरेको धनुष सहकारीको बचत रकम हिनामिना सम्बन्धी छानबिन प्रतिवेदनपछि सोमबार उनी पक्राउ परेका हुन्।

धनुष सहकारीको ऋण उपसमितिमा बसेर कृष्णप्रसादले कृत्रिम खातामार्फत ८२ लाख रूपैयाँ हिनामिनामा संलग्न रहेको छानबिन प्रतिवेदनमा उल्लेख छ।

उक्त सहकारी ठगीमा संलग्न देखिएका अन्य चार जनाको नाममा पक्राउ पुर्जी जारी भएको छ।

सहकारी रजिस्ट्रारको कार्यालयले पेस गरेको छानबिन प्रतिवेदनमा धनुष सहकारीबाट १९ करोड १८ लाख रूपैयाँ हिनामिना भएको निष्कर्ष निकालिएको छ।

सहकारी ठगीमा पक्राउ परेका कृष्णप्रसादले पोखराकै सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा आफ्नो बचत रकम हिनामिना भएको भन्दै पीडितका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, सहकारीका सञ्चालक एवं ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जिबी राई लगायत विरूद्ध जाहेरी दिएका थिए।

सोही जाहेरीका आधारमा ग्यालेक्सी टेलिभिजनका पूर्वप्रबन्ध निर्देशक समेत रहेका रवि, सञ्चालक जिबी लगायत विरूद्ध एक अर्ब ५१ करोड रूपैयाँ हिनामिना मुद्दा अदालतमा विचाराधीन छ।

चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

चितवन। पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ निपनी चोकमा तेल बोकेको ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । स्कुटर चालक भने सकुसल छन् ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ बस्ने अन्दाजी ३५ वर्षीय मिना रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिए । स्कुटर चालक सोहि ठाउँ बस्ने ५३ वर्षीय पूर्ण सापकोटा सकुसल रहेको खनालले बताए ।

घटनापछि पूर्वी चितवनको निपनी तनावग्रस्त बनेको छ ।

आज दिउँसो ३ः२५ बजेको समयमा खैरहनीबाट भरतपुरतर्फ आउँदै गरेको लु २ ख २८९४ नम्बरको डिजेल लोड भएको ट्याङ्करले भित्रीबाटोबाट निस्किदै गरेको ना ५५ प ८०७७ नम्बरको स्कुटरलाइ ठक्कर दिएको हो ।

सोहि ट्याङ्करले सडक साइटमा रोकि राखेको ना ६५ प ७८८३ र ना ५५ प ८०८३ नम्बरको मोटरसाइकल र साइकललाइ समेत ठक्कर दिँदा ती सवारी साधनमा क्षति पुगेको छ ।

प्रहरीले ट्याङ्कर चालक राप्ती नगरपालिका–७ बस्ने बर्ष २४ को सुजन तामाङलाई पक्राउ गरेको छ ।

घटनापछि पूर्वी चितवनको निपनी तनावग्रस्त बनेको छ ।

आज दिउँसो ३ः२५ बजेको समयमा खैरहनीबाट भरतपुरतर्फ आउँदै गरेको लु २ ख २८९४ नम्बरको डिजेल लोड भएको ट्याङ्करले भित्रीबाटोबाट निस्किदै गरेको ना ५५ प ८०७७ नम्बरको स्कुटरलाइ ठक्कर दिएको हो ।

सोहि ट्याङ्करले सडक साइटमा रोकि राखेको ना ६५ प ७८८३ र ना ५५ प ८०८३ नम्बरको मोटरसाइकल र साइकललाइ समेत ठक्कर दिँदा ती सवारी साधनमा क्षति पुगेको छ ।

प्रहरीले ट्याङ्कर चालक राप्ती नगरपालिका–७ बस्ने बर्ष २४ को सुजन तामाङलाई पक्राउ गरेको छ ।

कोठा फोरेर २६ तोला सुन चोरी गर्ने दुई जना हतियारसहित पक्राउ

काठमाडौं । काठमाडौँ महानगरपालिका-५ कालोपुलस्थित लामा गल्लीमा एक व्यक्तिको डेरा कोठा फोरेर लाखौँ मूल्य बराबरको सुनचाँदी र नगद चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चोरीमा संलग्न उनीहरूलाई चोरी गरिएका गहना, नगद र प्रयोग गरिएका धारिलो हतियारसहित नियन्त्रणमा लिएको हो।
गत चैत ६ गते काठको दराजभित्र राखिएको करिब २६ तोला ८ आना बराबरको सुनका गरगहना, ३३ हजार मूल्य बराबरको चाँदी र करिब ६१ हजार नगद (नेपाली र भारतीयसहित) चोरी भएको उजुरी प्रहरीमा परेको थियो। सूचना प्राप्त हुनासाथ सक्रिय भएको प्रहरी टोलीले अनुसन्धानका क्रममा चैत ७ गते राति करिब पौने १० बजे दुई युवकलाई पक्राउ गर्न सफल भयो। पक्राउ पर्नेहरूमा काठमाडौं बुढानीलकण्ठका २३ वर्षीय उपेन्द्र खत्री र कैलाली गौरीगंगाका २६ वर्षीय निरज सापकोटा रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट तीन थान तिलहरी, एक थान सिक्री, एक थान नेक्लेस, तीन थान बाला र नौगेडीमा प्रयोग हुने ८ थान गोटी लगायतका सुन जस्ता देखिने पहेँलो धातुका गरगहना बरामद गरेको छ। यसैगरी चाँदीका पाउजु, थाली र औँठीहरू पनि बरामद भएका छन्। पक्राउ परेकाहरूको साथबाट २ लाख ४९ हजार नेपाली रुपैयाँ नगद र चोरी गर्दा प्रयोग गरिएको होण्डा कम्पनीको स्कुटर समेत नियन्त्रणमा लिइएको छ।

बरामद सामानहरूको सूचीमा चोरी गर्दा वा प्रतिवाद गर्दा प्रयोग हुन सक्ने घातक हतियारहरू समेत फेला परेका छन्। प्रहरीले उनीहरूको साथबाट २.८ फिट लामो तरबार, एक थान खुकुरी र दुई थान फलामको रड बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर चोरी मुद्दामा थप कानुनी प्रक्रिया र अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

३ थान मिटरबक्स लिन मध्यरातसम्म धर्नामा बसे वडाध्यक्ष

९ चैत, सल्यान । नेपाल विद्युत प्राधिकरणको सल्यान वितरण केन्द्रको कार्यालय समय सकिँदै थियो, कर्मचारीहरू बिस्तारै घर फर्किने तयारीमा थिए । तर नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्र परिसरमा एउटा असामान्य दृश्य देखियो– एक जना वडाअध्यक्ष भने विद्युतको मिटर माग्दै वितरण केन्द्रको परिसरमा धर्ना बसे । यो कुनै पूर्वघोषित आन्दोलन थिएन, न त कुनै राजनीतिक प्रदर्शन । यो एउटा आवश्यकता थियो, जसले प्रतिरोधको रूप लियो ।

कपुरकोट गाउँपालिका–३ का वडाअध्यक्ष प्रदीप खड्का आफ्ना वडाका तीन जना सेवाग्राहीका लागि विद्युत मिटर लिन पुगेका थिए । आवश्यक कागजी प्रक्रिया पूरा गरिसकेपछि पनि कर्मचारीबाट मिटर उपलब्ध नहुने जवाफ पाएपछि उनले घर फर्कने बाटो रोजेनन् । बरु, विरोधस्वरुप त्यहीँ रातभर बस्ने निर्णय गरे ।

ग्रामीण भेगबाट सदरमुकामसम्मको यात्रा आफैंमा सजिलो हुँदैन । खर्च, समय र अनिश्चितताको बोझ बोकेर सेवाग्राहीहरू कार्यालय पुग्छन् । वडाध्यक्ष खड्का पनि त्यही यथार्थसँग परिचित थिए । त्यसैले ‘आज होइन, भोलि’ भन्ने जवाफ उनका लागि स्वीकार्य भएन ।

साँझ ५ बजेदेखि सुरु भएको उनको धर्ना राति अबेरसम्म लम्बियो । अँध्यारो बढ्दै गयो, तर उनी टसमस भएनन् । मिटर पाउनुपर्ने माग राख्दै उनी भुइँमै झोलाको सिरानी राखेर सुते ।

दिनभर ‘तत्काल दिन नमिल्ने’ भनिएको मिटर, अन्तत: राति उपलब्ध गराइयो । करिब साढे १० बजेतिर वितरण केन्द्रका कर्मचारीले सेवाग्राहीका लागि मिटर उपलब्ध गराए । अनि वडाध्यक्ष खड्काले आफ्नो धर्ना अन्त्य गरे ।

जनप्रतिनिधि आफैं धर्नामा बस्नुपर्ने अवस्था सामान्य होइन । यसले एउटा गहिरो सन्देश दिएको छ– यदि जनप्रतिनिधि नै यसरी संघर्ष गर्न बाध्य छन् भने, सर्वसाधारण नागरिकको अवस्था कस्तो होला ? यो घटनाले सेवा प्रणालीभित्रको असन्तुलनलाई उजागर गरेको छ जहाँ प्रक्रिया र व्यवहारबीच दूरी छ र त्यो दूरीले नागरिकलाई सास्ती दिएको छ ।

वडाध्यक्षको धर्ना तोडिएसँगै सेवा प्रवाहलाई छिटो र सहज बनाउने सहमति पनि भएको बताइएको छ । तर नेपालजस्ता सन्दर्भमा सहमति नयाँ होइन, चुनौती त्यसको कार्यान्वयनमा हुन्छ ।

सल्यानको यो घटनाले सेवा प्रवाहमा प्रक्रिया आवश्यक छ, तर त्यसलाई मानवीय बनाउनु अझ आवश्यक छ भन्ने उजागर गरेको छ । सेवा प्रणाली कागजमा होइन, नागरिकको अनुभवमा मापन हुन्छ । सरकारको सफलता र असफलता पनि त्यसैमा निर्भर रहन्छ ।

सांसद मल्लको प्रश्न– जनप्रतिनिधिसँग यो रवैया देखाउनेले सर्वसाधारणलाई के गर्छन् होला ?

यसैबीच सल्यानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रमेश मल्लले यो घटनाले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘कपुरकोट गाउँपालिका ३ का वडाअध्यक्ष प्रदीप खड्काले नेपाल विधुत प्राधिकरणको सल्यान कार्यालयबाट तीन थान मिटरबक्स लिन मध्यरातसम्म धर्नामा बस्नु परेको विषयले हामी सबैको गम्भीर ध्यानाकर्षण गरेको छ । उहाँले म धर्नामा छु भनेर मलाई कल गर्दा बेलुकीको ६:३० बजेको थियो र मैले लगत्तै सल्यानका प्रमुख जिल्ला अधिकारीज्यूमार्फत कार्यालय प्रमुखको मोबाइलमा घण्टी बजाएको थिएँ ।’

उनले थप लेखेका छन्, ‘सेवा प्रवाहमा प्रक्रियाको नाममा देखिएको यो ढिलासुस्ती र वेवास्ताले गम्भीर मात्र बनाएको छैन, जनप्रतिनिधिसँग यो रवैया देखाउनेले सर्वसाधारणलाई के गर्छन् होला ? भन्ने संगीन प्रश्न खडा गरेको छ ।’

उनले यो घटनाको न्यायोचित छानबिन गर्न, दोषीलाई कार्बाही गर्न र सेवा प्रवाहलाई चुस्त बनाउन नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।

चितवनमा बोलेरो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

चितवन, ६ चैत । चितवनको राप्ती नगरपालिका–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा बोलेरो र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
विहिवार साँझ करिब ७:२० बजे लोथरतर्फबाट भण्डारातर्फ आउँदै गरेको बा.प्र ०३–००३ प ७९७९ नम्बरको मोटरसाइकल र भित्री सडकबाट राजमार्गमा प्रवेश गर्दै गरेको प्र.२–०३–००१ च ७१२ नम्बरको बोलेरो एकापसमा ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक राप्ती नगरपालिका–२ गड्यौलीका करिब २७ वर्षीय दिपेश उप्रेती गम्भीर घाइते भएका थिए। उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

घाईतेलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा राति ८:१२ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बोलेरो चालक बारा कलैया नगरपालिका–१२ का करिब ३७ वर्षीय शैलेश कुमार यादव पनि प्रहरी नियन्त्रणमा रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।