Home Blog Page 73

आफै चढेको बसले ठक्कर दिँदा चितवनमा एक तीर्थयात्रीको मृत्यु

चितवन, वैशाख १३ पूर्वी चितवनको राप्ती नगरपालिकामा आफै चढेर ओर्लिएको बसले ठक्कर दिँदा एक तीर्थयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० वर्षीय निमा कुमारी रिजाल रहेकी छन् ।

आज बिहान ७ बजेको समयमा राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधाम तीर्थ गएर आएको बागमती प्रदेश-०३–००१ ख २७५३ नम्बरको बसमा सवार रिजाललाई ओर्लिने क्रममा सोहि बसले ठक्कर दिएको हो ।

बसको ठक्करबाट गम्भिर घाइते भएकी रिजालको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा बिहान ७ः५० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

ठक्कर दिने बस र बस चालक मकवानपुर हेटौडा उपमहानगरपालिका–१८ बस्ने बर्ष ४१ को कृष्ण सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

नझुक्किनुस ट्रक चढेका हात्ती नेपालका होइनन्, कतार जाने हात्ती अझै सौराहामै छन्

अहिले सामाजिक सन्जालमा हात्ती ट्रकमा चढेको एउटा भिडियो भाइरल छ । त्यो भिडियोमा हात्ती एउटा टुलमा टेकेर ट्रकको ट्रलीमा उक्लिएको देखिन्छ ।

धेरै सामाजिक सन्जाल प्रयोगकर्ताले त्यो भिडियोलाई नेपालबाट कतार पठाउन लागिएको हात्ती यही हो भन्दै सेयर गरिरहेका छन् ।

तर त्यो सत्य भने होइन । मंगलबार काठमाडौं आएका कतारका राजा शेख तमिम विन हमाद अल थानी बुधबार स्वदेश फर्किएलगत्तै उनीसँगै हात्ती पनि पठाइयो भनेर सामाजिक सन्जालमा गलत प्रचार भइरहेको छ ।

जबकी कतार पठाउने भनिएका हात्ती चितवनको सौराहास्थित खोरसोरमै छन् । केही अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया पूरा गर्न बाँकी नै भएकाले ती हात्तीलाई कतार पठाउन केही दिन अझै लाग्ने वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता बद्रिराज ढुंगानाले प्राविधिक र प्रशासनिक विषय मिलाउनुपर्ने भएकाले नेपालका हात्ती कतार पठाउन समय लाग्ने बताए । उनले भने, ‘हात्ती पठाउने भनेको कसैलाई मुठ्ठीदान गरेजस्तो होइन, यसका आफ्नै प्रक्रियाहरु छन्, ती पूरा गर्न बाँकी छ । प्रक्रिया पूरा भएपछि हात्तीको स्याहारसुसार, उपचार, मोनिटरिङ लगायतका सबै सिस्टमसहित कतारलाई ह्याण्डओभर गरिने छ ।’

उनका अनुसार दुर्लभ वन्यजन्यु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस) अनुसार त्यसको ओसारपसारका लागि सम्झौता र साइटिस अनुमति चाहिन्छ । तर हात्ती लेन–देन गर्नका लागि साइटिस अनुमतिपत्र आइसकेको छैन ।

तासको खालबाट रत्ननगरमा आठजना पक्राउ

उज्यालो नेपाल- रत्ननगरमा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्  रत्ननगरको वडा नं. १२ मिलिजुलीटोलमा हिजो वैशाख १० गते स्थानिय हिराबहादुर गोलेको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा रत्ननगर १२ बस्ने हिरा बहादुर गोले, सोहि स्थान बस्ने, राम प्रसाद भट्टराई, लुमणी प्रसाद बास्ताकोटी, ऋषिराम आचार्य, कृष्ण बुढाथोकी, केईन्द्र बस्नेत, राजकुमार साह र गोविन्द भुषाल छन् ।

निजहरुबाट एक लाख उनान्चालिस हजार आठ सय तिस रुपैया र तास ३ बुक समेत बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ ।

 

परियार एकता समाजको सांस्कृतिक कार्यक्रम सम्पन्न ।

परियार एकता समाजको आयोजनामा ‘परियार एकता मिलन समारोह विविध सांस्कृतिक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

समाजका अध्यक्ष सुरज परियारको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गायक एवम समाजसेवी श्रीकृष्ण आले मगर प्रमुख अतिथि रहनु भएको थियो।

छुवाछुत बिरुद्ध अभियान नेपालका केन्द्रीय अध्यक्ष कर्ण बहादुर बिश्वकर्माले औपचारिक खण्डमा छुवाछुत बिषयमा प्रशिक्षण दिनु भएको थियो।

संस्थाका संस्थापक अध्यक्ष कुमार परियारले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको सो कार्यक्रममा गायकहरु प्रेम परियार, राम परियार,आयुष परियार, भुवन प्यासी लगायतको साङ्गीतिक प्रस्तुति रहेको थियो ।

टराैलीमा नि:शुल्क स्वास्थ्य शिविर : २६४ जनाले सेवा लिए

रत्ननगर । चितवनको रत्ननगर वडा नं ५ मा शनिबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २६४ जनाले सेवा लिगेका छन ।

शिविरमा छालाराेगका २१ जना , बालराेगका ३१ जना, स्त्रीराेगका २२ र हाड जाेर्नी राेगका १९० जना गरि  २६४ जनाले स्वास्थय परिक्षण गराएका हुन। भने  १२२ जनाले प्रयोगशाला सेवाकाे लिगेका छन ।

उक्त स्वास्थ्य शिविर माईक्रो बायाेलाेजी केन्द्रीय विभाग त्रिवि, रत्ननगर नगरपालिका वडा नं ५काे कार्यालय , नगर स्वास्थ्य केन्द्र टराैली, झुवानी सामुदायिक पुस्तकालय र सृजनशिल शिप सिकाई केन्द्रकाे संयुक्त आयोजनामा सम्पन्न भएकाे हाे ।

वडामै सहजरुमा सम्पूर्ण स्वास्थय सेवा उपलब्ध गराउने उद्देश्यले याे शिविर सञ्चालन गरिएकाे वडाध्यक्ष बालकृष्ण चापागाईले वताए ।

गाउबाट सहर सम्म पुग्न समय लाग्ने र हस्पिटलमा धेरै समय लाग्ने हुदा गाउदेखि  स्वास्थ्य परिक्षण गराउन स्थानिय सेवाग्राही  नजाने हुदा समय समयमा यस्ता प्रकारकाे शिविरहरु वडामै सञ्चालन गरिएकाे उनले वताए ।

छिट्टै बकुलहर रत्ननगर अस्पताल संगकाे सहकार्यमा टराैली केन्द्रबाट हप्ताकाे १ दिन विशेषज्ञ डाक्टरहरूबाट सेवा दिने तयारि भैरहेकाे समेत उनले वताएका छन् ।

त्यस्तै साप्ताहिक रुपमा विहिबार प्रयाेगशाला सहित स्वास्थ्य सेवा उपलब्ध गराएकाे स्वास्थय केन्द्र टराैलीमा बेला बेलामा विशेषज्ञ डाक्टरहरुकाे साथमा स्वास्थय सेवा उपलब्ध गराउदा स्थानिय सेवाग्राहीहरुलाई सुलभ हुने केन्द्रका प्रमुख  शिनियर अहेव गाेबिन्द प्रसाद शर्माले बताए ।

केन्द्रबाट दैनिक ४५ जनाभन्दा वढिले सेवा लिने गरेकाे वताए ।

खेतमै जल्यो भित्र्याउने बेलाको गहुँ

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ।

दोधारा चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले जानकारी दिए। उनले स्थानीय पुजन बरालसहित १५ स्थानीयको गहुँबालीमा आगलागी भएको बताए।

‘आगलागीबाट सात बिघा जमिनको गहुँबाली पूर्ण रूपमा क्षति भएको छ’, बस्नेतले भने, ‘स्थानीय, सुरक्षा निकाय, जनप्रतिनिधि र भीमदत्त र दोधारा चाँदनी नगरपालिकाको दमकलको सहायताले आगो निभाइएको थियो।’

भित्र्याउने बेलाको गहुँ खेतमै जल्यो

टीकापुर–कैलालीको जोशीपुर गाउँपालिका र भजनी नगरपालिकामा आगलागीबाट किसानको घर भित्र्याउने बेलाको गहुँ खेतमै जलेको छ। जोशीपुरमा १३ कठ्ठा र भजनीमा आठ कठ्ठा जमिनमा लगाएको गहुँ नष्ट भएको हो।

आगलागीबाट जोशीपुर–४ खर्चुवाका किसान परशुराम चौधरीको काटेर थुपारेको र काट्न बाँकी रहेको गहुँ जलेको इलाका प्रहरी कार्यालय जोशीपुरले जानकारी दिएको छ। तेह्र कठ्ठा जमिनमा लगाएको बाली नष्ट भएपछि चौधरीको परिवार पीडामा छ।

स्थानीयका अनुसार बिजुलीको तार गहुँखेतमा लत्रिएका कारण आगलागी भएको हो। आगो स्थानीय बासिन्दा, प्रहरी र टीकापुरको दमकलको सहायतामा निभाइएको थियो।

यसैगरी, भजनी नगरपालिका वडा नं. ८ जनकपुरमा नारायणप्रसाद देवकोटाले आठ कठ्ठामा लागएको काट्ने बेला भएको गहुँमा आगो लागेको छ। रासस

प्रिमियर कपमा नेपालले युएईसँग सेमिफाइनल खेल्दै

७ वैशाख, काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याह्न ११ः४५ मा अलअमरेत क्रिकेट ग्राउन्ड १ मा सुरु हुनेछ ।

नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा भिड्न लागेका हुन् । नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् ।

नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरेवियालाई ६ विकेटले हराएको थियो । युएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ रन र कम्बोडियालाई ९ विकेटले हराएको थियो । ओमानसँग युएई ९ विकेटले हारेको थियो ।

नेपाल २०२२ फेब्रुअरीमा यही मैदानमा आईसीसी टी–२० विश्वकप छनोट ए को सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित हुँदै बाहिरिएको थियो । नेपाललाई त्यस हारको समेत बदला लिने अवसर समेत छ ।

ओपनर कुशल भुर्तेल र आसिफ शेखबाट नेपाल पावर प्लेमा आक्रामक सुरुवात चाहन्छ । रोहित पौडेल, कुशल मल्ल, गुलशन झा र सन्दीप जोराले पनि जिम्मेवारी लिनुपर्छ । करण केसी र सोमपाल कामीको सुरुवाती स्पेल महत्वपूर्ण हुनेछ ।

युएईका ब्याटरको स्पिनरविरुद्ध त्यति राम्रो इतिहास छैन । त्यसैले दीपेन्द्र र ललितको स्पेल निर्णायक बन्न सक्छ । साउदी अरेवियासँगको खेलमा खेलेका प्रतिश जिसीकोे स्थानमा सोमपाल फर्किने पक्काजस्तै छ ।

युएईका कप्तान मोहम्मद वासिम, एलिशान शराफु र आसिफ खान प्रमुख ब्याटर हुन् । एलिसान शराफुले ४ खेलमा २ अर्धशतकसहित १८९ रन बनाउँदै यो प्रतियोगितामा धेरै रन जोड्नेको सूचीमा तेस्रो स्थानमा छन् । आसिफ खान ४ मध्ये ३ खेलमा अर्धशतकका साथ २११ रन जोड्दै शीर्ष स्थानमा छन् ।

मोहम्मद वासिम १५८ रनका साथ पाँचौं स्थानमा छन् । बासिल हामिद, आयन खान र अली नासिर पनि मध्यक्रममा राम्रो ब्याटिङ गर्न सक्ने खुबी भएका क्रिकेटर हुन् । यसअघि जस्तो वासिममा मात्रै युएई निर्भर देखिँदैन । बलिङ युएईको कमजोर पक्ष हो ।

हेड टु हेड

नेपाल र युएईबीच ९ टी–२० आई खेल भएका छन् । नेपाल ५ मा जित र ४ मा पराजित भएको छ ।

आज वर्षाले खेलमा असर नपार्ने देखिन्छ । प्रतियोगिता विजेताले टी–२० एसिया कप र शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । दोस्रो सेमिफाइनल खेलमा आज हङकङ र ओमानबीच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार हुनेछ । तेस्रो स्थानका लागि शनिबार खेल हुनेछ ।

नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहरा ।

यूएईको टोली : मोहम्मद वासिम (कप्तान), आयन खान, एलिशान शराफु, अली नासिर, आसिफ खान, बासिल हामिद, जुनैद सिद्दिक, मोहम्मद फारुक, मोहम्मद हैदर शाह, ओमैद रहमान, राहुल भाटिया, राजा अकिफ, टानिश सुरी र विष्णु सुकुमारान ।

बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो

भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम प्रहरीको रोहबरमा रकमका धनीलाई बुझाएका छन्।

पोखरा महानगरपालिका वडा नम्बर ३ बस्ने छोटुलाल शर्माले बाटोमा फेला पारेको रकम माता श्री ज्वेलर्सका सञ्चालक ध्रुवकुमार सुनारलाई बुझाएका हुन्।

बिहीबार दिउँसो साढे १ बजेटिर पोखरा–८, पृथ्वीचोकमा रहेको ज्वेलर्सबाट त्यहाँका कालिगढ मनोहर पवँर रकम जम्मा गर्न नयाँबजारको कृषि विकास बैंक जाने क्रममा बाटोमा सो रकम राखिएको झोला खसेको थियो।

मोटरसाइकलको लेगार्डमा राखिएको रकमसहितको झोला खसेको र पाउने शर्माले प्रहरीलाई जानकारी गराएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

रकम हराएको जानकारी आएपछि कास्की प्रहरी प्रहरी नायब उपरीक्षक शर्माको नेतृत्वमा खोजतलासमा खटिएको थियो।

यूएईमा बाढीमा परी चितवनका एक युवाको मृत्यु

Cars Are Stuck On A Flooded Road After A Rainstorm Hit Dubai, In Dubai, United Arab Emirates, April 17, 2024. (Photo: Reuters/Rula Rouhana)

चितवन । युनाइटेड अरब इमिरेट्स (यूएई)मा आएको बाढीमा परेर चितवनका एक श्रमिकको मृत्यु भएको छ ।

आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुर महानगरपालिकाका मोहन पुनको बाढीमा परेर मृत्यु भएको हो ।

सरकारी कार्यालय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी दिन नसकिएको दूतावासको भनाइ छ । मृतक पुन भिजिट भिसामा यूएई पुगेको दूतावासले जनाएको छ ।

यूएईको शारजाहबाट अजमान जाने बाटोमा रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ ।

उनी सोही स्थानमा रहेको बेल क्याफे रेष्टुरेन्टमा काम गर्दथे । यूएईमा तीन दिनदेखि निरन्तर पानी परेर बाढी आइरहेको छ ।

ट्रक र म्याजिक ठोक्किँदा चितवनमा १७ जना घाइते

चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना घाइते भएका छन्।

आज बिहान नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ चौध किलो भन्ने स्थानमा मुग्लिनबाट नारायणगढ तर्फ आइरहेको ना १ ज ४९५७ नम्बरको म्याजिकको टायर पंचट भई विपरीत दिशाबाट आइरहेको प्रदेश २–०३–००१ ख ०७०६ नम्बरको ट्रकमा ठोक्किँदा सो दुर्घटना भएको हो।

दुर्घटनामा म्याजिकमा सवार चालक सहित घाइते भएका १७ जनाकाे भरतपुरको चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ।

दुर्घटनामा इच्छाकामना गाउँपालिका–४ की ४८ वर्षीय माया राना र ईच्छाकामना–३ की ३३ वर्षीय तारा गुरुङ गम्भीर घाइते भएका छन्। उनीहरुको चितवन मेडिकल कलेजमा अपरेशन भइरहेको चितवन प्रहरी प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए।

ट्रकचालक मकवानपुर वकैया गाउँपालिका–३ बस्ने २४ वर्षीय सन्तवीर बम्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइतेहरु सबै इच्छाकामना गाउँपालिकाका रहेका छन्।