Home Blog Page 72

रत्ननगर- १५ मा गर्भवती र सुत्केरी महिलालाई पोषण सामग्री वितरण

बैशाख १७ । रत्ननगर वडा नम्बर १५ का गर्भवती र सुत्केरी महिलालाई पोषण सामग्री वितरण गरिएको छ । सोमवार वडा कार्यालयले वडा भित्रका १० जना गर्भवती र सुत्केरी महिलालाई सामग्री वितरण गरेको हो ।

सुरक्षित मातृत्व अन्तर्गत गर्भवती र सुत्केरी आमालाई पोषण तथा सरसफाई सामग्री वितरण गरिएको वडा अध्यक्ष आशिक तामाङले जानकारी दिए । पोषण सामग्री अन्तर्गत कुखुराकाे भाले, अण्डा, घ्यू, ब्रस, मन्जन, लगायत सरसफाईका सामग्री वितरण गरिएको तामाङले बताए ।

आर्थिक वर्ष २०८०/०८१ मा वडाले ३० जना गर्भवती तथा सुत्केरी महिलालाई पोषणका सामग्री बितरण गरेकाे जानकारी दिए । बाँकी रहेकाे १६ जनालाई चाडै बितरण गर्ने तयारी भईरहेकाे उनकाे भनाईछ ।

पोषण सामग्री वितरण गर्दै वडाध्यक्ष तामाङले गएको वर्षदेखी वडाले पोषण सामग्री वितरण गर्दै आइरहेको भन्दै गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यप्रति वडाले ध्यान दिदै सामग्री वितरण सँगै नियमित स्वास्थ्य जाँच गराइरहेको बताए ।

आगामी आर्थिक वर्ष २०८१/०८२ मा समेत सुरक्षित मातृत्व कार्यक्रमलाई निर्नतरता दिने वडा अध्यक्ष तामाङकाे भनाई छ ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका सामाजिक विकास समितिका संयाेजक तथा वडा नं. ५ का वडा अध्यक्ष बालकृष्ण चापागाईले वडा बासिलाई प्रत्यक्ष लाभ पुग्ने किसिमका कार्यक्रम ल्याएकाेमा धन्यवाद व्यक्त गरे ।

वडा नं. १५ ले गर्ने विभिन्न किसिमका कार्यहरूमा नगरपालिकाले सहयाेग गर्ने उनले प्रतिवद्ता जनाए ।

कार्यक्रममा वडा सदस्य शिव तिवारी, लिलादेवी पोखरेल, रुकमाया परियार, वडा सचिव सुर्य प्रसाद ढुङ्गाना लगायतको उपस्थिती रहेको थियो ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र रत्ननगर- १५ की इन्चार्ज रोजीना गिरीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि, एमाले ७६७७, कांग्रेस ५३९५

इलाम, बैशाख १७ । इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् ।

उनले ७ हजार ६७७ मतका साथ अग्रता कायमै राखेका हुन् ।

सुहाङलाई कांग्रेसका उम्मेदवार डम्बर खड्काले पछ्याइरहेका छन् ।

कांग्रेसका खड्काले ५ हजार ३९५ मत ल्याएका छन् । एमाले र कांग्रेसका उम्मेदवारको मतान्तर २२ सय ८२ रहेको छ ।

तेस्रो स्थानमा रहेका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४ हजार ५८ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ११ सय ६२ मत पाएका छन् ।

इलामको फाकफोकथुम र चुलाचुली १,२,३ को मत गणना सकिँदा एमालेले अग्रता बढाउँदै गएको हो ।

इलाम २ मा शनिबार उपनिर्वाचन भएको हो ।

वित्तिय अनुशासन कायम हुन नसक्दा आर्थिक संकट : सिईओ पाण्डे

रत्ननगर,बैशाख १६- नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले वित्तिय अनुशासन कायम हुन नसक्दा देशमा आर्थिक संकट देखा परेको बताएका छन।

रत्ननगर उद्योग बाणिज्य संघले आईतवार आफ्नै स्वागतको लागि राखेको कार्यक्रममा बोल्दै उनले कोरोनापछि वित्तीय अनुशासनमा बस्न नसक्दा आर्थिक संकट पैदा भएको बताएका हुन।

कार्यक्रममा बोल्दै उनले अनुत्पादक क्षेत्रमा लगानी हुँदा समेत मुलुकमा आर्थिक संकट पैदा भएको बताएका छन् ।

कोरोनापछि सरकारले वित्तीय औजार प्रयोग गर्न नसकेको भन्दै उनले त्यसको प्रत्यक्ष मार मुलुकको आर्थिक क्षेत्रले भोग्नु परेको बताए।

एकातिर राजनीतिक अस्थिर र अर्को तर्फ कोरोना महामारीको असरले आर्थिक सन्तुलन कायम हुन नसकेको उनले बताए ।

कोरोनाले थलिएका विश्वका अन्य देशहरुले वित्तीय औजारको रुपमा व्यक्तिको खाता खातामा पैसा हालेको भन्दै उनले नेपाल सरकारले भने कुनै पनि प्रकारको वित्तीय औजार प्रयोग गर्न नसकेको उनको भनाई छ ।

कोरोनापछि बैंकबाट ऋण लिएर उत्पादनशिल क्षेत्रमा लगानी हुँन नसक्दा अर्थतन्त्रमा समस्या देखिएको प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताए । बैंकबाट ऋण लिएर घरजग्गा र शेयर बजारमा लगानी गरियो उनले भने पैसा जग्गा र शेयरमा गएर जाम भयो, त्यसको असरले मुलुक थलिएको छ ।

बजारमा हल्ला गरेजस्तो आर्थिक संकट नरहेको भन्दै उनले मौद्रिक नीतिमा सुधार गरे संकट अन्त्य हुने दावी गरे । उनले नेपाल बैंकले आर्थिक कारोबारको अलवा समाजप्रति उत्तिकै उतरदायी रहेको बताए ।

बैंकलाई समाजसंग नजोडी सफलता प्राप्त गर्न नसकिने भन्दै समाजको आवश्यकता पहिचान गरी सामाजिक उत्तरदायित्वका गतिविधि गर्र्दै आएको पाण्डेले बताए । बैंक र ग्राहकको सम्बन्धलाई ऋणिको रुपमा नहेरी सहयात्रीको रुपमा लिन उनले आग्रह गरे । कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले पाण्डेलाई स्वागत गरेका थिए ।

सो अबसरमा गिरीले संकटको अबस्थामा व्यवसायीलाई पलायन हुन नदिन बैंकहरुले व्याज, किस्ता र अन्य जटिलतामा लचकता हुनुपर्ने बताए । व्यवसायीहरु ऋण तिर्न प्रतिबद्ध रहेको भन्दै अध्यक्ष गिरीले शंकटको अबस्था विर्सिएर बैंक तथा वित्तीय संस्थाले ऋणिलाई धरपकट गर्न नहुने बताए । उनले व्याजदर समायोजन र सहज कर्जाको व्यवस्था मिलाउन आग्रह समेत गरेका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उवा संघ रत्ननगरका निवर्तमान अध्यक्ष अनिलकृष्ण श्रेष्ठ, संघका संस्थापक अध्यक्ष हरिशरण पाठक, संघका उपाध्यक्ष हरिप्रसाद अधिकारी, केरा उत्पादक महासंघका संयोजक विष्णुहरि पन्त लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले सञ्चालन गरेका थिए । कार्यक्रममा नेपाल बैंक टाँडी शाखाका प्रमुख सरोज खनाल,संघका पूर्वअध्यक्षहरु, पदाधिकारी तथा कार्यसमिति सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाई हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाई आज हुँदैछ ।

उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाई हुन लागेको हो । यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो ।

सन्दीप पक्षका वकीलहरुले मुद्दालाई प्राथमिकतामा राखेर हेर्नुपर्ने बताउँदै आएका छन् ।

बागलुङ कालिकामा चैते दसैंको भेटी गत वर्षभन्दा ११ लाख घट्यो

१५ वैशाख, बागलुङ (गलकोट) । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा चैते दसैंको अवसरमा ४० लाख रुपैयाँ भेटी सङ्कलन भएको छ ।

कालिका मन्दिरमा बडादसैं र चैते दसैंमा सबैभन्दा बढी भेटी सङ्कलन हुँदै आएको छ । कालिका मन्दिरमा यस पटकको चैते दसैं (नवरात्री)को अवसरमा ४० लाख ७२ हजार ५५८ रुपैयाँ भेटी सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

उनका अनुसार गत वर्षको चैते दसैंको अवसरमा सङ्कलित भेटीको तुलनामा यस पटक ११ लाख कम सङ्कलन भएको छ । गत वर्षको चैते दसैंमा ५१ लाख रुपैयाँ भेटी सङ्कलन भएको थियो ।

नवरात्र सुरु भएपछि चैते दसैं अवधिभर पाँच लाखभन्दा बढी दर्शनार्थीले कालिका मन्दिर दर्शन गरेका थिए । उनीहरुले चढाएको भेटी, नगद सहयोग, बलि लगायतबाट उक्त रकम भेटी चढाएका छन् ।

चैते दसैंको अवसरमा कालिका भगवती मन्दिरमा यस पटक बलिको सङ्ख्या घटेकाले अघिल्लो चैते दसैंको तुलनामा ११ लाख रुपैयाँ कम भेटी सङ्कलन भएको खड्काको भनाइ छ ।

‘यस पटकको चैते दसैंमा दर्शनार्थी बढेको तर बलि घटेको पाइएको छ, बलि घट्नासाथ भेटीमा कमी आएको हो, तर धार्मिक पर्यटकको सङ्ख्या क्रमशः बढ्दै आएको हामीले पाएका छौँ, चैते दसैंमा पाँच लाख भन्दा बढी धार्मिक पर्यटक मन्दिरमा आएका छन्’, खड्काले भने, ‘चैते दसैंको नवरात्र अवधिभरमा सबैभन्दा बढी भेटी चैत्राष्टमी (चैते दसैं)को दिनमा नौ लाख १८ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ ।’

मन्दिर आसपासमा रहेका सटरबाट मन्दिरले मासिक रु तीन लाख १४ हजार भाडा असुल गर्दै आएको छ । त्यसबाहेक मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाइ हुने गरेको छ ।

परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुरसमेतबाट आम्दानी जोडिने गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव निशान खड्काले जानकारी दिए ।

पाल्पामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१५ वैशाख, पाल्पा । पाल्पामा टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका-६ जुठापौवाका ४६ वर्षीय जगबहादुर बलाल रहेको प्रहरीले जनाएको छ ।

शनिबार बेलुका सिद्धार्थ राजमार्गको दोभानदेखि तिनाउ गाउँपालिका–१, कचलको सर्वोत्तम चुनढुंगा खानीतर्फ जाँदै गरको लु २ ख ८७४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु १७ प १५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बलालको घटनास्थलमै मृत्यु दोभान प्रहरी चौकीले जानकारी दिएको छ ।

मोटरसाइकल ओरालोमा पल्टिएको र विपरीत दिशाबाट गएको टिपरले चालकलाई ठक्कर दिएको हुनसक्ने प्रहरीले जनाएको छ । टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको मतगणना आइतबार मात्रै हुने भएको छ ।

माङ्सेबुङ, फाकफोक र चुलाचुली गाउँपालिकाको मतपेटिका आउन ढिला हुने भएपछि आइतबार मात्रै मतगणना हुने भएको हो।चुलाचुली गाउँपालिका–६ साक्फारास्थित तोरीबारी क्षेत्रको मतपेटिका मोरङको मधुमल्ला हुँदै ल्याउनुपरेकाले समय लाग्ने भएको हो।

त्यस्तै फाकफोक गाउँपालिकास्थित फाक्तिब क्षेत्रको मतपेटिका पाँचथरको रवि बजार हुँदै इलाम सदरमुकाम ल्याउनुपर्छ। त्यहीकारण मतगणना भोलि मात्रै हुने भएको हो।

मतगणनाका लागि आइतबार बिहान ७ बजे सर्वदलीय बैठक डाकिएको छ। त्यसपछि इलाम नगरपालिकास्थित सिटी हलको (गौतम बुद्ध सभागृह) मा मत गनिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणनाका लागि शनिबारै सभागृहको हलमा ११ वटा सीसी क्यामेरा जडान गरिएको छ।

इलाम–२ मा शनिबार भएको मतदानमा जम्माजम्मी ५८ प्रतिशत मत खसेको थियाे । निर्वाचन आयोगका अनुसार इलाम २ मा एक लाख १६ हजार ८८९ मतदाता छन् ।

यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवारले चुनावी प्रतिष्पर्धामा छन् । एमाले सांसद सुवासकुमार नेम्वाङको निधनपछि रिक्त रहेको निर्वाचन क्षेत्रका लागि शनिबार मतदान भएको हो।

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

बागलुङबाट पोखरा आउँदै गरेको बस साँझ पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ । ग१ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए । बसमा ३६ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ ।

घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको र दुर्घटनाको थप विवरण आउन बाँकी रहेको शर्माले जानकारी दिए । “घाइतेलाई उद्धार गरी पोखराका विभिन्न अस्पतालमा लगिएको । चालकलाई प्रहरीको नियन्त्रणमा लिएका छौँ, थप विवरण आउन बाँकी छ”, शर्माले भने ।

तनहुँबाट रिजर्भका लागि बागलुङ गएको बस पोखरा हुँदै तनहुँ फर्किने क्रममा साँझ दुर्घटनामा परेको थियो ।

चितवनमा सामुदायिक वनका उपभोक्तालाई पानीमैत्री कृषि प्रविधि प्रयोग सम्बन्धी अभिमुखीकरण

उज्यालो नेपाल- चितवनका पांच वटा सामुदायिक वनका झन्डै ५० जना उपभोक्तालाई पानीमैत्री कृषि प्रविधि प्रयोग सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ ।

समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा कामगर्दै आएको गैरसरकारी संस्था सहमतिले ईच्छाकामना र कालिकाका सोमरी सामुदायिक वन, रानीखोला सामुदायिक वन, चतुर्मुखी सामुदायिक वन, अमलाचुली सामुदायिक वन र भिमवली सामुदायिक वनका उपभोक्ताहरुलाई एकदिने अभिमुखीकरण प्रदान गरेको हो ।

कार्यक्रममा सहभागीहरुलाई तरकारी खेतीमा आवश्यक सिंचाईको लागी पानीमैत्री कृषि कर्महरु जस्तै: थोपा सिंचाई, छापो लगाउने, छोपुवा बाली, पानी संकलन, खडेरी सहनसक्ने जातको खेती, फर्टिलाइजर सहितको सिंचाई जस्ता विषयमा ज्ञान प्रदान गरिएको सहमतीका चितवन जिल्ला सामाजिक सहजकर्ता जनक सुवेदीले जानकारी दिए ।

कालिकाकै भिमवली सामुदायिक वन कार्यालयको सभाहलमा सम्पन्न भएको तालिमको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन थियो । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि चतुर्मुखी सामुदायिक वनका अध्यक्ष हरिकुमार गुरुङले यस्ता तालिमले किसानहरुको आर्थिक क्षमता बढाउन सहयोगी भूमिका खल्ने धारणा व्यक्त गरे ।

कार्यक्रमका सहभागीहरुलाई कृषि विकास कार्यालय चितवनका बाली विकास अधिकृत सरोज श्रेष्ठले  सहजीकरण गरेका थिए। सहमति संस्थाले डब्लु डब्लु एफ नेपालसँगको सहकार्यमा नवलपुर र चितवनका विभिन्ना क्षेत्रमा यस्ता कार्यक्रम संचालन गर्दै आएको छ ।

रत्ननगरकाे माधवपुरमा भाेलीदेखि प्रथम माधवपुर गाेल्डकप

रत्ननगर । चितवनकाे रत्ननगर वडा नं १५ स्थित माधवपुरमा भाेली शनिबार देखि प्रथम माधवपुर गाेल्डकप सुरु हुँदैछ ।

वडा कार्यालयसंगकाे सहकार्यमा माधवपुर खेलकुद विकास समितिले आयाेजना गरेकाे साे प्रतियाेगितामा १२ टिमकाे सहभागिता रहेकाे छ ।

आयाेजकले शुक्रबार पत्रकार सम्मेलनकाे आयाेजना गरी प्रतियाेगिताकाे उद्देश्य र तयारीका बारेमा जानकारी दिएकाे छ ।

प्रतियाेगिताकाे सम्पूर्ण तयारी पूरा भएकाे र भाेली बागमती प्रदेशका अर्थमन्त्री जगन्नाथ थपलियाले उद्घाटन गर्ने समितिका अध्यक्ष गणेश तामाङले जानकारी दिए ।

प्रतियाेगिताका संयाेजक भीमराज वाइवा खेलकाे माध्यमबाट माधवपुरलाई राष्ट्रिय स्तरमा परिचित गराउन प्रतियाेगिता आयाेजना गरिएकाे बताए ।

प्रतियाेगिताका राष्ट्रिय स्तरका टिमकाे सहभागिता रहेकाे छ । सेन्ट्रल कलेजले प्रायाेजन गरेकाे साे प्रतियाेगिता प्रथम पुरस्कार १ लाख ११ हजार १११, द्धितिय पुरस्कार ५५ हजार ५५५ र उत्कृष्ट खेलाडी, गाेल किप्पर, सर्वाधिक गाेलकर्तालाई पुरस्कृत गरिने संयाेजक वाइवाले जानकारी दिए ।

प्रतियाेगिता सम्पन्न गर्न करिब ७ लाख ५० हजार खर्च हुने अनुमान गरिएकाे छ । पत्रकार सम्मेलनका प्रमुख अतिथि वडाध्यक्ष आशिक तामाङले विकासकाे सुचक मध्येकाे खेलकुद रहेकाले वडा कार्यालयले यसलाई प्राथमिकतामा राखेकाे बताए ।

माधवपुरमा जग्गा भाडामा लिएर खेलमैदान तयार गरिएकाे भन्दै उनले वडा भित्रका युवाहरुलाई खेलकुदसंग जाेडेर कुलतकाे जाेखिमबाट मुक्त गर्ने दीर्घकालिन याेजना रहेकाे बताए ।

पत्रकार सम्मेलनमा वडा सदस्य इमप्रसाद पन्त सहित खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे ।