Home Blog Page 85

अस्पतालमा एक दिनको शिशु छोडेर आमा र हजुरआमा भागे

वीरगञ्जमा एक दिनको शिशु (छोरी) लाई अस्पतालमा छोडेर आमा र हजुरआमा फरार भएका छन्।

नारायणी अस्पतालमा शिशु छोडेर रानीघाट–६ वीरगञ्ज घर बताउने सीता देवी र बेडी देवी फरार भएकी हुन्। सुत्केरी बेथा लागेपछि सासुआमा बेडीसँगै सीता ११ फागुन शुक्रबार बेलुका अस्पताल आएकी थिइन्।

भोलिपल्ट शनिबार बिहान ६:३० बजे ३ केजी तौल भएकी स्वस्थ छोरी जन्माएकी थिइन्। चौथो सन्तान पनि छोरी नै जन्मिएको भनेर सासुआमा बेडी रिसाइरहेकी थिइन्। शनिबार दिनभर अस्पतालमै बसेका उनीहरु साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्डको आँखा छलेर भाग्न सफल भएका हुन्।

साँझ बेडमा बच्चा मात्रै देखेपछि स्वास्थ्यकर्मीहरुले उनीहरूको खोजी सुरु गरेका थिए। तर उनीहरु भेटिएनन्। आइतबार दिउँसो यो समाचार तयार पार्दासम्म उनीहरु बच्चा लिन आएका छैनन्।

प्रसूति वार्डको नर्सिङ इन्चार्ज हेमा थापाले छोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई अलपत्र छोडेर भागेको जानकारी दिइन्। ‘अस्पतालमा सासु र बुहारी मात्रै आएका थिएन, श्रीमान् खै भन्दा कमाउन गएका छन् भनेर भनेकी थिइन्।’ उनले भनिन् ‘ छोरी जन्मेपछि सासु रिसाइरहेकी थिइन्, बच्चा नै छोडेर भाग्छन् जस्तो लागेको थिएन। हिजैदेखि खोजी रहेका छौँ, भेटिरहेका छैनौँ।’

बच्चा स्वस्थ रहेको र एनआइसीयुमा राखिएको उनले बताइन्। अस्पताल वरपर खोजतलास गर्दा नभेटिएपछि घटनाबारे प्रहरीलाई समेत जानकारी गराइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चितरञ्जन साहले बताए।

‘विस्तृत विवरण अस्पतालको रेकर्डमा छैन, रानीघाट ६ भनेर ठेगाना लेखाएका रहेछन्, दुवै महिलासँग मोबाइल थिएन’ उनले भने ‘ छोरी जन्मेका कारण नै छोडेर भागेको हुन सक्छ। प्रहरीसँगको समन्वयमा खोजी भइरहेको छ।’

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले उनीहरूको खोजतलास जारी रहेको बताए। उनीहरुले गलत ठेगाना टिपाएर गएकोले खोजीमा कठिनाइ भइरहेको उनको भनाई छ।

‘उनीहरुले टिपाएको ठेगानामा त्यो नाम र हुलियाको मानिस भेटिएन, पहिले नै योजना बनाएर घटना घटाएको आशंका हामीले गरेका छौँ।’ डिएसपी थापाले भने ‘ अस्पतालमा भर्ना गराउन कुनैपनि आइडी कार्ड नचाहिने हुँदा गलत गर्नेलाई पनि सहज भएको छ।’

भरतपुर भ्रमण वर्ष: र्‍यालीमा सहभागी उकृष्ट वडालाई एक लाख रुपैयाँको पुरस्कार

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा उकृष्ट र्‍याली सहभागि वडालाई एक लाख रुपैयाँको जिन्सी पुरस्कारको व्यवस्था गरिएको छ । फागुन १८ गते उद्घाटन स्थल नारायणी नदी किनार पुग्ने वडागत र्‍यालीको समुहलाई विभिन्न कोणबाट मूल्याङ्कन गरी पुरस्कारको व्यवस्था गरिने छ ।

र्‍यालीमा सहभागिहरुले प्रस्तुत गर्ने भेषभुषा, रिजीरिवाज, झाँकी, बाजागाजा, अनुशासनको आधारमा मूल्यांकन समितिले नतिजा निकाल्ने छ । भरतपुरका २९ वटाका र्‍याली समुह मध्ये प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः रु १ लाख, ७५ हजार र ५० हजार जिन्सी पुरस्कार प्राप्त गर्ने महानगरपालिकाले जनाएको छ ।

र्‍यालीमा सबैभन्दा धेरै संख्यामा सहभागिता जनाउने वडाले मूल्याङ्कन धेरै अंक प्राप्त गर्ने छन् । यस्तै र्‍यालीमा अपनाईएको संस्कृति, भेषभुषा, अनुशासनलगायतका विषयमा मूल्याङ्कन समितिले अंक दिनेछ । उत्कृष्ट समुहलाई कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार र प्रमाण–पत्र प्रदान गर्नु हुनेछ ।

यस्तै उत्कृष्ट र्‍याली प्रस्तुत गर्ने ३ विद्यालयका विद्यार्थी समुहलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट र्‍याली प्रर्दशन गर्ने विद्यार्थी समूहलाई क्रमशः रु २० हजार, रु १५ हजार र १० हजार पुरस्कार राशी रहेको छ । उद्घाटन समारोहमा उत्कृष्ट प्रर्दशन गर्ने जातिय झाँकी, वडाको पहिचान, संस्थागत, सहकारी र समूहले रु २० हजार, १५ हजार र १० हजार रुपैयाँको पुरस्कारको व्यवस्था गरिएको छ ।

महानगरपालिकाले र्‍यालीको व्यवस्थापन गर्न वडागत अध्यक्षलाई जिम्मेवारी यसअघि नै जिम्मेवारी तोकिसकेको छ ।
र्‍यालीमा प्रयोग हुने व्यानरको आकार एउटै हुने पर्नेछ । महानगरका अनुसार ब्यानरको साईज ७ मिटर चौडाई र ३ मिटर उचाईको हुनुपर्ने छ । सहभागिले आफ्नो फहर आफैले व्यवस्थापन गर्नुपर्ने छ ।

भरतपुर भ्रमण वर्ष २०२४ लाई भव्य बनाउन नारायणी किनारमा ५० हजारभन्दा बढीको सहभागिता गराउने गरी महानगरपालिकाले तयारी गरिरहेको छ । ठुलो जनमानसको बीचमा भ्रमण वर्षको उद्घाटन गरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा भरतपुरलाई परिचित बनाउने महानगरले लक्ष्य लिएको छ ।

उद्घाटन समारोहका दिन नेपाल सरकारका प्रधानमन्त्री, मन्त्री, नेपालका शिर्ष नेतृत्व, बुद्धिजीवि, कर्मचारी, राष्ट्रिय कलाकारको उपस्थिति रहने छ । भ्रमण वर्षको औपचारिक उद्घाटनपछि वर्षभरि नै पर्यटकीय गतिविधिहरु हुनेछन् ।

यसका लागि महानगरपालिकाले पाटेबाघ देखाउन ओपन जु, संग्रालयका रुपमा दियालो बंगलालाई सञ्चालनमा ल्याउन लागेको छ । महानगरपालिकाका मुख्य ७ वटा प्रमु्ख पर्यटकीय गन्तव्यसहित ३५ वटा पर्यटकीय गन्तव्यको पहिचान गरिसकेको छ । भ्रमण वर्ष २०२४ लाई सफल बनाई भरतपुरलाई देशको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्ने उद्देश्य राखेको छ ।

अनेमसंघ रत्ननगरको सातौं नगर अधिवेशन

रत्ननगर । अखिल नेपाल महिला संघ रत्ननगर नगर कमिटीको अध्यक्षमा चन्द्रिका महत केसी चयन भएकी छन् । आइतबार सम्पन्न सातौं नगर अधिवेशनले केसीको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्ष सविता चौधरी, सचिवमा गीता सिंखडा, सहसचिवमा इन्दिरा नेपाल र कोषाध्यक्षमा कोपिला पौडेल चयन गरिएको छ ।

निर्बाचन समितिको संयोजकमा अनेमसंघकी केन्द्रीय सचिवालय सदस्य सरस्वती विष्ट र सदस्यहरुमा विमला दुवाडी, लक्ष्मी कोइराल, ज्वाला पुरी वन, विन्दा कार्की, अन्जना गौतम रहेका थिए । सर्वसम्मत निर्वाचित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी विष्टले पद तथा गोपनीयताको सपथग्रहण गराएकी थिइन् ।

कार्यक्रममा संघको स्थापपना तथा संस्थागत विकासमा योगदान गरेका महादेवी खतिवडा, चन्द्रिका बस्नेत, विष्णुकुमारी आचार्य, सपना बोहरा, वीरन्जना सापकोटालाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्ने केन्द्र, प्रदेश तथा जिल्ला स्तरका नेताहरुले पार्टीलाई संकट पर्दा अनेमसंघले काँध थाप्ने गरेको भन्दै एमालेलाई पुरानै अबस्थामा फर्काउन कस्सिएर काम गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा प्रदेश साँसद जेएन थपलियाले एमालेलाई कमजोर बनाएर नेपालको राष्ट्रियता माथि खेल्ने विदेशी शक्तिको योजना सफल नहुने भन्दै एमाले फेरी नेपाली राजनीतिको अग्रपंक्तिमा आउने विश्वास व्यक्त गरे ।

पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले एमालेजन एकताबद्ध भएर पार्टीलाई जुरुक्क माथि उठाउने बेला आएको बताए । अनेमसंघ जिल्ला अध्यक्ष विमला दुवाडीले एमालेले कहित्यै नहार्ने गरी पार्टी संगठन विस्तारमा लाग्नुपर्ने बताइन् ।

नवनिर्वाचित नगर अध्यक्ष केसीले पहिलो कार्यकालमा बटुलेको अनुभवलाई पार्टी निर्माणमा लगाउने आफुलाई अबसर प्राप्त भएको भन्दै महिला दिदीबहिनीलाई संगठित गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाइन् । एमालेलाई कमजोर विदेशी शक्तिको इसाामा गठबन्धन गरिएको उनको भनाई छ ।

कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य प्रभा बराल, विष्णु कुमारी गोतामे, केन्द्रीय सल्लहाकार सदस्य महादेवी खतिवडा, पार्टी जिल्ला उपाध्यक्ष कमल पाठक, पार्टीका नगर अध्यक्ष इश्वरी प्रसाद अर्याल, अनेमसंघ जिल्ला सह इज्चार्ज लक्ष्मी कोइराला, प्रदेश कमिटी सदस्य नारायण वन,राजाराम रेग्मी लगायतले मन्तव्य राखेका थिए ।

रत्ननगरमा विद्यालयकाे हाेस्टेलमा छात्राले गरिन आ*त्महत्या

रत्ननगर, फागुन १२ । पूर्वी चितवनकाे रत्ननगर नगरपालिका १० मा रहेकाे एक विद्यालयकाे हाेस्टेलमा शनिबार एक छात्राले आत्महत्या गरेकी छन् । एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययन गर्ने १४ बर्षीय सालिन पाेखरेलले आत्महत्या गरेकाे इलाका प्रहरी कार्यालय टाँडीले जनाएकाे छ । घटना विहान १०:३० बजे भएकाे हाे ।

गाेरखा घर भई रत्ननगर वडा नं १५ माधवपुर स्थित मामा घरमा बसेर अध्ययन गर्दै आएकी छात्राले हाेस्टेलकाे काेठाकाे सिलिङमा स्काउटकाे डाेरीमा झुण्डिएर आत्महत्या गरेकी हुन । २ बर्ष अघि स्कुलमा भर्ना भएकी उनी हाेस्टेलमा बसेर शिक्षा आर्जन गर्दै आएकी थिइन् । बुवा आमाकाे सम्बन्धविच्छेद भएपछि शालिन मामा घरमा बसेर पढ्न थालेकाे बुझिएकाे छ ।

हाल आमा वैदेशिक राेजगारीकाे लागि दुवई र बुवा काठमाडाैंमा रहेका छन् । घटनाकाे कारण खुल्न सकेकाे छैन् । प्रहरीले घटनाकाे अनुसन्धान सुरु गरेकाे जनाएकाे छ । विद्यालयका शिक्षकहरुका अनुसार सालिन पाेखरेल अनुशासित र लगनशिल विद्यार्थी हुन ।

चितवनको खैरहनीमा एक युवकको शव फेला , हत्याको आशंका

चितवन , ८ फाल्गुन । चितवनको खैरहनीमा एक युवकको शव फेला परेको छ । खैरहनी नगरपालिका वडा नम्बर २ मा एक युवकको शव फेला परेको हो ।

खैरहनी २ निवासी अन्दाजी वर्ष २४ को कृष्ण प्रसाद खनालको शव फेला परेको हो । उनको घाटीमा चक्कु प्रहार भएको छ । घाटिमा चक्कु नै रहेको अवस्थामा शव फेला परेको हो ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।

घटनाको अनुसन्धानको लागि फरेन्सिक चिकित्सकसहित , तालिम प्राप्त कुकुर समेत ल्याएर अनुसन्धान गर्न लागेको भण्डारीले बताए ।

 

डीएसपी हुँ भन्दै चालकलाई अपशब्द बाेल्ने व्यक्ति पक्राउ

काठमाण्डाै – आफू नेपाल प्रहरीको डीएसपी भएको भन्दै सडकमा गाडी चलाइरहेका व्यक्तिलाई अपशब्द बोल्ने एक जना पक्राउ परेका छ्न ।

पक्राउ पर्नेमा काठमाण्डाै महानगरपालिका–४ चुनदेवीका ५२ वर्षीय प्रविण श्रेष्ठ रहेका छन् ।

गए राति लाजिम्पाटमा वीरगञ्जका अङ्कित गुप्तालाई क्षेत्रीयताकै आधारमा गालीगलौज गर्दै श्रेष्ठले अपशब्द प्रयोग गरेका थिए ।

गाडी चलाउँदा आफैँले गल्ती गरेका श्रेष्ठले अङ्कितलाई उल्टै थर्काउँदै कुटपिटको समेत प्रयास गरेका थिए ।

उनलाई सार्वजनिक हित, मूल्य मान्यता र नैतिकताविरुद्धका कसुरमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

धम्काउने व्यक्ति प्रहरीका कर्मचारी नभएको पनि नेपाल प्रहरीले स्पष्ट पारेको छ ।

पिठुवा खानेपानीकाे अध्यक्षमा हरिकुमार श्रेष्ठ विजयी

पिठुवा खानेपानी तथा सरसफाई उपभाेक्ता संस्थाकाे अध्यक्षमा हरिकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

छैठाैं बार्षिक साधारण सभा तथा तेस्राे अधिवेशन अन्तर्गत आइतबार भएकाे निर्वाचनमा निकटतम प्रतिद्धन्द्धी बासुदेव शर्मा लामिछानेलाई फराकिलाे मतान्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन ।

कुल खसेकाे २१४ मत मध्ये श्रेष्ठले १२८ र लामिछानेले ७८ मत प्राप्त गरेका हुन । श्रेष्ठ वडा नं १४ का निर्वमान अध्यक्ष हुन भने लामिछाने संस्थाका सचिव हुन । संस्थाका उपाध्यक्षमा तुल बहादुर रायमाझी विजयी भएका छन् । रायमाझीले ११९ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी गाेकर्ण बहादुर श्रेष्ठले ८१ मत प्राप्त गरेकता छन् ।

सचिवमा रुपेश तिवारी विजयी भएका छन् । तिवारले ११४ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी मदन भूजेलले ९० मत प्राप्त गरेका छन् । काेषाध्यक्षमा विमला पाण्डे बन्जरा विजयी भएकी छन् । बन्जराले ११६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी गीता भण्डारीले ८६ मत प्राप्त गरेकी छन् ।

सहसचिवमा विमला न्याैपाने विजयी भएकी छन् । न्याैपानेले ११० मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्धन्द्धी निर्मला बस्ताकाेटीले ८९ मत प्राप्त गरेकी छन् । लेखा समिति संयाेजकमा गाैमतबाबु अर्याल निर्वाचित भएका छन् । उनले १०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी प्रल्हाद अर्यालले ९३ मत प्राप्त गरेका छन् । लेखा समिति सदस्यमा बाबुराम पन्त १११ मत र विष्णुप्रसाद लम्साल १०० मत प्राप्त गरि विजयी भएका छन् ।

वडा नं १४ काे वडासंयाेजकमा निधनाथ अर्याल ४४ मत, वडा नं १५ काे वडासंयाेजकमा बाबुराम ढकाल ४६ मत र वडा नं १६ काे वडा संयाेजकमा डिल्लीप्रसाद गाैतम २९ मत प्राप्त गरि विजयी भएका छन् । निर्वाचनमा नेपाली काँग्रेस, रास्वपा, राप्रपा र समाजबादी निकट उपभाेक्ताकाे एउटा समूह र नेकपा एमाले र माओवादी केन्द्र निकट उपभाेक्ताहरुकाे अर्काे समूह निर्वाचनमा हाेमिएका थिए ।

चार दलीय गठबन्धनकाे तर्फबाट समाजबादीका नेता श्रेष्ट र दुई दलीय गठबन्धनकाे तर्फबाट माओबादीका लामिछानेकाे नेतृत्वमा समुह तयार गरिएकाे थियाे । रत्ननगर वडा नं १४, १५ र १६ का बासिन्दालाई खानेपानी वितरण गर्दै आएकाे साे संस्थाकाे ३ हजार ३४५ जना उपभाेक्ता रहेका छन् ।

छोरीको बलात्कारपछि हत्या : न्याय खोज्दै काठमाडौं आइपुगे बुबा

गत पुषमा बलात्कारपछि हत्या गरिएकी बाजुराकी १७ वर्षीया रेजिना नेपालीका बुबा बुदे सनाईले वडादेखि प्रहरी प्रशासन दोषी उम्काउन लागेपछि आफू न्यायको निम्ति काठमाडौं आउन बाध्य भएको बताएका छन्।

शुक्रबार पत्रकार सम्मेलन गरी पीडित पक्षले तयारी गरेको जाहेरी उल्ट्याई आत्महत्या दुरुत्साहनको जाहेरी बनाई ३२ दिनपछि मात्रै दर्ता गरेको जानकारी दिएका छन्।

सनाईले हत्या जस्तो घटनालाई प्रहरी प्रशासनले वास्ता नगर्नेमात्रै नभई दोषीलाई उम्काउनसमेत षड्यन्त्र गरेको बताउँदै भने,‘मलाई मेरो गाउँघरमा न्यायका लागि साथ दिने कोही नभएर यति टाढा आएको छु, मलाई छोरीको न्याय बाहेक अरु केही चाहिन्न, दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दछु।’

मृतक रेजिना नेपालीको ठूलो बुबा सुरेन्द्र नेपालीले आत्महत्या दुरुत्साहन नभई जबरजस्तिकरणी र हत्या नै भएको दाबी गरेका छन्। ठूलो बा नेपालीले २ नम्बर वडाको अध्यक्ष पदम भण्डारीको गाडी चालक अर्जुन रावतले नै बलात्कारपछि हत्या गरेको दाबी गरे।

घटना भएको पुष १ गते राति ८ बजे मृतक रेजिनाको घरनजिकै प्रतिबादी रावतलाई भेटेको बताउँदै भने, ‘मंसिर २९ गते नाईना भन्ने ठाउँमा मृतक रेजिनासहित ४ जना किशोरीहरुमाथि यौनजन्य घटना हुनु, १ गते राति रेजिनाको मृत्यु हुनु र सोही दिन घटनाको समयमा प्रतिवादी घटनास्थलमा देखिनु कुनै संयोग हुनसक्दैन।’

के हो घटना ?
गत मंसिर २९ गते गाउँकै रेजिनाकि दिदी नाता पर्ने बिपना नेपालीले आफू भागेर बिहे गरेर जान लागेको र आफूलाई आधीबाटो छोड्न जानुपर्ने भनेपछि मृतक रेजिना नेपाली, जसी नेपाली, बिनिता नेपाली र कविता नेपाली ४ जना बिपनालाई घरदेखि पोइली घरसम्म छोड्न २ नम्बर वडा अध्यक्ष पदम भण्डारीको गाडी चालक अर्जुन रावतको गाडीमा गएका थिए।

सो क्रममा मृतक रेजिनसहित ४ जनाले बिपनाको पोईली घर सुदाडा पुर्‍याई फर्किने क्रममा गाडी लक गरी राति १ बजे चारैजना किशोरीमाथि यौनजन्य क्रियाकलाप भएको र नाइना भन्ने ठाउँमा निज रावतले रेजिनालाई गाडीबाट झारी अन्य ३ जनालाई भित्रै लक गरी उनलाई टाढा लगि २५–३० मिनेटपछि गाडिमै फर्काएका थिए।

त्यसको तेस्रो दिन पुनः घरमै आएर बलात्कारपछि हत्या गरेर झुण्ड्याएको परिवारको आरोप छ। घटनालगत्तै छोरीको न्यायका लागी जाहेरी दर्ता गराउन जाँदा पीडित परिवारलाई चार पटक प्रहरीले नै जाहेरी लिन नमानेर घर फर्काएका थिए।

पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै जाहेरी दर्ता गर्ने भनेको जिल्ला प्रहरी कार्यालय बाजुराले ३२ दिन पछि मात्रै जाहेरी दर्ता गरेको थियो। त्यो पनि जाहेरी परिवर्तन गरेपछि मात्रै दर्ता गरेको मृतक रेजिनाको ठूलो बुबा सुरेन्द्र नेपालीको भनाइ छ।

प्रहरीले आफूले भने अनुसारको जाहेरी दर्ता गर्न नमानेको नेपालीले बताएका छन्। प्रहरीले नै आरोपितलाई संरक्षण गर्न खोजेको उनको आरोप छ। पोष्टमार्टम रिपोर्टमा समेत आफूहरुको असन्तुष्टि रहेको उनको जिकिर छ।

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं : कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ बैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो।

परीक्षा आगामी बैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने पनिकाले जनाएको छ। पनिकाका अनुसार परीक्षा बैशाखको २६ गते सकिनेछ।

 

बालकुमारी घटनाको मुख्य जिम्मेवार मन्त्री ज्वाला भएको ठहर

ललितपुरको बालकुमारी घटना छानबिन आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहित तीनजनालाई दोषी देखाएको छ । आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वाला जान नहुने ठाउँमा पुग्दा मानवीय क्षतिको घटना हुन पुगेको औंल्याइएको छ ।

गत पुस १३ गते दुई युवाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न मन्त्रिपरिषद् बैठकले पुस १६ गते उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा ‘बालकुमारी घटना जाँचबुझ आयोग’ गठन गरेको थियो ।

‘भौतिक पूर्वाधार मन्त्रीज्यू पुग्न नपर्ने/पुग्न नहुने ठाउँमा पुगेर गल्ती गरेको प्रतिवेदनमा उल्लेख छ,’ गृहमन्त्रालय निकट स्रोतले भन्यो, ‘मन्त्री खेलाँची गरेर एन्टी डिरेक्शन (गलत दिशा) मा गएकाले घटना घट्न पुगेको निष्कर्ष निकालिएको छ ।’ आयोगले प्रर्दशन र हुलहुज्जत भईरहेको गलत ठाउँमा सुरक्षा व्यवस्थाको यकीन नगरी विभागीय मन्त्री पुग्नु नै मुख्य कमजोरी रहेको औंल्याएको हो ।
उनलाई कारबाहीका लागि प्रधानमन्त्रीलाई सिफारिस गर्न समेत सुझाव दिएको छ । घटनाको नैतिक जिम्मेवारी लिन र मन्त्री ज्वालालाई सचेत गराउन समेत प्रतिवेदनमा सिफारिस गरिएको छ ।

त्यस्तै आयोग स्रोतकाअनुसार बालकुमारीमा घटना हुँदा फिल्ड कमान्डरको जिम्मेवारीमा रहेका नेपाल प्रहरीका डिएसपी उमेश लम्साल र मन्त्री ज्वालाका पीएसओ सई बोधराज दुनुवारलाई पनि दोषी किटान गरिएको छ ।

‘फिल्ड कमाण्डरले सुरक्षा व्यवस्थाको भरपर्दो समन्वय गर्न नसकेको भेटियो । मन्त्री घट्नास्थलमा पुगेको समेत थाहा पाउन नसकेको पाइयो । एक्कासी मन्त्रीको गाडीमा आगजनी भएको देखेपछि माथिको आदेशअनुसार गोली चलाउन निर्देशन दिएको बुझियो,’ आयोगका एक सदस्यले भने, ‘मन्त्री आगजनी भएको गाडी भित्रै छ भन्ने ठानेर अनावश्यक बल प्रयोग हुन गएको देखियो । पिएसओले हुलदंगा भएको ठाउँको सुरक्षा संवेदनशीलता नजरअन्दाज गरेर मन्त्रीज्यूलाई गलत ठाउँमा पूर्‍याएको पाइयो ।’

आयोगले प्रतिवेदनमा क्रमशः १, २ र ३ गरेर मन्त्री ज्वाला, डिएसपी लम्साल र पीएसओ दुनुवारलाई दोषीमा सुचीकृत गरेर प्रतिवेदन बुझाएको गृह मन्त्रालयले स्रोतले जनायो ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री श्रेष्ठले आयोगले सत्यतथ्य बुझी मेहेनत गरेर तयार पारेको प्रतिवेदन कार्यान्वयन गरिने प्रतिबद्धता जनाएका छन् । प्रतिवेदनमा प्रहरी ऐनअनुसार दोषी प्रहरीलाई विभागिय कारवाही गर्न सिफारिस समेत गरिएको छ । घटनालगत्तै गृह मन्त्रालयले बालकुमारी घटनामा संयमता नराखेको भन्दै सातदोबाटो वृत्तका प्रमुख डीएसपी लम्साल र मन्त्री ज्वालाका पीएसओ दनुवारलाई निलम्बन गरेको थियो । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित गृह मन्त्रालय र प्रहरी प्रमुख सिद्धिविक्रम शाह प्रहरी हेडक्वार्टर तानिएका थिए ।

आयोगले डिएसपी लम्सालको टोलीले मन्त्री पुग्नु अघि नै प्रदर्शनकारीहरुमाथि अश्रुग्यास प्रयोग गरेर दोहोरो झडपको अवस्था सिर्जना गरेको समेत औंल्याएको छ । ‘मन्त्री पुग्नु अघि नै बल प्रयोग नगर्नु पर्ने ठाउँमा बल प्रयोग गरेर भएजति अश्रुग्याँस सकि सकेको पाइयो,’ आयोग निकट स्रोतले भन्यो, ‘मन्त्री पुग्दा अश्रुग्यास सकिएकाले बाध्य भएर गोली चलाउनुपर्ने अवस्था आएको देखिन्छ, हवाई फायर गर्दा गोली प्रर्दशनकारीलाई लाग्यो ।’

बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा युवाहरुले प्रर्दशन गरेका थिए । प्रहरीले बल प्रयोग गर्दा प्रर्दशनमा सहभागी अछाम चौरपाटी गाउँपालिका १ का २१ वर्षि वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ का २३ वर्षे सुजन रावतको मृत्यु भएको थियो । शाहको गोली लागेर मृत्यु भएको निष्कर्ष समेत आयोगले निकालेको छ । रावतको छातीमा भने अश्रुग्यासको सेलले लागेर उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

गत साउनमा कोरियाको रोजगार अनुमती प्रणाली (ईपीएस) अन्तर्गत पानीजहाज निर्माण गर्ने कामका लागि लिइएको भाषा परीक्षामा सामेल परीक्षार्थीले ‘उत्पादनमूलक’ अर्को रोजगारीमा जान भाषा परीक्षामा भाग लिन माग गरेका थिए । तर ईपीएसको मापदण्डअनुसार तत्काल अर्को परीक्षामा भाग लिन नमिल्ने भनिएपछि युवाहरूले प्रदर्शन गरेका थिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाको गाडी प्रर्दशनस्थल पुगेपछि उनीहरुले आगजनी गरेका थिए । स्थिति नियन्त्रणमा लिने नाममा प्रहरीले वैकल्पिक उपाय अपनाउन छोडेर हवाई फायर, गोली प्रहारलगायत अन्धाधुन्ध बल प्रयोग गर्दा प्रदर्शनकारी तर्फका दुई जनाले ज्यान गुमाउन पुगेको भन्दै सरकारको समेत आलोचना भएको थियो । सरकारले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।

सरकारले छानबिन गरी एक महिनाभित्र राय, सुझाव र सिफारिस सहितको प्रतिवेदन पेस गर्न पौडेलको अध्यक्षतामा गठन गरेको आयोगमा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अरुण कुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराई सदस्य थिए । आयोगले पुस २० देखि जाँचबुझ थालेर १५ दिन समय थप गरी ४४ दिनमा प्रतिवेदन बुझाएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिवेदन बुझाएपछि आयोगका अध्यक्ष पौडेलले जारी गरेको विज्ञप्तिमा घटनास्थलको निरीक्षण, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्य १६ जनाको बयान कागज गरेको उल्लेख छ । घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एंव अन्य समेत गरी २९ जनाको बयान गरेको जनाइएको छ ।

ईपीएस कोरिया शाखा बालकुमारी, जिल्ला प्रशासन कार्यालय ललितपुर, जिल्ला प्रहरी परिसर ललितपुर, सशस्त्र प्रहरी बल, नेपाल २१ नं. गण दक्षिणकाली ललितपुर र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ललितपुरबाट प्रतिवेदनहरू लिइएको, घटनास्थलबाट बरामद भएका भौतिक सबुदहरूको परीक्षण प्रतिवेदन तयार गरिएको, शव परीक्षण प्रतिवेदन तयार गरिएको, उपत्यका प्रहरी कार्यालय परिचालन कक्ष एवं प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी सञ्चारको विवरण तथा सिसीटीभी फुटेज लिइएको, घटनास्थल वरपर उपलब्ध भएसम्मका सिसीटीभीबाट फुटेज लिइएको र आयोगको इमेलमा प्राप्त भएका सूचनाहरू समेतलाई गहन अध्ययन तथा विश्लेषण गरिएको समेत विज्ञप्तिमा जनाइएको छ ।