प्रदेश नामाकरण विवाद : बैठक फेरि बस्ने निष्कर्षसहित सकियो वार्ता

काठमाडौँ- कोशी प्रदेश सरकार र प्रदेश नं १ पुनःनामकरण संयुक्त सङ्घर्ष समितिबीच भएको वार्ता सकारात्मक भएको छ ।

वार्तापछि कुरा गर्दै सरकारकातर्फबाट वार्ता समितिका संयोजक तथा खानेपानी, सिँचाई तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले आगामी दिनमा फेरि बैठक बस्ने गरी आजको वार्तामा सहमति भएको जानकारी दिनुभयो । वार्ताका क्रममा विषयवस्तुमाथि छलफल तथा आगामी दिनमा सहमतिमै निरन्तर वार्ताको वातावरण बनाउने निष्कर्ष निकालिएको उहाँको भनाइ छ ।

पुनःनामकरण संयुक्त सङ्घर्ष समितिका वार्ता सदस्य एवं पहिचानसहितको प्रदेश नं १ पुनःनामङ्कन अभियान समितिका महासचिव रामभक्त कुरुम्वाङले सरकारसँगको पहिलो पटक भएको वार्तामा विषयवस्तुमा प्रवेश गर्नुका साथै हार्दिकतापूर्ण सम्पन्न भएको बताउनुभयो ।

उहाँले वार्तालाई निष्कर्षमा पुर्‍याउन आगामी दिनमा पुनः वार्तामा बस्ने निर्णय भएको जानकारी दिनुभयो । स्थानीय बिग होटलमा चार घण्टा बसेको वार्तामा संयोजक मन्त्री मेयान्ङ्बो, उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी सहभाथगी हुनुहुन्थ्यो ।

साथै सङ्घर्ष समितिकातर्फबाट नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय समितिका अध्यक्ष गेल्जे शेर्पा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, किरात राई यायोक्खा केन्द्रीय समितिका उपाध्यक्ष युवराज राई, किराँत राष्ट्रिय समितिका अध्यक्ष रमेश राई, किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिका उपाध्यक्ष गोविन्द आङवुहाङ, राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव पदम जवेगु, पहिचान सहितको प्रदेश नं १ पुनःनामङ्कन अभियानका महासचिव रामभक्त कुरुम्बाङ, नेपाल लिम्बू सङ्घका अध्यक्ष कृष्ण चोङ्वाङ्, नेपाल शेर्पा सङ्घका महासचिव लाक्पा शेर्पा सहभागी हुनुहुन्थ्यो ।।

https://ujyaalonepalnews.com/archives/28412

Previous articleघोराही सिमेन्टको आइपिओमा फर्जी आवेदन पछि निष्कासन प्रक्रिया स्थगित
Next articleबहाल कर सङ्कलनमा उब्जिएको अन्योल हटाउन सङ्घीय सरकारलाई शाहको आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।