Author: उज्यालो नेपाल न्युज डेस्क

  • प्रेम विवाहको दुई महिनामै नवविवाहिताको शंकास्पद मृत्यु, माइती पक्षद्वारा हत्याको आरोप

    रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–३ गोठटोलमा प्रेम विवाह गरेको दुई महिनामै एक नवविवाहिताको शंकास्पद मृत्यु भएको छ । मृतकका माइती पक्षले उनको हत्या गरी आत्महत्या जस्तो देखाउन खोजिएको आरोप लगाएका छन् ।

    देवाही गोनाही–३ का २२ वर्षीय रौनक राज पटेलले गत असार १९ गते गरुडा नगरपालिका–७ पिपरिया निवासी १८ वर्षीया सुमेदी कुमारी पटेललाई परिवारको सहमतिबिना भगाएर प्रेम विवाह गरेका थिए। विवाहपछि सुमेदी रौनककै घरमा बस्दै आएकी थिइन् ।

    भदौ १७ गते बुधबार सुमेदी घरको भान्सा कोठामा सालको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। बुधवार बिहान ५ बजे मृतककी सासुले भान्सा कोठामा बुहारी लाई झुण्डिएको अवस्थामा हेरेर प्रहरीलाई खबर गरेको ईलाका प्रहरी कार्यालय देवाही गोनाहिले जनाएको छ।

    घटनापछि उनको शव हिजो बिहीबार प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टमपछि बिहीबार बेलुकी उनको अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ।

    मृतकका बुवा लालबाबु पटेलले विवाहपछि छोरीमाथि दाइजोको नाममा मानसिक तथा शारीरिक यातना दिने गरेको आरोप लगाएका छन्। उनका अनुसार रौनक, उनका बुवा सुभाष पटेल र बहिनीले ६ भर सुन, मोटरसाइकल, नगद तथा अन्य सामग्री दाइजोमा माग गरेका थिए।

    दाइजो दिन अस्वीकार गरेपछि छोरीमाथि कुटपिट, दुर्व्यवहार र मानसिक यातना बढ्दै गएको माइती पक्षको दाबी छ। यही कारण छोरीको हत्या गरी झुन्ड्याएर आत्महत्या जस्तो देखाइएको हुनसक्ने लालबाबुले आशंका गरेका छन्।

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण यकिन हुने बताएका छन्।

    इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यका अनुसार माइती पक्षले रौनकसहितका व्यक्तिविरुद्ध बिहीवार कर्तव्य ज्यानसम्बन्धी जाहेरी दिन खोजेका थिए। तर पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको प्रकृतिअनुसार कानुनी प्रक्रिया अघि बढाउने सहमति भएपछि उनीहरू फर्किएको उनले बताएका छन्।

    मृतकका आफन्तले घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन र दोषी देखिए कानुनी कारबाही गर्न माग गरेका छन्।

     

  • रास्वपा निर्वाचनः साढे ९ सम्म २५ सयले भोट हाले, १२ बजेसम्म मतदान

    चितवन । सत्तारूढ रास्वपाको महाधिवेशन अन्तर्गत पहिलो चरणको निर्वाचनमा विहान साढे ९ बजेसम्म २५ सय प्रतिनिधिले मतदान गरिसकेका छन् ।

    विद्युतीय भोटिङ सेवा प्रदायक रामलक्षण इनोभेसनका रामप्रसाद रिमालले बताएअनुसार २५ सय प्रतिनिधिले मतदान गरिसकेका हुन् । मतदान १२ बजेसम्म खुला राख्न निर्वाचन समितिले भनेको उनले बताए ।

    पहिलो चरणमा केन्द्रीय सदस्यको मतदान भइरहेको छ । मतदान सकिएको २ घण्टामा परिणाम दिन सकिने रिमालले बताए । त्यसपछि दोस्रो चरणमा पदाधिकारी निर्वाचन हुन्छ । केन्द्रीय सदस्य निर्वाचित हुनेमध्येबाट पदाधिकारी निर्वाचन निर्वाचनका उम्मेदवार हुने छन् । मतदाता भने सबै प्रतिनिधि हुने व्यवस्था छ ।

  • हजारौं नगरवासीको सहभागितामा कालिका नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन (फोटोफिचर)

    चितवन, असार ८ – कालिका नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन सोमबार भव्य समारोहका बीच उद्घाटन गरिएको छ। नगरप्रमुख विनोद रेग्मीले भवनको उद्घाटन गर्दै यसलाई कालिकाबासीलाई समर्पण गरेका हुन्।

    उद्घाटन कार्यक्रमअघि नगर क्षेत्रमा भव्य शोभायात्रा निकालिएको थियो। विभिन्न वडाबाट सहभागी भएका हजारौं नगरवासी, जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्था तथा स्थानीय समुदायको सहभागिताले नगर क्षेत्र उत्सवमय बनेको थियो। शोभायात्रामा मगर, गुरुङ, तामाङ, थारू लगायत विभिन्न जातजातिका मौलिक भेषभूषासहित झाँकी प्रदर्शन गरिएको थियो भने स्थानीय कला, संस्कृति र पहिचान झल्काउने सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो।

    कार्यक्रममा उपप्रमुख विमला तामाङले स्वागत मन्तव्य व्यक्त गर्दै नगरपालिकाले आफ्नै सुविधा सम्पन्न प्रशासकीय भवन प्राप्त गर्नु गौरवको विषय भएको बताइन्। उनले नयाँ भवनले सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख विनोद रेग्मीले नयाँ प्रशासकीय भवन केवल भौतिक संरचना मात्र नभई कालिका नगरपालिकाको विकास, सुशासन र समृद्धिको आधार भएको बताए। उनले नगरवासीलाई सहज, छिटो र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ भवन निर्माण गरिएको उल्लेख गर्दै नगरको समग्र विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको धारणा राखे।

    रेग्मीले भवन निर्माणको यात्रा सहज नभएको स्मरण गर्दै निर्माण सम्पन्न हुन करिब ६ वर्ष लागेको बताए। उनका अनुसार २०७६ फागुन १५ गते दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको भवन विभिन्न कारणले तोकिएको समयमा सम्पन्न हुन सकेन। निर्माण कम्पनीलाई चार पटकसम्म म्याद थप गर्दा पनि काम सम्पन्न नभएपछि नगरपालिकाले थप म्याद नदिई निर्माण कम्पनीलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना गरेको थियो। अन्ततः लामो प्रतीक्षापछि भवन निर्माण सम्पन्न भई आज औपचारिक रूपमा उद्घाटन गरिएको हो।

    कार्यक्रममा कालिका नगरपालिकाका संस्थापक नगरप्रमुख खुमनारायण श्रेष्ठ लगायतले मन्तव्य राख्दै प्रशासकीय भवन निर्माणलाई नगरको संस्थागत विकास र सुशासनतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे। उनीहरूले नगरपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गर्नु स्थानीय सरकारको सुदृढीकरणका लागि ऐतिहासिक कदम भएको बताए।

    शाखा प्रमुख दीपक भण्डारीले सञ्चालन गरेको कार्यक्रममा पूर्व जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, सामाजिक संघसंस्था तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

    झण्डै एक दशकसम्म भाडाका तथा अस्थायी संरचनाबाट सेवा प्रवाह गर्दै आएको कालिका नगरपालिकाले अब आफ्नै सुविधा सम्पन्न प्रशासकीय भवनबाट सेवा सञ्चालन गर्नेछ। नगरवासीको भव्य उपस्थितिमा सम्पन्न उद्घाटन समारोहलाई कालिका नगरपालिकाको विकास यात्रामा नयाँ अध्यायका रूपमा हेरिएको छ।

    default
  • एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ

    सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा उनलाई पक्राउ गरिएको बताइएको छ ।

    पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलनअन्तर्त प्रदेशस्तरीय कार्यक्रममा पौडेल सुर्खेत पुगेका थिए ।

    उनी हाल बसिरहेको काठमाडौं भैसेपाटीस्थित निवासमा पनि सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेको छ ।

  • डाबरकाे मह गुणस्तरहीन, बजारबाट फिर्ता गर्न विभागकाे आदेश

    काठमाडौँ । बजारमा बिक्री भइरहेको डाबर ब्राण्डको मह गुणस्तरहीन भेटिएपछि सरकारले तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गरेको सूचनाअनुसार बजार अनुगमन तथा नमुना परीक्षणका क्रममा डाबर ब्राण्डको ५ सय ग्राम प्याकेटको मह गुणस्तर मापदण्डअनुसार नभएकाे भेटिएको हो ।

    विभागले ब्याच नम्बर ‘NB00477’ रहेको उक्त मह प्रयोगशाला परीक्षणमा प्रतिकूल देखिएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको विभागले जनाएको छ ।

    विभागबाट जारी सूचनाअनुसार उक्त उत्पादनको उत्पादन मिति २०२५/१२ उल्लेख गरिएको छ भने उपभोग अवधि १८ महिना रहेको छ ।

    विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को व्यवस्थाअनुसार सम्बन्धित ब्याचका सबै उत्पादन बिक्री वितरण नगर्न तथा नगराउनसमेत निर्देशन दिएको छ ।

    उक्त महको उत्पादक कम्पनी डाबर नेपाल प्रा. लि. जितपुर सिमरा बारा रहेको विभागले जनाएको छ ।

  • गुणस्तरहीन भेटिएपछि करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न विभागको आदेश

    काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोधा फुड्स प्रालिद्वारा उत्पादित २ ब्रान्डलाई तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ ।

    १०० ग्रामवाला करेन्ट नुडल्स र ५० ग्रामको लाली चाउचाउलाई बजारबाट फिर्ता गर्न आदेश गरिएको हो ।

    यी दुवै खाद्य पदार्थमा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरुप एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नपाइएको विभागले जनाएको छ ।

    त्यस्तै एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि दुहबी सुनसरीद्वारा उत्पादित ज्याकन्याक क्रेकर्स बिस्कुट पनि गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता गर्न आदेश गरिएको छ ।

  • वर्ष दिनको छँदा एकसाथ परिवारका ८ जना गुमाएका सन्सरबहादुरले गरे एसईई

    चितवन — २०६७ जेठमा विषालु च्याउ खाएर परिवारका सबै सदस्य गुमाएका चितवनको पहाडी गाउँ कान्दामा सन्सरबहादुर चेपाङले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् । च्याउ खाँदा बिरामी परेका परिवारका आठ सदस्यको मृत्युपछि भरतपुरस्थित एसओएस बालग्रामको आश्रयमा पढिरहेका सन्सरबहादुर २ दशमलब ६९ जीपीए ल्याएर पास भएका हुन् ।

    चितवनको उत्तरी भेग पहाडी गाउँ लोथरको कान्दामा २०६७ को जेठ १४ मा जंगली च्याउ खाएका एकै घरका आठ जनाको निधन भएको थियो । सानो भएका कारण च्याउ नखाएका बालक सन्सरबहादुर मात्रै जोगिएका थिए । उनै सन्सरबहादुर यो पटक एसईई उत्तीर्ण भएका हुन् ।

    हाल राप्ती नगरपालिका–१३ मा पर्ने कान्दा गाउँ पुग्न अहिले पनि दिनभर हिँड्नुपर्छ । गाउँ पुग्ने मोटरबाटो छैन । अति सिमान्तकृत वर्गमा पर्ने आदिवासी चेपाङ बहुल कान्दामा १६ वर्षअघि यो घटना हुँदा बिरामी भएकालाई भरतपुरको अस्पताल ल्याउनै झण्डै दुई दिन लागेको थियो ।

    २०६७ जेठ १४ को साँझ कान्दाका बाबुराम चेपाङले जंगलबाट ल्याएको च्याउ पकाए । बाबुराम सन्सरबहादुरका हजुरबुवा हुन् । गाउँमा च्याउ खाएका सबै आठ जना बिरामी परेको हल्ला भएपछि भोलिपल्ट स्थानीय कान्देश्वरी विद्यालयका प्रधानाध्यापक (प्रअ) बालकृष्ण थपलिया बाबुरामको घर गए । छिमेकीहरु उनीहरुलाई जनावरको दिसा खुवाएर वान्ता गराउन खोज्दै थिए । प्रअ थपलियाले यस्तो नगर्न र ‘जति सक्दो चाँडो अस्पताल लौजाऔं’ भने । गाउँलेहरु जुट्दाजुट्दै बाबुरामको प्राण गयो । लगत्तै बाबुरामकी श्रीमती अर्थात् सन्सरबहादुरकी हजुरआमाको पनि निधन भयो । ‘बिरामी भएकामध्ये बाबुराम, उनकी श्रीमती र बाबुरामकी एक नातिनी (सन्सरबहादुरकी दिदी)को गाउँमै प्राण गयो,’ प्रअ थपलियाले घटना सम्झे । बाँकी पाँच जनालाई थपलियाले गाउँलेको सहयोगमा भरतपुर अस्पताल ल्याए ।

    सन्सरबहादुरका बुवा पूर्णबहादुर, आमा चन्द्रमाया, सन्सरबहादुरकी एक दिदी, काका जीतबहादुर र जीतबहादुरकी श्रीमतीको भरतपुर अस्पतालकै शय्यामा मृत्यु भयो । उपचारको प्रयासमा काठमाडौं लगिएका जीतबहादुरको पनि जेठ २० मा मृत्यु भएपछि सन्सरबहादुरको परिवारमा कोही बचेनन् ।

    परिवारका सबै बिते बच्चालाई के गर्ने ? प्रअ थपलिया साँछी बस्ने भएपछि भरतपुरको एसओएस बालग्रामले सन्सरबहादुरलाई राख्ने जिम्मा लियो । यो घटनाले सन्सरबहादुरलाई अर्कै संसारमा पुर्‍यायो ।
    बालग्रामकी आमा ‘कान्ति’को काखमा सन्सरबहादुर हुर्किन थाले । सन्सरबहादुरको स्कुले जीवन सुरु भयो । ‘फुटबलमा उनको सानैदेखि धेरै रुचि छ । स्कुलबाट फुटबल खेल्न ठाउँठाउँ गएका छन्,’ एसओएस बालग्रामका निर्देशक राजेन्द्र लम्सालले भने ।

    तीन वर्षअघि अन्डर–१६ समूहको छनौट खेल्न काठमाडौंसम्म गए पनि छनोट हुन सकेनन् । बालग्राममा बस्न आएकाहरु २३ वर्षको हुँदासम्म एसओएसले जिम्मेवारी लिन्छ । ‘त्यो बेलासम्म पढाइदेखि सबै कुरामा सहयोग गर्छाैं । हाम्रोमा कक्षा ११ मा विज्ञान विषय छ । त्योबाहेकको विषय पढ्न बाहिर गए पनि सहयोग हुन्छ,’ निर्देशक लम्सालले भने ।

    फुटबलसँगै बास्केटबल, भलिबलमा पनि आफ्नो रुचि भएको उनले बताए । उनलाई नाँच्न पनि रहर लाग्छ । ‘कहिलेकाँही त गीत पनि गाउँछु,’ सन्सरबहादुरले भने । पढाइमा राम्रो अक्षर लेख्न नसकेका कारण प्रगति गर्न नसकिएको उनी बताउँछन् । गाउँमा आफ्ना हजुरबाआमा पट्टिका सबैको निधन भए पनि अन्य आफन्त छन् । उनी बीचमा दुई पटक गाउँ पनि पुगे । ‘गाउँ त धेरै टाढा रहेछ । काठमाडौंभन्दा पनि टाढा । दिनभरी हिँड्न पर्ने,’ उनले भने ।

  • एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

    २८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

    परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन् ।

    नतिजा भने केहीबेर पछि मात्रै वेबसाइटमा देख्न सकिने जनाइएको छ ।

    एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो ।

    यसवर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए ।

    जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् ।

    कसरी हेर्ने नतिजा ?

  • एसइईको नतिजा सार्वजनिक

    भक्तपुर, वैशाख २८ गते । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा भर्खरै सार्वजनिक गरेको छ ।

    परीक्षा नियन्त्रक टुकराज अधिकारीले नतिजा सार्वजनिक गरिएको जानकारी दिनुभयो । चैत २९ गते सकिएको परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारले यसअघि घोषणा गरेको थियो ।

    नतिजाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

    नतिजा हेर्नका लागि

  • चितवनमा १७ वर्षीया भान्जीलाई बलात्कार गर्ने मामाविरुद्ध मुद्दा, किशोरी ६ महिनाको गर्भवती

    चितवन : चितवनको रत्ननगरमा आफ्नै मामाले १७ वर्षीया भान्जीलाई पटक-पटक बलात्कार गरी गर्भवती बनाएको घटना सार्वजनिक भएको छ।
    जिल्ला सरकारी वकिल कार्यालय चितवनले २१ वैशाख २०८३ मा चितवन जिल्ला अदालतमा अभियुक्त मामाविरुद्ध ‘हाडनातामा जबर्जस्ती करणी’ को मुद्दा दायर गरेको हो।
    अभियोग पत्रअनुसार पीडित किशोरी (३५ टाँडी-४) का बुबा आमा सानैमा बितेका थिए। ३-४ वर्षअघि आमाको मुटुको क्यान्सरबाट मृत्यु भएपछि र बुबाको समेत अत्तोपत्तो नभएपछि उनी धादिङस्थित सानीआमाको घरमा बस्दै आएकी थिइन्।
    तर, सानीआमाले ‘पढ्नका लागि मामाको घर नै उपयुक्त हुने’ भनेर चितवन पठाएपछि उनी रत्ननगर नगरपालिका वडा नं. १५ स्थित मामा (परिवर्तित नाम: नमुना टोल-गा) को डेरामा बस्न थालेकी थिइन्।
    कक्षा ८ मा अध्ययनरत ती किशोरीलाई संरक्षक बन्नुपर्ने मामाले नै २०८० सालको पुसदेखि पटक-पटक यौन शोषण गर्दै आएको अनुसन्धानबाट खुलेको छ।
    अभियुक्तले अधिकार प्राप्त अधिकारीसमक्ष दिएको बयानमा आफ्नो अपराध स्वीकार गरेका छन्।
    श्रीमतीको मृत्युपछि बच्चाहरूको विचल्ली भएको र आफू एक्लो भएको बहाना बनाउँदै उनले मदिरा सेवन गरेर पहिलोपटक २०८० पुस ९ गते राति भान्जीलाई बलात्कार गरेका थिए। त्यसपछि उनले ‘यो कुरा कसैलाई भने मारिदिने’ धम्की दिँदै पटक-पटक करणी गरेको पीडितको बयानमा उल्लेख छ।
    पछिल्लो पटक २०८२ चैत २८ गते बिहान ४ बजे अभियुक्तले पुनः जबर्जस्ती करणी गरेका थिए।
    गत २०८२ वैशाख २९ गते दिउँसो अभियुक्तले पुनः शौचालयमा भान्जीलाई जबर्जस्ती गर्न खोज्दा किशोरीले हल्ला गरेकी थिइन्।
    त्यसपछि जम्मा भएका छिमेकी र स्थानीयले सोधपुछ गर्दा किशोरीले विगत एक वर्षदेखिको पीडा सार्वजनिक गरेकी थिइन्। सोही दिन अभियुक्तलाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको थियो।
    भरतपुर अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा पीडित किशोरी २३ देखि २४ हप्ताको (करिब ६ महिना) गर्भवती रहेको प्रमाणित भएको छ।
    अभियोग पत्रमा अभियुक्तलाई ‘मुलुकी अपराध संहिता, २०७४’का विभिन्न दफाहरूअनुसार हदैसम्मको सजाय माग गरिएको छ।
    पीडितको उमेर १८ वर्षभन्दा कम भएको र जबर्जस्ती करणी भएको पुष्टि भएकाले १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरिएको छ।
    यस्तै हाडनाताभित्रको अपराध भएकाले थप कैद र जरिवाना तथा हाडनाता करणीमा दफा २१९ को उपदफा (२) बमोजिम थप सजाय समेत माग गरिएको छ।
    यस्तै अभियुक्तबाट ५ लाख रुपैयाँ जरिवाना र पीडितलाई मनासिब क्षतिपूर्ति भराउन समेत माग गरिएको अभियोगपत्रमा उल्लेख छ।