Home Uncategorized राम्रो काम गर्दै जाने हो, जस खोज्ने होइन- एमाले अध्यक्ष ओली

राम्रो काम गर्दै जाने हो, जस खोज्ने होइन- एमाले अध्यक्ष ओली

भक्तपुर- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जीवनमा कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा निरन्तर लागिरहने बताउनुभएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका-९ ताथलीमा सञ्चालनमा आएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को उद्घाटन गर्दै उहाँले राम्रा कुरालाई बढावा दिएर जानुपर्ने बताउनुभयो ।

नेपालमा बालबालिका, ज्येष्ठ नागरिकप्रति हेरचाह गर्ने, सेवा गर्ने परम्परा निकै पुरानो भएको चर्चा गर्दै कार्यक्रममा उहाँले स्याङ्जाको आँधी खोलामा श्रवण कुमार मारिएका र उहाँका आमाबुबाको उद्धार गरिएको कथा सुनाउनुभयो ।

रिडीको छेउको रुरु क्षेत्र उपनिषद् र पुराणको प्रसिद्ध क्षेत्र भएको सुनाउँदै एमाले अध्यक्ष ओलीले हरिणले समेत दूध पिलाएर बालिका बचाएको पवित्र भूमि नेपाल नै भएको इतिहास रहेको बताउनुभयो ।

नेपाली परम्परा, संस्कृति र पहिचानभन्दा फरक संस्कृति नेपालमा भित्रिन थालेकामा चिन्ता व्यक्त गर्दै उहाँले गुरुलाई नमान्ने, आदर भाव नदेखाउने, आमाबुबालाई हेला गर्ने कुरा सुनिन थाल्नु दुःखद भएको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “समाजले नराम्रा मात्रै खोज्ने र खोतल्ने नभई राम्रा कुरालाई बढावा दिएर जानुपर्छ, मानिसलाई उत्प्रेरित गरेर घृणा होइन प्रेम फैलाउनु पर्छ, हिंसा होइन शान्ति फैलाउनुपर्छ, द्वन्द्व होइन मेलमिलाप फैलाउनु पर्छ, विविधतामा एकता बढाउने सोच अगाडि बढाउनु पर्छ ।”

देश र जनताका लागि राम्रा काम गरेकै कारण आफूलाई सरकारमा जान नदिन निरन्तर षडयन्त्र भइरहेको भन्दै उहाँले भन्नुभयो, “मलाई कसले के भन्यो भन्ने कुरामा म खासै चासो दिन्नँ, मैले राम्रो काम गर्दा पनि त्यसको श्रेय दिए पनि नदिए पनि म अर्थ राख्दिनँ, कसैले राम्रो भनोस् कि नभनोस् त्यसको अर्थ राख्दिनँ, तर जसले जे भने पनि आफूले राम्रो काम अनवरतरूपमा गरिरहनुपर्छ, म गरिरहन्छु ।”

परलोक कसैले देखेको छैन, त्यहाँ सुख हुन्छ, हुँदैन त्यसमा नलागौँ भन्दै उहाँले भन्नुभयो, “तर यो लोक आनन्दमय बनाउनुपर्छ, समृद्ध देश र जनतालाई सुखी बनाउनुपर्छ, देश समृद्ध होस्, जनता समृद्ध र सुखी होऊन् ।”

आफ्नो नेतृत्वको सरकार हुँदा ज्येष्ठ नागरिकको भत्ता चार हजार पुर्‍याएको, एकल महिला, अशक्तता भएका, अपाङ्गता भएका व्यक्तिलाई समेत भत्ताको व्यवस्था गरेको, सडक बालबालिकाको व्यवस्थापनको काम सुरु गरेको, सडकलाई मानव मुक्त बनाउने अभियान सुरु गरेको, दुर्गम ठाउँहरूको अन्त्य हुने गरी सडक सञ्जाल निर्माणको काम सुरु गरेकोलगायत थुप्रै काम गरे पनि आफूले जस लिन नखोजेको अध्यक्ष ओलीको भनाइ थियो ।

https://ujyaalonepalnews.com/archives/28841

Previous articleसत्ता गठबन्धन बैठकः कोशीमा कांग्रेसका थापालाई मुख्यमन्त्रीकाे उम्मेदवार बनाउने निर्णय
Next articleकांग्रेसको प्रचार विभागले आधिकारिक सामाजिक सञ्जाल सञ्चालन गर्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।