अवरुद्ध नारायणगढ-मुग्लिन सडक नौ घण्टापछि दुइतर्फी सञ्चालनमा

चितवन- पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ । नौ घण्टापछि आज विहानदेखि सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिवार अपरान्ह चार बजे सुख्खा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो । तीन एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो ।

अहिले रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । उहाँले मौसम र सडकको अवस्था बुझेर मात्र यस सडकखण्डको यात्रा गर्न अनुरोध गर्नुभयो ।

यस सडकखण्डमा असार महिना लागेपछि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यस सडक हुँदै दैनिक हजारौ सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

https://ujyaalonepalnews.com/archives/29053

Previous articleएसइइपछि विभिन्न क्याम्पस र विद्यालयमा भर्ना हुन र बुझ्न चाहने विद्यार्थीको भिड
Next articleराजकुमारको कृषि कथाः काम गर, सफलता मानिसको पछि-पछि आउँछ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।