निराजन घिमिरे, असार २५- रत्ननगर १४ पिठुवामा रहेको जनजागृती माध्यमिक विद्यालयले एसईई उतिर्ण विद्यार्थीहरुलाई बधाई, शुभकामना तथा परामर्श कार्यक्रम सम्पन्न गरेको छ । सोमबार विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा यस वर्ष विद्यालयबाट एसईई उतिर्ण १५६ जना विद्यार्थीहरुलाई बधाई तथा उच्च शिक्षा सम्बन्धी परामर्श कार्यक्रम आयोजना गरिएको हो ।


कार्यक्रममा वडा नं १४,१५ र १५ का वडाध्यक्षहरु क्रमशः होमनाथ रानाभाट, आशिक तामांग र हेमराज थापा, वडा नं. १४ का पुर्व वडाध्यक्ष हरिकुमार श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष रत्न बहादुर मिश्र, शिक्षक अभिभावक संघका अध्यक्ष लेखनाथ खनाल, सल्लाहकार समिति सदस्य रामनाथ भट्टराई, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उत्कृष्ट १० जना छात्र -छात्राहरुलाई विद्यालयको तर्फबाट नगद सहित सम्मान गरिएको थियो । त्यस्तै सांसद हरि ढकालको तर्फबाट पनि उत्कृष्ट एकएक जना छात्रछात्रालाई नगद पुरस्कार हस्तानान्तरण गरिएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै अभिभावक भिमबहादुर खड्काले प्रविधि र सामाग्री युक्त कक्षाकोठा र तालिम प्राप्त शिक्षकको व्यवस्था गरेर आधारभूत तह देखि नै विद्यार्थीलाई अब्बल बनाउँदै लैजान सके नतिजालाई अझ सुधार गर्न सकिने बताए ।

यसैगरी कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सल्लाहकार समिति अध्यक्ष रामनाथ भट्टराईले परिक्षा एउटा नियमित प्रक्रिया मात्र भएको र कम वा बढी अंक ल्याउँदैमा निरास वा उत्साही हुन नपर्ने बताए । कम अंक ल्याएका विद्यार्थीहरुले पनि जीवनमा निकै उच्च स्थान हासिल गरेको उल्लेख गर्दै भट्टराईले अबका दिनहरुमा अझ धेरै मेहनत गर्न विद्यार्थीहरुलाई सुझाए ।
कार्यक्रममा अर्का अतिथि वडा नं. १४ का पुर्व वडाध्यक्ष हरिकुमार श्रेष्ठले चाहना, भावना अनि रुची अनुसारको विषय छानेर अध्ययन गर्न आग्रह गरे । ‘शिक्षा बिना जीवन अन्धकार’ हुने भन्दै विद्यार्थीहरुले अनुशासित तथा लगनशील भएर मेहनत गर्नुपर्ने बताए ।
विद्यार्थीहरुलाई शुभकामना मन्तव्य राख्दै वडाध्यक्ष आशिक तामांगले वडा नं. १५ समग्र नगरपालिका भरिमा नै शिक्षा क्षेत्रमा बढी लगानी गर्ने वडा रहेको दाबी गरे। त्यस्तै अर्का अतिथि वडा नं. १६ का वडाध्यक्ष हेमराज थापाले एसईई उतिर्ण विद्यार्थीहरुको जिम्मेवारी बढेको बताउँदै देश बनाउन भूमिका खेल्न सक्षम बन्ने गरि उच्च शिक्षा अध्ययन गर्न आग्रह गरे ।

विद्यालयका प्रधानाध्यापक विनोद अधिकारीले उच्च शिक्षा अध्ययन गर्नको लागी विद्यालय छोडेर अन्यत्र जानपर्ने आवश्यकता नरहेको उल्लेख गर्दै विद्यालयले कक्षा ११ मा विज्ञान विषयको पनि पढाई सुरु गर्न लागेको जानकारी दिए । यो संगै विद्यालयमा शिक्षा, व्यवस्थापन, विज्ञान र ५ वर्षे सिभिल ईन्जीनियरिंग डिप्लोमाको पढाई हुने भएको छ ।
विद्यालयका विषय विभाग प्रमुख रोहिणी न्यौपानेले संचालन गरेको कार्यक्रममा सहायक प्रधानाध्यपक नरेन्द्र श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।
https://ujyaalonepalnews.com/archives/29146


