खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार जरिवाना

काठमाडौं- निर्वाचन आयोगले निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जनही रु १५ हजार जरिवाना गर्ने भएको छ ।
तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने एक हजार ३७ जना र प्रदेशसभातर्फका एक हजार तीन सय ९८ जनासमेत जम्मा दुई हजार चार सय ३५ जना उम्मेदवारलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम रु १५ हजारका दरले जरिवाना गर्ने निर्णय गरिएको अयोगले जनाएको छ ।
आयोगले आज विज्ञप्ति जारी गरी जरिवाना लागेका उम्मेदवारले ३५ दिनभित्र राजस्व दाखिला गरी सोको भौचरसहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्न आदेश दिने तथा निर्वाचन खर्चको विवरण सात दिनभित्र पेश गर्न पुनः आदेश दिने पनि निर्णय जनाएको हो ।
साथै, जरिवानाबापतको रकम तोकिएको समयभित्र नबुझाउने उम्मेदवारलाई तत्काल हुने एक निर्वाचनमा भाग दिन नपाउने गरी रोक लगाउने र जरिवानाबापतको रकम सरकारी बाँकी सरह असुलउपर गर्न केन्द्रीय तहसिल कार्यालयमा लेखी पठाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

https://ujyaalonepalnews.com/archives/29694

Previous articleप्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई निर्माण व्यवसायी सङ्घको ज्ञापनपत्र
Next articleएक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ: प्रधानमन्त्री दाहाल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।