धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, तीनको अवस्था गम्भीर

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन्।

तुलसीपुर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो।

बिहान करिब ५ बजे भएको दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए। अन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

प्रहरी नायब उपरीक्षक जैसवारका अनुसार घाइते सल्यान सबेश्वरी-३ का २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशीष केसी र सल्यान जिल्ला बाघचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ। दुर्घटना भएपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए।

https://ujyaalonepalnews.com/archives/30523

Previous articleशैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा सातजना पक्राउ
Next articleधार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्रीले आजदेखि हनुमान कथा प्रवचन गर्नुहुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।