लामीडाँडा विमानस्थलमा सातवटा हेलिकोप्टरको आकस्मिक अवतरण

खोटाङ- काठमाडौँबाट सोलुखुम्बुका लागि उडान भरेका सात हेलिकोप्टरले खोटाङको लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरेका छन् । सोलुखुम्बुको लुक्लाका लागि उडेका हेलिकोप्टर खराब मौसमका कारण आज बिहान लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

खराब मौसमका कारण बिहान आठ बजेदेखि दिउँसो एक बजेसम्म सात हेलिकोप्टरले आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवम् प्रहरी निरीक्षक टीकाराम बरालले जानकारी दिनुभयो । मौसममा सुधार आएपछि सबै हेलिकोप्टर गन्तव्यतर्फ लागेका छन् ।

पर्यटक बोकेका हेलिकोप्टर लुक्लामा अवतरण हुने अवस्था नभएपछि फर्किएर लामीडाँडामा अवतरण गरेको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका वडाध्यक्ष वीरेन्द्र मगरले बताउनुभयो । विसं २०७६ देखि उडान बन्द रहेको लामीडाँडा विमानस्थल पछिल्लो समय हेलिकोप्टरको आकस्मिक अवतरणका लागि प्रयोग हुँदै आएको छ ।

लामीडाँडा विमानस्थलको धावनमार्ग कालोपत्र गरिए पनि सञ्चालनमा आउन सकेको छैन । जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकका साथै ओखलढुङ्गा र सोलुखुम्बुका स्थानीयलाई समेत सेवा दिने उद्देश्यले विसं २०२६ मा विमानस्थल निर्माण गरिएको थियो । त्यसको दुई वर्षपछि विसं २०२८ बाट कच्ची अवस्थामै नियमित उडान सञ्चालनमा ल्याएको विमानस्थलमा हाल कालोपत्रे भए पनि सञ्चालनमा आउन सकेको छैन ।

https://ujyaalonepalnews.com/archives/32032

Previous articleविद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो
Next articleमाध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकार मातहत राख्न सांसद एकमत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।