भ्रष्टाचारको अभियोगमा तीन कर्मचारी पक्राउ

झापा- झापामा भ्रष्टाचारको अभियोगमा तीन कर्मचारी पक्राउ परेका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि झापाको हल्दिबारीमा खटिएका राष्ट्रिय भूमि आयोगमा कार्यरत तीनैजनालाई आज प्रहरीले पक्राउ गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार आयोगबाट काजमा खटिएका भूमि आयोगका कर्मचारी मोहन नेपाल, विवेक पोखरेल र कमल खनाललाई पक्राउ गरिएको हो ।

हल्दिबारी–१ का गणेशप्रसाद पौडेलको भोगचलनमा रहेको १२ कठ्ठा ऐलानी जग्गाको मोठ कायम गरिदिने भन्दै घुसवापत रु ४० हजार रकम लिएको आरोपमा तीनैलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रजिअ पोखरेलका अनुसार जग्गाको नापी गर्दा लाग्ने राजस्व रकम बैंकमा बुझाउन लगाएपछि आयोगका ती कर्मचारीले रु ४० हजार नगद नै लिएका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको टोलीले रकमसहित पक्राउ गरेको हो ।

पीडित पौडेलले घुस लिएका कर्मचारीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुभएको छ । प्रहरीले पक्राउ परेका सबै कर्मचारीको बयान लिएर अनुसन्धान कार्य अघि बढाएको जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/32209

Previous articleविश्वकप क्रिकेट: पाकिस्तानद्वारा श्रीलङ्का ६ विकेटले पराजित
Next articleराष्ट्र संघका महासचिव गुटेरसको तीन दिने नेपाल भ्रमण स्थगित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।