कालिका, २५ असोज । कालिका नगरपालिकाले आजपनि बजार अनुगमनलाई निरन्तरता दिएको छ । चाडपर्वको अवसरमा नगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको हो । म्याद नाघेका खाध्यसामग्री विक्रीवितरण भइरहेको गुनासोको आधारमा नगरपालिकाले यहि असोज २३ देखि नगरको मुख्य मुख्य बजार क्षेत्रमा अनुगमन गर्न थालेको हो ।

आज कालिका नगरपालिकाको पदमपुर क्षेत्र र शक्तिखोर बजारमा अनुगमन गरिएको छ । राजश्व कार्यालय, खाद्य तथा गुण नियन्त्रक विभागका प्रतिनिधिहरु सहित नगरपालिकाले बजार अनुगन गरिरहेको हो । अनुगमनका क्रममा बजार क्षेत्रका, होटल, रेष्टुरेन्ट, किराना लगायतका पसलहरुमा मापदण्ड पुरा भए नभएको र करको दायरामा आए नआएको निरीक्षण गरिएको छ।

कालिकाका अधिकांस व्यवसायहरु दर्ता भएपनि धेरैजसोले नियमित नविकरण नभएको भेटिएको छ । दर्ता नभएकालाई तत्काल दर्ता समयसीमा दिइएको छ भने दर्ता नविकरण नभएकालाई नविकरणगर्न २ दिनदेखि ७ दिन सम्मको समय अवधि तोकेर छोडिएको छ ।

यो पटक व्यवसायीहरुलाई मापदण्डमा ल्याउने उद्देश्यले अनुगमन भइरहेको अनुगमन समितिका संयोजक कालिका नगरपालिका उपप्रमुख विमला तमाङले जानकारी दिईन् । व्यापार व्यवसाय गर्दा दर्ता गरेर वैधानिक रुपमा संचालन गर्न सुझाव दिँदै हिडेका छौं, सुझावलाई अटेर गरेमा अर्को पटक कार्वाहीमै ल्याउने उहाँले बताईन् ।

यसअघि कालिकाका खोलेसिमल, क्लबचोक, लाहुरेचोक लगायतका बजार क्षेत्रमा अनुगमन गरिएको थियो । नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/32263


