रत्ननगर, मंसिर १९ । लैङ्गिक हिंसा बारेमा आधारभूत जानकारी गराउनका लागि कालिका नगरपालिका वडा नं. ९ मा रहेको शक्तिखोर महिला साना किसान कृषि सहकारी संस्था लि.का महिला शेयर सदस्यहरुलाई कालिका नगरपालिकाले प्रशिक्षण दिएको छ ।
कालिका नगरपालिकाको आयोजना तथा शक्तिखोर महिला साना किसान कृषि सहकारी संस्था लि.को संयोजनमा समाजमा अझै पनि विभिन्न कोणबाट लैङ्गिक हिंसा जस्ता घटनाहरू भइरहने क्रम नरोकिएकोले त्यस्ता अपराधिक क्रियाकलापलाई कम गर्नका लागि सहयोग पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो ।
हरेक क्षेत्रबाट महिलाहरु हिंसामा पर्ने भएकाले कार्यक्रम आयोजना गरिएको शक्तिखोेर महिला साना किसान कृषि सहकारीकी अध्यक्ष खड्ककुमारी खत्रीले जानकारी दिईन् । कतिपय महिलाहरु सहकारीबाट ऋण लिदा समेत हिंसामा पर्ने गरेको बताईन् । तालिम पश्चात समाजमा विद्यमान लैङ्गिक हिंसालाई पूर्णरूपमा अन्त्य गर्नका लागि विभिन्न चुनौतीहरू रहे पनि यसलाई कम गर्न महत्वपूर्ण भूमिका महत्वपूर्ण रहने उनको भनाइ छ ।
कार्यक्रमको उद्घाटन गर्दै कालिका नगरपालिकाकी उप-प्रमुख विमला तामाङले हिंसा मुक्त समाज निर्माणका लागि आफैंबाट सुरुवात हुनुपर्ने बताईन् ।
उनले भनिन्, “प्रत्यकका घरमा बुहारीले सासुलाई गर्ने व्यवहार र सासुलाई बुहारीले गर्ने व्यवहारमा सुधार गर्न सकिएमा धेरैमात्रा हिंसा मुक्त हुन सक्छ, हामी मानव जाती भएकाले हिंसा गर्न हुदैन भन्ने तर्फ सचेत हुनपर्छ ।”
महिलाहरु दिदी बहिनीबाट मात्रै नभई पुरुषहरुबाट पनि हिंसा भईरहेको उनको भनाई छ ।
कालिका वडा नंं. का अध्यक्ष निलकण्ठ मगरले महिलाहरु हिंसामा पर्ने बित्तिकै पीडा लुकाएर बस्न नहुने बताए । पीडितहरु अप्ठ्यारा वा कुनै समस्या भएमा वडामा आएर खुलस्त भन्न सक्नुपर्ने बताए । पीडितलाई वडा र नगरपालिकाको तर्फबाट सहयोग गर्नेछौं उनले भने ।
पीडितहरु आफ्नो पीडा लिएर कुन स्थानमा जादा समस्याको समाधान हुन सक्छ भनेर थाहा नपाउँदा महिलाहरु झनै पीडित बनेको बताए ।
उक्त लैङ्गिक हिंसाबारे प्रशिक्षणमा कृषि सहकारीका ४० जना महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रम अवधिभर लक्ष्मी पौडेलले प्रशिक्षण दिएकी थिईन् ।
संस्थाकी व्यवस्थापक सविना रायमाझीले सञ्चालन गरेकी कार्यक्रममा उपाध्यक्ष दिलकुमारी श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिईन् । कृषि सहकारीकी अध्यक्ष खत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


