माधवपुर माविले मनायो ५६ औं वार्षिकोत्सव

उज्यालो नेपाल – रत्ननगरको वडा नं. १५ माधवपुरमा रहेको माधवपुर माध्यमिक विद्यालयले आफ्नो ५६औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । विद्यालयले बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाएको हो।

कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य तथा लघुनाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा खेलकुद तथा कक्षाकोठामा प्रथम, द्दितीय तथा तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । त्यस्तै विद्यालयलाई विभिन्न समयमा योगदान पुर्याउने आठ जनालाई सम्मान समेत गरिएको छ । सम्मानित हुनेहरुमा सातजना पुर्व शिक्षक र एकजना धनधान्याञ्चल कार्यक्रमका चन्दादाता छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष आशिक तमाङको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख प्रलाद सापकोटा प्रमुख अतिथिको रुपमा उपस्थित थिए  । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सापकोटाले विद्यालयको भौतिक तथा शक्षिक सुधारको लागी नगरपालिका संधै अग्रसर रहेको बताए ।

अर्को प्रसंगमा मेयर सापकोटाले नगरपालिकाबाट करोडौ बजेट शिक्षाक्षेत्रमा लगानी भईरहे पनि सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुध्रन  नसकेकोमा दु:ख व्यक्त गरे। शिक्षक सेवा आयोग उतिर्ण गरेर आएका काबिल शिक्षकहरु भएतापनि संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयका विद्यार्थीहरुको अवस्था नाजुक रहेको बताए ।

कार्यक्रममा वडा सदस्यहरु शिवप्रसाद तिवारी, ईमप्रसाद पन्त, शिक्षक अभिभावक संघका अध्यक्ष विजय खनाल, आधारभूत विद्यालय नमुनाटोलका अध्यक्ष रामकृष्ण खड्का, सोहि विद्यालय कि प्रधानाध्यापक शोभा श्रेष्ठ, विन्देस्वरी आधारभूत विद्यालयका अध्यक्ष पुरुषोत्तम कट्टेल, सोहि विद्यालयका प्रधानाध्यापक हरिप्रसाद खनाल, देवी  पाञ्चायन मन्दिर अध्यक्ष तथा  विद्यालय व्यवस्थापन समिति सदस्य मदन भुजेल, जग्गादाताहरु, विभिन्न राजनैतिक दल तथा संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा प्रधानाध्यापक कुलराज ढकालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय कि सहायक प्रधानाध्यापक शान्ता खत्रीले संचालन गरेकी थिइन् ।

Previous articleभरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा, करिब ५० हजार जना सहभागी हुने अपेक्षा
Next articleगौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।