महाकाली नगरपालिकाका कर्मचारी धर्नामा, कामकाज ठप्प

कञ्चनपुरको महाकाली नगरपालिकाका कर्मचारी आन्दोलित भएका छन्। शान्ति, सुरक्षाको माग गर्दै महाकाली नगरपालिकाका कर्मचारीहरु आइतबारदेखि अनिश्चितकालिन धर्नामा बसेका छन्।

नगरपालिकामा बुधवार भएको तोडफोडको विरोध स्वरुप शान्ति सुरक्षाको माग गर्दै कर्मचारीहरु अनिश्चितकालिन धर्नामा बसेको प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले बताए। ‘नगरपालिकाको कामकाज छोडेर शान्ति सुरक्षाको माग गर्दै कर्मचारीहरु अनिश्चितकालिन धर्नामा बसेका छन्।’ उनले भने, ‘स्वस्फुर्त रुपमा कर्मचारीहरु धर्नामा बसेका छन्, शान्ति, सुरक्षाको प्रत्याभुति हुनु पर्ने माग छ।’ उनका अनुसार नगरपालिकाका १० वटै वडा सहित नगरपालिकामा कार्यरत ३९ जना कर्मचारी धर्नामा बसेका छन्।

कर्मचारीहरु आन्दोलित भए पछि नगरपालिकाको दैनिक कामकाज प्रभावित भएका छन्। विभिन्न कामकाजका लागि नगरपालिकाका पुगेका सेवाग्राहीहरु त्यसै घर फर्किएका छन्। ‘आन्दोलन बारे मलाई थाहा थिएन, नगरपालिका पुगेर थाहा भयो, कर्मचारीहरुले पेन डाउन गरेका रहेछन्, मेरो काम नै भएन।’ नगरपालिकामा पुगेका सेवाग्राही हरिश सुनारले भने।

छोरालाई आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा पक्राउ परेकी माहाकाली नगरपालिका–६ की शुसिला थापालाई छोडेको भन्दै आक्रोशित स्थानीयले नगरपालिका, ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनी तथा थापाको घरमा ढुंगामुढा गरेर तोडफोड गरेका थिए। नगरपालिकाको कुर्सी, झ्यालका सिसा र सोलार प्यानल, कम्प्युटर, जीप तोडफोड गरिएको थियो भने ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीको बोर्ड, जीप र थापाको घरमा स्थानीयले आक्रमण गरेका थिए।

छोरालाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेकी थापा अदालतबाट धरौटीमा छुटेकी थिइन्। थापा बुधवार धरौटीमा रिहा भएकी थिइन्। महाकाली नगरपालिका–६ का २१ वर्षीय शंकर थापा आफ्नै घर नजिकै घाँस राख्न बनाएको झुपडीमा झुण्डिएको अवस्थामा भेटिएका थिए।

सुशीलाले बारम्बार मानसिक तनाव दिएपछि उनले आत्महत्या गरेको भन्दै मृतकका मामाले ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा आत्महत्या दुरुत्साहनको जाहेरी दिएका थिए। नगरपालिका र प्रहरी कार्यालयमा तोडफोड गर्नेमध्ये १६ जना पक्राउ परेका छन्।

 

मनकामना केबुलकार एक दिन बन्द हुने

Previous article४४ हजार नेपाली बस्ने कोरियामा कोरोनाको त्रास, दूतावास भन्छ- डराउनुपर्दैन
Next articleकोरियामा कोरोनाः नेपाली भन्छन्– आत्तिनु पर्दैन, सतर्क रहूँ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।