तुलसीपुर । प्रदेश ५ मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ लाई मुलुककै उत्कृष्ट र समृद्ध प्रदेश बनाउने अभियानमा जुटेको बताउनुभएको छ । प्रदेश सरकारले आयोजना गरेको ‘प्रदेश एक्स्पो’ को समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताउनु भएको हो ।
अभियानमा जनताको साथ र सहयोग जुटाउनका लागि एक्स्पोको आयोजना गरिएको बताउदै मुख्यमन्त्री पोखरेलले एक्लो प्रयासले उत्कृष्ट र समृद्ध प्रदेश बनाउन नसकिने बताउनुभयो ।
‘प्रदेश ५ लाई मुलुककै उत्कृष्ट र समृद्ध प्रदेश बनाउने अभियानमा हामी जुटिरहेका छौं । प्रदेशबासीको साथविना हाम्रो यात्राले गन्तव्य चुम्न सक्दैन’, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘समृद्ध प्रदेश बनाउने अभियानकै रुपमा हामीले प्रदेश एक्स्पोको आयोजना गरेका हौं । एक्स्पोमा दिएझैं साथ र सहयोग आगामी दिनमा पनि दिनुहुनेछ भन्ने हाम्रो अपेक्षा रहेको छ ।’

प्रदेश ५ को समृद्धिको आधार कृषि र पर्यटन रहेको भन्दै मुख्यमन्त्री पोखरेलले पर्यटन र कृषिको विकासमा प्रदेश सरकारको ध्यानकेन्द्रीत भएको बताउनुभयो ।
प्रदेश ५ को समृद्धिका आधारका रुपमा कृषि र पर्यटनलाई लिएका बताउदै उहाँले कृषि र पर्यटनको विकासबाटै समृद्ध प्रदेश बनाउने योजना रहेको उहाँले बताउनुभयो । एक्सोपाले जनतासँग सरकारलाई जोड्ने काम गरेको बताउदै दुई वर्षको अवधिमा प्रदेश सरकारले सम्पादन गरेका गतिविधिका बारेमा जनतालाई साक्षत्कार गराउने उद्देश्यले ‘प्रदेश एक्स्पो’ को आयोजना गरेकाले पनि आफुरु लक्ष्य प्राप्तीमा सफल भएको बताउनुभयो ।
वजेट परिचालन र आर्थिक बृद्धिदरमा मुलुक प्रदेश ५ अग्रपंतिमा रहेको भन्दै मुख्यमन्त्री पोखरेलले आगामी ३ वर्षमा प्रदेशको आर्थिक बृद्धिदर दोब्बर बनाउने बताउनुभयो । ‘अबको तीन वर्षभित्र प्रदेशको आर्थिक वृद्धिदर दोब्बरले बृद्धि गर्नेगरी हामी लागिपरेका छौं । प्रदेश ५ ले सातवटै प्रदेशमा आफूलाई अब्बल सावित गरिसकेको छ’, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘गएको आर्थिक वर्षमा हामीले ७ दशमलव १ प्रतिशत आर्थिक बृद्धि गरेका छौं । चालु आर्थिक वर्षमा यो प्रतिशत बढाउने गरी काम भइरहेको छ ।’
सो अवसरमा प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री तथा कार्यक्रमका सभापति कुलप्रसाद केसीले प्रदेश एक्स्पोले सफलता हासिल गरेकाले अब लगानी सम्मेलनमा प्रदेश सरकारको ध्यान केन्द्रीत हुने बताउनुभयो । आगामी बैशाखमा लगानी सम्मेलन गर्ने तयारीमा प्रदेश सरकार रहेको भन्दै मन्त्री केसीले उक्त कार्यको तयारीमा जुट्न सम्पूर्ण क्षेत्रलाई आग्रह गर्नुभयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा फागुन १० गते शनिबारदेखि सुरु भएको प्रदेश एक्स्पोमा प्रदेश ५ का मन्त्रालय, प्रदेशका सम्पूर्ण जिल्ला समन्वय समिति, स्थानीय तह र प्रदेशभित्रका विभिन्न संघसंस्थाहरुले आफ्नो परिचय खुल्ने सामग्रीहरु प्रदर्शनीमा राखेका थिए । प्रदेश एक्स्पोमा प्रदेशभित्रका संस्कृति झल्कने झाँकीहरुसमेत प्रस्तुत गरिएको थियो ।
The post मुलुककै उत्कृष्ट प्रदेश बनाउने अभियानमा जुटेका छौ : मुख्यमन्त्री पोखरेल appeared first on Rajdhani Daily News.


